हिमाल खबरपत्रिका (१–१५ फागुन २०५६) बाट
करीब १५ महिना अगाडि नेपालमा चर्किएको चेज एयर काण्डको सिलसिलामा हालै मात्र न्यूयोर्कको एउटा अदालतले सो कथित कम्पनीको मालिकलाई ठूलो रकम जरिवाना गर्नुका साथै दुई वर्षका लागि जेल चलान गरेको छ । नेपालमा चर्चा नपाएको, चेज एयर काण्डको यही ‘अमेरिकी पाटो’ हिमालले यहाँ प्रस्तुत गरेको छ जसले शानेवानि ठगको फन्दामा परेको विवरण खुलस्त पार्नुका साथै समुद्रपारमा भएको सो सम्बन्धी अनुसन्धानमा देखिएको सरकारी तदारुकता, अदालतको संवेदनशीलता, व्यावसायिक व्यक्ति र संस्थाहरूको कार्यनिष्ठ एवं इमान्दारी पनि झ्ल्काउँछ ।
न्यूयोर्कबाट कनकमणि दीक्षितको रिपोर्ट
१७ अक्टोबर १९९८ मा शाही नेपाल वायुसेवा निगमले चेज एयर नाम गरेको अमेरिकी संस्थाको प्रेसिडेण्ट र चिफ एक्सेक्यूटिभ् अफिसर सिसिल विन्टर्ससँग एउटा सम्झैता गर्यो । उक्त सम्झैता अनुसार शानेवानिले चेज एयरको एउटा बोइङ ७५७ विमान भाडामा लिने, पहिलो महिनाको लिजको खर्च अमेरिकी डलर ९४०७,८३,७५० एड्भान्स् वापत निगमले तिर्ने र चेज एयरले हवाईजहाज हस्तान्तरण नगरुञ्जेलसम्मको लागि शानेवानिलाई आफ्नो ब्याङ्कबाट ‘फस्र्ट क्लास ग्यारेण्टी’ उपलब्ध गराउने भयो ।
२० अक्टोबरमा शानेवानिले आफ्नो तर्फबाट एड्भान्स् ४७,८३,७५० ‘वायर ट्रान्सफर’ गरेर न्यूयोर्क स्थित मरिन् मिड्ल्याण्ड ब्याङ्कमा पठायो । शानेवानिका पाइलटहरू हवाईजहाज लिन फ्राङ्कफर्ट पुगे, तर प्लेन भने त्यहाँ पुगेन । चेयरम्यान हङकङ रानामगर लगायत शानेवानिका सबै उच्चपदस्थ अधिकारीहरू चिन्तामा परे र उनीहरूले न्यूयोर्कस्थित वकिलहरूलाई सम्पर्क राखे, जसमध्ये अमेरिकाकै नेपालीको एक मात्र ल फर्म ‘क्षेत्री एण्ड एसोसिएट्स’ का सिनियर पार्टनर खगेन्द्र घर्तीक्षेत्री पनि थिए । घर्तीक्षेत्रीले चेज एयरका प्रेसिटेण्ड सिसिल विन्टर्सको सेल फोनमा सम्पर्क राख्दा विन्टर्सले भने कि ‘टेक्निकल डिफिकल्टी’ ले गर्दा उक्त हवाईजहाज आयरल्याण्डको शयानन् हवाई अड्डामा अड्केको छ ।
पैसा पठाइसकेको तर हवाईजहाज हात नपरेकोले उक्त रकमको भविष्य अब सबैभन्दा ठूलो कुरा हुन पुग्यो । सिसिल विन्टर्सले पहिला त नेपाल र अमेरिकाको ‘टाइम डिफरेन्स्’ ले गर्दा र अनेक अरु झ्मेलाले गर्दा ब्याङ्क ग्यारेण्टी दिन नसकेको बताए र ब्याङ्कलाई सो ग्यारेण्टी उपलब्ध गराउन निर्देशन दिएको फ्याक्सको प्रति पनि शानेवानिलाई काठमाडौँ पठाए । पछि शानेवानिको व्यवस्थापनले एड्भान्स् दिएको पैसा फर्काउ भन्दा पनि सोही मुताबिक निर्देशन दिएको फ्याक्स्को प्रतिलिपि विन्टर्सले काठमाडौँ पठाए । तर पछि के थाहा भयो भने ती दुबै फ्याक्स शानेवानिलाई मात्र पठाइएका रहेछन्, ब्याङ्कलाई हैन ।
अब कुरा प्रस्ट हुन थाल्यो कि चेज एयरले हवाईजहाज उपलब्ध गराउने छैन र यो एउटा घोटाला थियो, जसमा सिसिल विन्टर्सले नेपालको ध्वजावाहकको पैसा हडप गर्ने योजना बनाएका थिए । अब सिसिल विन्टर्सबाट पूरै रकम फिर्ता ल्याउन कदम चाल्नु बाहेक अरु विकल्प बाँकी रहेन । शानेवानिका वकिलले मरिन मिड्ल्याण्ड ब्याङ्कलाई सम्पर्क राख्दा सो ४७.८ लाख ‘हर्जग हाइन् गेडूल्ड’ नाम गरेको ब्रोकरेज फर्ममा सारिएको बताइयो । (ब्रोकरेज फर्महरूले ग्राहकहरूको पैसा लिएर लगानी गर्ने काम गर्छन् र ग्राहकका खाता पनि खोलेका हुन्छन् ।)
हर्जगको कानूनी सल्लाहकार चाल्र्स क्रिस्टोफिलिसले अदालतको अर्डर नभई ‘क्लाएण्ट’ को खाताको कुरा खुलस्त गर्न नसक्ने कुरा बताए । “चेज एयरको पैसा बारे हामी तपाईँलाई केही भन्न सक्तैनौँ,” उनले भने । अधिवक्ता घर्तीछेत्रीले हवाईजहाजको स्वामित्व रहेको फ्लरिडामा रहेको ए.पी.एफ. ग्रुपलाई फोन गरे र उक्त ग्रुपको मालिक बबी स्मिथसँग कुरा गरे । उडी सक्यो र आयरल्याण्ड पुग्यो भनेको जहाजको बारेमा सोध्दा त बबी स्मिथ भन्छन्, “हवाईजहाज त यही मेरो ह्याङ्गरमा छ । म त आर.एन्.ए.सी.लाई यो प्लेन दिन पर्खिरहेछु । खालि हाम्रो पहिलो महिनाको एड्भान्स् चाहियो, हवाईजहाज उडी हाल्छ ।” उनले यो पनि भने, “मेरो चेज एयरसँगको सम्झैता अनुसार मैले आर.एन.ए.सी.सँग सीधै कुरा गर्न मिल्दैन ।”
अब निगम ठगिएको प्रस्ट भएको हुनाले शानेवानिको कानूनी टोलीले केही अभियोग थाल्नुपर्ने कुरा सोच्न थाले । तैपनि फेरि सबै पैसा सिसिल विन्टर्सले मासिसकेको भए त खर्चिलो अभियोग शुरु गर्नु उचित पनि थिएन भनेर घर्तीक्षेत्रीले फेरि हर्जगका अधिवक्ता क्रिस्टोफोलिसलाई भने, “खातामा कति छ भन्ने त तपाईँले बताउनु उचित भएन, तर हामीले अभियोग चाले होला कि न होला, सङ्केत मात्र दिनुस् न !” यसको जवाफमा क्रिस्टोफोलिसले छोटकरीमा भने, “कोशिश गरे केही बिगँरदैन ।”
त्यति भने पछि पुगिहाल्यो, र शानेवानिले फेडेरल डिस्ट्रिक्ट कोर्ट म्यानह्याटन् (न्यूयोर्क) मा सिभिल (देवानी) मुद्दा दायर गरे, जस अन्तर्गत सिसिल विन्टर्सलाई चेज एयरको नाममा रहेको रकम यथावत् राख्नु भनेर आदेशको माग गरियो । शानेवानिको ४७.८ लाख यताउता छरिएला भनेर रातारात त्यो आदेशपत्र तयार पारियो । अदालतले तुरुन्त आदेश जारी गर्यो र त्यो कागज हातमा लिएर शानेवानिको वकिलले तुरुन्त हर्जगलाई ‘सब्पिना’ (अदालतको स्वीकृति लिएर कागजात माग्न पाउने अधिकार) गरेर चेज एयरको खाताको जानकारी मागे । यसपछि के थाहा भयो भने शानेवानिले चेज एयरलाई ४७.८ लाख पठाएकै दिन (२० अक्टोबर) सिसिल विन्टर्सले हर्जगलाई दुईवटा वाएर ट्रान्सफर गर्ने निर्देशन पठाएका रहेछन् । एउटा आदेश अनुसार ४४,८३,७५० टेक्सास राज्यको डालास शहरमा रहेको नर्वेस्ट ब्याङ्कको मार्क गोन्जालेज र सुजी ग्यारेटको संयुक्त खातामा पठाइयो ।
बाँकी ४३ लाख नर्वेस्ट ब्याङ्ककै मार्जरी ग्यारेटको नाममा सारी दिनु भनेको आदेश भने कार्यान्वयन हुन सकेन किनभने लेख्दा हतार भएर हो या किन हो ‘बुझिलिने’ भर्नुपर्ने ठाउँमा मार्जरी ग्यारेटको साटो सिसिल विन्टर्सले गल्तीले आफ्नै नाम हालेछन् । यसरी भाग्यवश, तीन लाख चोखो रहेकोलाई अदालतको अर्डरमार्फत फैसला नहुन्जेलसम्म ‘फ्रोजन्’ गरियो ।
यसै बीच सिङ्गापुर स्थित स्काइलिङ्क एभिएशन् सर्भिसेस्को म्यानेजिङ डाइरेक्टर जाहिर हुसैन, जसले शानेवानि र चेज एयरको बीच दलाल भई सम्पर्क राखिदिएका थिए, पनि अब न्यूयोर्क पुगे, ‘चेज एयर काण्ड’ सम्बन्धी गर्नुपर्ने अदालती कार्वाहीमा मद्दत गर्न । यसैगरी काठमाडौँबाट अधिवक्ता विश्वकान्त मैनाली पनि शानेवानिको तर्फबाट न्यूयोर्क पुगे ।
शानेवानिको तर्फबाट लुइजिआना राज्यमा अवस्थित फौजदारी अभियोगहरू अनुसन्धान गर्ने एउटा संस्थालाई सिसिल विन्टर्सले वायर ट्रान्सफरद्वारा गरेको सबै आदान प्रदान ‘पछ्याउने’ काम दिइयो । पहिला पुलिस अनुसन्धानकर्ता भई काम गरिसकेका डेडि स्टोन्ले काम तुरुन्त थाले र सिसिल विन्टर्सले वायर ट्रान्सफरमार्फत गरेका सबै कुराको जानकारी दिए । २३ अक्टोबरमा गोन्जालेज÷ग्यारेट् खातामा ट्रान्सफर भएको कुल रकममध्ये ४५०० राखेर बाँकी सबै खाताबाट झ्किेको पाइयो । सो रकम मध्ये ४७०,००० न्यूयोर्कको अर्को डि.एल.जे. पर्शिङ्ग नाम गरेको ब्रोकरेज फर्ममा सिसिल विन्टर्सको नाममा ट्रान्सफर गरिएको भेटियो । यो ४७० हजार आउने बित्तिकै ४५० हजार दुइटा अरु खातामा सारियो । ४१५ हजार आलाबामा राज्यको बर्मिङ्गहाम शहरको कम्पस् ब्याङ्कमा स्याम लरी भन्ने एक वकिलको खातामा सारिएछ । एक लाख डलरचाहिँ नर्वेस्ट ब्याङ्कबाट एक आलान ग्लुएकको खातामा सारिएको छ । (ग्लुएक र लरी दुबै सिसिल विन्टर्सका वकिल रहेछन् ।) अधिवक्ता घर्तीछेत्रीले फ्लरिडा राज्यमा फोनबाट ग्लुएकलाई फेला पार्दा उनले सो एक लाख डलर आफ्नो फी भएको बताए । फोन गरुन्जेल उक्त रकममा ४६४ हजार मात्र बाँकी रहेको उनले बताए र यत्ति मात्र भए पनि ‘सब्पिना’ गरेर फ्लरिडाको अदालतमा रजिस्टर गरियो ।
फौजदारी मुद्दा
यता शानेवानिको पैसा निखन्न सिभिल केस चल्दा चल्दै अमेरिकी सरकार पक्षले फौजदारी मुद्दा चलाउने निर्णय गर्यो । घर्तीछेत्रीले अमेरिकी सरकारको फेडरल ब्यूरो अफ् इन्भेस्टिगेसन् (एफ.बी.आई) लाई शानेवानिमाथि ‘फ्रड’ भएको खबर दिएपछि, एफ.बी.आई.को न्यूयोर्क डिस्ट्रिक्ट अफिसको स्पेशल एजेण्ट कार्ला एल. होम्स्लाई यो केस हेर्न र फौजदारी मुद्दा तयार गर्न खटाइयो । एफ.बी.आई.को अनुसन्धानले देखायो चेज एयर कम्पनी नयाँ रहेछ, सन् १९९८ को शुरुतिर मात्र खोलिएको । इन्टरनेटमा सिसिल विन्टर्सले एउटा वेबसाइट राखेका रहेछन्, र टेक्सास राज्यको आर्लिङ्गटन शहरमा एउटा सानो अफिस लिएका रहेछन्, जहाँ फ्याक्स् पनि जडान भएको रहेछ । फोन नम्बर भने सेल फोनको रहेछ जसमा सिसिल विन्टर्स आफैँले सधैँ जवाफ दिन्थे ।
शानेवानि र उसलाई चेज एयरको कागजात दिएर आएका दलाल हुसैनलाई पूर्ण रूपले छक्याउन सिसिल विन्टर्स सफल हुनु पछाडि उनले ‘फर्जरी’ गरेर पेश गरेको हवाईजहाजको रेजिष्ट्रेशनको कागज मुख्य कारण थियो । अमेरिकी उड्डयन प्रशासन फेडरल एभिएशन एड्मिनिस्ट्रेशन (एफ.ए.ए.) ले अर्कै कम्पनीको नाममा दर्ता गरेको उक्त बोइङ ७५७ को कागतमा उक्त कम्पनीको नामलाई सेतो लगाएर फेरि दुरुस्त उस्तै टाइप गरेर चेज एयरको नाम थपेको एफ.बी.आई.ले पायो । शानेवानिलाई अर्को कागत पनि पेश गरियो, जस अन्तर्गत लेकर एयरवेजका टीम पुगले आश्वासन दिएका थिए कि शानेवानिले चेज एयरबाट लिज गरेको हवाईजहाजको उडानका लागि पाइलट र क्रू उसले उपलब्ध गराइ दिनेछ । तर अनुसन्धानकर्तालाई टीम पुगले के बताए भने उक्त ‘एयर क्यारियर सर्टिफिकेट’ पनि जालसाजीको परिणाम हो । लेकर एयरवेजले त बोइङ विमान नै उडाउँदो रहेनछ, खाली डग्लस कम्पनीका सामान्य विमानहरू मात्र उडाउँदो रहेछ । यस अतिरिक्त लिज एग्रिमेण्टमा दिइएको ठेगाना पनि काल्पनिक ठहरियो ।
अफिस साँच्चिकै चेज एयरको हो होइन बुझन शानेवानिका वकिलहरूले आर्लिङ्गटन शहरको ठेगानामा एउटा प्याकेज हुलाकबाट पठाए । पछि त्यो प्याकेज पुग्यो पुगेन हेर्न जाँदा एउटा सानो अफिसको रिसेप्सनिस्टको छेउमा राखिएको देखियो । उक्त महिलाले सोध्न जाने व्यक्तिलाई भनिन्, “चेज एयर त हाम्रो कोठाको भाडा नै नतिरिकन बिलायो । राम्रो भयो, तपाईँ आउनुभयो । खै भाडा कहिले तिर्ने हो, केही थाहा छ ?” एफ.बी.आई.का कार्ला होम्सका अनुसार सिसिल विन्टर्सको विगत जीवन अपराधपूर्ण थियो, र स्याम लरी भन्ने वकिल विन्टर्सको पहिलाको एलाबामा राज्यमा फौजदारी मुद्दा हेर्ने व्यक्ति थिए । पहिले पनि उनी जालसाजी क्रियाकलापमा संलग्न भएका रहेछन् भन्ने यसले नै पनि पुष्टि गर्यो ।
सिसिल विन्टर्सको व्यक्तित्वको बारेमा धेरै थाहा हुन सकेको छैन, तर पूरा मुद्दा र अभियोगको क्रममा उसलाई एउटा एलेन ग्लुएक, त्यो पनि वकिलको हिसाबले, बाहेक अरू कोही भेट्न या भलाकुसारी गर्नसम्म नआएकोले उनी परिवार र मित्र नभएको व्यक्ति जस्ता देखिन्छन् । आर्लिङ्गटनमा आफ्नो सुस्त मनस्थिति भएको नवयुवक छोरासँग बसेको सूचनाले सिसिल विन्टर्सको जीवनको केही मार्मिकता पनि झ्ल्काउँदछ । यस्तै, शानेवानिबाट हडप गरेको केही रकम वकिलहरूको पुरानो खर्चहरू तिर्न लगाएकोले उनी एक असफल अपराधी भएको दर्शाउनुका साथै उनमा पुरानो पैसा तिर्ने केही निष्ठा रहेको पनि देखाउँछ । उनी आफ्नो पूर्ण बौद्धिक ताकत लगाई एउटा अन्तर्राष्ट्रिय ‘स्क्याम’ गरेर भूगोल पारी रहेको नेपालको राष्ट्रिय विमान सेवा शानेवानिलाई फसाउन भने बल्लबल्ल सफल त भए तर, कर्तुत पूरा हुँदानहुँदै विभिन्न व्यक्तिहरूको सतर्कता र केही राम्रो संयोगले गर्दा फट्याइँको स्वाद चाहिँ सिसिल विन्टर्सले लिन पाएनन् ।
‘खतरा मान्छे’
एकदिन, नोभेम्बर १९९८ मा, अचानक अधिवक्ता घर्तीक्षेत्रीलाई आफ्नो सेलफोनबाट सिसिल विन्टर्सले कल गरे र भेट्न आउने चाहना व्यक्त गरे । शायद शानेवानिको मामिला हेरिरहेका वकिलहरूसँग केही कुरा मिलाउने हेतुले उनले भेट्न चाहेको हुनसक्छ । घर्तीक्षेत्रीले एयरपोर्टबाट आफ्नो म्यानह्याटन्को पेन स्टेशन छेवैमा रहेको अफिसमा ट्याक्सी लिएर आउने सुझव दिए र तुरुन्तै एफ.बी.आई.की कार्ला होम्सलाई पनि फोन गरिहाले । कोटभित्र पिस्तोल भिरेको एफ.बी.आई.को एक टोली तुरुन्तै त्यता आइहाल्यो र घर्तीक्षेत्रीको अफिस छेवैको कोठामा पलँेटी कसेर बस्यो ।
एफ.बी.आई. ले सिसिल विन्टर्सलाई यो फौजदारी अभियोगमा समात्ने निर्णय गरेको रहेछ । उता घर्तीक्षेत्रीलाई त्रास भयो । उनी भन्छन्, “हाम्रो ध्वजावाहकलाई मद्दत गरुँ भनेर हिँडेको त, यो केमा फस्न गएँ जस्तो लाग्यो । एफ.बी.आई.का अफिसरहरूले पिस्तोल र बन्दुक भिरेको देख्दा यो मान्छे (सिसिल विन्टर्स) त खतरा पो रहेछ कि भन्ने डर भयो ।”
तर, त्यो दिन सिसिल विन्टर्स किन हो त्यहाँ आएनन् र बन्दुकधारी टोली दुई–तीन घण्टा पर्खेर फर्कियो । एफ.बी.आई.ले सिसिल विन्टर्सलाई पछ्याउन छाडेन । र, १९९८ को डिसम्बरको मध्यतिर एजेन्सीका जासूसले सिसिल विन्टर्सको सेल फोनलाई ट्र्याक गरे, र उनले फ्लरिडाको एउटा ‘बोट शो’ बाट फोन गरेको कुरा ठम्याए । उनले शायद शानेवानिको पैसाले एउटा सफर गर्ने डुङ्गा किन्ने विचार राखेका थिए । उक्त बोट शो मा छापा मारेर सिसिल विन्टर्सलाई एफ.बी.आई.ले पक्रियो । १९९८ को क्रिसमसको छुट्टीमा, जब सबै अमेरिकीहरू पारिवारिक मनोरञ्जनमा लागेका थिए, सिसिल विन्टर्सले भने हातमा हत्कडी लगाएर फ्लरिडाबाट न्यूयोर्कसम्म दुई दिनको बाटो बसको सीटमै बिताए ।
म्यानह्याटनको दक्षिणी भागमा रहेको ‘मेट्रोपोलिटेन करेक्शनल सेन्टर’ जेलमा सिसिल विन्टर्सलाई राखियो र झ्ण्डै एक वर्ष लामो अदालती कार्वाहीको अवधि उनले त्यहीँ बिताए । उनी जमानतमा पनि निस्किएनन् । एक त उनको लागि जमानत तिरिदिन कोही पनि आएनन् र त्यसबाहेक वादी पक्ष सरकारले जमानतमा छोड्न नहुने जिकिर गर्यो । यो अभियोग न्यायाधीश माइकल मुकासेको अगाडि आयो र उनले निर्णय गरेः “सरकारले भन्छ कि डिफेन्डेन्ट विन्टर्सको कुनै समुदायसँग सम्बन्ध छैन, धेरै ठेगानाहरू बताउँछन्, घर भाडा तिर्दैनन् र रोजगारमा पनि स्थायित्व छैन । जमानतमा छुट्दा अदालत सामु आउने परिस्थिति नदेखिएकोले जमानतको निवेदन अस्वीकृत गरिएको छ ।”
आफ्नो वकिल एलन ग्लुएकको मार्फत् जेलबाट सिसिल विन्टर्सले शानेवानिलाई एक मात्र अनुरोध गरिरहे कि छुटेको खण्डमा उनले पूरै पैसा फिर्ता गर्नेथिए । तर उनैको वकिलले बताइरहे कि हडप गरेको रकम फिर्ता दिन सिसिल विन्टर्सको कुनै स्रोत छैन ।
जेल र जरिवाना
अब शानेवानिको तर्पmबाट चलाइएको ‘सिभिल सूट’ र अमेरिकी सरकारको तर्फबाट एफ.बी.आई. ले अगाडि सारेको फौजदारी मुद्दा दुवै अगाडि बढे । सिभिल अदालतले १५ जनवरी १९९९ मा आफ्नो निर्णय दियो । सिसिल विन्टर्सले आफ्नो तर्फबाट केही पनि जिकिर राखेनन् । न्यायाधीश क्यालोट्टा लिभाइन् स्यामुएलले आफ्नो फैसलामा चेज एयर र सिसिल विन्टर्सलाई ४७,८३,७५० तिर्न आदेश दिए र, यसको अलावा ४१६,६५५ ब्याज, वकिलको फीको लागि ४९५,००० र अरू सानोतिनो खर्च पनि जोड्दा अभियुक्तले शानेवानिलाई ४८,९५,५७५ तिर्नुपर्ने भयो ।
यो निर्णय २० वर्षको लागि क्रियाशील रहन्छ र थप २० वर्षलाई ज्यूँदो राख्न पनि पाइन्छ । यो अवधिमा अभियुक्त बाँचिरहेसम्म शानेवानिले उसको कुनै पनि सम्पत्ति फेला पारेमा दावी गर्न सक्नेछ । निर्णय हुँदा सिसिल विन्टर्स जेलमै थिए, र फेरि पनि म छुटेँ भने पैसा फिर्ता गर्नेछु भन्नुबाहेक उनको अरू भन्न केही रहेन । यो निर्णय भइसकेपछि हर्जग ब्रोकरेज संस्थाले ‘फ्रिज’ गरेर राखेको रकम क्षेत्री एसोसिएट्सका खातामा सारियो र त्यहाँबाट २२ जनवरी १९९८ को दिन न्यूयोर्कमै रहेको शानेवानिको सिटीब्याङ्कको खातामा वायर ट्रान्स्फर गरेर जम्मा रकम ४३,१३,००० सारियो ।
उता, एफ.बी.आई.को तर्फबाट फौजदारी मुद्दा चलिरहेकै थियो । स्पेशल एजेण्ट कार्ला होम्स्ले अदालत समक्ष आफ्नो उजुरीमा यो चार्ज गरिन् कि, “सिसिल विन्टर्सले रोयल नेपाल एयरलाइन्स कर्पोरेशनको लागि बोइङ ७५७ लिज गराउने क्रममा ४७,८३,७५० असुल गर्नको लागि गैरकानूनी तरिकाले जानाजान फ्रड गर्ने हेतुले चिठी पत्र, फ्याक्स, टेलिफोन आदि गरेको … ।”
न्यायाधीश माइकल मुकासेले आफ्नो निर्णय १५ नोभेम्बर १९९९ मा दिँदै सिसिल विन्टर्सलाई दोषी ठहर्याए । र उक्त अपराधलाई ‘वायर फ्रड’ को संज्ञा दिए । निर्णय सुनाउँदै अभियुक्तलाई न्यायाधीशले २४ महिना कैद दिए, र “सकिन्छ भने दक्षिणी फ्लरिडाको कुनै एक कारागारमा राखिऊन्” भनेर सुनाए (शायद विन्टर्सकै माग अनुरुप ।) दुई वर्ष उप्रान्त छुटकारा पाएपछि सिसिल विन्टर्सले तीन वर्षसम्म सरकारी निगरानीमा रहनुपर्ने पनि भयो । यो तीन वर्षको दौरानमा अपराधी विन्टर्सले शानेवानिलाई ‘रेस्टिट्यूटन’ को नाममा ४४,०३,०३९ तिर्नुपर्ने आदेश जारी भयो, प्रति महिना ४००० देखि १०,००० डलरको दरमा । फौजदारी अदालतको निर्णय भइसक्दा सिसिल विन्टर्सले एघार महिना न्यूयोर्क म्यानह्याटनको मेट्रोपोलिटन करेक्शनल सेन्टरमा समय बिताइसकेका थिए र, अरू २४ महिना गुजार्न उनलाई दक्षिणी फ्लरिडाका ‘फेडरल पेनिटेन्श्यरी’ मा सारियो ।
यता, शानेवानिले संजोग र आफ्ना वकिलहरूले देखाएको चनाखोपनका कारण तीन लाख डलर त हात पारिसक्यो । यसका अतिरिक्त उसले सिभिल अदालतको फैसलाले ४८.९ लाख र फौजदारी अदालती फैसलाले चार लाख डलर सिसिल विन्टर्सबाट पाउनुपर्ने हुन्छ ।
सिसिल विन्टर्सले जालसाजी गरी, दिन्छु भनेको काल्पनिक बोइङ ७५७ विमान शानेवानिको हातमा परेन । अरू दलाल र अरू प्रक्रिया लगायत त्यसपछि शानेवानिले लीज गर्दै पहिला युगोस्लाभ ‘याट’ कम्पनीको बोइङ ७२७, अनि ७३७ जहाज र त्यसपछि अहिलेसम्म चाइना साउथ वेस्टको बोइङ ७५७ विमान उडाउँदै आएको छ । चेज एयर त सम्झ्नामा पनि बिलाउँदै गएको अवस्थामा ‘चेज एयर काण्ड’ ले शानेवानिका व्यवस्थापकहरू र अझ् बढी, शानेवानिलाई सदैव कठपुतली बनाउने राजनीतिज्ञहरूले केही पाठ सिके होलान् भन्ने आशा भने गर्न सकिन्छ । जबसम्म आफ्नै पर्याप्त बल र खुबीको प्रयोग गर्दै अनि राजनैतिक हस्तक्षेप र अन्योलबाट मुक्त भएर नेपालको ध्वजावाहकले आफ्नो व्यावसायिक उडान व्यवस्था गर्न पाउँदैन तबसम्म फेरि पनि सिसिल विन्टर्सजस्ता जालसाजीहरूको फन्दामा शानेवानि पर्दैन भन्न चाहिँ सकिँदैन ।
चेज एयर प्रकरणबाट के सिक्ने ?
भरत उप्रेती
हामी देशमा आर्थिक विकासका पूर्वाधारहरूको कुरा गर्छौँ । जहाँ धेरै किसिमका कुराहरू पर्छन्, बाटो, पानी, बिजुली । अर्काथरी पूर्वाधार भनेका सामाजिक र मानव स्रोत हुन् । त्यस्तै, कानूनी पूर्वाधार पनि । कुनै लगानी गर्ने मान्छेले बिजुली, पानी, बाटो, सामाजिक अवस्था र मानव स्रोत राम्रो देखे पनि मेरो लगानी सुरक्षित हुन्छ कि हुन्न भनेर कानून हेर्छ । कानूनभित्र उपचार राम्रो हुनुपर्छ र उपचार राम्रो हुन अदालत सक्षम हुनुपर्यो, अनुसन्धान निकायहरू सक्षम हुनुपर्यो । विदेशीहरूले हाम्रो देशमा लगानी गर्ने सन्दर्भमा हामीसँग कानूनको प्रक्रियामा छलफल गर्दा उनीहरु कानून र अदालतसम्म पुग्न नपरोस् भन्ने चाहन्छन् । न्यूयोर्कको देवानी र फौजदारी अदालतमा परेको चेज एयरको मुद्दामा जे जस्तो काम भयो, यस सन्दर्भमा नेपाली कानून व्यवस्थाको कमीकमजोरी बुझन सजिलो हुनजान्छ, खासगरी तीन पक्षमा
• अदालतको तदारुकताः अदालतले तदारुकता देखाउनमा मुख्यतया दुईवटा कुरा छन्, पहिले त अमेरिकी न्यायाधीशहरूमा व्यावसायिक संवेदनशीलता र क्षमता छ । मुद्दामा निर्णय दिन ढिला भए पीडित पक्षले के गुमाउँछ भन्ने कुरा बुझने न्यायाधीशहरू त्यहाँ रहेका छन् । यो मानवीय कुरा हो, रातारात उम्रिएको संवेदनशीलता हैन । तर प्रतिबद्धता भए हामी यहाँ पनि त्यसको संस्कार बसाल्न सक्छौँ । नेपालमा जस्तो न्यूनतम योग्यता पूरा भएपछि आफन्तलाई तानेर न्यायाधीशमा लाने चलन त्यहाँ छैन । त्यहाँ न्यायक्षेत्रको उच्च तालिम पूरा गरेपछि मात्र न्यायाधीश बन्न पाइन्छ ।
दोस्रो कुरा, अदालती कार्यविधि हो । चेज एयरकै मुद्दा अदालतले कसरी त्यति चाँडो फैसला गर्यो भन्दा त्यहाँ मुद्दाको संवेदनशीलता अनुसारको कार्यविधि तय गरिएको हुन्छ । हामीकहाँ अदालती बन्दोबस्तको १७१ (क) ले रोक्का राख्नुपर्ने विषयमा केही व्यवस्था त गरेको छ, तर मुख्यतः जग्गा जमिन जस्ता विषयहरूको सन्दर्भमा मात्र । तर व्यवहारमा त्यस्तो संवेदनशीलता पाइँदैन, र चेज एयर जस्तो विवादको विषय हाम्रो अदालतमा परेको अवस्थामा उपचार नपाउने स्थिति पनि छ ।
• सरकारी निकायको चासोः अमेरिकामा विशेषज्ञ सेवा राम्रो छ तर हामीकहाँ त ब्याङ्क ठगीको मुद्दामा प्रहरीले उल्टै वकिलहरूलाई नै सताउँछ । अपराध अनुसन्धान गर्ने छुट्टै निकाय हामीसँग छैन । इण्डोस्वेज ब्याङ्कको दुई करोड रुयैयाँ ठगी काण्डको प्रारम्भिक छानबिन गर्न मात्र एक महिना लगाइयो । ब्याङ्कले कागज दिएर, मान्छे थाहा भएपछि पनि यत्रो समय नलाग्नुपथ्र्यो । हाम्रो प्रहरी पनि ज्यानमुद्दा, चोरी र राजनीतिक मुद्दा हेर्ने स्तरभन्दा माथि उठेको छैन । एफ.बी.आई. का मान्छेहरूले किन त्यति चासो देखाए भन्नेबाट हामीले कुरा बुझनुपर्छ र अब आर्थिक एवं अरू अपराध हेर्ने छुट्टै खालको निकाय पनि खडा गर्नुपर्छ । भ्रष्टाचारीको मुद्दा हेर्ने मान्छे बुद्धिमान हुनुपर्यो, अर्को भ्रष्टाचारी होइन । हामीकहाँ इमान्दार नै त्यस्तो पदमा पुग्यो भने पनि उसले अन्यत्रबाट अनुसन्धान गर्ने सहयोग नै पाउँदैन ।
• सक्षम व्यावसायिक व्यक्तिहरूः अमेरिकामा बदमासहरूलाई कारवाही गर्ने राम्रो व्यवस्था छ । पेशाको दुरुपयोग र ढिलाई गर्यो भने त्यहाँ कारवाही हुन्छ । त्यहाँ प्रत्येक क्षेत्रमा काम गर्ने विशेषज्ञता विकास हुँदै गएको छ । वकिलले पनि बदमासी गरे त्यहाँ कारवाही हुन्छ । तर हामीकहाँ त्यस्तो परम्परा नै छैन भने पनि हुन्छ । बलियो व्यावसायिक शिक्षाको अभावमा हामीकहाँ व्यावसायिक दक्षता माथि उठ्न सकेको छैन । अमेरिकाका वकिलहरूको व्यावसायिक इमान्दारी र तदारुकताबाटै शानेवानिले चेज एयरको अभियोग टुङ्गो लाग्दा केही पाएको हो । मेरो विचारमा चेज एयर काण्डको अमेरिकी पाटोबाट हामीले सिक्नुपर्ने कुरा यिनै हुन् ।
उप्रेती नेपालका चर्चित कर्पोरेट वकिल हुनुहुन्छ ।