त्यो उग्र बत्ती र पोखराको गन्तव्य

हिमाल खबरपत्रिका (माघ ३, २०८०) बाट 

एशियाकै उत्कृष्ट पर्यटकीय स्थल हो पोखरा उपत्यका, तर कुविकासले त्यहाँको सम्भावनामा अवरोध गरेको छ।

पोखरा शहरबाट देखिने ‘दुई चन्द्रमा’। तस्वीर : वातावरणविद् हुमबहादुर गुरुङ

पोखराका प्रबुद्ध नागरिक र नेताले शहरी विकास, वातावरण संरक्षण वा पर्यटनको सुझबुझपूर्ण विकासमा बाँकी मुलुकलाई मार्गदर्शन गर्छन् भन्ने आश थियो कुनै वेला। पोखराले राजधानी उपत्यकाको शहर निर्माण र विस्तारका दशकौंका अनगिन्ती गल्तीबाट पाठ सिकेर अघि बढ्ने पनि अपेक्षा थियो। तर मौलिकता मात्र होइन, पोखराले त भविष्यतर्फको आफ्नो यात्रा नै बिथोल्दै छ।

हालै पोखरा पुग्दा मध्यरातमा उत्तरपूर्वी आकाशमा क्षितिजनेर निकै चम्किलो बत्ती देखियो। शुरूमा त हवाईजहाज ढिलो आएछ क्यार भन्ने लाग्यो। तर त्यो प्रकाशको स्रोत स्थिर रहिरह्यो। तारा पनि होइन त्यति चम्किलो। गाउँघरमा कसैले जडेको फ्लडलाइट पनि होइन। के होला त यो उग्र बत्ती?

पत्ता लगाउँदै जाँदा त त्यो अनर्थको बत्ती जडान रहेछ, पोखरा महानगरपालिकाले वडा नम्बर १३, आर्वाको डाँडोमा जडान गरेको ‘हाई म्यास्ट फ्लडलाइट’। नेपाल विद्युत् प्राधिकरणले अहिले देशभरि नगरका चौबाटोमा यस्तै बत्ती राखिरहेछ। तर आर्वाको पाखामा यो बत्ती राखिनुको अर्थ बुझ्न सकिएन। 

कसैले भने– नयाँ हवाईअड्डामा अवतरण गर्ने पाइलटलाई सतर्क गराउन यो राखिएको हो। त्यसो भए आर्वा छेउका अझै अग्ला डाँडामा जडान हुनुपर्थ्यो। छेउको मन्दिर परिसरलाई उज्यालो दिन यत्रो अग्लो, ठूलो र महँगो बत्ती चाहिंदैन। फेरि आठ वटा बत्तीको ‘अरे’ तलपट्टि नभई चारैतर्फ उज्यालो छर्ने गरी राखिएको छ, रात्रि खेल हुने ठूलै रंगशालामा जस्तै।

रातमा सबैको आँखा खिच्ने यति चहकिलो बत्ती किन चाहिएको हो, बताउन सक्ने कोही भेटिएन। यत्ति चाहिं यकीन भयो, पोखरा महानगरले रु. १५ लाख खर्च गरेर जडेको, वार्षिक डेढ लाख रुपैयाँ बिजुली खर्च हुने त्यो ‘हाई म्यास्ट’ बत्ती छेउछाउ अब ‘रात’ पर्दैन।

स्थानीय बासिन्दालाई कति असर परेको होला भन्ने पाटो एकातिर छ, अर्काति राति चहलपहल गर्ने परपरसम्मका जंगली जनावर, पक्षी, कीराफट्यांग्राको जीवनचर्या बिथोलिने भइहाल्यो। यसै त सर्वत्र सस्तो र टिकाउ सीएफएल बल्बका कारण रात उज्यालो भएको छ, यो ठूलो बत्तीले त अचाक्ली गर्ने नै भयो।

पर्यटन खस्काउन दत्तचित्त

एशियाकै पर्यटनको उत्कृष्ट थलो हो, पोखरा। यहाँको पर्यटनबाट स्थानीय बासिन्दा मात्र नभई राष्ट्रिय अर्थतन्त्रले ऊर्जा लिने ठाउँ छ। तर आर्वाको त्यो विद्युतीय आतंकले पोखराका नगर प्रतिनिधिले पर्यटनको ‘प’ पनि नबुझेको हो कि भन्ने शंका जाग्छ, बिथोलिएको रातको मानवीय, समाजशास्त्रीय र वातावरणीय असरको त कुरै नगरौं।

पोखराका मौलिकता हुन् – ताल, हिमाल र मध्यपहाडको उत्कृष्ट संगम, र २६,००० फिट माथिको अन्नपूर्ण हिमशृंखला। कास्की क्षेत्रको संस्कृति, वेशभूषा, सेती नदी खोंचको उत्कृष्टता, चराचुरुंगी र पुतलीको संसार, पदयात्राको बहार, आदि।

यति विविध आकर्षण भए पनि पर्यटक पोखरा आउनुको मुख्य कारण अन्नपूर्ण शृंखलाको दृश्य नै हो – अगाडि एक्लो उभिएको माछापुच्छ्रे अनि घेरा हालेर उभिएका अन्नपूर्ण साउथ, अन्नपूर्ण १–२–३–४, गंगापूर्ण र लमजुङ हिमाल। अनि पूर्व–पश्चिमतर्फ अलि पर खडा धौलागिरि, मनासलु, हिमालचुलीदेखि गणेश हिमालसम्मले पोखराको हिमदृश्यलाई टेवा दिइरहेका छन्। पर्वतारोही आउँछन् हिमाल चढ्न, बाँकी आउँछन् हिमाली चुचुरा र शृंखला हेर्न, मध्यपहाडको गोरेटो स्पर्श गर्न। 

पोखराको विशेषता नै हिमाल हेर्ने भएपछि पर्यटकीय दृष्टिकोणले गर्नैपर्ने कार्य हो– न्यून मानव हस्तक्षेप सहित हिमाल हेर्ने अवस्था जुराउनु। यसको मतलब, भौतिक पूर्वाधार र संरचना निर्माण त्यो ‘दृश्य’ नबिथोलिने गरी हुनुपर्छ, किनकि ‘हिमाल भ्यू’ नै पोखराको पूँजी हो। जति प्राकृतिक हिसाबले हिमालय दर्शन गर्ने अवस्था जुरायो, उत्तिकै पर्यटक खुशी हुने र सोही अनुपातमा पर्यटनबाट बकाइदा आम्दानी लिने हो। पर्यटन भनेको व्यवसाय हो, र यसको ध्येय व्यवसायीलाई मात्र उकास्ने होइन, समुदाय र देशको आम्दानी बढोत्तरी गर्ने हो।

माछापुच्छ्रे अगाडि आर्वा डाँडाको बत्ती (बायाँ) र राति सोही स्थानबाट देखिने दृश्य (दायाँ)। तस्वीर : कनकमणि दीक्षित

पोखराको आसपास र अन्यत्र पनि हामी दत्तचित्त भई पर्यटकीय आकर्षण घटाउनेतर्फ केन्द्रित छौं। पोखराकै कुरा गर्दा– फेवा तालको क्षेत्रफल खुम्च्याउने काममा लागेका छौं। यससँगै थुम्काहरूमा क्षणिक रूपमा यात्रु र वनभोज गर्नेलाई निम्त्याउने गरी डाँडा-पाखामा मूर्ति, स्तूप र भ्यूटावर खडा गर्ने, तालवाराही अगाडि ताल किनारमा परम्परागत नभई आधुनिक शैलीमा ‘आरती’ उतार्नेदेखि पोखराका फाँटमा सर्वत्र राजधानी उपत्यका जस्तै वास्तुकलाविहीन घर–टहरा बनाउने पोखराको नियति भएको छ।

भएको सम्पदा बुझ्न र प्रयोग गर्न सकिरहेको छैन पोखरा। पुरानो शैलीका ढुंगाका पर्खाल, पीपलबोटे चौताराहरू त अब तस्वीर र कलामा सीमित भइसके। सिमल कुँदेर बनाइएका पुरानो शैलीका डुंगा हाम्रा सम्पदा हुन्, तर पश्चिमा शैलीका सयौं ‘रो-बोट’ माझ लेकसाइडमा इतिहास झल्काउने पुरानो डुंगा एउटा पनि देखिंदैन।

पोखराका नयाँ रो-बोट। तस्वीर : कनकमणि दीक्षित

उच्च कोटिको पर्यटनबाट राम्रो आम्दानी गर्न आफ्नो प्राकृतिक, भौगोलिक र सांस्कृतिक परिवेशबारे तथ्यहरू आकर्षक शैलीमा बताउन सक्नुपर्छ। पोखराको भौगर्भिक अवस्थितिबारे पर्यटकलाई लालायित पार्ने गरी बताइँदैन– कसरी १२०० वर्ष जति अघि अन्नपूर्ण–४ छेवैको महाहिमचुचुरो ढल्न पुग्यो र जसका कारण पोखराको खोंच ढुंगा, चट्टान र बालुवाले भरिएर मैदान बन्न पुग्यो। र, कसरी आजका पोखरेली फाँटका ससाना ‘टापु’हरू पहिलेको खोंचमाथिका पहाडी चुचुरा थिए। पोखरा मैदानलाई कुँदेर बग्ने सेतीको विशेषतालाई पनि पोखराले पर्यटकीय पूँजीका रूपमा पेश गर्न सकेको छैन, बरु फोहोर फाल्ने ‘टोइलेट बोल’ बनाइएको छ। 

पोखरावासी र पोखरेली व्यवसायीले सोच्नुपर्ने कुरा हो, ‘हामीलाई वनभोज खानेहरू चाहिएको हो कि बढीभन्दा बढी पैसा खर्च गर्ने पर्यटक?’ आजको अवस्थामा त वनभोज-आगन्तुकहरूलाई लक्षित गरेर काम भएको देखिन्छ। अनि किन रत्न मन्दिर परिसर जस्तो ‘रत्न’ लाई टिकट तिरेर हेर्न मिल्ने मौलिक र रमणीय शहरी पार्कका रूपमा विकास नगरेको? रत्न मन्दिर परिसरकै पश्चिमी पर्खाल (तालवाराही जाने बाटो) छेउका रूखमा सयौं बकुल्ला साँझपख बस्न आउँथे। एकाएक ती रूख किन ढालिए?

शहरीकरणले छेकिएको छ सेतीको खोंच।

अझैसम्म पनि पोखराका स्कूले विद्यार्थीलाई अन्नपूर्ण शृंखलाका एक–एक हिमालको नाम बुझाउने गरी पढाइँदैन, जुन हुनैपर्थ्यो। यस्तै, पोखरा उपत्यका जलवायु परिवर्तन र ‘साउथएशियन ब्राउन क्लाउड’ को कारण हिउँ पग्लने क्रमको अध्ययन गर्ने विश्वकै उत्तम स्थल हुनुपर्ने हो। तर यसतर्फ स्थानीय र प्रादेशिक राजनीतिक, बौद्धिक र प्रशासनिक नेतृत्वको चासो देखिंदैन?

हवाईअड्डा र भाग्यवाद

पोखराको अहिलेसम्म ‘अन्तर्राष्ट्रिय’ हुन नसकेको नयाँ हवाईअड्डाकै कुरा गरौं। करीब २२ अर्ब रुपैयाँ खर्चेर पर्नुपर्नेभन्दा महँगो लागत र अत्यधिक ब्याजदरमा संरचना बनेयता निर्माणबारे धेरै टिप्पणी भइसके। चिनियाँ ठेकेदारले ‘कट पेस्ट’ गरेर बनाएको यस हवाईअड्डामा एक त पहिलाको विमानस्थल जस्तो अन्नपूर्ण शृंखलाको मोहक दृश्य हेर्ने ठाउँ नै छैन। नेपाली पक्ष र पोखराका व्यवसायीले संरचना बन्दै गर्दा किन यस त्रुटि नदेखेका र डिजाइन सच्याउन अग्रसर नभएका? अझै पनि हवाईअड्डाको पार्किङछेउ वास्तुकला र शैली नबिग्रने गरी माग अनुसार प्रतीक्षालय र रेस्टुरेन्ट बनाउन सकिन्छ, तर अनुमान गर्न सकिन्छ, कुनै वेला असुहाउँदो टहरा बनाइन्छ नै।

नयाँ हवाईअड्डामा अन्तर्राष्ट्रिय उडान गराउन हालसम्मको सरकारी असफलतामा गनगन धेरै छ, क्रियाशीलता न्यून। बहसमा निष्क्रियतासँगै भाग्यवाद हावी देखिन्छ। अन्तर्राष्ट्रिय उडान किन आएनन्, कताबाट ल्याउने भन्नेमा सरकारी (संघदेखि प्रदेश र पालिकासम्म) उदासीनतासामु नागरिक र व्यवसायीका तर्फबाट पनि ठोस पहल देखिंदैन। यो स्थानीय सम्भावना बोकेको संरचनाका लागि पोखरा आफैं तात्नुपर्छ, काठमाडौंको आस गरेर भएन।

महँगो त भयो हवाईअड्डा, यसमा कसले कति भ्रष्टाचार गरे त्यो खोतलिनु पनि पर्छ, तर हाम्रा सामु विमानस्थल र यस सम्बन्धी आवश्यक सबै संरचना छन्। साथै, पोखरा नगरमा विमानस्थल हुँदै आउने अन्तर्राष्ट्रिय आगन्तुकलाई थेग्न सक्ने हजारौं होटल शय्या पनि छँदै छन्। मात्र कुरा रह्यो, अन्तर्राष्ट्रियतर्फको हवाईमार्ग कसरी सञ्चालन गर्ने?

‘अन्तर्राष्ट्रिय’ हवाईअड्डाको चल्न नसकेको ‘एअर ब्रिज’। तस्वीर : कनकमणि दीक्षित

चिनियाँ लगानीको या ठेकेदारले बनाएको जलविद्युत् आयोजनाका बिजुली नकिन्ने भारतको घोषित नीति छ। त्यो नीतिको घानमा नेपालमा चिनियाँ लगानीका परियोजनाको बिजुली पनि पर्ने भयो। यस्तै, चिनियाँ लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय हवाईअड्डाबाट भारतमा उडान गर्न नदिने भन्ने कुरा आइरहेको छ। पोखराका नागरिक, महानगरपालिका, प्रदेश सरकार र तीनै तहका निर्वाचित सदस्यले एकै स्वरमा काठमाडौं सत्तालाई दबाब दिनुपर्‍यो– नयाँ दिल्लीसँग कुरा गर, तगारो छ भने हटाउन पहल गर, लाचार नबन भनेर। भारतीय प्रम नरेन्द्र मोदी बेखुश होलान् भनेर तर्सीतर्सी हिंड्ने काठमाडौंको ‘कम्फर्टेबल’ दाहाल सत्ता त्यसो गर्न नचाहला, तर पोखराबाट आवाज त उठाउन सकिन्थ्यो।

गाइँगुइँ सुनिन्छ, विमान सेवा कम्पनीहरूले ‘लोड पेनाल्टी’ का कारण ‘न्यारो बडी’ जेट पोखरामा उतार्न सक्दैनन्, धेरै यात्रु र कार्गो बोक्न नसक्ने भएकाले। के यो सत्य हो? बोइङ ७३७ र एअरबस ३२० ‘न्यारो बडी’ ले दोहा–काठमाडौं, दुबई–काठमाडौं र कोलम्बो–काठमाडौं उडान गर्न सक्छन् भने भारतका विभिन्न शहर बाहेक चीनको कुनमिङ, छेन्दु र ल्हासाबाट पोखरा उडान गर्न सक्तैनन्? नियमित उडान गर्न शुरूमा चिनियाँ या नेपाली विमान सेवा हच्कने हो भने चार्टर उडान हुन सक्दैन? पोखराबाटै चीन डेलिगेसन गएर कुरा अगाडि बढाउन पहल भएको छ या छैन?

वास्तवमा समस्या कहाँनेर हो, भेउ पाउनै सकिएको छैन– सबै अफवाह र आलस्यको आहालमा लटपटिएको जस्तो देखिन्छ। नरेन्द्र मोदीबाट प्रत्यक्ष विरोध आएको वा विरोध आउने अनुमानका आधारमा दाहाल सरकार पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा मौन बसेको हो भने यसमा पूरै नेपाली राजनीतिक वृत्त जागरुक हुनुपर्छ। कम्तीमा पोखरेली बुद्धिजीवीले विशेषज्ञहरू सहितको गोष्ठी आयोजना गरेर अन्तर्राष्ट्रिय हवाईअड्डा चलायमान गर्नमा आएको अवरोधका प्राविधिक, आर्थिक, भूराजनीतिक र कूटनीतिक पक्षको बहस गर्नुपर्छ र निष्कर्षतर्फको यात्रा शुरू गर्नुपर्छ। 

प्रकाश प्रदूषण

आर्वा डाँडामा बत्ती बल्नु, यसबारे पर्याप्त बहस नहुनु, यसले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा गर्ने आर्थिक, वातावरणीय असर र ‘एस्थेटिक्स’ मा गर्ने घातबारे छलफल नहुनुमा अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा देखिएकै जस्तो भाग्यवाद र निष्क्रियता हावी देखिन्छन्। त्यत्रो ठूलो बत्ती राखिनुको प्रयोजन नै देखिंदैन। त्यो प्रकाश रातभर कसका लागि आवश्यक होला? ‘हामीसित बत्ती छ, लौ हेर’ भन्नु बाहेक अरू के अर्थ होला र? यस्तो व्यर्थको प्रयोगले स्थानीय नीतिनिर्माताको सोचविचारबारे प्रकाश पार्छ जस्तो लाग्छ। 

आर्वाको उग्र बत्ती। तस्वीर : हुमबहादुर गुरुङ

नेपालमा बिजुलीको पहुँच सर्वत्र पुगेपछि सबैतिर रातको समयमा चाहिनेभन्दा बढी बत्ती बल्न थालेको छ। मानव, जीवजन्तु र वनस्पतिको उत्पत्तिसम्मले रातको समयमा अँध्यारोको माग गर्छ। अहिले अन्य मुलुकमा जस्तै नेपालमा पनि प्रकाश प्रदूषण बढेको छ। फेवा ताल किनारको पामेमा धेरै चराचुरुंगी आउने गरेकोमा पछिल्लो समय रातको उज्यालोका कारण संख्या स्वाट्टै घटेको स्थानीय रेष्टुरेन्ट सञ्चालकहरू बताउँछन्।

हो, रातको समयमा डाँडाकाँडा झिलिमिली देखिंदा रमाइलो लाग्छ, तर जनजीविका र सुरक्षाका लागि चाहिनेभन्दा बढी बत्ती बाल्नु हरहिसाबले बेठीक हो। अझ आवश्यकता विना रातभर उग्र बत्ती बाल्नुलाई अनर्थ नै मान्नुपर्छ। अचम्मको कुरा, आर्वाको त्यो बत्ती केही साताअघिसम्म दिनभरि पनि बालिन्थ्यो, स्थानीय अगुवा र वातावरणविद् हुमबहादुर गुरुङ तथा अन्यको आग्रहमा आजकाल बिहान ७/८ बजेपछि निभाइने गरेको छ।

पहिले पहिले डाँडाको टुप्पोको आकर्षण थिएन, थुम्काको बारीभन्दा बेसीको खेतलाई नै राम्रो मानिन्थ्यो। अहिले ‘थुम्का टुरिज्म’ को वेला हो, किनकि नेपालका पर्यटकीय जुहारात नै मध्यपहाडका थुम्का हुन्। आम्दानी लिन थुम्कामा धेरै रात बिताउने रिसोर्ट, होमस्टे बनाउनुपर्नेमा हामी ‘क्षणिक पर्यटक’का लागि मूर्ति, स्तूप, भ्यूटावर राख्दै छौं। कसैलाई नचाहिएको र विना कारण ठड्याइएका आर्वाको त्यो उग्र बत्ती यसै सिलसिलाको उपज हो। अन्यत्र पनि कसैले बेफ्वाँक आर्वाको सिको गर्नुअघि नै त्यो बत्ती सदाका लागि निभाइनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *