हिमाल खबरपत्रिका (१६ असोज -१५ कात्तिक ,२०६० )बाट
देश र जनताको हालत बिगार्नु र बिगार्दै जानुमा कसैको लुक्ने ठाउँ छैन, नेतृत्वपङ्क्तिमा बसेकाहरूको । सबै क्षेत्रका ‘उच्चतम्’ व्यक्तिव्यक्तिले यो हालमा हामीलाई ल्याइपुर्याएका छन्, र राजनीतिक पार्टीहरूलाई मात्र निरन्तर प्रहार गरेर कसैले पत्याउने अवस्था छैन । हरेक क्षेत्रको नेतृत्व वर्गले नेपालको वर्तमान र निकट भविष्य मासेको छ ।
सबैलाई यसरी गाली गर्दा कसको चाहिँ जयजयकार गर्ने त ? जवाफ हाजिर छ– जिल्ला जिल्लामा खटिएका शिक्षक र स्वास्थ्यकर्मीहरू, गाविस कर्मचारी र गाउँघरमा रहिरहेका राजनीतिकर्मी, जसको सुरक्षा दिनरात जोखिममा छ, र जसले अहिले खप्न परेको मानसिक पीडा बुझ्न गाह्रो पर्दछ अरू कसैलाई । हजारौँको सङ्ख्यामा स्कूल शिक्षकहरू तैनाथ छन्, आफन्तहरूबाट टाढा गाउँ–गाउँमा तथाकथित ‘राज्य’ को एक मात्र नामधारी कर्मचारी या प्रतिनिधि भएर । आफैँ त्रसित गाउँलेबाट आजकाल सुरक्षा पाउने आस यिनीहरूको छैन । माओवादी ठिटाहरूले उग्र व्यवहार देखाउँछन्, महिनाको एक दिनदेखि एक सातासम्मको तलब थुतेर लैजान्छन्, नदिएको खण्डमा जे पनि गर्न सक्छन् । गाउँमा माओवादीविरुद्ध केही भइहाले, सुराकी भएको शङ्कामा सफाया हुने डर । उता ‘तँ’ ‘तँ’ गर्ने सिपाही आउँछन् र सोधिहाल्छन्, “माओवादीलाई चन्दा दिइस् ?” के भन्ने ? बुझने अफिसर नभए स्थिति एकदमै नाजुक बन्न सक्छ । र, अझै नाजुक जब सेना जान्छ र माओवादी फर्कन्छन् ।
आज रोल्पामा होस् वा रामेछापमा, हजारौँ माथि हजारौँ शिक्षकहरूले यस्तो भयावह अवस्था व्यहोर्नु परिरहेछ । के भन्न हुने हो के भन्न नहुने हो, कसलाई पत्याउने, कसलाई नपत्याउने । राजनीतिक झ्ुकावट नै भए पनि अधिकांश एमाले या नेपाली काङ्ग्रेस तर्फ हुने भएकोले माओवादीले मित्र त पक्कै मान्दैनन् नेपालका स्कूल शिक्षकहरूलाई, तर कसले भनिदिने सेनाको कप्तान साहेवलाई यो कुरा ! कुनै दिन आउला, जब शान्ति छाउँछ पहाड–मधेसमा देशमा, कसैले यो मानसिक तनावको क्षणलाई फिक्शनमा सबल तरिकाले प्रस्तुत गर्नेछ, अनि मात्र यो पीडा बुझ्निेछ ।
आस
सबैभन्दा समर्पित जनताका सेवकहरूको यस्तो मानसिक अवस्थाको कुरा गर्दागर्दै उहाँहरूलाई गाउँगाउँमा भेट्दा के बुझ्न्छि भने उहाँहरूको आस मरेको छैन । देशको सतह जति नै खल्बलिए पनि, आपूmमाथि जत्तिकै यातना र प्रहार आए पनि, समाज र राष्ट्रको जग मजबूत छ भन्ने विश्वास छ उहाँहरूलाई । र; शायद उहाँहरूलाई अर्को विश्वास पनि होला; भन्ने गरिए झ्ैँ यदि वास्तविक रूपमा स्थिति बर्बादै भएको हो भने “कोही न कोही” निक्लन्छ यो देशमा, समाजको बागडोर हातमा लिन र सबै कुरा सुल्झउन । प्रश्न– आजसम्म त्यस्तो व्यक्तित्व देखा नपरेकोमा हामीले के बुझने त ? जवाफ– शायद, देशको स्थिति त्यति साह्रै बिग्रेको रहेनछ भनेर बुझने । अर्थात्, अझै बिग्रन बाँकी रहेछ । जसलाई राम्रो कुरा पनि भन्न सकिन्छ, नराम्रो कुरा पनि ।
‘देश बिग्रने’ विषयलाई अर्को तरिकाले हेरौँ: एक दशक जति भयो होला, हामीले भन्ने गरेको, “कति बर्बादी भएको, योभन्दा तल झ्र्ने बाटो त अब छैन होला । अब त उकालो लाग्ने बाहेक बाटो छैन नेपालको ।” तर हरेक हप्ता, हरेक महिना, हरेक वर्ष समाज र अर्थतन्त्र खुड्किला ओर्लिएको ओर्लियै छ । अब त यसभन्दा तल अर्को खुड्किला छैन होला भन्यो, फेरि भेटिन्छ । आखिर भन्न बाध्य हुन्छौँ, शायद हर्षका साथ, कि देश निरन्तर ओरालो लाग्ने ठाउँ अझै तलको अँध्यारोमा बाँकी रहेछ । खाडल अति नै गहिरो रहेछ र त्यही कारणले पनि अत्यास मानिहाल्नुपर्ने अवस्था छैन । सबैतिर भताभुङ्ग हुँदा पनि नढल्ने खालको देश रहेछ यो । माओवादी प्रकोप त यसरी धान्न सक्ने यो समाजले राजनीतिक स्थिरता र विद्रोहीका बन्दुक बिसाइए भने कता पुर्याउला जनतालाई ।
“गाग्रो आधा खाली छ” कि “आधा भरी छ” भन्ने द्वन्द्वको खेल हो यो सब । त्यही गाग्रोभित्रको पानीको सतहलाई आधी पनि देख्न सकिन्छ, तर यसोगर्दा निराशा मात्र छाउँछ, जसले कुनै निकास दिँदैन । त्यसैले गाग्रो आधा भरी देख्नेहरूको सहयोग चाहिने छ आउँदा दिनहरूमा ।
हरेक क्षेत्रमा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति व्यक्तिले अगाडिको बाटो बारे
चिन्तन गर्नुपर्ने हुन्छ, यदि हिमाल खबरपत्रिका को यस अङ्कका
निबन्धकार र यो पङ्क्तिकार जस्तै उहाँहरूमा पनि भविष्यबारे यथोचित
‘अप्तिभिजम्’ (आशावादिता) छ भने ।
तत्कालै अगाडि हेनुपर्दा बाटो के त ?
आज चुपचाप बसेर ‘फेटलिज्म’ (भाग्यवाद) को पूजा गर्ने अरू सबै क्षेत्रका नेतृत्वले पनि यही मनन् गर्नुपर्ने हुन्छ, प्रजातान्त्रिक राजनीतिक शक्तिहरूमार्फत् ‘प्लूरलिजम्’ (बहुलवाद) लाई बलियो पारे मात्र माओवादीसँग वास्तविक मुकाविला गर्न सकिन्छ । देशमा आज राजनीति ठप्प छ । हामीलाई पाकिस्तानको बाटो जानु छैन जहाँको समाजमा सेनाको वर्षौँको हस्तक्षेपले देशलाई खोक्रो पारेको छ । तसर्थ राजनीतिलाई नै फेरि चलबल गर्ने मौका दिनुपर्छ ।
गत १३ वर्षलाई तथानाम भन्ने हो भने त्यसअघिको ३० वर्षलाई पनि त बिर्सन भएन नि ! बहुलवाद र राजनीतिलाई अगाडि बढ्न ठाउँ दिनलाई राजनीतिक दल या यिनका नेता विशेषलाई मन पराउनुपर्दैन, घृणा गरे पनि हुन्छ । तर यो ‘नेशन स्टेट’ मा फेरि जनताको लागि सरकार ब्युँताउनु छ भने र शान्तिको खोजी फेरि गर्नु छ भने राजनीतिक सङ्गठनहरुलाई नै मुख्य पात्र बनाउनुपर्छ । त्यसपछि पार्टीहरुलाई कुरा बिगार्न नदिन ‘वाचडग’ गर्ने काम बाँकी रहेका हामीहरू सबैको हुने नै छ ।
यो दशैँ त यसै बित्ने भइहाल्यो, अर्को दशैँसम्ममा शान्ति होला कि ?