Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

इचंगुको ‘भक्ते’ भ्यागुतोको रङ्गमञ्च यात्रा

October 21, 2022 by admin

हिमाल खबरपत्रिका (३ कात्तिक, २०७९) बाट

बालबालिकालाई भनेर ल्याइने लेखरचना, सामग्रीमा उपदेश र अनावश्यक भारी चिज थोपर्ने प्रवृत्ति छ, तर कथा घेरा टोलीको नाट्य प्रस्तुतिले भने मुग्ध बनायो।

धूमधामको घुमघामः भक्तप्रसाद भ्यागुतोको नेपाल यात्राको लेखक म हुँ, तर पनि आफ्नै कृतिमा आधारित गीतिनाटक धूमधामको घुमघामको समीक्षा गर्न यसरी धृष्टता किन देखाउँदै छु?

किनकि, दशैंअघि कथा घेरा नाट्यसमूहले मञ्चन गरेको गीतिनाटक धूमधामको घुमघाम यति मौलिक र सिर्जनशील छ, यसलाई छुट्टै कृतिको संज्ञा दिन मिल्छ। नाटकको पटकथाले मेरो २५ वर्षअघि लिखित बाल उपन्यासलाई प्रस्थानबिन्दु बनाएको छ भने आयुष निरौलाले नाट्य रूपान्तरण गर्दा नयाँ सोच, नयाँ मोड र नयाँ प्रसङ्ग थपेका छन्। यसमा मेरो आपत्ति रहेन, किनकि मैले पनि एउटा मौलिक नाटकको स्वाद लिन पाएँ। आकांक्षा कार्कीको निर्देशन र सुदाम सीकेको कोरियोग्राफीले नाटक जीवन्त बन्न पुग्यो र कौसी थिएटरको रङ्गमञ्चमा भ्यागुता र अन्य प्राणीले उफ्रँदै नाच्दै विभिन्न ठाउँ र विषयतिर डोर्‍याए।

धेरै पहिलादेखि हाम्रा मिडिया र वाङ्मयमा नमिल्दो परिपाटी बसेको छ, त्यो हो– बालबालिकाका लागि कार्यक्रम उनीहरूबाटै सिर्जना र सञ्चालन गराउने। बाल रेडियो कार्यक्रम तयार गर्ने, बालगीत गाउने, बाल पुस्तक लेख्ने आदि सबैतिर बालबालिकाले भ्याउनुपर्ने, जबकि उनीहरू त श्रोता हुनुपर्ने हो। बाल मस्तिष्कलाई प्रसङ्ग, सन्दर्भ र प्रस्तुतिले उत्साहित पार्ने काम वयस्क र बूढापाकाबाट हुनुपर्ने हो। नेपाली बालबालिकाले सिर्जनशील प्रस्तुतिको स्वाद विरलै लिन पाउँछन्, र हाम्रै गाउँठाउँको सन्दर्भ मिल्ने सामग्री, र उपदेश नलादिएका लेखरचना र गीत पर्याप्त मात्रामा लेखिएकै छैनन्। बाल साहित्यले उमेरगत मनोविज्ञान विचार गर्दै बाल मस्तिष्कलाई उत्साहित र सिर्जनशील बनाउनुपर्नेमा उपदेश, विरह, ठूल्ठूला सामाजिक दायित्वका कुरा र बाल्य–लवज हावी देखिन्छ।

यसै सन्दर्भमा मलाई लाग्यो, नाटक धूमधामको घुमघामको (व्याख्याभन्दा पनि) मौलिक प्रस्तुतिले बालबालिकालाई चाहिने खुराक दिएको छ। र, मूल कृतिको लेखकका नाताले मेरो चेतना र कल्पनाले भ्याएभन्दा धेरै माथि, अर्कै दुनियाँमा पसेर नानीबाबुलाई रमाइलो दिने नाटक सिर्जना गरेका छन्, जसमा नेपाली प्रसङ्ग छ, नेपाली लोकभाका छ, स्थानीयता छ। साथै, सरल कमेडी, जोशिलो नाचगानदेखि आध्यात्मिकताको गहिराइसम्म बोकेको छ।

काठमाडौं इचंगुको कान्लाबाट ‘भक्ते’ भ्यागुतो शुरूमै असनको कोलाहलमा नतमस्तक भई छिर्छ, त्यहाँका सडक पसलेहरूको अभिनय गर्ने पूरै कलाकार टोली बाँकी नाटकमा आआफ्नो अभिनय गर्दै फराकिलो क्षमता प्रदर्शन गर्छन्। जस्तै– असनमा सस्तो किताब भिडाउन खोज्ने कलाकार पछि भावपूर्ण आनीको अभिनय गर्छिन्। भक्ते तराईमा पुग्दा त्यहाँको बैलले ‘तराईमा स्वागत छ !’ गीत गाउँदा लाग्छ, तराईको बखान सङ्गीतमा यसरी यसअघि कसले गरेको थियो होला!

चितवनकी बघिनीको वेदना पनि प्रकट हुन्छ।  जङ्गलकी रानीसाहिबा उनी काठमाडौंको भ्यागुतोलाई भन्छिन्, ‘तिमी पो यता आउन सक्छौ, मलाई त्यता जाने बाटो नै कहाँ रह्यो र!’

फूलमाया, नेपालकी एक मात्रै महिला ट्रक ड्राइभरले ‘बन्दीपुरे उकाली …’ गीत सुनाउँदै भक्तेलाई पोखरा पुर्‍याइदिन्छिन्, र भन्छिन्, ‘माछापुच्छ्रेको हिमालको फाटेका पुच्छर हेर्नु छ भने जाऊ घान्द्रुक।’ तर, त्यतातिर लाग्नुअघि भक्ते पोखराका ‘मोडर्न’ भ्यागुताको रहनसहनबाट अचम्भित भई हुत्तिएर धम्पुसको उकालो हुँदै घान्द्रुक पुग्छ।

एवंरीतले शालिग्राम, कैली याक र मार्मट मुसासँगको सङ्गतबाट भक्तेले नेपालको भूगोल, नेपाली जीवहरूको कष्टकर जीवन, गुम्बाको ध्वनिमाझ जीवन अर्थको ज्ञान, कालीगण्डकी खोचको ठूलो हावाहुरीको विज्ञान, र भ्यागुतो ओरालो लाग्दा र उकालो लाग्दाबीचको, र हावा लाग्दा र नलाग्दाको फरक उफ्राइ लगायत ज्ञानैज्ञानको भण्डारलाई आयुषको पटकथा र आकांक्षाको निर्देशनले रमाइलो पाराले प्रस्तुत गरी दर्शकलाई प्रफुल्लित पारेको थियो। दशैं आएसँगै धूमधामको घुमघामको मञ्चन पनि थाती राखियो। उत्कृष्ट नाटक टोली तितरबितर छरिनुअघि फेरि पनि नाटक मञ्चन भइदिए कति मीठो हुन्थ्यो!

यति भन्न म अग्रसर भएँ, किनकि धूमधामको घुमघाम बाल पुस्तकको लेखक मै हुँ, तर धूमधामको घुमघाम नाटकका उत्कृष्ट रचयिता अरू नै हुन्।

(हिमालको २०७९ कात्तिक अङ्कबाट। पत्रिकामा लेखको शीर्षक “समीक्षाः नाटक ‘धूमधामको घुमघाम’” रहेको छ।)

Post navigation

Previous Post:

Man of the Nepali renaissance

Next Post:

The Mansarovar Podcast Networks of Knowledge in South Asia: Collaborating to Grow Together

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes