सेतोपाटी: नेपालको डिजिटल पत्रिका (१५ मंसिर, २०७३) बाट
डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज
नेपालको राजनीतिक अराजकताले मानव जीवनलाई मूल्यहीन बनाइदिएको छ। गौरवमय लोकतान्त्रिक पृष्ठभूमिका दल र नेताले ‘व्यावहारिकता’, ‘बाध्यता’ भन्दै सिद्धान्त–दर्शन मात्र होइन, मानवता नै त्यागेको प्रतीत हुन्छ। मुख्यतः सत्ताको लोभले मान्छेलाई मर्न दिनसम्म तयार छन्, यिनीहरू। जनतालाई अलग गरिएको छ, र सबै दलबीच र हरेक दलभित्रका भागबन्डाका कारण नेता–कार्यकर्ता मौनताका महाराज बनेका छन्। दलसँग घाँटी नजोडिएका आमनागरिकको आवाजलाई सिन्डिकेट राजनीतिले कदर गर्दैन। लैनचौर दूतावासले डा. गोविन्द केसीको ज्यान बचाउन आदेश दिए जाग्थे होलान् हाम्रा नेता, देशको नागरिकलाई आफैं वजन दिन रत्तिभर आवश्यक ठान्दैनन्।
नन्दप्रसाद र गंगामाया अधिकारीको ९ वर्ष लामो सत्याग्रहको माग मात्र छोरा कृष्णप्रसादको हत्यामा अनुसन्धान र अदालतीय कारबाही थियो। तर, नेपाली कांग्रेसका नेता सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा नन्दप्रसादको ज्यान गयो। कोइराला र उनको सरकारले त्यसमा आफूलाई कत्ति पनि जवाफदेही ठानेन। जबकि, नन्दप्रसादको मरण होइन, सरकार र राजनीतिक सिन्डिकेटले हत्या गरेको थियो सत्तामोहका कारण। टिचिङ अस्पतालको मोर्गको बक्सा नम्बर ४ मा राखिएको नन्दप्रसादको शव पनि अहिले त कता हो कता पु¥याइएको छ।
अहिले माओवादी नेतृत्वमा छ। तर, नेकपा एमाले नै नेतृत्वमा भएको भए पनि सरकार र सत्तामा अड्न आज आएर एक्लो गंगामायाको ‘जीवनहरण’ गर्न नेताहरू राजी हुने नै थिए, यसमा शंका छैन। मानिस मार्न धक नमान्ने माओवादी प्रवृत्तिलाई अब अन्य दलका नेताले पनि आत्मसात् गरिसके जस्तो छ। नेताले मात्र होइन, कार्यकर्ताले समेत र केन्द्र, जिल्लादेखि गाउँसम्मको दलाल राजनीतिले माथिदेखि तलसम्म हात परेको सत्ता र यसबाट हुने शक्ति र नगद आर्जन गुमाउनु छैन।
यस्तै राजनीतिक सिन्डिकेट र दलालीको आहाल सफा गर्न अगाडि बढे डा. गोविन्द केसी। यातायात, शिक्षालगायत अन्य सबै सार्वजनिक सेवा पतीत र अभिभावकविहीन भएको बेला स्वास्थ्य क्षेत्रको खबरदारीमा अगाडि बढे डा. केसी। उनको गान्धीशैलीको सत्याग्रह जनताप्रेम, निष्ठा तथा सत्य–तथ्यमा आधारित छ, तर सत्याग्रहकै मर्मबारे पनि राजनीतिक नेता–कार्यकर्ताले आफ्नो स्वार्थका लागि बुझ पचाएको अवस्था छ। यो अमानुषिकता क्षम्य छैन कदापि र आज नभए भोलि सबैबाट जवाफदेही असुलिनेछ।
एमाले नेतृत्वको सरकारका बेला मनमोहन अस्पतालका कारण एमाले नेता–कार्यकर्ता डा. केसीको पक्षमा उभिएनन्। अहिले ‘जनयुद्ध’ का ‘नायक’ पुष्पकमल दाहालको सरकार भएकाले यसै पनि डा. केसीको ज्यान खतरामा छ, उनको पार्टीले विषय प्रवेश गर्ने कुरै भएन। उता सत्ता टिकाउने बाहेक कांग्रेसभित्रकै भागबन्डाले पनि कांग्रेजसजनलाई डा. केसीको वकालत गर्न नसक्ने बनाइदिएको छ। आज स्वास्थ्यमन्त्री गगन थापा भन्दछन्– यो मेरो फाँट परेन। आइओएमका डिन डा. केपी सिंहको वफादारी कांग्रेसको एउटा खेमाप्रति छ। उनका हाकिम त्रिवि उपकुलपति तीर्थ खनिया त कांग्रेसका कार्यकर्ता नै हुन् र कार्यकर्ताकै व्यवहार गरेका छन्, डा. केसीप्रति। फेरि उनी ‘एकाडेमिक प्लेजरिस्ट’ हुन्, जसले अर्काको कृति आफ्नो भन्दै अगाडि बढे। यस्तो ‘बौद्धिक चोरी’ प्रमाणित भएको मान्छे त आफैं लाजले लुक्नुपर्ने हो, उनको विश्वसनीयता सबैको आँखामा गुम्नुपर्ने हो, तर कांग्रेसलाई नछुने रहेछ।
कांग्रेस आज यस्तो खालको दलमा परिवर्तित भएको छ। जनताको रखवारी गर्न अग्रसर डा. गोविन्द केसीको ज्यानको जिम्मा खनियाजस्तो पात्रको हत्केलामा पुगेको छ। यो क्रूर छ र मान्य छैन।
डा. केसीको ज्यान गए त्यो मरण होइन, हत्या हुनेछ र कसूरदार हुनेछन्– सरकारमा रहेका, नरहेका सबै पार्टीका सबै मुखबन्द नेता/कार्यकर्ता।