बेलायती बैठकमा शताब्दीअघिको सन्धिको सम्झना

हिमाल खबरपत्रिका (पुस ६, २०८०) बाट

१९८० को सन्धिको अनुमोदन प्रति आदानप्रदानका क्रममा बेलायतका लेफ्टिनेन्ट कर्णेल डब्लूएफटी ओकोनर र प्रधानमन्त्री चन्द्रशमशेर जबरा (बायाँ) तथा उही ठाउँमा पुस ५ मा आयोजित कार्यक्रममा बेलायती राजदूत रब पेन र परराष्ट्रमन्त्री एनपी साउद।

१०० वर्षअघि २१ डिसेम्बर १९२३ मा नेपाल-बेलायतबीच सन्धिमा हस्ताक्षर भएको स्मरणमा परराष्ट्र मन्त्रालयले बिहीबार सिंहदरबारको बेलायती बैठक (‘स्टेट हल’) मा कार्यक्रम आयोजना गर्‍यो। एक शताब्दीअघि सन्धि भएकै सभाकक्षमा त्यस वेला बेलायती राजदूत डब्लूएफटी ओकनर र चन्द्रशमशेर जबरा लगभग बसेकै ठाउँमा बेलायती राजदूत रब पेन र परराष्ट्रमन्त्री एनपी साउद बसेका थिए। 

राजदूत पेनले नेपालीमा बोल्दै ‘कहिल्यै उपनिवेश नभएको सदा सार्वभौम राष्ट्र नेपाल’ को प्रशंसा गरे भने मन्त्री साउदले सन् १९२३ (१९८० साल) को सन्धिलाई एक ‘दरिलो दस्तावेज’ को संज्ञा दिए। एशिया र अफ्रिकामा अन्य मुलुक उपनिवेश रहिरहेको वेला नेपालले भने त्यति वेलाको विश्वशक्ति राष्ट्र बेलायतसित समान सन्धि गरेको साउदले स्मरण गरे। हालै परराष्ट्र सचिवको पद सम्हालेकी सेवा लम्सालले सन्धिको महत्त्वबारे प्रकाश पारेकी थिइन्। 

बेलायती बैठक सिंहदरबारको पश्चिम मोहडाको ‘फसाड’ अर्थात् अग्रभागका रूपमा छ। २०७२ सालको भूकम्पमा चर्किएपछि सम्बन्धित सरकारी कर्मचारीले यसलाई भत्काउने सुझाव दिएका थिए। तर सम्पदा संरक्षण अभियन्ताको सुझाव तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुवाइमा यसलाई बचाउँदै ‘रेट्रोफिटिङ’ गरिएको थियो। 

करीब १५० फिट लम्बाइ र २५ फिट उचाइको यस बैठक झार-पानस तथा ऐनाको फोहोराले सुसज्जित छ भने ठूला ऐना तथा ‘नियोक्लासिकल स्टाइल’ ले सिंगारिएको छ। हल बाहिर पश्चिमपट्टिको ठूलो बार्दलीबाट सिंहदरबारभित्रको लाम्चो पोखरी र हरियाली तथा मूल गेट बाहिर भद्रकाली र धरहरातर्फको दृश्य देखिन्छ।

शब्द/तस्वीर : कनकमणि दीक्षित

 

बेलायती बैठकमा रहेको झार-पानस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *