भेट्दै गरौंला, टेड !

हिमाल खबरपत्रिका (३० भदौ, २०७७) बाट

टेड रिकार्डीका नेपाल सम्बन्धी अनगिन्ती विषयका लेख, रचना, पुस्तक जसले पढ्दछ, ऊ आफैं विद्वान् बन्दछ ।

विश्वप्रख्यात ‘हिमालयविद्’ प्रोफेसर थियोडोर रिकार्डीको ८३ वर्षको उमेरमा अमेरिकाको न्यूयोर्कमा निधन भएको छ।

कोलम्बिया युनिभर्सिटीको इमेरेटस् प्रोफेसर ‘टेड’ रिकार्डी अध्ययनले मानवशास्त्री थिए तर नेपाली कला, संस्कृति, पुरातत्व, बसोबास, लेखन, राजनीति हर क्षेत्रमा उनको चासो थियो, यसर्थ उनलाई ‘नेपालविद्’ पनि भन्न सकिन्छ ।

कोलम्बिया युनिभर्सिटीको दक्षिणएशिया अध्ययन विभागको निर्देशक हुँदा रिकार्डीले नेपाल अध्ययनमा जोड दिएका थिए, जबकि त्यो बेला धेरैका आँखा नेपालमाथि पर्दैनथ्यो । आफ्नो अध्ययनबाहेक रिकार्डी अरूलाई पनि नेपाल अध्ययनमा प्रोत्साहित गर्ने गुरुका रूपमा चिनिन्थे। ब्रुस् ओवेन्स्, बिल फिशर, टड लेविस, डन् मेशर्शिमिट र लीन् बेनेट टेडकै अनुयायीमध्ये पर्छन् ।
कनकमणि दीक्षित

रिकार्डीले मानदेवकालीन इतिहास उधिन्नेसँगै इतिहासविद् मोहनप्रसाद खनालसँग मिलेर चाँगुनारायणको फेदमा पर्ने मनहरा नदी किनारको दुमाखाल क्षेत्रमा प्राग्ऐतिहासिक उत्खनन् समेत गरे । काठमाडौं उपत्यकाको शहरीकरणको कारण भएका प्राग्ऐतिहासिक वस्तीहरूको उत्खनन् प्रायः असम्भव भएको सन्दर्भमा रिकार्डी र खनालको सन् १९८४–१९८९ को कार्यले विशेष महत्व राख्दछ ।

रिकार्डी आफैं पोख्त पियानिस्ट थिए । युरोपेली शास्त्रीय संगीतका ‘कम्पोजर’ रिचर्ड वाग्नर बारे उनको विशेष चासो थियो । ‘जंगबहादुरको राज्यकालका बेलायती कूटनीतिज्ञ र नेपाल अध्येता ब्रायन हज्शनले पाटनमा जम्मा पारेका बौद्ध दर्शनका ग्रन्थहरू जब युरोप पु-याइयो, बुद्धिजम् बारे पाश्चात्य विश्वको पहिलो बुझाइ त्यही कागजातबाट भयो, र यिनैले वाग्नरको संगीत र दर्शनमा पनि रोल खेले’ रिकार्डीको धारणा थियो ।

आफ्नो वर्षौंको नेपाल बसाइको समयमा उपत्यकाबाट भएका अनिगिन्ती मूर्ति चोरी बारे रिकार्डीले जान्ने, बुझ्ने मौका पाए । ती चोरिएका मूर्ति नेपाल फर्काइनुपर्छ भन्ने दृढ मत राख्ने रिकार्डीले आफ्नो आक्रोश ‘फिक्शन’ मार्फत व्यक्त गरे — कसरी पश्चिमा कूटनीतिज्ञदेखि नेपालका ठूलाबडा, समुद्रपारका संग्रहालय र धनाढ्य संकलक पनि यो धन्दामा आबद्ध थिए ।

आख्यान लेखनका क्रममा सन् २००३ मा रिकार्डीले आर्थर कोनान् डोएलको प्रसिद्ध शेर्लक् होम्स्को कथालाई नेपालको भावभूमि दिए । डोएलको कथामा शर्लक् होम्स् अचानक केही वर्षका लागि कतै गायव हुन्छन्, र त्यही बेला शेर्लक् होम्स् काठमाडौं आएको रिकार्डीको कथा छ साथै तिब्बत, श्रीलंका र इन्डोनेसिया।

रिकार्डीका पुस्तकहरूमध्ये केही हुन्ः आर्कियोलोजिकल एक्स्काभेशन् इन द काठमाण्डू भ्याली (मोहन खनालसहित) र; दि आरिएवल केस् बुक अफ् शेर्लक् होम्स्; ‘एन् एकाउन्ट अफ् नेपाल फ्रम द वीद विनाद अफ् श्यामलदास’; दि इन्क्रिप्सन अफ् किङ्ग मानदेवः एट् चाँगुनारायण ।

उनको २०४६ को जनआन्दोलनबारे लेखन अप्रकाशित छ । प्रोफेसर रिकार्डीको पछिल्लो काम भनेको रोमको पोप बस्ने दरबारको पुस्तकालयबाट उत्खनन् गरिएको इटालिएन्–नेपाल भाषा शब्दकोशको प्रकाशन थियो । सन् १७९२ मा तयार पारिएको उक्त पुस्तक कापुचीन पादरीले पृथ्वीनारायणको पाटन हमला गर्नुअघिको अनुभवमा तयार पारिएको थियो ।
टेड रिकार्डीका तीन पुस्तक ।

टेड रिकार्डीका तीन पुस्तक ।

बीपी कोइरालाको अर्धकदको मूर्ति न्यूयोर्कस्थित एक बुल्गेरियन युरोपेली कलाकारले बनाएका थिए । रिकार्डीले त्यो मूर्तिलाई कोलम्बिया युनिभर्सिटीमा अवस्थित गराए । पछि यो मूर्ति विश्वविद्यालयले राख्न चाहेन र बेवारिस बन्यो ।

त्यसपछि रिकार्डीले मूर्तिलाई भर्जिनियास्थित आफ्नो पारिवारिक थलोमा आश्रय दिए । रिकार्डी धेरै वर्षदेखि पार्किन्सन्स् रोगले पीडित थिए । उनी नरहेसँगै अब हाम्रा बीपीको मूर्तिको स्थायी वासस्थान खोज्नुपर्ने भएको छ ।

जन्मले टेड अमेरिकी थिए तर भावना, वफादारी र कर्मले दक्षिण एशियाली, हिमाली र नेपाली । यी ‘अमेरिकी नेपाली’ इतिहासकार, मानवशास्त्री, भाषाविद्, साहित्यकारलाई नेपालका नेपालीले कसरी सम्झने ? शायद, उनको अध्ययन र कृतिहरूलाई गहिरो अध्ययन गरेर, उनको चासो र चिन्ता मनन् गरेर अनि उनको योगदानको प्राज्ञिक र जनस्तरबाटै कदर गरेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *