हिमाल खबरपत्रिका (१६–३१ जेठ , २०५९)बाट
काठमाडौँ उपत्यका र खासगरी शक्ति र सम्पन्नताको रिङ्गरोडीय घेराभित्र मस्त पाटन–काठमाडौँका शहरिया भलाद्मीले आफ्नो मात्र राम्रो हेर्ने गर्छन् । भञ्ज्याङ्ग बाहिरको नेपालको आकार, जतिकै संरचना र सञ्चारको विकास भए पनि, उपत्यकावासीको सोचाइमा राणाकालीन अवस्थामै छ । देशका सबै कुनाबाट आएका नवआगन्तुकले पनि ‘नेपाल खाल्डो’ मा जरो गाड्ने होडमा बाहिरका सबै कुरा बिर्सन आफूलाई बाध्य पार्दा रहेछन्, आफ्नै गाउँ र जिल्लाको माया भाग्दो रहेछ । अधिराज्यको एक्लो शहर (मेट्रोपोलिस) र ऐतिहासिक सभ्यताकै थलो भएकोले काठमाडौँ बाँकी देशबाट यसरी अलग बनिदियो कि सबैले उपत्यकालाई नै आफ्नो बनाउनुपर्ने बाध्यता भयो, अरू कुनै विकल्प नै नराखी । जसरी गोर्खाका ठकुरीले नेपाल खाल्डोमा बसाइँ सरेपछि गोर्खालाई बिर्से, त्यही प्रक्रिया आजसम्म चल्दैछ ।
काठमाडौँ र नेपाल बीचको दूरीलाई माओवादी आन्दोलनको परिप्रेक्ष्यमा पनि हेर्न सकिन्छ । माओवादीहरूको ‘छलाङ’ को एउटा मुख्य कारण काठमाडौँ–केन्द्रित राज्यव्यवस्था र जनआन्दोलनपश्चात् ‘बाहिर’ बाट देखिने उपत्यकाको उज्यालो बत्ती र सहजधन पनि हो । प्रजातन्त्र खतरामा पार्ने काङ्ग्रेस पार्टीभित्रको आजभोलिको द्वन्द्व पनि काठमाडौँ केन्द्रित शक्तिकै लागिको होडबाजी हो । विकेन्द्रीकरणको विकासे नारा चार दशक पुरानो भइसक्यो, तर मनस्थितिको केन्द्रीकरण जहाँको त्यहीँ छ, र यो मनस्थितिले आफ्नो छाप देशभरि नै पारिरहेको छ । आजसम्म पनि हामीले केही पाठ सिकेजस्तो लाग्दैन ।
यता आएर सर्व–प्राथमिक बनेको माओवादी आन्दोलनको सन्दर्भमा, अपरेशन रोमियो र किलो शेरा टूले मध्यपश्चिम पहाडमा हाहाकार ल्याउँदा काठमाडौँले मुन्टो फर्काएर अन्ततिर हेरेकै हो । त्यसभन्दा धेरै गुणा बढी विनास अहिले पहाडमा भइरहेछ, तर काठमाडौँका मानव अधिकारवादीहरू अझ्ै बाल अधिकार, नारी अधिकार, दलित अधिकार, वातावरणीय अधिकार र पानी अधिकारमै मग्न छन्, र सुरक्षाफौज डाँडा–डाँडामा तैनाथ भएको अवस्थामा स्थलगत निरीक्षण गर्न गएको खबर आउँदैन । ‘नेपालीले नेपालीलाई नमारौँ’ भन्ने प्ले–कार्ड बोक्दै टुँडिखेल घुम्दा मानव अधिकारको सुरक्षा गरेको ठानिन्छ ।
हुनेखानेलाई काठमाडौँ अझ्ै नजिक हुन गएको छ, किनभने बसमा को चढोस्, हवाईजहाज छँदैछ । पर्यटक सुकेको अवस्थामा आन्तरिक यात्रुको खचाखच छ, बुद्ध एयर, नेकन एयर मा । पहाडमा माओवादीको राज भए पनि काठमाडौँ जहाँको तहीँ छ । माओवादीद्वारा विस्थापितले सकेमा डेरा सर्ने काठमाडौँमै हो । कतै खर्च गर्न नसकेका विदेशी दाताहरूले अन्न वर्षाउने उपत्यकामै रहने गै.स.स. को पोल्टामा नै हो ।
र, काठमाडौँ केन्द्रीकरण भन्नु नै, आजसम्म पनि बाहुन, क्षेत्री र नेवारको लागि फलिफाप हो । जुन एलिएनेशन् (क्षेत्रीय, जनजाति, तथा लैङ्गिक असमानता) ले माओवादीलाई आफ्नो लडाकू र कार्यकर्ताको बल दिएको छ त्यो ऐलिएनेशन्लाई हल गर्न आजसम्म केही पहल भएको छैन ।
आजसम्म एउटा नेपाली समाजशास्त्रीले माओवादी आन्दोलनको उत्पत्ति सम्बन्धी स्तरीय कार्यपत्र तयार पारेको छैन, जबकि गत सात वर्षमा सयौँ ‘पेपर’ लेखिए होलान्, देश–विदेशमा विभिन्न कार्यशाला र गोष्ठीमा पेश गर्न विभिन्न सान्दर्भिक विषयमा । तर माओवादी सम्बन्धमा कार्यपत्र लेख्न कसैलाई सान्दर्भिक भएन । त्यसैले सबै चुप छन् । यो पनि ‘काठमाडौँ प्रवृत्ति’ हो, जस अन्तर्गत आफ्नो ठाउँ र अवसरले दिएको फाइदा लिने, बाँकी जेसुकै होस् । समाजशास्त्रीले मौन रहेपछि र पत्रकारलाई जाने पनि नजाने पनि कलम चलाउन बाध्य पारेका छन् ।
काठमाडौँ प्रवृत्तिले पुराना धनाढ्य, नवधनाढ्य र उपत्यकाका मध्यमवर्गलाई छोपेको त छ छ, यसले पुलिस, सेना र माओवादी स्वयंलाई पनि बाँकी राखेको छैन ।
एकहप्ता अगाडि दाङ–लमहीको ध्वस्त पारिएको पुलिस चौकीमा पुग्दा मुखभरि बमको छर्रा परेका प्रहरी जवान दलबहादुर घर्ती (नाम फेरिएको) ले आफ्नो पोष्टमाथि माओवादीको भीषण आक्रमणको क्रम बताए । थ्री नट थ्री राइफल र दुई वटा ग्रिनेडको भरमा लड्न बाध्य यी जवानले आफू वरिपरिका सबै सिपाही मरेको देखे, आफू चाहिँ मरेको जस्तो गरेर बाँचे । त्यत्रो मानसिक प्रकोपबाट बाँच्न सकेका सिपाही घर्तीलाई पुलिसका हाकिमहरूले केही समवेदनशीलता देखाए त ? लमहीको त्यो खण्डहर गार्ड गर्न आज पनि उनी त्यहीँ छन् । जति काठमाडौँबाट टाढा, उत्तिकै आफ्नो मान्छे नहुने भएकोमा उनको त कोही नभएको प्रस्ट थियो । दर्जनौँको सङ्ख्यामा एकैचोटि माओवादीको पूजामा बलि पर्दा पनि पुलिसको हाकिम तहबाट चर्को आवाज नउठेको उदेकलाग्दो अवस्था त पुरानो भइसक्यो । वीरगति प्राप्त पुलिस जवानका परिवारलाई साढे सातलाख रुपैयाँ तिराउन सरकारलाई बाध्य पार्न उनीहरू सफल तर आफ्नो फोर्सलाई आँट दिन चाहिने अटोमेटिक राइफलको निम्ति वकालत गर्न उनीहरू त्यति लागि नपर्ने । काठमाडौँबाट लमही टाढा भएकोले खाँचो नदेख्ने ।
पुलिसभन्दा सिपाहीको चालचलन अलि बेग्लै छ– उनीहरूका अफिसर पनि सिपाहीसँगै मैदानमा उत्रन्छन् । तर माथिल्लो तहमा, शाही सेनामा पनि काठमाडौँ केन्द्रीकरणको आभास मिल्छ । एउटै मात्र उदाहरण– जवानहरू लडिरहेछन् कान्ला र मैदानमा, तर चिफ सा’ब दम्पतीले आफ्नो निवासस्थानमा पिरतीका गीतका क्यासेट विमोचन गरेका कुराहरू मात्र प्रकाशमा आउँछन्, युद्ध पीडित परिवार र घाइते सिपाहीको सोधखोज गरेका कुरा देख्न वा सुन्न पाइँदैनन् । सम्वेदनशीलताको कमी देखिन्छ यसमा, जसले काठमाडौँवासीको बाँकी देशसँगको वर्ग–दूरी, समुदाय–दूरी र कल्पनाको दूरी दर्शाउँछ ।
हाल माओवादीका केन्द्रीय नेताहरू काठमाडौँमा नरहे पनि उनीहरूको कार्यमा पनि केन्द्रीकरण प्रस्ट दर्शिन्छ । अहिले सुरक्षाफौजको पेलानमा परेको माओवादीले आफ्नो सम्पूर्ण कार्यकर्ताको हितमा विचार गर्ने हो भने ‘कम्प्रोमाइज’ गर्ने बेला भइसक्यो । ‘माओवादी समर्थक’ मानिने गाउँले जनताले सुरक्षाबलको मार खप्नुपर्ने अवस्थामा पनि नेतृत्वले आफूलाई लचिलो पार्नुपर्नेछ । तर आखिर प्रचण्डपथको सिद्धान्तले त अरू अति वाम राष्ट्रमा झ्ैँ (जस्तै आजको नोमपेन्ह र हिजोको बेइजिङ्ग र मस्को) केन्द्रमै बढी शक्तिसञ्चय गर्ने लक्ष्य राखेको छ, जसको तात्पर्य माओवादीको राज भए काठमाडौँको अझै फलिफाप हुनेछ ।
माओवादी समस्या लगायत देशका अधिकांश आधुनिक युगका विकृतिलाई पन्छाउन धेरै क्रियाकलाप अगाडि सार्नुपर्ने हुन्छ । यसमा काठमाडौँ–केन्द्रित मनस्थितिलाई पन्छाएर उही पुरानो नारा ‘विकेन्द्रीकरण’ लाई सार्थकता दिनुपर्छ । यसो गरेमा एकैचोटि देशका क्षेत्रीय भेदभाव, जात–जातीय भेदभाव र वर्गीय भेदभाव जस्ता असमानताका जे–जति समस्याहरू छन् सबै हल हुनेतर्फ समाज अग्रसर हुनेछ । जब माओवादी समस्यालाई पछाडि पारेर देशलाई फेरि अगाडि दौडाउने काम थालौँला त्यतिबेलाका लागि मूलमन्त्र या राजनैतिक नारा नै बनाए हुन्छ, “काठमाडौँको अहम् र साखलाई मत्थर पारौँ !”