हिमाल खबरपत्रिका (असोज २८, २०८१)बाट
विदेशिने ढोका उघ्रिएको तीन दशकमै विश्वभर फैलिएका नेपालीले तीव्र गतिमा आर्जन गरेको समृद्धि मूल देशसँग गाँस्न सकेमा मुलुकको समृद्धिमा अर्को इँटा थपिनेछ।
सार्क बाहेकका मुलुकका एनआरएन (गैरआवासीय नेपाली)लाई दिइएको दोहोरो नागरिकताले हाम्रो समाज र अर्थतन्त्रमा टेवा दिने सम्भावनाको ढोका खुलेको छ। यद्यपि सम्भावना भए पनि केही कुरा सोचनीय छन्, एनआरएनले नागरिकता पाए पनि बीचमा थुप्रै अड्को आएका छन्। २०५० को दशकदेखि राहदानी वितरणमा खुकुलोपन आएर राहदानीको प्रजातन्त्रीकरण भएपछि नेपालीहरू बाहिरी मुलुकमा जाने लहर चल्यो। त्यससँगै गैरआवासीय नेपाली एनआरएनको विस्तार भयो।
२०५० को दशकको शुरूआतमा वार्षिक दुई हजारको हाराहारीमा नेपालीहरू विदेश जाने गरेकोमा अहिले यो संख्या वार्षिक सात लाख ४० हजार पुगेको आँकडा छ। तीमध्ये अधिकांश रोजगारमा जान्छन्। बसाइँ सरेर जाने कमै छन्। हरेक वर्ष एक लाखभन्दा बढी विद्यार्थी अस्ट्रेलिया, अमेरिका, जापान, क्यानडा लगायत देशमा पढ्न जान्छन्। तीमध्ये कतिपय नफर्किने भएकाले आज यो बहसको विषय बन्न पुगेको छ।
वैध रूपमा अमेरिकामा रहने नेपालीको संख्या दुई लाख नौ हजार जति छ। सन् २०२१ को जनगणना अनुसार अस्ट्रेलियामा एक लाख ३८ हजार नेपाली छन्। बेलायतमा एक लाखभन्दा बढी, क्यानडामा २२ हजार नेपालीको स्थायी बसोबास छ। औपचारिक रूपमा उपलब्ध यो आँकडाले सबै कुरा बताउँदैन। किनभने गैरकानूनी रूपमा बसिरहेका थुप्रै नेपाली पनि बाहिर छन्।
अमेरिकामा सन् १९९० अघि औसत १५० भन्दा थोरै नेपालीले स्थायी बसोबास (पीआर) पाउने गरेकोमा अहिले यो संख्या वार्षिक १२ हजारभन्दा धेरै छ। त्यहाँ नेपालीको प्रतिघर औसत आम्दानी वार्षिक एक लाख एक हजार डलर जति छ। भारतीयको प्रतिघर वार्षिक आय एक लाख ५२ हजार जति छ। यो महत्त्वपूर्ण किन छ भने, नेपालीहरू भारतीयभन्दा २० देखि ३० वर्ष ढिलो अमेरिका पुगेका हुन्। नेपालीको औसत आय कम्बोडियन, कोरियन, थाई, जापानीहरूकोे बराबर जस्तै छ।
समृद्ध नेपाली
नेपाल भित्रिने विप्रेषण हेर्दा सबैभन्दा धेरै (२१ प्रतिशत) भारतबाट आउँछ। कतारबाट १०, साउदीबाट ९, मलेसियाबाट ८.६, यूएईबाट ७ प्रतिशत विप्रेषण आउँछ। अमेरिकाबाट १.१, अस्ट्रेलियाबाट २.६ र बेलायतबाट ०.६ प्रतिशत मात्र आउँछ। भारत, मलेशिया, खाडी लगायत मुलुकमा गएका श्रमिकले देशको अर्थतन्त्र धानेका छन्। यो साउनमा एक खर्ब ३७ अर्ब रुपैयाँ विप्रेषण नेपाल आयो। तर अमेरिका, अस्ट्रेलियाबाट एकदम थोरै मात्र विप्रेषण आउँदो रहेछ। दोहोरो नागरिकताको प्रावधानले यो आँकडालाई उल्टाउन सकिन्छ कि? उनीहरूको सीप र स्रोत नेपालमा भित्र्याउन सकिन्छ कि?
एकातिर, नेपालका डाँडाकाँडा रित्तिंदै छन्। अर्कातिर, राजकाजको थिति पनि बसिरहेको छैन। एनआरएनहरू अरू दक्षिणएशियाली समुदायभन्दा आय, जीवनशैलीमा द्रुत गतिमा अग्रगमनतिर गएको मेरो बुझाइ छ। नेपालको छविले गर्दा छिटो प्रगति गर्ने मौका पाएका पनि हुन सक्छन्। यसै पनि बसाइ सरेकाहरू कठिन परिश्रम गर्छन् नै। उता गएर सुलभ आय हुन थालेपछि लगानी र परोपकार दुवै क्षेत्रमा खर्च गर्ने बाटो समेत खुलेको छ। नेताहरू विदेशीलाई लगानी ल्याऊ भनिरहेका छन्। नेपालीले नै संसार ढाकिसकेको सन्दर्भमा त्यहाँबाट राम्रै लगानी आउनुपर्ने हो। किनकि एनआरएन, लगानी, परोपकारका काम र नेपालबीच अन्तर्सम्बन्ध छ।
नेपालको तुलनामा पश्चिमा मुलुकमा विधिको शासन र पारदर्शिता छ। त्यहाँको प्रणाली भोगेका एनआरएनहरू नेपालसँग जोडिंदा यहाँको सुशासनमा टेवा पुग्न सक्दछ। सुशासन बाध्यकारी बन्न सक्दछ। विदेशमा बस्ने नेपालीहरू समृद्धिमा पुगेको एउटा प्रमाण जीवाजी (जीवा लामिछाने, एनआरएनका संस्थापक) आफैं हो। जीवाजीले सुनाउनुहुन्थ्यो- २० वर्षअघि उहाँ जापान पुग्दा नेपालीले चलाएको एउटा पनि रेस्टुरेन्ट थिएन। अहिले आठ हजार रेस्टुरेन्टका मालिक नेपाली छन्। न्यू योर्क टाइम्समा गत महीना मात्र एउटा समीक्षा छापिएको थियो, ‘नेपाली रेस्टुरेन्ट’ भनेर। यसको मतलब नेपालीले आफ्नो पहिचान खानपिन मार्फत पनि स्थापना गरिरहेका छन्। उनीहरू समृद्ध हुँदै छन्।
अवकाशप्राप्त बेलायती गोर्खा नेपाली समाज र अर्थतन्त्रका लागि ‘इन्जेक्शन अफ इनर्जी’ थियो। बेलायतले आफ्नो मुलुकमा भूतपूर्व गोर्खा सैनिक र उसका परिवारका लागि नागरिकता खोलिदिएपछि नेपालमा त्यो शक्तिमा ह्रास आयो। एनआरएनहरू वृद्धा अवस्थामा नेपाल फर्किए भने नेपाललाई बोझ होला कि सम्भावना? यो प्रश्न पनि विचारणीय छ।
विवाद प्रधान होइन
एनआरएनएभित्र विवादको कुरा छ। विदेशमा आफ्नो हालीमुहाली धेरै नभएपछि खास समूहले नेतृत्वदायी भूमिका खोज्छन्। ती नेपाली समुदायमाझ नेता बन्न खोज्छन्। हामीले चाहेको अर्कै तहको एनआरएनए हो। आफ्नो समूह खोल्ने, नेतागिरी गर्ने हिसाबले एनआरएनएको विकास हुने खतरा छ। एनआरएनएभित्रको समस्या हल होला। तर उनीहरूलाई नेपालमा लगानी वा परोपकारका कामका लागि आकर्षित गर्न नेपालले नियम कानूनमा सहजीकरण गर्नै पर्छ। भिसा शुल्कको कुरा त्यति ठूलो समस्या होइन। सम्मानपूर्वक काम गरिदिए पुगिहाल्छ। जग्गाजमीन किनबेच, व्यवसाय, त्यसबाट आर्जित नाफा बाँडफाँडमा पनि व्यवधान छन्। सबै ठाउँमा ढोका खोल्नुपर्ने देखियो। साथै, नेपाली मूल भन्नासाथै हामी पर्वते/पहाडेको कुरा गर्छौं। समथर भागमा बसेका पनि नेपाली मूलका हुन् भन्ने हामीले भुल्नु हुँदैन।
नेपालमा कुनै पनि काम गर्न चाहिनेभन्दा बढी समय लाग्छ। संविधानमा एनआरएन नागरिकताको प्रावधान आएपछि कानून बन्न समय लाग्यो। नेपालका धेरै कर्मचारी र राजनीतिकर्मीका सन्तान यूरोप, अमेरिका, अस्ट्रेलियामा छन्। यसले पनि यस्तो कानून बनाउन सजिलो बनाइदेला। जे होस्, नेपालीहरू यस्तो गतिमा विश्वभर फैलिएर समृद्ध हुँदै छन्, त्यसबाट नेपालले फाइदा लिने हो। पहिचान, सम्पर्क, पारिवारिक सम्बन्धका हिसाबले एनआरएनले पनि फाइदा लिने हो। वैश्विक नेपालीलाई दोस्रो नागरिकता दिलाईकन त्यसको फाइदा, नेपाल, नेपाली समाज र अर्थतन्त्रले लिओस्।
(हिमालखबरले असोज १० गते एनआरएनबारे आयोजना गरेको ‘समाज र अर्थतन्त्र : दोहोरो नागरिकताका सम्भावना’ विषयक अन्तरक्रियामा व्यक्त विचारको सम्पादित अंश।)
हेर्नुहोस् अन्तरक्रियाको भिडिओ: