हिमाल खबरपत्रिका (२३-२९ माघ २०७३) बाट
नेपाल निरन्तर ओरालोको बाटो लाग्यो १ फागुन २०५२ को दिनबाट, जब नेकपा (माओवादी) सशस्त्र संघर्ष गर्ने भन्दै भूमिगत भयो। त्यसपछिको सामाजिक, आर्थिक, मानवीय चोट आज २० वर्षपछिसम्म जनतालाई पर्दै आएको छ। चरम अवसरवादी माओवादी नेतृत्वको क्रियाकलापले ढिलोचाँडो सरकारलाई कठोर बनायो, बौद्धिकहरूले हातखुट्टा छोडे, विदेशी (विशेषगरी भारतीय) हस्तक्षेप निम्त्यायो, मुलुक जानाजान अन्तरसामुदायिक विग्रहको खतरामा पर्यो।

चित्रः सुवास राई, ‘धुमधामको घुमघाम’ बाट।
तर, दुईदशक पुगिसक्दा पनि नेपाली जनताले हरेश खाएका छैनन्। राजनीतिक दलहरूको अकर्मण्यताका बाबजूद समाज भोलिको लागि आशावादी र क्रियाशील छ। लोकमानसिंह कार्कीको कठोर योजनालाई समेत आखिर नागरिक आवाजले नै असफल बनायो। गलेको, थाकेको, आशा मरेको भए नागरिक यसरी प्रष्ट विचारसहित अगाडि आउँदैनथे।
निराशाजनक अवस्थाबीच पनि आम–नागरिकको नेपाल अगाडि बढ्छ भन्ने विश्वास ‘रोम्यान्टिसिजम्’ नभई ठोस राष्ट्रिय सम्भावनाहरूमा आधारित छ। हो, विभिन्न कारण हामी खाडलमा पर्यौं, तर अन्य कति मुलुकसँग नभएको कुरा हामीसँग छँदैछ। आर्थिक क्रान्ति र कायापलटका लागि मिश्रित जनसमुदाय, प्राकृतिक स्रोत, भौगोलिक–जैविक विविधता तथा अनेकन् भित्री–बाहिरी प्रहारसामु समेत कमजोर नभएको सार्वभौमिकता हामीसँग छ। अर्थात्, जनतामा एउटा वैज्ञानिक बुझाइ छ कि नेपाल ‘लिपफ्रग’ गर्न सम्भव छ।
नेपाली भाषामा भ्यागुतोलाई लिएर नकारात्मक या निराशाजनक उक्तिहरू हामी पाउँछौं। ‘भ्यागुताको धार्नी’ ले कहिल्यै पूर्ति नहुने लक्ष्य सुझाउँछ। ‘कुवाको भ्यागुतो’ ले संसार नदेखेको, खुम्चिएको मनस्थितिको ‘पेसिमिष्ट’ मनोविज्ञान झ्ाल्काउँछ। कसैलाई अगाडि बढ्न नदिन एउटा खाल्डोका भ्यागुताहरूको कथाले आफू पनि निक्लन नसक्ने, जाग्न खोज्नेको खुट्टा तान्ने प्रवृत्ति, एक हीनताबोध र अक्षमताले गाँजिएको समाज चित्रण गर्छ।
यस्ता निराशाजनक भ्यागुता सन्दर्भको उल्टो हो, ‘लिपफ्रग’ चिन्तन र प्रवृत्ति। यसले तथ्य, तर्क र व्यावहारिकताको आधारमा तीव्र प्रगतिका सम्भावनालाई संकेत गर्दछ।
नेपाल ‘लिपफ्रग स्टेज’ मा छ अहिले– बाह्य र आन्तरिक दुवै कारण। हामीलाई ‘एक्सेलरे’ गर्न राज्यबाट राजनीतिक हिसाबले चाहिएको कुरा यति मात्र हो– एक, राजनीतिक स्थायित्व र; दुई, लोकतन्त्र। बाँकी काम जनता र अर्थतन्त्रले आफैं गर्छन्। ऐतिहासिक कालमा राजनीतिक स्थायित्व पर्याप्त थियो, तर लोकतन्त्र थिएन। २०४६ सालमा लोकतन्त्र भित्रियो र स्थानीय निर्वाचनदेखि उत्पादन र रोजगारीसम्मले गति लिए केही वर्षसम्म। तर, एउटा ‘फ्रिन्ज’ समूह (माओवादी) का नेताले ‘जनयुद्ध’ शुरू गरिदिए। त्यसको परिणाम हामीसामु छँदैछ।
लोकतन्त्र आयो, तर राजनीतिक स्थायित्व २०–२० वर्षलाई गुम्यो– आन्तरिक द्वन्द्व र तत्पश्चात्को अनन्त संक्रमण, दुईवटा संविधानसभा तथा आजसम्मको संविधान कार्यान्वयनमा तगारो र विदेशी हस्तक्षेप।
आश गरौं, अब आउँदो महीना सबैतिरबाट बाटो खुलोस्– (क) दिल्लीले नाकाबन्दीमा गल्ती गरेको महसूस गरेको भन्ने सूचना आएको छ, त्यो हो भने संविधान कार्यान्वयनको अवरोधमा पनि ऊ थकित भई पछि हट्ला, (ख) मधेशकेन्द्रित नेतृत्वले बाँकी मुलुकलाई बन्धक राख्ने र मधेशी जनताको भावना मुखरित नगर्ने नीति त्याग्लान्, (ग) राष्ट्रियस्तरका नेताले मधेशको सम्मान, समावेशिता र राजनीतिक समताको कुरा बुझ्ोर ठोस कदम चाल्लान्।
यी तीन कुरा हुने हो भने स्थानीय निर्वाचन हुन्छ र लगत्तै प्रान्तीय तथा राष्ट्रिय निर्वाचन पनि। लोकतान्त्रिक राजनीतिक स्थिरता उपलब्ध हुन्छ अनि नेपाल जाग्नेछ। हिमाल, पहाड र तराई–मधेशको स्थानीय निकायहरूमा प्रतिनिधिमूलक जवाफदेहीले भूकम्पपश्चात्को पुनःनिर्माणदेखि उत्पादन, वातावरण संरक्षण र समावेशितासम्मका सयौं विषयका गाडी अगाडि बढ्नेछ।
पहिला विकास र प्रगति हुन समय लाग्थ्यो। अहिले जनमानसको सोच आधुनिक र ‘रिसेप्टिभ’ छ, जमाना डिजिटलको छ जहाँ सोच र तौरतरीका एक मुलुकबाट अर्कोमा जान या एउटा गोलार्द्धबाट अर्कोमा स्थानान्तरण हुन कत्ति पनि समय लाग्दैन।
२०६२/६३ ताका मैले लेखेको थिएँ– नेपाली अर्थतन्त्र ‘कोइल्ड स्पि्रङ्ग’ जस्तो छ, त्यो अर्थतन्त्रलाई आकासिन मात्र ‘टि्रगर’ चाहिएको छ। अफसोच, १४ वर्षको संक्रमणको कारण त्यो टि्रगर दबेन। तर मुलुक यही हो, प्राकृतिक स्रोत कतै गएको छैन, सबै हामीसितै छ। आम जनता देशभित्रको भोगाइ तथा बाहिरको रोजगारले व्यावहारिक र चिन्तनशील बनेका छन्। जनताको सुझबुझका कारण अनेकन् व्यवधान पार गर्दै आएका हौं हामी– संविधान लेखियो, नाकाबन्दीको सामना गरियो र समुदाय समुदाय टुक्र्याउने प्रयास सफल हुन पाएनन्।
अब भ्यागुताले बुर्लुक्क उफ्रेर खाडल र चट्टान पार गरे जसरी नेपाली समाज र अर्थतन्त्रले फड्को मार्ने टड्कारो देखिन्छ। इतिहास र प्रकृतिले हामीलाई राम्रो भविष्य दिलाएको छ, जसको लागि लोकतन्त्र र स्थायित्व पूर्वाधार हो। अरू कैयांै देशलाई इतिहास र प्रकृतिले यसरी साथ दिएको छैन, अतः ‘लिपफ्रग’ गर्न सक्दैनन्। नेपाल सक्छ।
हालै ‘लिपफ्रग’ गरेका देशहरूको अनुभव पनि बुझौ– विशेषतः रुवाण्डा, किर्गिस्तान र क्याम्बोडियाको। उनीहरूले सक्छन् भने नेपाल झन् सक्छ। तर ‘लिपफ्रग’ गर्दागर्दै हामीले नमूना देश मान्नुपर्ने भने कोष्टा रिका नै हो जस्तो लाग्छ। कोष्टा रिकाबारे अरू कुनै बेला।