हिमाल खबरपत्रिका (३-९ मंसिर, २०७४) बाट
मवीवी शाहले लेखे अनि तारादेवीले गाइन्– ‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर… ।’
दरबारमा हुर्किएका महेन्द्रलाई त्यो उकालो लामो लाग्नु अस्वाभाविक नहोला, तर त्यो छोटो छ । मुग्लिङ्गबाट जाँदा डुम्रे बजार नपुग्दै बायाँपट्टि उकालो गोरेटो शुरु हुन्छ । सालको जंगल, बीचमा दुईवटा रमणीय चौतारा अनि हरियाली छिचोल्दै शहरवासीको हिंडाइमा पनि दुई–अढाइ घण्टामा बन्दीपुर बजार पुगिन्छ । बाटोमा प्लास्टिक र पिकनिके फोहोर देखिंदैन । तर विडम्बना, एउटै बटुवा भेटिंदैन, न उँधो जाने न उँभो ।
भन्नैपर्छ, बन्दीपुरे उकालो वर्तमान नेपालका राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकको लागि ‘अन्डिस्कभर्ड जुवेल’ हो । झर्दा अर्कै बाटो लिन पनि सकिन्छ । ठाडो तर रेलिङ्ग राखेको गोरेटोबाट एकै घण्टामा सिद्धबाबा गुफा झर्न सकिन्छ । गुफाको अर्कै आकर्षण छ ।
बन्दीपुर बजारको त कुरै गर्नु परेन । करीब २०–२२ वर्ष अगाडि होला, ललितपुरवासी पर्यटन उद्यमी दिलेन्द्र श्रेष्ठ लगायतले एक ‘इकोटुरिजम्’ परियोजनाअन्तर्गत बजारको विशेषता मूल सडकलाई मोटरमुक्त क्षेत्र बनाउँदा पर्यटन फस्टाउँछ भनेका । रैथाने बासिन्दा तथा नारायणघाट/काठमाडौं पलायन भएका व्यापारिक घरानाका उत्तराधिकारीलाई त्यो कुरा जँच्यो । र, आज आएर समस्त नेपाल पहाडकै लागि नमूना बस्ती बनेको छ, बन्दीपुर ।
बजारका घरहरूलाई पुरानै शैलीमा रहन दिएर पछाडिपट्टि थपेर आधुनिक भवन बनाउन थालिएको छ । सडकको उत्तरपट्टि हरेक घर–घर जोड्ने ऐतिहासिक पेटीलाई जस्ताको तस्तै राखिएको छ । अन्यत्रका ‘टुरिजम्’ अनुभवीहरु आएर बन्दीपुरका घरहरू लिजमा लिएर व्यवसाय गर्दैछन् । ‘बन्दीपुर छें’ भन्ने होटलचाहिं एउटा मुनाफा नकमाउने कम्पनीले संचालन गरिरहेको छ, रोटरी क्लबको सहयोगमा । आम्दानी पाँचवटा स्थानीय सामुदायिक स्कूलको लागि छुट्याइन्छ ।
बाँकी नेपालका पुराना बस्तीहरूका लागि हर तरिकाले नमूना बनेको छ– बन्दीपुर । तर बन्दीपुर आफ्नो लागि अझै पनि धेरै गर्न सक्छ । पहिलो कुरा त कोठा भाडा बढाउन अप्ठ्यारो मान्नुभएन ।
पर्यटन भनेको बजारको माग र आपूर्ति अनुसार चल्ने व्यवसाय न हो, यो स्थान, यहाँको संस्कृति, रमणीय दृश्य इत्यादिले थेग्ने रेट राख्न किन अप्ठ्यारो मान्नु पर्यो ? ३० डलर पर नाइट हो भने ५० डलर बनाउनुपर्यो, ५० हो भने ८० । उत्कृष्ट सर्भिससहित पर्यटनबाट पैसा कमाउने हो, र उपलब्ध मुनाफा कामदार, समुदाय र व्यवसायीमा वितरण गर्ने हो । धेरै कमाउन केको लाज ?
तर धेरै कमाउन सफा कोठा, धारामा तातोपानी, ‘ड्राई बाथरुम’ इत्यादि भएर मात्र पुग्दैन । बन्दीपुरका होटल व्यवसायीहरूले पहिले त आफ्नो हिमाल चिन्नुपर्यो– मनास्लु, हिमालचुली, धौलागिरि, गणेश, लाङटाङ इत्यादि । अनि यी हिमालका गाथा पनि बुझ्नु पर्यो जस्तै मरिस् हर्जगको ‘अन्नपूर्ण’ कृति । त्यस्तै, बन्दीपुर क्षेत्रका नेवार र मगर समुदायको संस्कृति कसरी प्रस्तुत गर्ने ? घाटु नाच बजारमा नभई परम्परागत हिसाबले छेउछाउका गाउँमा मात्र नाच्ने गरिकन पर्यटकलाई गाउँ छिराउन सक्नुपर्छ बन्दीपुरले ।
बन्दीपुर वरिपरिका पहाडको विशेष आकार छ, हात्ती जस्तो भनौं । त्यसको आफ्नै आकर्षण छ । डुम्रे बजार तथा मस्र्याङ्दी उपत्यकातर्फ मोडिएको भिरालो पहाड छ, जसलाई ‘एस्कार्पमेन्ट’ भनिन्छ । यसको पनि महत्व आफ्नै छ । यो ‘एस्कार्पमेन्ट’ को पाखामा विविध किसिमका चराचुरुङ्गी छन् भने बजारको अर्कोपट्टि प्याराग्लाइडिङ शुरु भइसकेको छ । बजारको एकापट्टि हिमालै हिमाल हेर्दै लञ्च खान पाइन्छ भने अर्कोपट्टि महाभारत लेकको पत्रपत्र नियाल्दै डिनर ।
बन्दीपुरले पाल्पालाई केही सिकाओस्, धनकुटा र चैनपुरलाई, बाग्लुङ र सिलगढी डोटीलाई । तर आफूले आफ्नै लागि पनि धेरै गर्न बाँकी छ भन्ने न बिर्सिओस् ।