हिमाल खबरपत्रिका (१ भदौ, २०७८) बाट
पठान र गोर्खालीले बलभद्र कुँवरको वेलादेखि नै एक–आपसलाई तारोमा राख्दै आएका छन्। तालिबानको जित पश्चात् सार्क अध्यक्ष रहेको नेपालले मित्रताको हात अगाडि बढाउनुको विकल्प छैन।
नेपाल–अफगानिस्तान सम्बन्धको इतिहास या वर्तमान त्यति गहिरो र विविध त होइन, तर जति छ चाखलाग्दो छ। विदेशी हैकमलाई टिक्नै नदिने ‘स्वभाव’ को अफगानिस्तानसँग नेपालले पनि सम्बन्ध राख्ने भएकाले उक्त मुलुक दोस्रो पटक पूर्ण तालिबानको कब्जामा गएको सन्दर्भमा दुई देश–समाजबीचको जम्काभेटहरूबाट प्रसंग उप्काउनु उपयुक्त हुन्छ।
हिमालय श्रृंखलाको मध्यभागमा रहेको नेपाल तथा हिन्दूकुश श्रृंखलाको पश्चिमपट्टि फैलिएको अफगानिस्तानबीच धेरै ऐतिहासिक सम्पर्क हुने कुरा भएन। नेपाल राज्यले आफ्नो विस्तार पहाडैपहाड गर्न खोज्दा पनि हिमाचलको सतलज नदी पार गर्न नसकेको हो। घुमाउरो पाराले अफगानिस्तानको प्रभाव नेपालमा पर्यो, यस अर्थमा कि ऐतिहासिककालीन आर्यदेखि मुगलसम्म भारतवर्षमा बसाइँसराइ गर्ने वा हमला गर्नेको बाटो आजको अफगानिस्तानबाट सिन्धु मैदान तथा गंगा–जमुना दोआबतर्फ झर्ने रह्यो।
ऐतिहासिक ‘अफगानिस्तान’ भन्नाले आजको राष्ट्र–राज्य मात्र बुझिंदैन, आजको पाकिस्तानको खैबर–पश्तुन्ख्वा पनि अफगान भू–भाग मानिन्थ्यो। पठान (पश्ठुन) समुदायको क्षेत्रलाई उपनिवेशी बेलायतीले ‘डुरान्ड लाइन’ को सीमारेखा कोरेर विभाजित गरिदिए। तालिबानको नेतृत्व र फौजीमा पठानको बाहुल्य छ। अफगानिस्तानमा अन्य समुदाय पनि विभिन्न भू–भागमा अवस्थित छन्, जस्तैः किर्गिज, बलोच, हजारा र उज्वेक। तर, काबुल शहर र सरकार सञ्चालनमा पठानको रजगज छ।
दक्षिणएशियाका दुई मुलुकलाई विदेशीले हात पारेर उपनिवेश बनाउन सकेनन्। ती हुन्, नेपाल र अफगानिस्तान। यो कुरा सत्य हो, तर विदेशीको हस्तक्षेपकारी कर्तुत नेपाल राज्यले त्यति देख्नु परेन जति अफगानिस्तानले पर्यो। उत्तरपट्टि हिमाली श्रृंखला र दक्षिणपट्टि औलोको झाडीबीचको नेपाललाई एउटा घेराभित्र राख्ने हो भने, कब्जामै लिनुपर्ने मुग्लानका विभिन्न शासकले आवश्यक ठानेनन्।
यसरी हेर्दा इष्ट इन्डिया कम्पनीले गंगा मैदानको सानाठूला राज्य निल्दै गर्दा शाहकालको शुरूआती काठमाडौं दरबारले मराठा र शिख शक्तिसँग सम्पर्क गरेको थियो, यो प्रमाणित छ। तर, अफगानिस्तानतर्फ हात बढाएको देखिन्थ्यो कि देखिंदैनथ्यो, इतिहास अध्ययनले देखाउला।
तुलनात्मक रूपमा नेपालमाथि विदेशी शक्तिको चासो कम थियो र यसै कारण नेपालले निरन्तर हस्तक्षेप खप्नु परेन जो आजैसम्म अफगानिस्तानले व्यहोर्नुपरेको छ। अफगानिस्तान दक्षिणएशिया र मध्यएशियाको दोसाँधमा पनि छ र अधीनस्थ गर्न पाए रणनीतिक फाइदा हुने विश्वशक्तिहरूको बुझाइ रह्यो। यसरी अफगानिस्तानलाई निरन्तर बेलायती, रुसी र अन्तिम अध्यायमा, अमेरिकी (र उसको साथै अन्य युरोपेली)ले नियन्त्रणमा राख्न खोजे, तर कहिल्यै सफल भएनन्। र, आज संयुक्त राष्ट्रसंघ, अमेरिका तथा नेटो फोर्सको लज्जास्पद हार भएको छ, तालिबान काबुलको राष्ट्रपति भवनमा विराजमान छ।
बिरानो मुलुकमा गोर्खाली
बेलायतसँग सन् १८१५ को युद्धमा नेपालले हार खाने क्रममा धेरै गोर्खाली फौजी कम्पनी बहादुरको सेनामा मिसिएर ‘गुर्खा पल्टन’ को थालनी भएको जगजाहेर छ। तर, त्यसभन्दा अघि नालापानीको लडाइँ र किल्लाभित्रको बीभत्सतालाई छाडी त्यहाँका कमाण्डर बलभद्र कुँवर शिख महाराज रणजित सिंहको फौजमा भर्ती हुन लहोर पुगेका थिए, जहाँ ‘लाहुरे’ शब्दको प्रयोग जन्मेको हो। अन्य गोर्खाली सिपाहीको अवस्था थाहा भएन, तर बलभद्रको भने पठानहरूसँग लड्ने क्रममा नौशेरा क्षेत्रमा मरण भएको हो। उतिवेलाको सीमारहित अवस्थामा बलभद्रलाई ‘अफगान’ सँगको भिडन्तमा अफगानिस्तानमा मरेको भन्न मिल्छ।
यसैगरी घुमाउरो तरिकाले नेपाली समाज–अर्थतन्त्रको अरू केही पाटालाई पनि अफगान विगतले छोएको छ। जस्तै– हामीले चलाउने गरेको ‘रुपियाँ’ र ‘अशर्फी’ शब्द शेरशाह सूरीले चलनचल्तीमा ल्याएका हुन्। मुगल बादशाह हुमायुँलाई विस्थापित गरेर दिल्लीमा पाँच वर्षसम्म रजाइँ गरेका शेरशाह जन्मेका त छेवैको बिहारको सासाराममा हो, तर वंशजले उनको थलो सुलैमान पहाड श्रृंखलाको शूर भन्ने ठाउँमा पर्दछ, र यस कारण उनी अफगान नै थिए।
घुमाउरो नभई सीधै आजको अफगान भू–भागसँग नेपाली–गोर्खाली सम्पर्क भनेको इष्ट इन्डिया कम्पनीको सन् १८३९ देखि १८४२ अफगानिस्तान चडाइ नै थियो। अफगान भू–भागमा रुस लगायत अन्य शक्तिले आँखा लगाउलान् भनेर आफ्नो कब्जामा लिन बेलायतले विशाल फौज तयार पार्यो, जसमा हजारौं गोर्खाली सिपाही पनि सामेल भए। त्यति वेलाको चलन अनुसार, परिवार र अन्य सहयोगीहरूको लस्कर (‘क्याम्प् फ्लोअर’) पनि पल्टनको पछि–पछि गयो– महिला र बालबच्चा सहित।
त्यो फौज आखिर ध्वस्त भयो, र बिरानो मुलुक अफगानिस्तानमा हजारौं नेपालीको मरण भयो– हेराट, गज्नी, काबुल र जलालाबादमा कति गोला, बारुद र तरबारबाट काटिए, कति जाडोमा कठ्याङ्ग्रिएर मरे, कति पुरुष, महिला र बालबच्चा अफगान सरदारहरूद्वारा दास बनाइए, त्यसको कुनै लिखत छैन नेपाली इतिहास भन्नुस् या साहित्यमा। काबुलको ठीक उत्तरी चारिकार किल्लामा सयौं गोर्खाली थिए, जहाँ नालापानीमा जस्तै पानी काटे अफगान छापामारले। त्यहाँबाट भाग्न खोज्दा धेरैजसो मारिए भने एकजना घेराबन्दीमा परेका मोतीराम नामका सिपाही भाग्न सफल भए र अनेक तरक्की गर्दै पञ्जाबमा रहेको आफ्नो छाउनीमा फर्कन सफल भए। मोतीरामको बारे एक गजबकै अर्ध–मिथक कथा कसैले लेख्न सक्दछ। त्यो यात्रा त्यो त्रासदी !
नेपालीको अफगानिस्तान लडाइँको श्रृंखला सकिएन। बेलायती सेनाको गोर्खा बटालियन अन्तर्गत डुरान्ड लाइनको आसपास खटिएका फौजीको अफगान लडाकुसँग वेलाबखत गोलाबारी हुने नै भयो। तर, पहिलो विश्वयुद्धमा बेलायती फौज पूरै खस्किएको वेला अफगान विद्रोहीलाई सम्हाल्न चन्द्रशमशेरले हात अगाडि बढाए र सन् १९१९ मा बबरशमशेरको नेतृत्वमा सेनाको ठूलो टुकडीलाई टुँडिखेलमा बिदाइ समारोह भयो। यसरी ‘बजिरिस्तानको लडाइँ’ नामक युद्धमा बेलायती फौजमा भर्ती भएका अथवा अरू तरिकाले ‘मर्सन्री’ नभई नेपालको सेना नै युद्धमा होमियो। यसरी ‘तेस्रो अफगान युद्ध’ भनिने त्यो लडाइँमा पनि पठान र गोर्खालीबीच झडप जारी नै रह्यो।
आधुनिक युगमा आइपुग्दा अफगानिस्तानमा सन् १९७४ मा राजा मोहम्मद जाहिर शाह सहित त्यहाँको राजसंस्था बर्खास्तीमा पर्यो। अफगानिस्तानका शक्तिकेन्द्रबीचको बर्बरतामा प्रधानमन्त्री नाजबुल्लाहलाई सडकमा यातना पश्चात् झुन्ड्याएर मारिए १९९६ मा। रुसी, तत्पश्चात् अमेरिकी, युरोपेली, साउदी र पाकिस्तानी हस्तक्षेपले अफगानिस्तान ‘पोलिटी’ छियाछिया पार्यो। रुसी र अमेरिकीले आ–आफ्नो समय, खर्बौं रुबल र डलर खर्चिए, काबुलका धनाढ्यको गोजी राम्ररी भरियो, जताततै युद्ध सरदारको जन्म भयो। ओसामा बिन लादेन दक्षिण–पूर्वी अफगानिस्तानका पहाडमा लुकीछिपी बसेपछि बाहिरी हस्तक्षेप शिखरमै पुग्यो। ‘आइसाफ’ नाम गरेका नेटो फौजमा बेलायती सेनाका गोर्खा सिपाही पनि सामेल भए, र फेरि पठान र गोर्खाली एक अर्काको तारो बने।
नेपालमा समेत ‘पोस्ट कन्फिलिक्ट’ समाज पुनर्निर्माणका लागि परामर्श दिन आउने ‘कन्सल्ट्यान्ट’ अश्रफ गनी पश्चिमाको प्रतिनिधिका रूपमा अफगानिस्तानको राष्ट्रपति भए। तालिबानको वेग थेग्न नसक्ने देखेर, र नाजिबुल्लाको अन्तिम क्षण सम्झँदै सायद उनी हवाईजहाज चढेर भागे, अरू उपाय नै थिएन।
बालुवामा पानी
अफगानिस्तानको तुलनामा नेपालमा राज्य शक्तिको लागि त्यत्तिको बर्बरता देखिएन आधुनिक युगमा, बरु दुईदुईवटा संविधानसभाको निर्वाचन गरेर नयाँ संविधान नै बन्यो। यहाँ भएको दश वर्षे सशस्त्र संघर्ष दर्दनाक थियो, तर अहिले समाज सम्हालिएको छ भने अफगानिस्तानको पीडा अर्कै तहको र निरन्तर छ। मुख्यतः धर्म र हिंसालाई सँगै लिएर हिँड्ने तालिबानको जस्तो कट्टरताले नेपालमा जरा गाड्न पाएको छैन।
इतिहासकालमा गोर्खाली फौजी भएर जान्थे नेपाली नागरिक हिन्दूकुश पार भने विशेषगरी २० वर्षयता यहाँका विशेषज्ञहरू अफगानिस्तानमा राम्ररी नै खटिए। विकासे विशेषज्ञ, ‘जन्डर’ वा ‘मिडिया’ विशेषज्ञ, सुरक्षा परामर्शदाता, राजकाज सल्लाहकार, विभिन्न क्षमताका नेपाली नागरिकले अफगानिस्तानको विकासमा योगदान दिए, जबकि धेरै उपलब्धि अब बालुवामा पानी भयो कि भन्ने शंका उठ्दछ।
नेपालीको विशेष कार्य हुन गयो नेटोको ‘आईसाफ्’ फोर्स तथा अमेरिकी दस्ताको फोर्सको सुरक्षा गर्ने, यस्तै अनेकन् नियोग, अन्तर्राष्ट्रिय गैसस, इत्यादिलाई पहरा दिने। यस अर्थमा नेपाली नागरिकलाई अफगानिस्तानको खटन असाध्यै खतरनाक थियो, र कतिपयको मरण भयो, धेरै हताहत भए। अक्सर अमेरिकी ‘डिफेन्स कन्ट्र्याक्टर’ मार्फत अफगानिस्तान पुगेका यी नेपालीको रोजगारी र आम्दानी भने अन्यत्र विदेशिएका कामदारभन्दा धेरै नै बढी थियो। कुनै नेपाली अर्थशास्त्रीले अध्ययन गर्दा राम्रै सूचना आउँदो हो, गत दुई दशकमा नेपाली/गोर्खालीले अफगानिस्तानमा बगाएको पसिनाले यताको अर्थतन्त्रलाई कति लाभ गर्यो। तर, त्यो श्रृंखला अस्तिको दिनदेखि टुंगिएको छ।
नेपाली सुरक्षाकर्मी, गार्ड र ‘सर्भिस स्टाफ’ ले मुख्यतः पश्चिमा फौज, निकाय र गैरसरकारी संस्थाका लागि काम गर्नुको कारण कट्टर पश्चिमा विरोधी तालिबानको आँखामा यी नेपालीले गरेको काम मनपर्ने कुरै भएन, तसर्थ आज त्यहाँ रहेका नेपालीलाई खतरा ठूलै छ। यो लेख लेख्दालेख्दै काबुलको बेथिति तथा अन्यायको बेखबरले चिन्ता जगाउँछ, नेपाली लगायत अन्य यसैगरी खटिएका विदेशी कामदारको अवस्थाबारे।
नेपाल र नयाँ अफगानिस्तान
नेपाल सरकारले तुरुन्तै अफगानिस्तानका नयाँ शासकसँग सम्पर्क र सम्बन्ध बढाउँदै आफ्ना नागरिकको सुरक्षामा ध्यान दिनुपर्दछ, यो भन्नै परेन। पछिको कुरा भनेको सार्क संस्थाको वर्तमान अध्यक्ष रहेको नाताले तालिबानी शासन अन्तर्गत आएको अफगानिस्तानलाई फेरि दक्षिणएशियाली दायराभित्र ल्याउन कोशिश गर्नु हो। र, अफगानिस्तानसँग द्विपक्षीय सम्बन्ध पनि विस्तार गर्नु हो, पश्चिमा, चिनियाँ पाकिस्तानी वा भारतीय छायाबाट अलग रही।
पश्चिमाको हार हुन जाँदा अब अफगानिस्तानका नयाँ शासकसँग सम्पर्कको कोशिश हुनेछ सबैको, किनभने मध्यएशियाका विभिन्न राष्ट्र लगायत चीन र रुसले आफ्नो गोटी चालिसके। अश्रफ गनी सत्ताको हितैषी रहेको कारण नयाँ दिल्ली विलखबन्दमा परेको छ भने तालिबानको सशक्त सहयोग गरेकोमा विशेष गरी इस्लामाबादको सैनिक नेतृत्व हौसिएको हुनुपर्छ। आउँदो रस्साकस्सीमा काठमाडौंले चाहे र कूटनीतिक क्षमता देखाउन सके नयाँसँग सम्बन्ध गाँसी पूरै दक्षिणएशियालाई शान्त राख्न पहल गर्न सक्दछ।
काठमाडौंले तत्कालै गर्नुपर्ने भनेको काबुल र अन्यत्र अलपत्र परेका आफ्ना नागरिकलाई सकुशल उद्धार गर्ने नै हो। अफगानिस्तानका पत्रकार, मानवअधिकारकर्मी, नागरिक समाजको सदस्यलाई आवश्यक परेमा नेपालमा आश्रय दिन पनि नेपाली नागरिक समाज चुक्नु हुँदैन र यसका लागि परराष्ट्र मन्त्रालय सहयोगी बन्नुपर्छ। भोलिको कुरा भनेको नेपालले अफगान नागरिकलाई नेपाल छिर्न भिसा अनिवार्य गरेकोमा त्यसलाई अन्य दक्षिणएशियाली मुलुक जस्तै ‘भिसा अन अराइभल’ गर्नुपर्छ। एउटा दक्षिणएशियाली मुलुकले अर्कोलाई यसरी सौहार्दता देखाउनुपर्दछ, र अफगानिस्तानलाई हेय दृष्टिले हेर्न मिल्दैन।
महिलामाथि उग्र पितृसत्तात्मक नियन्त्रण राख्ने फौजी हो, तालिबान, र महिलाहरूलाई शिक्षा, स्वतन्त्रता, स्वाभिमान दिनु हुन्न भनेर उसले शारिया धार्मिकग्रन्थको हवाला दिन्छ। कट्टरपन्थी जमात तालिबानले अरूप्रति सहिष्णुता देखाउँदैन, न शिया सम्प्रदायप्रति न हजाराप्रति। बामियानका दुई भीमकाय बुद्ध प्रतिमालाई सन् २००१ मा पड्काएर ध्वस्त पार्ने तालिबान अहिले अफगानिस्तानको मालिक बनेको छ, दोस्रो पटक। यो वास्तविकता र ‘फेट् अकम्प्ली’ स्विकारेर सोचविचार सहित काबुलका नयाँ शासकतर्फ सार्कको अध्यक्ष समेत रहेको नेपालले हात अगाडि बढाउनुको विकल्प छैन। यो पनि आश गरौं कि यस पालिका तालिबान शासक यसअघिका भन्दा सहिष्णु हुन्छन् र अफगान नागरिक सुरक्षित रहनेछन्।