हिमाल खबरपत्रिका (५ साउन, २०८०) बाट
उपत्यका नजिकैको एक मात्र पुरानै अवस्थामा बचेको नेवार बस्ती दाप्चाको प्राण फर्काउन रैथाने र बाह्य क्षेत्रको सहकार्य चाहिएको छ।
काभ्रेको नमोबुद्ध स्तूपदेखि पूर्वतर्फको पहाडी धारमा अवस्थित छ, दाप्चा बजार। परम्परागत नेवार बस्ती रहेको यस ठाउँको मौलिकता स्थानीयले जीवन्त राख्दै आएका छन्। तर, बसाइँ सर्ने क्रम बढेसँगै यो ठाउँ सुनसान र उराठलाग्दो बनेको छ। यस बस्तीलाई पर्यटकीय थलोका रूपमा प्रवर्द्धन गर्ने सम्भावना छ, यस्तो पहल यहाँका इँटाका परम्परागत घरहरू अन्यत्र जस्तै कंक्रिटका संरचनाले विस्थापित हुनुअघि नै गरिनुपर्छ।
![](https://kanakmanidixit.com/wp-content/uploads/2023/08/dapcha_Sunita_Bajracharya_1690717185.jpeg)
आफ्नो पुरानो स्वरूप बचाएर राखेको, राजधानी उपत्यका नजिकैको एक मात्र नेवार बस्ती यही एउटा बाँकी छ। खोकना, बुंगमती, साँखु, बनेपा लगायत नेवार बस्तीले जनसंख्याको तीव्र वृद्धि, आधुनिक विकास र २०७२ सालको भूकम्पका कारण परम्परागत एकीकृत स्वरूप गुमाए पनि दाप्चाको मौलिक स्वरूप यथावत् छ। भूकम्पले काभ्रेका अन्य गाउँहरू ध्वस्त भए तर विशेष भूगर्भका कारण छत्रेबाँझ दाप्चा, तल्लो हटिया, माथिल्लो हटिया र अन्य टोलहरू जोगिए।
![](https://kanakmanidixit.com/wp-content/uploads/2023/08/Dapcha-Chhatrebang-bazaar-in-2019.-Photo_WIKIMEDIA-.jpg)
बस्तीमा इँटा, काठ र माटोले निर्मित परम्परागत घर ४५ वटाभन्दा बढी छन्। समयसँगै यिनीहरू जीर्ण भएका छन्। दाप्चामा घर भएका हालै सरकारी सेवाबाट अवकाशप्राप्त ओमकृष्ण श्रेष्ठको भनाइमा बजारका घरहरू पुनर्निर्माण तथा जीर्णोद्धार गर्न, भित्री साजसज्जा र आधुनिक सरसुविधाको व्यवस्थाका लागि तत्कालै लगानीको खाँचो छ। उनले ढुक्कसाथ भने, “यो बजारलाई हामी फेरि जीवित बनाउन सक्छौं, यहाँका घरधनीहरू यस कुरामा विश्वस्त छन्।”
परम्परागत घरहरू मूल सडकको दायाँबायाँ लहरै उभिएका छन्। र, ६ हजार फिट उचाइमा रहेको बस्तीबाट खुम्बु हिमालको नुम्बुर चुचुरोदेखि अन्नपूर्ण हिमालसम्मका ३५० किलोमिटरको हिमशृंखला देखिन्छ। वरिपरिका मध्यपहाड र उपत्यकाहरू रमणीय छन्।
![](https://kanakmanidixit.com/wp-content/uploads/2023/08/Autumn-view-of-Jugal-Himal-from-Dapcha-with-Phulbari-in-the-foreground.-Photo_KANAK-MANI-DIXIT--scaled.jpg)
त्यस्तै, दक्षिणको क्षितिज ढाक्ने गरी महाभारत पर्वत उभिएको छ। पश्चिमतर्फ पहाडको खोंचमा नमोबुद्ध स्तूप छ। जातक कथा अनुसार यो ठाउँ शाक्युमुनि बुद्धसँग सम्बन्धित छ। पूर्वपट्टिको तिमाल डाँडाको तामाङ समुदायको उत्पत्तिसँग साइनो छ।
दाप्चामा भीमसेनका तीन मन्दिर छन् र बजारको पूर्वी छेउको थुम्कोमा कालिकादेवी अवस्थित छिन्। बस्तीमा वर्षैभरिजसो जात्रा चल्छ, र जसमध्ये कृष्णजन्माष्टमीको पर्व मुख्य रहेको छ। वरिपरिका गाउँमा तामाङ, दलित, बाहुन र क्षत्रीको बसोबास छ।
![](https://kanakmanidixit.com/wp-content/uploads/2023/08/Dapcha-marks-Dya-Pyakon-jatra.-Photo_PRAJWOL-SHRESTHA-.jpg)
दाप्चाको उच्च धार सालाखाला समथर भएकाले माउन्टेन बाइकिङका लागि उपयुक्त छ। उत्तरतिरका गाउँ फूलबारी र पात्लेखेत नेपालको अर्गानिक खेती अभियानका केन्द्र हुन्। वरिपरिका भिराला खेत शरद् याममा तोरीले पहेंलपुर हुन्छन् भने वर्षा याममा मकैले हराभरा।
ऐतिहासिक कालदेखि नै स्वनिग (नेपाल खाल्डो)बाट पूर्वतिर जाने मुख्य मार्गमा रहेको बजारको रूपमा दाप्चाको विशेष महत्त्व छ। उपत्यकादेखि पूर्वी नेपाल जाने एवं सिन्धुली हुँदै दक्षिणपूर्वको मिथिला क्षेत्र जाने तीर्थयात्री, व्यापारी, आक्रमणकारी र रक्षकहरूले प्रयोग गर्ने बाटोमै दाप्चा पर्थ्यो। स्थानीयका अनुसार एक दशक अघिसम्म पनि गाउँ नजिकैको गोरेटोमा ‘जंगे कोश निशान’ देखिन्थ्यो, जसले हनुमानढोकादेखिको दूरी जनाउँथ्यो।
![](https://kanakmanidixit.com/wp-content/uploads/2023/08/Thoroughfare-of-the-old-town.-Photo_KANAK-MANI-DIXIT.jpg)
दाप्चाले बन्दीपुरको पर्यटनबाट भएको पुनरुत्थानबाट सिक्न सक्छ। पश्चिमका डोटीदेखि पूर्वका चैनपुर जस्ता ऐतिहासिक नेवार बस्तीले पनि त्यस्तै पाठ सिक्न सक्छन् तर दाप्चाको सम्भावना टड्कारो छ।
पृथ्वी राजमार्ग बनेसँगै २०२५ सालमा तनहुँको सदरमुकाम दमौलीमा सारिएपछि बन्दीपुर पनि सुनसान बनेको थियो। व्यापारी, कर्मचारीहरूले छोडे, र पर्यटनविज्ञहरू उद्धार गर्न नआउँदासम्म तीन दशकभन्दा बढी समय बन्दीपुर रित्तै रह्यो। तर, राजमार्गले नछोएकाले बजारको पुरानो शैली र पहिचान जोगियो। दाप्चाको कथा पनि यस्तै छ।
![](https://kanakmanidixit.com/wp-content/uploads/2023/08/Monsoonal-moods-of-Dapcha1.jpg)
बन्दीपुरलाई ब्युँताउने ठोस पहल सन् १९९८ मा एउटा ब्रोसरको प्रकाशनसँगै शुरू भएको थियो। उज्ज्वल शेरचनले अनुसन्धान गरेर तयार पारेको उक्त ब्रोसर ‘पार्टनरशिप फर क्वालिटी टुरिज्म’ को सहयोगमा प्रकाशन भएको थियो। पाटन दरबार नजिकै स्वथः टोलको पर्यटन प्रवर्द्धनमा काम गरेका पर्यटन उद्यमी र विज्ञ दिलेन्द्र श्रेष्ठ पनि बन्दीपुर ब्युँताउने अभियानमा सामेल भएका थिए।
श्रेष्ठका अनुसार, तिनताका नारायणघाट बसाइँ सरेका बन्दीपुरका घरधनीहरूलाई रैथाने बजार जोगाए आम्दानी हुन्छ भनेर बुझाउने काम भएको थियो, र आफ्नो पुर्ख्यौली घर बचाइराख्न सहमत गराइएको थियो। “हामीले उहाँहरूलाई परम्परागत घर जोगाउन र बस्तीको मुख्य मार्गलाई पैदल क्षेत्र बनाउन सहमत गरायौं,” श्रेष्ठ सम्झन्छन्।
![](https://kanakmanidixit.com/wp-content/uploads/2023/08/Newar-elder-of-Dapcha.jpg)
काठमाडौं तीनकुनेबाट धुलिखेल हुँदै दुई घण्टाभित्रै दाप्चा पुग्न सकिन्छ। अहिले त तल भकुन्डेबेसीमा बीपी राजमार्ग छुने र अर्कातिर नमोबुद्ध स्तूप हुँदै पनौती र धुलिखेल जाने सडक पनि बनिसकेका छन्। बन्दीपुरको बस्ती दाप्चाभन्दा बाक्लो भए पनि यहाँका घर अझै अग्ला छन् र निपुण कालिगडीका नमूना छन्।
दाप्चा रहेको नमोबुद्ध नगरपालिकाका बहालवाला मेयर कुनसाङ लामा र अघिल्ला मेयर टीपी शर्मा दुवै पर्यटनको सम्भावनाबारे सचेत हुनुहुन्छ। बजारको मुख्य भागमा पैदलमार्ग होस् भनेरै उहाँहरूले उत्तर-दक्षिणतर्फ दुई वटा सडक बनाउनुभएको छ, जसले पर्यटन विकासलाई सघाउँछ।
अन्यत्र पहाडी बस्तीहरूले आफ्नो परम्परागत निर्माणशैली गुमाउँदै गर्दा दाप्चाले गज्जबको गन्तव्यको सम्भावना बोकेको छ। अहिले घरधनी, लगानीकर्ता, संरक्षणका ज्ञाता र बजारविज्ञहरूबीच सहकार्यको पर्खाइमा छ दाप्चा बजार। संरक्षणले समृद्धि ल्याउन सक्छ भन्ने प्रमाणित गर्नु छ, र शुरूआतमा एक-दुई घरको जीर्णोद्धार र रूपान्तरण आवश्यक छ।
नेपाली टाइम्सबाट अनुवादित यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्