नेपाल चिनाउने एक नेपाली

हिमाल खबरपत्रिका (साउन ३, २०८१) बाट

अम्बिका श्रेष्ठ नेपाली मौलिकतालाई स्याहार्दै अन्तर्राष्ट्रिय तवरको ‘हस्पिटालिटी’ सेवा दिन सफल उद्यमी हुनुहुन्थ्यो।

गत १२ फेब्रुअरीको जन्मदिनमा अम्बिका श्रेष्ठ। तस्वीर : कनकमणि दीक्षित

समाजसेवी, उद्यमी, सम्पदा अभियन्ता अम्बिका श्रेष्ठ हामीमाझ रहनुभएन। उहाँको ९२ वर्षको उमेरमा साउन ३ गते बिहान निधन भयो।

अम्बिकाजीका पूर्वज भक्तपुरका हुन् भने उहाँको जन्म सिक्किममा भएको थियो, विसं १९८९ मा। चार भाइ र चार बहिनीमध्येकी उहाँले दार्जीलिङको लोरेटो कन्भेन्टमा स्कूल पढ्नुभयो। पटनामा स्नातक पूरा गर्नुभयो।

उहाँको विवाह वि.सं. २०१२ मा काठमाडौंका द्वारिकादास श्रेष्ठसँग भयो। छुट्टै घरजम गर्न पुगेका दम्पतीले शुरूका दिनमा गुजारा गर्न विभिन्न उपाय लगाए। अम्बिकाजीले कान्ति ईश्वरी स्कूलमा पढाउनुभयो। अंग्रेजीमा पोख्त भएका कारण उक्त भाषाको शिक्षिका हुनुभयो। उहाँले अमेरिकी सूचना केन्द्रमा पनि काम गर्नुभयो।

श्रीमान् द्वारिकादास श्रेष्ठसित अम्बिका। तस्वीर स्रोत : नेपालखबर डटकम

नेपालमा पर्यटक आउन थालेसँगै दम्पतीले ‘हस्पिटालिटी’ मा हात हाले। यही नै उहाँहरूको व्यावसायिक चिनारी बन्न पुग्यो। शुरूमा ट्राभल एजेन्सी खोल्नुभयो, झोछें टोलमा काठमाडौं ट्राभल्स एन्ड टूर्स नाममा। पछि गएर होटल वा गेस्ट हाउस बनाउने विचार आयो।

द्वारिकाजी काठमाडौंका रछ्यानमा फ्याँकिएका वा दाउराका रूपमा प्रयोग भएका कलात्मक झ्याल, टुँडाल, थाम संकलन गर्दै हुनुहुन्थ्यो। काठैकाठका गोदाम देखिन थालेको थियो, श्रेष्ठ दम्पतीको बत्तीसपुतलीस्थित निवास परिसर। तिनै काठलाई आधार बनाएर वि.सं. २०३४ मा एउटा सानो गेस्ट हाउस खुल्यो, बत्तीसपुतलीमा। त्यसैको विकसित रूप हो, आजको द्वारिकाज् होटल।

आजसम्म आउँदा नेपालमा चाहिने ‘हाई भ्याल्यू’ पर्यटनको नमूना बनेको छ ‘द्वारिकाज्’, जसले मौलिक सामग्री, खानपिन इत्यादिलाई अगाडि सार्छ। प्रिन्स चार्ल्स (हाल राजा) देखि हिलरी क्लिन्टन जस्ता नेपाल आउने अनेकन् उच्चपदस्थ व्यक्ति तथा ‘सेलिब्रेटी’ हरूको थलो बन्न पुग्यो, बत्तीसपुतली क्षेत्रमा भौतिक संरचनामा आएको फेरबदलबीच मौलिक स्वरूपमै कायम यस होटेल।

‘द्वारिकाज्’ अम्बिका तथा द्वारिकादास दुवैको प्रयास थियो। वि.सं. २०४८ मा द्वारिकादासको निधनपश्चात् पनि व्यवसायले रफ्तार नै लियो। नेपालकै ‘ग्रेशियस होस्टेस्’ का रूपमा अन्तर्राष्ट्रिय जगत्‌ले अम्बिका श्रेष्ठलाई हेर्न थाल्यो, जो नेपाली मौलिकतालाई स्याहार्दै अन्तर्राष्ट्रिय तवरको ‘हस्पिटालिटी’ सेवा दिन सफल हुनुभयो।

पर्यटन व्यवसायमा नाम कमाउँदै गर्दा अम्बिकाजी महिला तथा युवा उद्यमीलाई प्रोत्साहन गर्न दिलोज्यानले लाग्नुभयो भने रोटरी क्लब मार्फत आफ्नो विचार र मान्यता समाजका विख्यातहरूलाई बाँड्नुभयो। ‘नेपाल हेरिटेज सोसाइटी’ मार्फत सम्पदा संरक्षण मात्र नभई नयाँ पिंढीलाई नेपाली वास्तुकला, जीवन्त सम्पदाबारे चिनाउने काम गरिरहनुभयो।

अम्बिका श्रेष्ठ स्पेनको अवैतनिक महावाणिज्यदूत हुनुहुन्थ्यो भने हिमालमिडिया (प्रकाशक, हिमाल, हिमालखबर र नेपाली टाइम्स) का संस्थापक अध्यक्ष हुनुहुन्थ्यो।

पारिवारिक स्रोतका अनुसार, उहाँको शव अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार बिहान द्वारिकाज् होटलमा राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *