Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

त्यो फ्लेक्स्, यो मेताफर!

August 20, 2017 by admin

हिमाल खबरपत्रिका (२९ साउन-३ भदौ, २०७४) बाट

एउटा तुलले पनि मुलुकको गरिमा बोकेको हुन्छ ।

तीन हप्ता अगाडि प्रम कार्यालयको भेटघाट कक्षमा टाँगिएको सगरमाथाको तस्वीरबारे चर्चा गर्न बाध्य भइयो, र ट्वीटरमार्फत @hello_sarkar लाई समेत गुहारियो । त्यो तस्वीर चीन–तिब्बत मोहडाको थियो, अर्थात् नेपाली भूभाग बाहिरको । पर्यटन विभागले सच्याएको कुरा पनि @hello_sarkar बाट थाहा भयो (पत्र संख्याः च.नं. १६९, मिति २०७४/०४/१७मार्फत) ।

यसपालिको ‘आपत्ति’ रह्यो– १५औं मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनको उद्घाटन समारोहमा डाएस पछाडि राखिएको तुल । कुनै हतारमा गरिएको गोष्ठीमा जस्तो गरी (शायद टेपले) सोल्टी होटलको ‘मेघामल्हार हल’ को भित्तामा तुल टाँसिएको छ । डिजाइन–डेकोरको कुनै पर्वाह छैन, बेरेर ल्याइएको फ्लेक्स् खोल्दाको पाटे दाग समेत सबैले देख्ने गरी ।

हुनत कसैको भनाइ रहला– के फरक पर्‍यो त ? एउटा तुल मिलेन भनेर किन रोइलो ? तर एउटा तुलले पनि देशको गरिमा बोकेको हुन्छ । कुनै पनि अन्तर्राष्ट्रिय सभाकेन्द्रको समग्र वातावरण, साउण्ड सिस्टम, बत्ती/उज्यालो, वातानुकूलित अवस्था, सजावट, ट्वाइलेटको सरसफाइ, मीटिङ संचालन विधि– यी सब उच्च मापनको हुनुपर्छ, यो त साधारण कुरा हो । तर नेपालमा साधारण कुरा पनि सुनिश्चित छैन ।

तस्वीरः बिक्रम राई

त्यो तुललाई नै हेरौं– कति हचुवा पाराले टाँगिएको छ । आधाजति माथि भित्तामा, बाँकी ढोकाको पर्दाको भागमा झरेको छ । धन्न तुल बाहेक डाएसको सजावट देखिएन, पानी कसरी राखिएको छ (अन्तर्राष्ट्रिय तवरका सम्मेलनहरूमा सुराहीमा जस्तै अथवा नांगो मिनरल वाटर बोटल वा छोपिएको उही बोटल) देखिएन, नत्र त मूर्च्छा नै पर्ने अवस्था आउन सक्थ्यो । तस्वीर फेरि नियालेर हेरेको त मूर्च्छै परियो । मिनरल वाटरको सिसी त्यो पनि लेबल नझिकेको– कत्रो अन्तर्राष्ट्रिय लाज !

नेपालको परराष्ट्र नीतिको बेहालबारे यहाँ चर्चा नगरौं, यति मात्र भनौं कि छिमेक र अन्यले के भन्छन् भन्दै दुम्की–दुम्की, डराई–डराई, परिचालित छ यो नीति नेतृत्व तहमा । अन्य तहमा लापर्वाहीको बिगबिगी छ । नेता र कर्मचारीले ध्यान नदिंदा अन्तर्राष्ट्रिय समुदायमाझ मुलुकको गरिमा र ‘स्ट्यान्डिङ्ग’ गिरेको छ । त्यहाँ उपस्थित बिम्स्टेक मित्रराष्ट्रका दक्षिण र दक्षिणपूर्वी एशियाका प्रतिनिधिहरूले त्यो फ्लेक्स् हेरेर नेपालबारे के धारणा बनाए होलान् ?

