हिमाल खबरपत्रिका (११ फागुन, २०७८) बाट
पूर्व प्रधानमन्त्री र पूर्व ‘क्रान्तिकारी’ को ह्यान्डलमा केही काँटछाँट, केही थपथाप आवश्यक देखिन्छ।
सामाजिक सञ्जाल कति चलाउने, कसरी चलाउने भन्ने आआफ्नै तर्क वा काइदा हुन्छन्। ट्वीटर प्लाटफर्म चलाउने हो भने कसरी भन्ने बुझेको राम्रो। सन्दर्भ हो, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको ट्वीटर खाता। जे भए पनि दाहाल प्रधानमन्त्री भइसकेको मान्छे, अहिले पनि ‘निर्णायक’ मानिने नेतामध्ये पर्छन्। यस्तो, यत्रो व्यक्तित्वको ट्वीटर खाता र ह्यान्डल भने अलि कस्तो कस्तो।
ट्वीटर प्रोफाइल नाम छ अङ्ग्रेजीमा ‘कमरेड प्रचण्ड’, अनि ह्यान्डल छ सीएमप्रचण्ड (@cmprachanda)। पछ्याउनेको सङ्ख्या साढे तीन लाख माथि छ, तर अरूलाई ‘फलो’ गर्न दाहालको रुचि देखिंदैन। मात्र आठ जनालाई फलो गरिएको छ, जसमा उनका छोरीद्वय रेणु र गंगा दाहाल तथा नातिनी सृष्टि दाहाल केसी छन् भने बाँकी पाँच जना अमेरिकाका वर्तमान र पूर्व शासक छन्।
यो धेरै तहमा उदेकलाग्दो छ।
फेसबूक र ट्वीटर जस्ता सामाजिक सञ्जालका प्लाटफर्महरू सूचना प्रवाह गर्ने, आफ्नो विचार राख्ने र खबर लिने माध्यम हुन्। तर, यी प्लाटफर्मले प्रयोगकर्ताका धेरै व्यक्तिगत कुरा पनि बताउँछन्। जस्तैः कसैको लगाव, स्वभाव, मिजास, क्षमता, राजनीतिक झुकाव आदि। ह्यान्डलवालालाई कतिले र ककसले फलो गर्छन् साङ्केतिक हुन्छ, यस्तै उसले कति र कसलाई फलो गर्छले केही बताउँछ।
यहींनेर प्रश्न उठ्छ; ‘क्रान्तिकारी’ पुष्पकमल दाहाल जो नेपालको प्रधानमन्त्री पनि भइसके, ट्वीटरमा अरूलाई फलो गर्नुपर्दा किन यी व्यक्तिलाई मात्र फलो गर्छन्ः अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र बाराक ओबामा, पूर्व परराष्ट्र मन्त्री हिलरी क्लिन्टन, वर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस।
अमेरिकी वर्तमान र पूर्व शासकले के भन्छन् र गर्छन् भन्नेमा यत्रो चासो किन? जबकि, विश्व हाँक्ने अरू कुनै संस्था वा नेता फलो भएको छैन। माथि चासो छैन– न नरेन्द्र मोदी, न शेख हसिना, न इमानुएल म्याक्रोन, न त बोरिस जन्सन्। ट्वीटरमा सक्रिय देशभित्रकै नेता शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई तथा कमल थापालाई फलो गर्दैनन् दाहाल।
दाहालको ट्वीटर खाता चर्चामा आउनुको कारण छ– हालैको उनको ट्वीट। २० फेब्रुअरी (८ फागुन) साँझ ५ः२३ बजे गरिएको उनको ट्वीट थियो– “विवाद र विरोधका बीच सरकारले MCC टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।”
यो पोस्टको आफ्नै कथा त छँदै छ, कसरी एमसीसी सम्झौता फेब्रुअरी अन्त्यसम्म संसद्बाट स्वीकृत गर्ने भनी दाहालले (प्रम देउवासँग मिलेर) अमेरिकालाई कबुल गरे, कसरी माओवादी पार्टी कार्यकर्ता र सत्ता गठबन्धनलाई विरोधाभासपूर्ण अभिव्यक्ति दिए, कसरी सरकारको कार्यक्रमको विरोध गर्दै सत्तामै रहन चाहेका छन्। यस ट्वीटको कारण चर्चामा आएको ह्यान्डलको हुलिया हेर्दा त केवल अमेरिकीप्रति दाहालको चासो देखियो। फेरि, वर्तमान राष्ट्रपति मात्र नभई पूरै डेमोक्रेटिक पार्टीको नक्षत्र समेटेका छन्। यी अमेरिकी नेता बाहेक अन्य व्यक्ति दाहालको रोजाइमा परेनन्, न देश-विदेशका विचारक, चिन्तक, नेता वा अन्य ‘सेलिब्रिटी’।
दाहालले ट्वीटर खातामा आफ्नो युद्धकालको नाम चलाउन रुचाएका छन्। बिस्तारै ‘प्रचण्ड’ बाट छविलाल या पुष्पकमलतर्फको यात्रामा यसरी उनले ब्रेक लगाएको देखिन्छ, र संसारसामु ‘कमरेड प्रचण्ड’ भनेर चिनिने रुचि देखिन्छ। या त यो पुरानै युद्धकालीन धङधङीको उपज हो, या अन्तर्राष्ट्रिय ‘इमेज’ बारे चासोको कमी।
हुन सक्छ पुष्पकमल दाहालले आफैं ट्वीटर चलाउँदैनन्, तर जसले चलाउँदा हुन् उनले पनि होश त पुर्याउनुपर्यो। दाहालकै पूर्व सहयात्री बाबुराम भट्टराई या अर्थ मन्त्री जनार्दन शर्माको फलोअरको दायरा अलि फराकिलो देखिन्छ। शर्माको हकमा भारतीय अभिनेत्री दिया मिर्जादेखि भीम रावल, देवेन्द्रराज पाण्डे, किशोर नेपाल, नारायण वाग्ले र देश-विदेशका विभिन्न पत्रिका (विशेष गरी चिनियाँ खबर पोर्टलहरू) रोजाइमा पर्छन्।
दाहालले ट्वीटर खातामा आफ्नो युद्धकालको नाम चलाउन रुचाएका छन्। बिस्तारै ‘प्रचण्ड’ बाट छविलाल या पुष्पकमलतर्फको यात्रामा यसरी उनले ब्रेक लगाएको देखिन्छ, र संसारसामु ‘कमरेड प्रचण्ड’ भनेर चिनिने रुचि देखिन्छ। या त यो पुरानै युद्धकालीन धङधङीको उपज हो, या अन्तर्राष्ट्रिय ‘इमेज’ बारे चासोको कमी। यता, आफ्नो द्वन्द्वकालीन पहिचान यसरी अगाडि सार्ने कुरा पक्कै पनि नेपाली समाजका लागि सुखद होइन। छविलाल वा पुष्पकमल नै हाम्रो निम्ति प्यारो, जाती।
सामाजिक सञ्जालको जमानामा दाहालले आफ्नो ट्वीटर खाता सञ्चालनमा अलि ध्यान दिनुुपर्ने नै देखिन्छ। उनको खाता नीलो स्टिकर सहित ‘भेरिफाइड’ छ, भन्नुको अर्थ यो उनैको हो भनी ट्वीटर कम्पनीले सुनिश्चित गरिदिएको छ। यसरी यो ह्यान्डल उनकै हो भने तृतीय पुरुषमा ट्वीट गरिनु उपयुक्त होइन। जस्तैः गत १६ पुस (३१ डिसेम्बर) मा गरिएको ट्वीट छः ‘नेकपा (माओवादी केन्द्र) को … … बन्द सत्रमा आफूबाट प्रस्तुत दस्तावेजमाथि विभिन्न समूहहरूले उठाएका जिज्ञासा र सुझावहरूको जवाफ दिनुहुँदै अध्यक्ष कमरेड प्रचण्ड।’
दाहालका तीन लाख ५२ हजार दुई सयभन्दा बढी फलोअरको सबै नाम रुजु गर्न सकिएन, तर प्रायः नेपाली देखिन्छन्। यो अस्वाभाविक नहुँदा पनि द्वन्द्व मच्चाएका अनि पछि नेपालको खुला राजनीतिमा नाटकीय प्रवेश गर्दै आजसम्म निर्णायक शक्ति रहेका दाहालको अलिकति भए पनि ‘विदेशी’ फ्लोइङ हुनुपर्ने थियो।
बाँकी रह्यो, दाहालले फलो गरेका आठ जनाको सन्दर्भ। किन बिल, हिलरी, बाराक, जो र कमलामाथि यत्रो चासो? संसारबारे जान्न र आफ्नो फराकिलोपन देखाउन पनि काँटछाँट र केही थपथाप आवश्यक देखिन्छ।