Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

विलक्षण प्रतिभाशाली हाम्रा ‘मोटरसाइकलवादी’

December 20, 2022 by admin

हिमाल खबरपत्रिका (३० असार, २०७९) बाट

आफ्नो सुरक्षा र अरुप्रतिको जिम्मेवारीलाई तिलाञ्जली दिएर बुर्कुसी मार्ने मोटरसाइकल चालकज्यूहरूका ‘अदभुत’ क्षमतालाई गिनिज बूक अफ वर्ल्ड रेकर्ड्सले कहिले चिन्ला?

कोही हुन्छन्, जसले मोटरसाइकल हाँक्दा आफ्नो आँट र रवाफ नदेखाई सीमित गतिमा चलाउँछन्, आफ्नै ज्यान र अरूको सुरक्षामा ध्यान दिन्छन्। नेपालका लोकमार्ग, राजमार्ग, सडक र गल्लीमा कुद्ने बाँकी मोटरसाइकल चालक भने ज्यान बाजीमा राख्छन्। गौरवशाली देशका वीरपुत्र हुन् यी।

यी पात्रले आफ्नो सुरक्षाका निम्ति होइन, कानूनले बाध्यकारी  भनिदिएकाले मात्र हेल्मेट लगाउँछन्। त्यसैले त पछाडि ‘पिल्लन राइडर’ श्रीमती या प्रेमिकालाई लगाऊ भन्दैनन् (बीचमा च्यापिएर बसेका बच्चाबच्चीको शिर पनि रित्तो हुन्छ)। जोखिमपूर्ण त्यो अवस्थामा पनि श्रीमान्/पिता चाहिं घुम्तीमा पनि ओभरटेक गरिरहेका हुन्छन्।

नियमले दायाँबाट ओभरटेक गर्नू, बायाँबाट कदापि नगर्नू भन्छ। तर, आफूलाई केही पनि नहुने अतिशय विश्वास बोकेका चालकज्यूहरू सडकछेउ भीरै हुँदा पनि बायाँबाटै बडेमान बस उछिन्न उद्यत हुन्छन्। किनकि, उनीहरूलाई पूर्ण विश्वास छ, कुनै कारण बस चालकले अपर्झट बायाँ काट्नेछैनन् र आफू दुर्घटनाको खबर बन्नेछैनन् ।

साहसको सबैभन्दा चम्किलो उदाहरण त राजमार्गको मोडमा देखिन्छ। मोटरसाइकलवालालाई घुमाउरो बाटो देख्नै हुन्न, रेसिङ ड्राइभर जस्तो शरीरलाई ह्यान्डलतर्फ दबाएर एक्सलरेटर घुमाइहाल्नुपर्छ। वाहन ढल्काउँदै उच्च गतिमा मोडको सामना नगरी हुन्न। अक्सर आफ्नो लेन छाडेर विपरीत दिशाको लेनमा गुड्दा उताबाट बस, माइक्रो, टिपर, ट्रक, जीप, कार आए के गर्ने ? ओहो ! भन्दै आत्तिँदै आफ्नो लेन फर्कने, ज्यान रह्यो भने।

आफ्नो यात्रुको ज्यानको परवाह नगर्ने यी साहसी त महात्मा हुन् । आफ्नो कारण सडकका अरू यात्रीलाई खतरा हुन्छ कि भनेर सोच्ने समय कहाँ छ यी योगीलाई?

विज्ञान नजानेको पनि कसरी भन्नु? भौतिक विज्ञानले ‘मास  टाइम्स भेलोसिटी बराबर मोमेन्टम हुन्छ’ भन्नुको अर्थ जति रफ्तारमा गयो, कुनै रुख वा डिभाइडर वा गाडीसँग ठक्कर खाँदा आफ्नो र मोटरसाइकलको वजनभन्दा धेरै गुणा बढी हुने गरी ठोक्किन/बज्रिन पुग्छ। तर, कम्प्युटर गेम्स धेरै खेलेर हो या भौतिकशास्त्रको बेवास्ता, ‘मोमेन्टम’ले दिने धक्का एउटा ठूलो–सानो दुर्घटना नभएसम्म चेत खुल्दैन।

मोटरसाइकल र स्कूटर जस्तो असुरक्षित वाहन अरू हुँदैन भन्ने कुरा उनीहरूलाई थाहा नहोला र? स्ट्यान्ड वा अन्य वस्तुको सहारा विना उभिन समेत नसक्ने दुई पाङग्रामा गुड्नु छ, स्पिडले दिने ‘जाइरोस्कोपिक’ प्रभाव र स्टेरिङको सन्तुलनको आधारमा अघि बढ्नु छ। विपरीत दिशाबाट आउने वस्तुबाट आफ्नो जिउज्यान बचाउने कुनै सुरक्षाकवच हुँदैन। यति थाहा पाउँदापाउँदै तीव्र रफ्तारमा गुडिरहेका चार पाङ्ग्रेहरूबीच नागबेली गर्दै फुल एक्सलरेटरमा कुदाउनु छ। मजा लिने न हो, एकै सेकेन्डमा त्यो मजा अन्धकारमा परिणत नभएसम्म।

अरूको विचार होइन, आफ्नै अग्रगमनमा ध्यान दिने हो भन्ने मोटरसाइकलिस्टको अराजक स्वभाव पाटन, भक्तपुर र काठमाडौंका गल्लीहरूमा देखिन्छ। यिनले यी साँगुरा गल्ली आफ्नै ठान्छन्, हर्न बजाउँदै वेगमा हुइँकिन्छन्। बटुवाहरू आफ्नो ज्यान जोगाउन तितरबितर हुन्छन्। यस्तो छ मोटरसाइकलवादीको शहर कब्जा र नगरपिता र नगरमाताहरू भन्नसम्म आँट गर्दैनन्– ‘ए बाबु हो, यी गल्लीमाथि पहिलो अधिकार पैदलयात्रीको हो, तपाईंहरू आफ्नो गति नियन्त्रणमा राख्नुस्।’

गल्लीको कुरै छाडौं, हतार र हडबडीका यी दुईपाङ्ग्रे धावकलाई नितान्त पैदलयात्रुको अधिकार रहेको सडकपेटीमा धावा बोल्न कुनै धक लाग्दैन, त्यो पनि हर्न बजाउँदै बटुवा तर्साउँदै। चालकको लापरवाह र मिचाहा व्यवहार यतिसम्म देखिन्छ कि, बटुवाले पेटीमा निकास नदिँदा किचुँला झैं गर्दै उल्टै सातो लिन्छन्।

भन्नै परेन, पेटीमा समेत उक्लिन र हुइँकिन बाँकी नछाड्ने मोटरसाइकलवादीबाट ‘जेब्रा क्रसिङ’मा बटुवाले झनै त्राहिमाम भोग्छन्। सडक पार गर्दागर्दै बेतोडले हुत्तिँदै आइपुग्ने साधनसामु निरीह बटुवा आफ्नो ज्यान धन्न बचेकोमा धन्य मान्छन्। यसरी बतासको वेगमा गुड्नेलाई जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता दिनुपर्छ भन्ने सामान्य चेतना पनि नभएको होला त?

मोटरसाइकलवादको चरम प्रयोग एक हाते हँकाइमा अवलोकन गर्न सकिन्छ। ‘लोकोमोशन’ विज्ञानले भन्छ– दुईपाङ्ग्रेमा नियन्त्रण राख्न सदैव आफ्नो दुई हात ह्यान्डलमै राख्नुपर्छ। सडकमा ढुङ्गा, खाल्डो, बालुवा वा हिलो, चिप्लो जे होस्, सन्तुलन कायम गर्न सकिन्छ, दुई पन्जा ह्यान्डलमा हुनुपर्छ। तर, आत्मविश्वासको कत्ति पनि अभाव नभएका मोटरसाइकलवादीलाई एउटा हातले नै हाँक्न मन पर्छ । दुई हातलाई किन दुःख, जबकि एक हातले पनि चलेकै छ!

जब एउटा हातले वाहन अगाडि बढाउँछ, अर्को हात र औंलाहरूले के पो गर्न सकिन्न! मेरो गम्भीर अनुमानमा संसारमा एकहाते मोटरसाइकल परिवहनको सबैभन्दा बढी प्रयोग हाम्रै गौरवशाली गणतन्त्रमा हुन्छ। नोटबूक लिएर सडक अनुसन्धानमा निक्लँदा हाम्रो मोटरसाइकलवादीले तपसिल तरीकाले अर्को हातको प्रयोग गरेको रिपोर्ट यहाँ पेश गरिन्छः

–    नाक कोट्याउँदै गुडाउने, कान कोट्याउने ।
–    फोन कानमा राखेर निर्धक्क कुरा गर्दै घुमाउरो मोडमा समेत मस्त ।
–    लेगगार्डमा झुन्ड्याएको प्लास्टिकको झोलाभित्र के हो के खोतल्दै ।
–    मोटरसाइकल चल्दाचल्दै कति तेल बाँकी रहेछ भनेर बिर्को खोलेर नियाल्दै ।
–    छेउमै मोटरसाइकल हाँकिरहेका दौंतरीसँग दायाँ हात हल्लाउँदै गफमा मग्न । उसले पनि बायाँ हात ‘फ्री’ राखेर त्यस्तै गर्दै ।
–    दायाँ हात मजासँग हल्लाई–हल्लाई पछाडि बस्ने महिलासँग गफ मार्दै ।
–    रफ्तारमा अघि बढिरहँदा बायाँ हात तेस्र्याएर तल गाउँको कुनै ठाउँ (जग्गा, प्लट, घर–घडेरी) देखाउँदै ।
–    चुरोट तान्दै वा गुटखा बुक्याउँदै सफर गर्दै ।
–    रियरभ्यू ऐना मिलाउँदै । उक्त ऐनामा आफ्नो मुहार अवलोकन गर्दै ।
–    हेल्मेटको पेटी मिलाउँदै अघि बढ्दै ।
–    एउटा टालो दायाँ हातमा लिएर अगाडि धनुष्टङ्कार निहुरेर हेडलाइटको ऐना पुछ्दै ।

वास्तवमा नेपालका ठूलै हिस्सा मोटरसाइकल चालक साहसका पर्याय हुन्। दुईपाङ्ग्रे मोटरसाइकल आविष्कार हुँदा यस्ता पनि क्षमतावान् मानव हुन्छन् भनेर शायदै कसैको अनुमान थियो। र, अहिले पनि स्वनामधन्य गिनिज बूक अफ वल्र्ड रेकर्ड्सले किन नेपाल आएर यो कीर्तिमानलाई मान्यता नदिएको भन्ने प्रश्नचिह्न ठडिएको छ। र भन्नैपर्छ, नेपालका मोटरसाइकलवादीले भोलिको दिनमा एक हात मात्र छोडेर होइन, अद्भुत क्षमता प्रदर्शन गरी दुवै हात छोडेर मोटरसाइकल चलाउँदै गिनिज बूकका व्यवस्थापकलाई चकित पार्दै अनेकन् कीर्तिमान कायम गर्न बेर छैन।

Post navigation

Previous Post:

‘स्वास्थ्य क्षेत्र सुधारिए नेपाल अन्तर्राष्ट्रिय चिकित्सा केन्द्र बन्न सक्छ’

Next Post:

संक्रमणकालीन न्यायमा जालझेल : देउवा, दाहाल र ‘बन्दी’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes