हिमाल खबरपत्रिका (चैत ६, २०८१)बाट
काठमाडौं उपत्यकाको पर्यटकीय आकर्षण घटिरहेको भनाइको ठीक विपरीत न्यू योर्क टाइम्सले भने यहाँका विविध आकर्षण र मौलिक स्वादको बखान गरेको छ।
अन्तर्राष्ट्रिय मिडियाको चासो र चर्चामा परेसँगै द्वन्द्वकाल तथा संक्रमणकाल पश्चात् नेपालको पर्यटन तंग्रिने तर्खरमा देखिन्छ। यद्यपि दुई दशकअघिको तुलनामा नेपाल बिल्कुलै फरक छ, परम्परागत संस्कृति सर्वत्र लोप हुँदै गएको सन्दर्भ होस् या हिमालमा हिउँ घटेको, गाउँबाट बसाइँसराइ वा मोटरबाटाको विस्तारले ट्रेकिङ व्यवसायलाई चाहिने गोरेटो मासिएको आदि कारणले। यति भईकन देश हेर्नलायकको छँदै छ, र समुद्रपारका मिडियाले आँखा लगाएका छन्।
जोमसोममा अवस्थित होटल ‘शिन्तामणि मुस्ताङ’ ले गत वर्ष धेरै फेशन र ट्र्याभल पत्रिकाको आँखा खिच्यो। न्याशनल जोग्राफिकले सन् २०२४ का लागि विश्वको उत्कृष्ट र मन पराइएको होटलको सूचीमा यस होटललाई राख्यो, एशियाको पहिलो नम्बरमा पर्नेगरी। नेपाल ‘बजेट’ पर्यटकको मात्र गन्तव्य नभई ‘हाई भ्याल्यू ट्र्याभलर’ का लागि पनि आकर्षक छ भन्ने कुरा फैलियो।
गत साता, १५–१६ मार्च शनिबार-आइतबारको सप्ताहान्त अंकमा विश्वविख्यात न्यू योर्क टाइम्सले आफ्नो ‘यात्रा’ पानामा ‘भिक्षु र कालिगडहरूको रंगीन शहर’ शीर्षकमा काठमाडौं उपत्यकाको बखान गरेको पाइयो। पर्यटक तथा पर्यटन उद्योग दुवैले पढ्ने गरेको ‘थर्टी सिक्स आवर्स इन’ स्तम्भमा विभिन्न शहरको बखान गर्छ, ३६ घण्टाभित्र त्यहाँ के के गर्न सकिन्छ भन्दै। यसपालि ३६ घण्टा (शुक्रबार, शनिबार, आइतबार)मा काठमाडौंमा गर्न सकिने खानपिन र घुमघामको चर्चा स्तम्भले गरेको छ।

प्रस्तावनामा संवाददाता सेथ शेरउड भूकम्पको १० वर्षपछिको ‘खचाखच र रंगीन राजधानी शहर’ मा मठमन्दिर र गुम्बाहरू पूर्ववत् सामान्य अवस्थामा फर्काइएको बताउँछन्। यस्तै, ‘३५ वर्षे पूर्व र्यापर र नवराजनीतिज्ञ’ बालेन साहलाई ‘डाइनामिक मेयर’ बताएका छन्।
यति लेखेर शेरउड काठमाडौंमा कता जाने र मुख्यत: के कस्तो खाने भन्नेमा केन्द्रित हुन्छन्। पर्यटकले जानेवर्ने गरेको उपत्यकाका चिरपरिचित गन्तव्यभन्दा रैथाने र विशेषगरी शहरवासी युवाले मन पराएको ठाउँलाई प्रमुखता दिएका छन्। यस अर्थमा उपत्यकाको नयाँ सांस्कृतिक चमकलाई लेखले पकडेको छ। संवाददाता मुख्य खानपिनको गन्तव्य र परिकारमा केन्द्रित छन्।
जनकपुर दही लस्सी भण्डार : अन्नपूर्ण मन्दिरबाट दक्षिण–पश्चिम लाग्दै इन्द्रचोक नजीक रहेको श्री वंशेश्वर महादेव मन्दिरको छेउमै रहेको सानो पसलमा १०० रुपैयाँमा ‘मनमोहक लस्सीको स्वाद लिनू’।
रैथाने : ललितपुर कुपन्डोलको रेस्टुरेन्ट रैथानेले नेपालका अनेक क्षेत्र र संस्कृतिबाट ‘अर्थी कन्कोक्शन्स’ (जीवन्त परिकार) पस्कन्छ। रु. तीन हजारमा दुई जनालाई तीन कोर्सको खाना पाइन्छ, राई, लिम्बू, शेर्पा र थकाली स्वादका।
म्युजिकोलोजी : पाटनमै लाइभ संगीत सहित नेपालमा उत्पादित बियर पाइन्छ, बाह्रसिंघेको ‘हेजी आईपीए’ देखि जगमा उपलब्ध छ हल्का, सुनौला शेर्पा खुम्बु कोल्श। यस्तै, नजीकको बार बार थलोमा विदेशी नियोग तथा एनजीओका कर्मचारी तथा काठमाडौंका ‘कूल किड्स’ भेला हुन्छन्।
ल शेर्पा : लाजिम्पाटमा रहेको ‘ओत् क्विजिन’ रेस्टुरेन्ट ‘ल शेर्पा’ को भन्दा पनि उक्त प्रांगणमा शनिबार लाग्ने हाटबजारको बखान गरिएको छ, जो भेटघाटको थलो हुन पुगेको छ भने गुणस्तरीय स्थानीय उत्पादन पाइने ठाउँ हो, जस्तै– ब्रो बेकरीको क्रोशन्त, हिमालयन फ्रेन्च चीज कम्पनीको याक चेडर, नानाज् डिलाइटमा पाइने टिमुर र सिँधेनुन, अनि लोकल प्रजेक्टले बेच्ने ‘मोहेयर स्वेटर’।
गार्डेन अफ ड्रिम्स : बाग–बगैंचा विरलै पाइने काठमाडौंमा ठमेलको मुखमा रहेको अग्लो पर्खाल पछाडि रहेको गार्डेन अफ ड्रिम्समा यूरोपेली वास्तुकलामाझ इँटाको गोरेटो, फोहरा, पाटी र ‘रोटन्डा’ छन्, र चराचुरुंगी खेल्ने पाल्म, म्याग्नोलिया र क्यामेलिया जस्ता अनेकन् वृक्ष छन्। यहाँ ‘आर्ट नोभो स्टाइल’ को क्याफे पनि छ, जहाँ कफी खाँदै अंग्रेजी अखबार पढ्न पाइन्छ।
लिटिल टिबेट : ठमेलको ठेलमठेललाई छिचोल्दै दोस्रो तलामा लुकेर बसेको छ यो रेस्टुरेन्ट, जहाँ तिब्बती कलाकृति र सरसामानमाझ स्थानीय परिकार पाइन्छ, जस्तै– ‘सेन चुरु’, ‘आलु सिप सिप’ तथा ‘मोक्थुक’। पूरै रैथाने बन्न नुन चिया पिउन सुझाइन्छ।
पीडी बिन्स कफी : स्वयम्भू स्तूपको परिक्रमा गरेर छेउछाउका पसलमा थांका र मूर्ति हेरिसकेपछि तलतिर फराकिलो काठमाडौं शहर हेर्न पीडी बिन्स कफीमा उक्लन सुझाव छ, जहाँ यती बियरको स्वाद लिन सल्लाह दिइन्छ (कफीभन्दा)।
टुसा : लेखक अब भक्तपुरतिर लाग्छन्, र एक वर्षयता मात्र खुलेको रेस्टुरेन्ट टुसाबारे बखान गर्छन्, ‘साहसिक’ संज्ञा दिंदै। यहाँ समुद्रपारका प्रसिद्ध भोजनालयमा सीप हासिल गरी नेपाल फर्केका तीन शेफले तयार पारेका उत्कृष्ट मेनु उपलब्ध छ। रु. पाँच हजार ८५ पर्ने सात कोर्सको खानाको बयान छ– साँधेको चरा, बाक्लो कालो दाल र अन्य परिमार्जित स्थानीय परिकार।
बार्क : थापाथलीको ब्लू स्टार कम्प्लेक्सको माथिल्लो तलामा नाम नलेखेको ऐनाको ढोकाभित्र अँध्यारो, रमणीय ‘कक्टेल लाउन्ज’ छ, जहाँ नेपाली मसला, राँगाको सुकुटी, ह्वीस्कीको सन्तुलित मिश्रणबाट बनाइएको कक्टेल पाइन्छ। ‘लभ मी लंग टाइम’ नाम गरेको अर्को पेय पनि प्रस्तुत छ, जसमा धनियाँ मिश्रित जिन, लेमन ग्रास, तित्री र ओखरको टर्रोपनको मिसावट छ। अरू मौलिक पेयमा ऐला, चिया, भक्तपुरे जुजुधौ तथा पिसेको याक चीजसम्म ‘कृति’ पेश छ।
होनचा : लेखक पाटन पुग्दा मुख्यतया यहाँका हस्तकला, ‘सिंगिङ बोल’, चाँदी गहना र मूर्तिको चर्चा गर्छन् र सञ्जयज् अनि ओम हस्तकला इम्पोरियमको उल्लेख। किनमेल गर्दा उनको सुझाव छ– कडा मोलमोलाइ गर्नू! खानाका लागि भने पाटन दरबार प्रांगणको पश्चिममा अवस्थित होनचामा छिर्न सुझाव छ, जहाँ छोइला, कचिला, बारा, योमरी लगायत नेवाः परिकार आगोछेउमा बसेका महिलाले लगातार उत्पादन गरिरहेका हुन्छन्।
न्यू योर्क टाइम्सको पूरै एक पृष्ठको लामो लेखनले पनि उपत्यकाका सबै उत्कृष्ट ठाउँको चिनारी त दिन सक्दैन। जस्तै– उपत्यका वरिपरिका जंगल संसारकै उत्कृष्ट चराचुरुंगी पाइने ठाउँ हुन्, त्यहाँ शेफ शेरउड पुग्दैनन्। पाटन संग्रहालय जस्तो दक्षिणएशियामै उत्कृष्ट मानिएको संग्रहालयको यहाँ नामसम्म छैन भने भक्तपुरका गल्लीमा रातको पैदल यात्राले कति सांस्कृतिक वजन बोक्छ भन्नेबारे पनि लेखक अनभिज्ञ छन्। यस्तै, स्वनिगःका तीन वटै शहरमा आजभोलि उपलब्ध उच्च दर्जाका साना घरेलु होटल र होमस्टेको चर्चा पनि पाइँदैन। तापनि आधुनिक उपत्यकाका मुख्यतः युवापंक्तिले रुचाएका ठाउँबारे चर्चा गरेर विदेशी पर्यटकलाई उपत्यकाको ‘आधुनिक उत्कृष्टता’ बुझाउने काम भएको छ। आजभोलि धेरैले ‘काठमाडौं उपत्यका त बिग्रिसक्यो, बरु चितवन, खुम्बु, पोखरा वा जोमसोम जानू’ भन्ने सल्लाह दिने क्रम बढ्दै जाँदा यहाँका पुराना–नयाँ आकर्षण पेश गरेर न्यू योर्क टाइम्सले गुन लगाएको छ।