Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

निर्मल पुर्जाको साहस र शान

April 13, 2022 by admin

हिमाल खबरपत्रिका (१४ फागुन, २०७८) बाट

‘प्रोजेक्ट पसिबल’ ले संसारसामु ३८ वर्षे पर्वतारोहीको कीर्तिमान मात्र प्रस्तुत गरेन, नेपालीलाई आफ्ना सिरानका हिमालहरूप्रति आकर्षित पनि गराएको छ।

नेपाललाई हिमालको देश भनिए पनि अधिकांश नेपालीले हिमाली चुचुरा नजिकबाट चिनेका छैनन्। हिउँमा हिंड्ने, हिमाल चढ्ने, पर्वतारोहणको इतिहास र हिमाली शृङ्खला र भूगोलको चिनारी सबबाट परै रहँदै आएका छन् बहुसङ्ख्यक नागरिक। हिमाली समुदायमध्ये सोलुखुम्बु र अन्यत्रका शेर्पाहरूले आफ्नो जीविकोपार्जनका लागि पर्वतारोहण पेशा अपनाए र यो समुदायमा कतिपय महसुर पर्वतारोही पनि पैदा भए, आम नेपालीजन भने हिमाली भूगोलबाट दूरीमै रहे। तर, यो अवस्था बदलिंदो छ।

नेपालीमाझ ‘आन्तरिक पर्यटन’ को स्वाद बस्दै जाँदा केही वर्षयता युवाहरूमा उच्च हिमाली क्षेत्रको पदयात्राको आकर्षण बढ्दो छ, र हिमाल चढ्ने चासो पनि। सातै महाद्वीपका सात अग्ला शिखर चुम्ने नेपाली चेली भनौं, या सगरमाथाको उचाइ नाप्न दुई पटक चुचुरो चढ्ने सर्भेयर खिमलाल गौतम, या आमाडब्लामको टुप्पो पुग्ने जनकपुरका साइकलयात्री रञ्जित साह, पछिल्लो समय गैरशेर्पा समुदायकाहरूले पनि हिमाल आरोहण गर्न थालेका छन्।

यस्तो ‘ट्रेन्ड’ लाई निर्मल (‘निम्सदाइ’) पुर्जाको एक दशकको साहसिक हिमाली यात्राले हिमाल आफ्नै हुन् र हिमाल चढ्न सकिन्छ भन्ने उत्साह धेरैमा जगाएको छ। एक दशकअघि एक्कासि हिमाली आकाशमा क्षेप्यास्त्र जस्तो गरी देखा परेका पुर्जाले ‘म सक्छु, मलाई केहीले रोक्दैन’ भन्ने सार्वजनिक अठोटका साथ कीर्तिमानमाथि कीर्तिमान थपिरहेका छन्।

ब्रिटिश गुर्खा पल्टनको सिपाही हुँदाहुँदै सगरमाथा चढेपश्चात् जागीर छाडेर ‘फूलटाइम क्लाइम्बर’ बनेका उनले विश्व पर्वतारोहणलाई नै चकित पारेका छन्, जबकि धेरै पश्चिमा आरोही र पर्वतारोहण विश्लेषकहरूले बाध्य भई, अनकनाएर मात्र उनलाई स्विकारेका छन्। पुर्जाको यो यात्राले हिमाल-पहाड-तराईका युवालाई हिमाल चढ्नेतर्फ आकर्षित गर्ने पक्का छ।

शेर्पाहरूले जीविकोपार्जनका लागि बाध्यतावश पर्वतारोहण पथप्रदर्शकको खतरापूर्ण पेशा अँगालेको एक शताब्दी भएको छ। अन्ततः उच्च हिमाली आरोहणको अभिन्न सहयोगी भएकै कारण शेर्पा समुदाय संसारभर प्रख्यात हुन पुग्यो, यहाँसम्म कि अन्तर्राष्ट्रिय शिखर सम्मेलन तयारीमा संलग्न कूटनीतिज्ञलाई नै ‘शेर्पा’ भन्न थालियो। प्रख्यात भूगोलविद् डा. हर्क गुरुङ शेर्पाहरूको खूबीबारे भन्थे, ‘उच्च हिमाली भेग सजिलै पार गर्नु र हिउँका पाखा भञ्ज्याङ छिचोल्नु।’

केटूको सफल आरोहणपछि पुर्जाको टोली खुशीयाली साट्दै। तस्वीर: निर्मल पुर्जा प्रोजेक्ट पसिबल लिमिटेड

डा. गुरुङको भनाइमा मध्य पहाडका भीरपाखामा हुर्किएका पहाडे जनजाति समुदायसँग पर्वतारोहणमा चाहिने विशेष प्राविधिक कौशल हुन्छ। शायद यसै कारण नेपालका पहिलो पर्वतारोही बन्न पुगे, ब्रिटिश गुर्खा सिपाही तेजवीर बुढा जसले यूरोपको आल्प्स्का हिमाल चढे। र, सन् १९२४ को हिउँदे ओलम्पिक्समा स्वर्ण पदक पाउने सिपाही पर्वतारोही बने, जति वेला पर्वतारोहण विधामा पनि प्रतिस्पर्धा हुन्थ्यो।

निर्मल पुर्जाले जानी नजानी यही ‘पहाडे’ परम्परा अनुसरण गरेको देखिन्छ, गुर्खा रेजिमेन्ट मार्फत हिमाल आरोहणतिर लागेर। उनको पुन मगर परिवारको थातथलो म्याग्दीको दाना गाउँ हो, तर पुर्जा सानै हुँदा परिवार चितवन सर्‍यो। आमाको रेखदेखमा उनले त्यहीं पढे, गाउँ र जङ्गल घुमे, उनको निडर स्वभाव त्यहीं विकास भयो।

युवालाई आत्मबल र शारीरिक विकासका लागि लक्ष्य प्रदान गर्ने तथा हिमाली पर्वततर्फ लालायित पार्ने सबै तत्त्व निर्मल पुर्जाको बियोन्ड पसिबल आत्मकथामा पाइन्छ। अन्तर्राष्ट्रिय स्तरको सिपाही बन्न उनलाई ब्रिटिश गुर्खाको दैलो खुला हुन्छ, र आत्मबल सँगाल्दै कठोर व्यायाममा खरो उत्रेर उनी पनि छनोट हुन्छन्। गुर्खा फौजमा पोख्त हुने क्रममा उनको रुचि ब्रिटिश सेनाको सबैभन्दा एलिट कमान्डो दस्ता ‘स्पेशल बोट सर्भिस’ मा पर्छ र दरखास्त हाल्छन्। अन्ततः पहिलो नेपाली ‘गुर्खा’ उक्त दस्तामा सामेल हुन्छन्।

साहसिक काम गर्ने भोक नमेटिएपछि उनको मन आफ्नै देशका चुचुरातर्फ सोझिन्छ, र खुम्बुको लोबुचे हिमाल चढेपछि उनको हिमाली यात्रा शुरू हुन्छ। आफ्नो पर्वतारोहण तयारी क्रममा पुर्जाले बुझ्छन् कि उनको जिउडाल, फोक्सो र मांसपेशी ‘हाई अल्टिट्यूड क्लाइम्बर’ कै लागि तयार रहेछन्। यस्तो विशिष्ट खालको शारीरिक क्षमता भएकाले आठ हजार मिटर उचाइ पार गर्दा, अरू सुस्ताउँदा आफू झन् जोशिलो भएको महसूस गर्थे।

निर्मल पुर्जाको आत्मकथा कृति।

सामान्य हिमाल आरोहणले मन नभरिएपछि पुर्जा आफ्नो सामु एकपछि अर्को चुनौती राख्दै र पार गर्दै जान्छन्। आरोहणमा छँदा उनी र उनका सहयोगी समस्यामा परेका अन्य पर्वतारोहीलाई उद्धार गर्छन्, समय बचेको वेला आधार शिविर वा दुई आरोहणबीच विश्रामको समयमा ठमेलमा मस्त पार्टी गर्छन्। रक्सी पार्टीले पनि पर्वतारोही टोली सदस्यबीच एकात्मकता बढ्ने कुरा उनी सङ्कोच नमानी बताउँछन्।

नेपालीहरूले आफ्नो सिमानाभित्र र उत्तर सिमानामा रहेका हिमाल चढ्ने काम आफ्नो बुताभन्दा बाहिरको भनेर बुझ्दै आएका छन्, किनकि दशकौंदेखि यसलाई नामुद पश्चिमा पर्वतारोहीहरूले अद्भुत क्षमता, सीप र सरसामान भएका पर्वतारोही मात्र सफल हुन सक्ने ‘एक्स्ट्रिम स्पोर्ट’ का रूपमा प्रस्तुत गर्दै आए। त्यो गाथा धेरै हदसम्म सही हुँदा पनि प्रश्न उठ्दै आएको छ- उनीहरूलाई हिमाल चढ्न पूरै मद्दत गर्ने (र, कहिले त डोर्‍याउने) शेर्पा पथप्रदर्शकको बखान यिनीहरू किन गर्दैनन्? साहसकै कुरा हो भने त ‘साहेब’ र ‘शेर्पा’ को उत्तिकै कौशल देखिनु र देखाइनुपर्ने हो। र, शेर्पाले चढ्न सक्ने हिमाल अन्य नेपाली नागरिकले पनि अलि कसरत गरी चढ्न नसक्ने होइन होला।

वास्तवमा हिमाल चढ्न एक-दुई दशक अघिभन्दा आज निकै सजिलो भएको छ, अत्याधुनिक सरसामान, लुगाफाटा र सहयोगी सामग्रीका कारण। यस्तै, लेक लाग्ने व्यथाबारे जानकारी छ। हुरीबतासको विश्वसनीय भविष्यवाणीका कारण आरोहीहरू आफूलाई जोखिमबाट बचाउन सक्छन्। अर्कातिर, हेलिकोप्टरको प्रयोगका कारण हिमाल पुग्ने, सामान ढुवानी गर्ने इत्यादिको चुनौती घटाएको छ भने रकम खर्च गरेपछि हिमाल चढ्न सघाउने त राम्रै उद्योग फस्टाएको छ।

यी सबै तौरतरीका, सामग्री र सूचना-प्रविधिको प्रयोग मार्फत निर्मल पुर्जा विश्व कीर्तिमान राख्न उदाए। ब्रिटिश सेनाको ‘एस्बिएस्’ दस्तामा छँदै उनले हिमालतर्फ आँखा डुलाए, सगरमाथा, ल्होत्से र मकालु एकपछि अर्को चढ्दा उनले बुझे कि राम्रो (मुख्यतः शेर्पा पथप्रदर्शक) टोलीलाई विभिन्न हिमालमा तैनाथ राखेर एउटापछि अर्को हिमाल चढ्न सकिन्छ।

यसअघि संसारका आठ हजार मिटरभन्दा अग्ला १४ चुचुरा चढ्न सात वर्ष लागेकोमा सातै महीनामा चढ्न सकिने अड्कल पुर्जाले गरे, अनि जन्मियो ‘प्रोजेक्ट पसिबल’। र, आफ्नो अद्भुत आँटमा रवाफ थप्दै पुर्जाले आवश्यक राशि सङ्कलन गर्न थाले। मिडिया र सामाजिक सञ्जाल मार्फत अभियानको प्रचार गर्न सिके। एकातिर बेलायतमा बस्ने नेपालीतर्फ हात बढाए, अर्कातिर संसारभरको पर्वतारोहण बन्धुत्व। अभियानबारे बिस्तारै सूचना फैलियो, पैसा पनि जुट्यो।

पुर्जाको योजना धेरै जोखिमयुक्त थियो। किनकि, जतिसुकै तौरतरीका विकास भए पनि, बन्दोबस्तीका सामान जम्मा पारे पनि, भवितव्यलाई जति काबुमा राख्न खोजे पनि यत्रो ठूलो योजना ‘म सक्छु’ भन्ने उद्घोषले मात्रै सम्भव थिएन। मौसम, संयोग तथा सक्षम सहयोगी बेगर ‘प्रोजेक्ट पसिबल’ लक्ष्य अनुसार सफल हुने सम्भावना थिएन। तर, सफल भयो, एकपछि अर्को हिमालको शिर चुम्दै पुर्जाले विश्व कीर्तिमान बनाए।

पाकिस्तानमा अवस्थित केटू हिमालको १६ जनवरी २०२१ मा सफल हिउँदे आरोहणपछि नेपाली राष्ट्रिय गान गाउने क्रममा निर्मल पुर्जा सहितका पर्वतारोहीहरू। तस्वीर स्रोत: निर्मल पुर्जाको ट्वीटर

यो साहसिक यात्राका क्रममा पुर्जाको पछाडि चट्टान झैं अडिग रहेकी श्रीमती सूची पुर्जालाई बिर्सन मिल्दैन। निर्मलले असहजता, थकान र खतराको वेला सूचीको सम्झनाबाटै ऊर्जा पाएका छन्। हिमाल आरोहणका क्रममा आफ्नी आमालाई पनि उनी घरीघरी सम्झिन्छन्। आफ्ना परिवारजनलाई आफूसँगै यात्रामा ‘लिएर’ जान पुर्जाले आफ्नो ढाडमा लगाएका टाटुमा श्रीमती, माता, पिता, दाजुहरू र दिदीको ‘डीएनए’ मिसाएर डामेका छन्।

पुर्जाले हिमाल आरोहण गर्दै जाँदा पर्वतारोहणको राजनीति (‘पोलिटिक्स् अफ् द माउन्टेन’) पनि बुझ्दै गए, मुख्यतः नाम चलेका पश्चिमा पर्वतारोहीले आफ्नो कीर्तिमानको बखान गर्दै गर्दा उनीहरूभन्दा बढ्ता दुःख गर्ने, धेरै भारी बोक्ने, हिमालमा डोरी बिछ्याउने काम गर्ने नेपाली पर्वतारोहीहरूको नामै कतै नआउने। आफूले गरेका आठ हजार मिटरका १४ चुचुरा आरोहणको कीर्तिमानको किन कदर भएन, उनी बुझ्ने कोशिश गर्छन्।

सगरमाथाको टुप्पो नजिकै आरोहीहरूको घुइँचो देखिने उनले खिचेको तस्वीर भाइरल हुँदा सङ्ख्या नियन्त्रण गर्नुपर्छ भनेर एक्कासि आएको तर्कप्रति पुर्जा सहमत हुन सक्दैनन्। उनी आफू उच्च हिमाल चढ्दा बोतलको अक्सिजन प्रयोग गर्छन्, यो पनि एउटा ‘पोलिटिकल चोइस्’ हो, जसका लागि कसैले उनको निन्दा गर्छन्।

एक हदसम्म आफ्नै बाटो पहिल्याउँदा पनि पुर्जा हिमाल आरोहण उद्योगको सदस्य भइसकेका छन्। उच्च चुचुराको आरोहण गराइदिने उनको कम्पनी छ, र ‘क्लाइन्ट’ को चाहना पनि उनको कर्तव्य हुन जान्छ। जस्तै, दुई वर्षअघि आमाडब्लामको आरोहणमा जाँदा कुवेतको टोलीले ठूलो झण्डा शिखर नै छोपिने गरी राख्ने अवैध काम पुर्जाको कम्पनीको सहयोगमा भएको थियो। कीर्तिमान मात्रका लागि ‘प्रोजेक्ट पसिबल’ गरेको कि पर्वतारोहणको निजी खोजीका लागि भनी उनीसामु प्रश्न गर्न सकिन्छ।

‘प्रोजेक्ट पसिबल’ अभियान अन्तर्गत सात महीनामा आठ हजार मिटर माथिका विश्वका १४ हिमालको कीर्तिमानी आरोहण पूरा गरेर अक्टोबर २०१९ मा काठमाडौं फर्किएपछि निर्मल पुर्जा र टोली सदस्यलाई सम्मान गरिंदै। तस्वीर स्रोत: प्यासिफिक प्रेस मिडिया प्रोडक्सन कर्प

‘प्रोजेक्ट पसिबल’ का लागि अन्य ‘एलिट’ क्लाइम्बरहरूको ‘एक्सपिडिशन्’ जस्तै पुर्जाले पनि शेर्पा र अन्य समुदायको सहयोग लिन्छन्, तर आफ्नो कीर्तिमानमा सबैलाई सहभागी गराउन खोजेको देखिन्छ। पर्वतारोहण अभियानमा आफूहरू जोशिएर लाग्नुमा उनले तीन कारण लेखेका छन्ः नेपाली पर्वतारोहीको क्षमता विश्वसामु पेश गर्नु, आफ्नो क्षमताबारे आफैंलाई बोध गराउनु र आफूले हिमाल चढ्दा देखेको प्रत्यक्ष जलवायु परिवर्तनको प्रमाण संसारसामु राख्नु।

पुर्जाले कमाएको विश्व कीर्तिमानमा उनको साहस मात्र झल्कँदैन, न त रवाफले मात्र धान्न सक्ने कुरा भयो। एकदमै कुशल व्यवस्थापक तथा मानव स्रोत विशेषज्ञ नभई यसरी ‘प्रोजेक्ट पसिबल’ सफल हुने थिएन। तर, भाग्यले पनि साथ दिएको कुरा पुर्जा धक नमानी स्विकार्छन्। नङ्गा पर्वतमा उनी भीरबाट तल झर्दै गर्दा संयोगले मात्र एउटा डोरी फेला पार्छन् र जोगिन्छन्। दुई-दुई पटक हिउँ पहिरोमा पर्छन्, र पनि बाँच्छन्।

पुर्जाको यात्राले के देखाउँछ भने लगालग एकपछि अर्को हिमाल चढ्न सकिन्छ, साधारण व्यक्तिका लागि पनि हिमाल आरोहण सम्भव छ। तर, कुनै पनि वेला विपत् जाइलाग्न पनि सक्छ, ज्यान जान सक्छ, भवितव्यले जित्न सक्छ। यो कटु सत्य पनि यस पुस्तकले प्रष्ट पार्छ।

संसारलाई त चितवनका एक युवाले के सम्भव छ देखाइहाले, नेपाली युवालाई पनि उनको यात्राले आफ्नै हिमाल चढ्न लालायित पार्नेछ, यसमा शङ्का छैन। आफ्नो घरआँगनका हिमाल सबै भेगका गैरशेर्पा नागरिकले चढ्न थालिसकेका छन् भने पुर्जाका यात्रा र यो पुस्तकले अन्य हजारौं युवकलाई हिमालतर्फ तान्नेछ, किनकि ‘इट् इज पसिबल’।

यो पुस्तक लेखिइसक्दा र बजारमा सफल भइसक्दा निर्मल पुर्जाको पर्वतीय यात्रा भने शुरू मात्र भएको देखिन्छ। सन् २०२१ को जनवरीमा उनी नयाँ कीर्तिमान खोज्दै पाकिस्तानमा रहेको विश्वको दोस्रो शिखर ‘केटू’ मा पुगे- किनकि केटू आठ हजार मिटरमाथिको एक मात्र चुचुरो थियो जसको सफल हिउँदे आरोहण गरिएको थिएन।

केटू आधार शिविर पुग्दा उनले आफ्नो जस्तै योजना लिएर पुगेका अर्काे टोलीको नेता रोल्वालिङका मिङ्मा ग्याल्जे शेर्पालाई भेटे। त्यसपछि जे हुन्छ अति रोमाञ्चक छः दुवै टोली नेताले ‘षड्यन्त्र’ गर्छन्, अन्य देशका पर्वतारोहीलाई छाडेर १० जना नेपाली चुचुरोतर्फ लाग्ने। कष्टमय आरोहण पश्चात् टोली सफल हुन्छ, र केटू चुचुरो ‘पिरामिड’ को स्वच्छ बरफमा १० नेपाली पर्वतारोही हातमा हात मिलाएर अन्तिम पाइला चाल्छन्, गाउँदै- ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’।

निर्मल (निम्सदाइ) पुर्जाको ‘पसिबिलिटी’ का सम्भावनाहरूले उनलाई हिमालमा होस् या उपत्यका या समथरमा कता कता पुर्‍याउँदा रहेछन्, त्यो हेर्न, पढ्न र सुन्न लायकको हुनेछ।

(हिमालको २०७८ फागुन अङ्कबाट।)

Post navigation

Previous Post:

पुष्पकमलको ट्‌वीटर खाता

Next Post:

Fixing the broken parts in Nepal-China ties

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes