श्रीलङ्काको अर्को पहिचान

हिमाल खबरपत्रिका (१-१५ साउन,२०५६) बाट

श्रीलङ्काका राष्ट्रपति चन्द्रिका बन्दरनायक कुमारतुङ्गा नेपाल आउनुभयो, जानुभयो । नक्सामा दक्षिण एसियाली उपमहाद्वीपको पुछारमा तप्किन लागेको पानीको थोपा जस्तो देखिने यो राष्ट्र अर्थतन्त्र, भूराजनीतिका कारणले धेरै हदसम्म नेपालसँग मिल्दोजुल्दो छ र कुमारतुङ्गा नेपाल आएको बेला पारेर सायद नेपलीहरूले आफूभन्दा अलि बढी विकसित यो मुलुकबाट सिक्ने मौका लिनुपर्ने थियो । तर औपचारिक स्वागत र कूटनीतिक भाषामा नै त्यो अवसर गुम्यो, जुन कुरा टेलिभिजनमा देखिएको राजदरबारमा दिइएको दिवाभोजले पनि प्रस्ट पार्‍यो ।

वास्तवमा नेपालले श्रीलङ्कासँग सिक्नुपर्ने कुरा धेरै छन् भने अन्तरकलह र हिँसाका सम्बन्धमा सिक्नै नहुने कुरा त्योभन्दा बढी छन् । सिक्नुपर्ने कुरामा श्रीलङ्काको उच्च दर्जाको बुद्धिजीवी वर्ग, जो समाज र परिवर्तनलाई राम्ररी केलाउन सक्ने क्षमता राख्दछ, अन्तर्राष्ट्रिय स्तरको शिक्षाप्रतिको उपनिवेशकालदेखिको श्रीलङ्काको झ्ुकावट, यसको ब्यूरोक्रेसीको कर्तव्यनिष्ठता र दक्षता र व्यापारी वर्गको “एन्ट्रेप्रेनेरिएल” क्षमता । कोलम्बोको कटुनायक एयरपोर्ट पुग्दापुग्दै देखिने यहाँको सुव्यवस्था र शहरी संरचना जो काठमाडौँवासीलाई आधुनिक, व्यवस्थित र सफा लाग्दछ । विशेष गरी निर्यातमुखी कृषि उत्पादन, शिक्षा पद्धति र साक्षरता, पर्यटनको सञ्चालन र जनस्वास्थ्य तथा अन्य सामाजिक पक्षहरु सबैमा श्रीलङ्का नेपालभन्दा अगाडि छ ।

यत्ति हुँदाहुँदै पनि श्रीलङ्काले एउटा अभिशाप खप्नु परेको छ, अन्तरद्वेष र विग्रहको । यो अभिशाप दक्षिण एसियामा मात्र हैन पूरा संसारकै दाँजोमा अद्भुत हुन गएको छ । गृहयुद्ध भनेर संज्ञा दिइएकोले र अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कोसोभो र बोस्नियालाई नै बढी ध्यान दिने हुनाले यो सानो श्रीलङ्का देश (जनसङ्ख्यामा नेपालकै भन्दा ३० लाख कम छ र क्षेत्रफल भने आधाभन्दा कम छ) को डेढ दशकको तामिल–सिन्हाला बीचको भिडन्तको बारेमा नेपालका लेखपढ गर्नेहरूमा हुनुपर्ने जति सम्वेदनशीलता रहेको पाइँदैन ।

झ्ण्डै तीन दशक लगातार चलि नै रहेको यो युद्ध वास्तवमा दुई लडाकू सेना (एल.टी.टी.इ. र श्रीलङ्का सेना) को बीचको द्वन्द्व नै हो । ३० वर्षको दौरानमा आजसम्म ६०,००० टापुबासीहरूले ज्यान गुमाएका छन्, जसमध्ये आधा त निर्दोष नागरिक थिए । करीब ५५,००० घाइते भए भने आजसम्म ७.५ लाख तामिलहरू विदेश पलायन भएका छन् । श्रीलङ्का भित्रै झ्ण्डै २० लाख नागरिक विस्थापित भएका छन् । यो त भयो तामिल पृथकतावादसँगको संघर्षको परिणाम, जो टापुको उत्तर र पूर्वीमा केन्द्रित छ । श्रीलङ्काको दक्षिणी प्रान्तमा भने सन् १९७१ देखि नै जे.भी.पी. भन्ने संस्थाले पहिले चरम वामपन्थी हिसाबले र भारत–श्रीलङ्का सैनिक सम्झैता भएपछि राष्ट्रवादी भारत विरोधी नारा लिएर हिंसात्मक कार्य शुरु गर्‍यो । राष्ट्रपति प्रेमदासाको बेलामा १९८० दशकको आधाआधीमा गएर “थ्रस्टावाडी” (आतङ्कवादी) नाम गरिएका यो जे.भी.पी. संस्थाको झ्ण्डै झ्ण्डै पूर्ण सङ्घार गर्दा कैयन् निर्दोष मानिसहरू पनि चपेटामा परे ।

क्षेत्रफलको तुलनामा भू–परिवेष्ठित नेपाल र टापु श्रीलंका
अझ्सम्मै चलिरहेको तामिल–सिन्हाला द्वन्द्व र दमन भइसकेको “थ्रस्टावाडी” आन्दोलनले नेपालजस्तै अन्तर्राष्ट्रिय तवरमा शान्त र सुन्दर देश (नेपाललाई साङ्ग्रीला भने जस्तै श्रीलङ्कालाई सेरेन्डिव भनिन्छ) को अनुहार भएको श्रीलङ्का पूर्णरुपले सैनिकीकरण हुन पुगेको छ । यहाँका कत्ति उच्च पदस्थ राजनेता, सामाजिक आन्दोलनकर्ता र जेनरलहरू “एसासिन” को गोली या बम प्रहारबाट मारिइसकेका छन्, जसमध्ये चन्द्रिका कुमारतुङ्गाका आफ्नै श्रीमान् र बाबु (श्रीमाभो बन्दरनायकका दुलाहा) नै थिए ।

भयानक “सुइसाइड स्क्वाड” को सृजना, राजधानीको मुटुमै सयौँ मानिसको ज्यान लिने बम, यात्रुवाहक हवाई जहाजहरू आकाशबाट खसालिनु, बालक योद्धाहरू पैदा गर्नु, यही नै सबै श्रीलङ्काको आजको अर्को पहिचान हुन पुगेको छ ।

नेपाल र श्रीलङ्काको भौगोलिक र सामाजिक स्वरुप बेग्लै भएकोले त्यहाँ भएको जस्तो तवरको हिंसा नेपालमा पनि हुन्छ भनेर ठोकुवा गर्न मिल्दैन, तर पनि श्रीलङ्काको अनुपातमा सानै समस्या पनि आउन नदिन नेपालले श्रीलङ्काका शासकहरूले दशकौँ अगाडि गरेका नीतिगत भूलहरू समयमै बुझ्नु पर्ने छ । जे.भी.पी.को आन्दोलनको मुख्य बीउ चाहिँ असान्दर्भिक शिक्षा थियो जसले गर्दा साक्षर भइसकेको र हकहितको बारेमा विचार गर्ने भएका तर रोजगार र आयको सम्भावना नभएका युवाहरू पैदा भए, जो अतिवादतिर ढल्किए । यस्तै एकातिर बढ्दो साक्षरता र अर्कोतिर बेरोजगारीको स्थिति नेपालमा पनि विद्यमान छ र माओवादी प्रकरणको बीउलाई पनि यसैगरी लिन सकिन्छ । अर्कोतर्फ तामिल–सिन्हाला भाषिक विद्वेष ३०–४० वर्षअघिको सिन्हाला (मेजोरिटी) पक्षको असहिष्णुताले जन्माएको कुरा पनि नेपालीहरूले बिर्सनुहुन्न ।

चन्द्रिका बन्दरनायक कुमारतुङ्गा नेपाल आउँदा कूटनीति र औपचारिकताको बीचमा मित्र राष्ट्र श्रीलङ्काको बारेमा गर्नुपर्ने गम्भीर चिन्तन सायद यस्तै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *