हिमाल खबरपत्रिका (१-१५ पुस, २०६० )बाट
संयुक्त राष्ट्रसंघद्वारा डाकिने गरेको बृहत् “वल्र्ड समिट” हरूमा अक्सर सरकारी प्रतिनिधिमण्डलको पहुँच हुन्छ र यदाकदा केही अन्तर्राष्ट्रिय चिनजान भएका ‘गैरसरकारी’हरू पुग्ने गर्दछन् । तर गतहप्ता (डिसेम्बर १०–१२) स्वीट्जरल्याण्डको जेनेभामा भएको जमघटमा भने विभिन्न क्षेत्र, वर्ग र जातजातिको यस्तो प्रतिनिधित्व थियो कि यसले एक अर्थमा हाम्रो देश बढी सहभागितामूलक भएको दर्शायो । हामी देशको परिस्थिति देखेर नियास्रिँदा पनि जनता क्रियाशील छन् र आ–आफ्नो ठाउँमा रहेर नयाँ–नयाँ चुनौतीहरूको मुकाबिला गर्दैछन् भन्ने यसले जनाउँछ ।
फ्रान्सेली भाषी शहर जेनेभामा संयुक्त राष्ट्रसंघले डाकेको “वल्र्ड समिट अन इन्फर्मेशन सोसाइटी” भेलामा हजारौँ राष्ट्रिय प्रतिनिधि, वैज्ञानिक र ‘एक्टिभिष्ट’हरू संसारका कुनाकुनाबाट ओइरिएका थिए । नेपाली औपचारिक प्रतिनिधिमण्डल थिँदैथियो, नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सञ्चार मन्त्री कमल थापा र विभिन्न मन्त्रालयका उपसचिवहरू । तर चाखलाग्दो चाहिँ गैरसरकारी हिसाबले आ–आफ्नो जाँगर र सौखका कारण यहाँ आइपुगेका नेपाली थिए र जसको यसअघि एक–अर्कासँग सम्पर्क पनि थिएन । दुई तीन वटा फूटबल ग्राउण्ड ढाक्ने बडेमानको भवनमा राखिएका सयौँ स्टलहरूमा बजारै लागेको थियो, कम्प्युटर, “आइटी” र सञ्चारमा लागेका व्यवसायी र एक्टिभिष्टहरूको । र, यही प्राङ्गणमा चिनेका– नचिनेका नेपालीहरूको उद्यम र विविध क्षेत्रमा गरेको लगानी र तिनको क्रियाशीलता देख्न पाइयो ।
यहाँको “प्यालेक्स्पो” सभा गृहको केन्द्रीय प्राङ्गणमै कुनै एउटा नेपाली बजारको चारैदिशा ढाक्ने गरी टाँसिएको बडेमानको फोटोग्राफिक पोष्टरले नेपालीलाई “घरै आइपुगिएछ कि” भन्ने भान पार्दथ्यो । आ–आफ्नो स्टल छोडेर सबै जम्मा हुने ठाउँ यही नै थियो र स्वीट्जरल्याण्डमा भेला भएका सबै देशका जमातका लागि यो ‘नेपाल’ बन्न पुग्यो ।
एक जना दौरासुरुवाल, कोट र टोपी लगाएका जवानमाथि आँखा नपर्ने त कुरै भएन । उहाँ हुनुहुँदोरहेछ बालकृष्ण जोशी, जसको “ठमेल डट् कम” कम्पनीले इन्टरनेटको सिर्जनशील प्रयोगका लागि पुरस्कार पाएको रहेछ । युएनडीपीका हाकिम मार्क मेलक ब्राउनको हातबाट पुरस्कार लिन उहाँ यहाँ आउनुभएको रहेछ । एउटा स्टलमा “लोटस इन्टलेक्ट” लेखेको थियो र त्यहाँ हुनुहुन्थ्यो रोनाष्टका प्राज्ञ ऋषि शाह र उद्यमी शुलो श्रेष्ठ । हिँड्दाहिँड्दै भेट भयो नेपालकै म्यागसेसे पुरस्कार विजेता भारतदत्त कोइराला, जो सहयोगी सुमन बस्नेतसँग “एमार्क” भन्ने रेडियोलाई एसिया प्यासिफिकमा अगाडि बढाउन क्रियाशील हुनुहुन्छ । स्मरणरहोस्, नेपालमा एफ एम रेडियोले प्रगति गरेकोमा संसारसामु नै हामीले गर्व गर्ने अवस्था छ र अरूलाई (विशेष गरी दक्षिण एसियामा) बाटो देखाउने पनि ।
फेरि एक्कासी भेट भयो बुद्धिजीवी र अन्तर्राष्ट्रिय तवरमा आदिवासीहरूका समस्याहरू सुल्झउन लागिरहनुभएका दम्पती परशुराम तथा स्टेला तामाङ । दिनभरिको भेटघाट सकेर होटलतिर लाग्दा बसमा भेट भयो कुलबहादुर नेपालीसँग, जो देशका दलितहरूको समस्या सुल्झउन प्रतिबद्ध हुनुहुन्छ । सुनिता लामिछाने भन्ने अर्की एउटी नेपालीले पनि पुरस्कार पाएको सुनियो, तर केका लागि थाहा पाउन सकिएन । “प्रो पब्लिक” संस्थाका केदार खड्का र उहाँकी सहयोगीको पनि उपस्थिति थियो आफ्नै स्टलमा, जसको फोकस थियो नेपालमा “करप्शन्” । यो स्तम्भकार आफैँ जेनेभा पुगेको थियो बीबीसी टेलिभिजनमा “डिजिटल डिभाइज” को बारेमा एउटा बहसमा भाग लिन ।
स्वतन्त्र हिसाबले, एक–अर्काले थाहै नपाइकन त्यस सम्मेलनमा भाग लिन पुग्ने नेपालीहरू सके अरू पनि हुनुहुन्थ्यो होला । जसले नेपालीहरूको “प्रोफाइल” र क्रियाशीलता अन्तर्राष्ट्रिय तवरमा धेरै माथि पुगिसकेको स्पष्ट हुन्थ्यो । धेरैजसो देशहरूको नामै उच्चारण भएन त्यहाँ । पुरस्कार पाउने र स्टल राख्नेदेखि विभिन्न गोष्ठीहरूमा सहभागी हुने नेपालीको सङ्ख्या हेर्दा नेपालले फड्को मारेकै हो भन्न बाध्य हुनुपर्छ । आत्मविश्वास र स्वाभिमानका साथ अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु पनि देश र समाजको विकासको सङ्केत हो । फेरि “आइटी” मा साँच्चिकै अग्रसर व्यक्तिहरूमध्ये कति त जेनेभाको सम्मेलनमा आउनु पनि भएको थिएन । यसरी एउटा आधुनिक क्षेत्र र विधामा नेपालीको सहभागिता हुनु हाम्रो खुला समाज र यसमा हुने प्रतिस्पर्धाको उपज नै हो । जेनेभाको सम्मेलनबाट मैले लिएर फर्केको शिक्षा यही नै हो ।