त्यो फ्लेक्स् बनाउने, टाँग्ने जिम्मा पक्कै परराष्ट्र मन्त्रालयका कुनै कर्मचारीको थियो । के उनले अन्तर्राष्ट्रिय सम्मेलनहरू कसरी संचालन हुन्छ, देखेका थिएनन् ? उनलाई ‘सुपरभाइज्’ गर्ने अफिसरदेखि परराष्ट्र सचिव शंकरदास वैरागीसम्मलाई त्यो तुल ठीकै लागेको हो ? मलाई भने त्यो फ्लेक्स्ले नेपालको बिजोग दर्शाएको भन्ने लागेको छ । यस्तो बिजोग त लुकी–लुकी खपौंला, तर संसारसामु पेश गर्नुहुँदैनथ्यो । एउटा न्यूनतम ‘सोफिस्टिकेशन्’ को माग राख्दछ अन्तर्राष्ट्रिय सम्बन्धको विधाले । त्यसैले हो त्यो तुल र तुलले जनाएको लापर्वाहीबारे कोकोहोलो गरेको । मेटाफर भन्नुस् वा बिम्ब, त्यो फ्लेक्स्ले गहिरो अर्थ राख्दछ ।

तर, हामी नागरिक उत्तरदायित्व र जवाफदेही नखोज्ने जमात बनेका छौं यतिबेला । फेरि एकपछि अर्को घटनाक्रम यस्तो छ कि कुनै कुराको अर्थ या मर्म बुझ्ने समय नै छैन भनौं । यसैले ठूलो कुरा होस् या सानो, प्रष्ट कुरा होस् या सांकेतिक― उत्तरदायित्व र जवाफदेही ठम्याउने र मागदाबी गर्ने समय छैन ।

परराष्ट्र मामलाकै सन्दर्भमा उही बिम्स्टेकको गोवा शिखर सम्मेलन (अक्टोबर २०१६) लाई पनि नियालौं । प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अन्य शीर्षस्थ सहभागी बसेको भवनको प्रतीक्षा कक्षमा आ–आफ्नो गाडी कुर्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दाहालको अनायास भेट हुन्छ । प्रम दाहाल, पत्नी सीता तथा दुई सरकार प्रमुखबीच त्यहाँ सोफामा बसेर भलाकुसारी हुन्छ । दाहाल पुत्र प्रकाशले त्यो भेटको तस्वीर खिचिकन फेसबूकद्वारा प्रचार गर्छन्, औपचारिक त्रिपक्षीय वार्ता भन्दै र पितालाई त्यसको श्रेय दिंदै ।

 

तस्वीरः प्रकाश दाहालको फेसबूकबाट

प्रकाशको त्यो गैरजिम्मेवार कार्यले उत्तर र दक्षिणमा रहेका सबभन्दा महत्वपूर्ण छिमेकको शीर्ष व्यक्तित्वद्वयको मनमा नेपालप्रति अविश्वास पैदा गरेको हुनुपर्छ । प्रकाशले त्यसरी अनौपचारिक भेटलाई अन्यथा ढंगले संसारसामु पेश गर्दा भारतीय पक्षले त प्रेस विज्ञप्ति नै निकाल्यो– त्यसो भएको होइन भनेर ।

बिम्स्टेकसँग सम्बन्धित यी दुई घटना (तुल र तस्वीर) प्रतिनिधिमूलक हुन्, कि कसरी शासक वर्ग र कर्मचारीतन्त्रका कतिपयले नेपालको इतिहास, कूटनीति, जनभावनाको वजन बोक्न जानेका रहेनछन् । जबसम्म हामी यस्ता ‘सामान्य’ कुरा बारे चिन्तित हुँदैनौं र ‘यस्तै हो, चल्ता हे’ भन्दै धूलो बढारेर सतरन्जा मुनि लुकाउँछौं, सुधारको अपेक्षा नगरे हुन्छ । अतः गोवाको तस्वीर खिच्ने व्यक्ति होस् वा त्यो फ्लेक्स् टाँग्ने व्यक्ति, कुरा ठूलो होस् या सानै, जवाफदेही खोज्नै पर्छ ।

Post navigation

Previous Post:

Different regionalisms

Next Post:

दोरम्बा दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes