Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

खुट्टा तान्दै गर !

July 21, 2021 by admin

हिमाल खबरपत्रिका (१–१५ चैत २०६८) बाट

विदेशी मित्रहरूलाई साँझ्को काठमाडौंको झ्लक चखाउन एक दशकको अन्तरालमा दोहोरी रेस्टुरेन्ट पसियो । चिटमा लेखेर कुन्ती मोक्तानको ‘खुट्टा तान्दै गर’ गीत फर्माइस गर्दा स्टेजकी गायिकालाई तिरिमिरी झयाईं भयो । तैपनि उनले साहसका साथ राम्रै गाइन् । उनलाई हार्मोनियम ब्यामअप् दिने र कोरसमा सघाउने गायक सुरेश राईले भने गीतको शास्त्रीय पक्षलाई पनि विना तकलिफ गहकिलो पाराले प्रस्तुत गरे । ललितपुरको पुल्चोकस्थित दोहोरी रेस्टुरेन्टमा भएको भए सङ्गीतकार शीलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानले पनि प्रफुल्लित भई ताली बजाउँथे होलान् ।

कुन्ती मोक्तान ।

कति जल्छौ आरिसले अझै जल्दै गर

म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर !

यी हरफमा महिलाको आँट, स्वाभिमान र स्वतन्त्रता जोशिलो गरी झ्ल्कन्छ, पितृसत्तावादी पुरुषका अगाडि मात्र नभई, जीवन र जगतकै सामु पनि । कतै निरीहपन झ्ल्कँदैन, बरु हँसिलो आक्रामकता पाइन्छ । ब्वाइफ्रेन्ड होस् वा पुरुष स्वामीबाट, परिवार होस् वा समाजबाट, महिलाको अगाडि व्यवधानहरू आइपर्छन् । तर, उनको जवाफ हुन्छ, म त मेरो लक्ष्य छाड्ने छैन, जति तिमी गनगन गर । जति बखेडा तेस्र्याए पनि, काँडेतारले बाटो छेके पनि मेरो यात्रा रोकिन्न ।

मीनरत्न बज्राचार्य
सुरेश राई ।

अफसोच, ‘आलोक’ द्वारा निर्मित यस गीतको म्युजिक भिडियोले गीतकार र गायकको भावना भन्दा बिल्कुलै विपरीत प्रभाव दिन्छ । महिलामुक्ति भन्दा महिला दासत्वको रङ आउँछ, त्यसमा । दुइटा महिला छेउमा राखेर बसेको पुरुषलाई लक्षित गर्दै एउटी तवाइफ नाच्छिन् । अन्तिम सिनमा पुरुष आफ्ना दुई पार्टनरलाई छोडेर तवाइफसँग लाग्छ । भिडियो निर्देशक गीतको मर्म उल्टो जाँदा पनि गायिका मोक्तानले किन यसमा सहभागिता जनाएको होला जस्तो लाग्दछ । शब्द सुहाउँदो अर्को म्युजिक भिडियो नबनाई धर देखिँदैन ।

दक्षिणएसियामा नेपाल

भारत, बङ्गलादेश या पाकिस्तानबाट नेपाल आउने मेरा महिला मित्रहरू काठमाडौंमा स्त्री जाति यति ‘फ्री’ गरी सार्वजनिक स्थलमा हिँडेको देख्दा चकित हुन्छन् । यत्तिको सहज हिसाबले महिलाले समाजमा ठाउँ पाएको अथवा लिएको देख्दा उनीहरू लालायित हुन्छन् । सडकमा, पसलमा, बसमा या स्कुटरमा काठमाडौंका महिलालाई प्राप्त सहजता छिमेकका धेरै मित्रहरूको लागि एउटा आकाङ्क्षाको संसार हो । किनभने, उनीहरूको मुलुकमा, शहरमा यस्तो छैन ।

यसको मतलब, नेपालमा महिलामाथि शोषण छैन भन्ने पक्कै होइन । कुरा काबुल, लाहोर, ढाका या नयाँदिल्लीका गल्ली, गोरेटोमा भन्दा तुलनात्मक रूपमा सजिलोको मात्र हो । यहाँको समाजमा, परिवारमा, स्कूलमा, काममा असमानता छ नै । नत्र ‘खुट्टा तान्दै गर’ जस्तो गीत चाहिने नै थिएन । भएका स्वतन्त्रता अपर्याप्त छन् । महिला अधिकार आन्दोलन सशक्त छैन, बरु कमजोर हुँदै गए जस्तो लाग्छ । ‘डोनर फन्डिङ’ यसको एउटा कारण हुनसक्छ ।

महिला सशक्तीकरण भनेको स्वस्फूर्त अगाडि बढ्नुपर्ने अभियान हो, सचेत महिला र पुरुषको सहभागितामा । तर, आज महिला सशक्तीकरणको लागि राजनीतिक/सामाजिक दबाब सिर्जना गर्न सडकमा उत्रनुको साटो ‘लैङ्गिक समानता’ का कार्यशाला, गोष्ठी र सम्मेलनले महŒव पाएको छ । ‘फेमिनिजम्’ चाहिएकोमा हामी ‘जेन्डर एक्टिभिजम्’मा रमाएका छौं । ‘फेमिनिजम्’मा राजनीतिक जुझरुपन हुन्छ र यसबाट उत्पन्न दबाबबाट सशक्तीकरण हुन्छ । होलीको बेला लोला हान्ने युवकहरूलाई कुनै युवतीले चुनौती दिनु अथवा सबै मिलेर प्रतिकार गर्नु यसको एउटा उदाहरण हो । यस्तै जुझरुपनले बृहत्तर समाजमा ‘फेमिनिष्ट’ आन्दोलन जन्माउने हो ।

नेपालमा पनि ‘फेमिनिजम्’लाई अन्य विकासोन्मुख मुलुकहरूमा जस्तै कमजोर पारिएको छ । सबै एनजिओ, दातृसंस्था र बौद्धिक वर्गको ‘पितृसत्तात्मक योजना’ अन्तर्गत गोष्ठी कक्षभित्र धकेलिएका त होइनन् सहभागी महिलाहरू ? सडकमा उठ्नुपर्ने हातहरूमा तालिमको कलम थम्याइदिएर दायित्व पूरा भएको ठाने जस्तो छ, धेरैले ।

महिलामुक्ति

‘फेमिनिजम्’को ठिक माने लाग्ने नेपाली शब्द नभए जस्तो लाग्दछ । ‘लैङ्गिक समानता’ अथवा ‘महिला अधिकार’ ले भन्दा ‘महिलामुक्ति’ले ‘फेमिनिजम्’को अझ् प्रभावकारी अर्थ दिन्छ जस्तो लाग्छ । तर, महिलामुक्ति मात्र महिलाको क्रियाशीलताको फाँट होइन, र सुरेश राईले पुरुष भइकन ‘खुट्टा तान्दै गर’ मा दिएको साथ अति नै राम्रो !

हामी अक्सर ठान्दछौं कि हाम्रो युग मात्र आधुनिक युग हो र हामीमा मात्र आधुनिक विचार बास गर्छ । जबकि, महिलामुक्तिको कुरा पुरुषहरूबाट पनि धेरै अघि उद्घोष भएकै हो । बिपी कोइरालाको ‘आत्मवृत्तान्त’ लाई अङ्ग्रेजीमा उल्था गर्ने क्रममा मैले उनको परिवारमा महिलामुक्तिका उदाहरणीय पात्रहरू पाएँ, जसले बिपीलाई ‘बिपी’ बनाएका छन् ।

२००७ ताका एक अद्भुत सामाजिक–राजनीतिक गायकले नेपालीलाई अन्धकारबाट आधुनिक युगतर्फ धकेल्दै थिए । उनी थिए– कलानाथ अधिकारी, जसले पछि हेटौंडा नजिक ‘श्रम नगर’ स्थापना गरे । उतिबेला कलानाथ आजभोलि ‘प्रगतिशील’ भनिने गरेका जस्ता गीत गाउँथे, तर कुनै दलको माइक समाउने गायक भएर होइन । कलानाथले राणाशासन र सामन्ती प्रथा विरुद्ध सामाजिक उत्थानका लागि आफ्नो गला खर्चेका थिए । ‘आइज निदरी आइज, छुनुमुनु–छुनुमुनु…’ यो सदावहार लोरी पनि यिनै कलानाथको हो । कुन्ती मोक्तानले नेपाली महिलालाई उल्लासका साथ जगाउन, अरूको लागि नभई आफ्नो लागि जिउन उत्प्रेरित गर्न ‘खुट्टा तान्दै गर’ गाए जसरी नै कलानाथले राणाकालबाट भर्खर मुक्ति पाएको ‘नयाँ नेपाल’ मा महिलालाई आफ्नो बाटो रोज्न ‘देशका नौजवान गीत गाउ’ गाएका थिएः

ए दिदी बहिनी हो,

लाली पाउडर लाइवरी

घरै बस्न निको मानी

असल चाल नलिएमा

*पुरुष जाति अनि तिम्लाई *

किन छाड्थे…

Post navigation

Previous Post:

बाबुरामको रथावतरण: हचुवामा गरिएको वाहवाहीको दुष्परिणाम

Next Post:

विश्वको नासो लुम्बिनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes