हिमाल खबरपत्रिका (२०-२६ पुस , २०७६) बाट
करीब दुई दशक अघि फुल्चोकी डाँडाको उत्तरी पाखोमा पर्ने काभ्रे रयाले गाउँको गोरेटोमा दुई महिलाले वनमाराको भारी बोकेर घरतर्फ लग्दै गरेको दृश्य देखियो ।
मेरो पत्रकारिता अध्ययनले भन्थ्यो– यूफाटोरिएम् एडेनोफोरम् वैज्ञानिक नामको यो झारले वन मास्दछ, जरा प्रणाली कमजोर हुनाले बर्खामा माटो समाउँदैन, गाईवस्तुले पनि यसलाई खाँदैनन् अर्थात् वनमाराको केही पनि काम छैन । त्यसैले मलाई आश्चर्य लाग्यो, ती भारी वनमारा केका लागि गोठतिर लग्दै होलान् !
सन् ७० र ८० को दशकमा पूर्वदेखि पश्चिम फैलिएको वनमारा, अतिक्रमणकारी वनस्पति (‘इन्भेसिभ् प्लान्ट’) थियो । दक्षिण अमेरिकाको रैथाने यो बिरुवा सात समुद्र पार गर्दै दक्षिणएशिया र हिमालय क्षेत्र प्रवेश ग¥यो । शुरूमा यो नयाँ बिरुवा देख्दा गाउँले जस्तै वस्तुभाउ पनि अकमक्क परे । खान हुने, नहुने कसलाई थाहा ।
मानिसले अलिपछि वनमाराबाट कम्पोष्ट मल बनाउन सकिने सम्भावना देखे, तर यो झारको अन्य उपयोगिता पत्ता पाउन सकेनन् । कृषि अधिकृत र वैज्ञानिक यसबारे अनुसन्धान गर्दैथिए, बाख्राहरुको स्वाद भने कलिला वनमाराका पातमा बस्न पुगेछ । कम्तीमा एउटा प्राणीले आगन्तुक यो झार चपाउने भएछ । रयालेका महिलाले बाख्राकै लागि वनमाराको भारी बोकेका रहेछन् ।
वनमारा जस्तै वन मास्ने गरी तराईका जङ्गलमा फैलिएको अर्को दक्षिण अमेरिकी झार हो, माइकानिया मिक्रान्था । गत दुई दशकमा विश्वकै नमूना मानिएको चितवन राष्ट्रिय निकुञ्जको जङ्गललाई यसले भसक्कै पारेको छ ।
सिमल, सिसौ, भेल्लर मात्र होइन, बाँस जस्तो कडा बिरुवालाई समेत मिक्रान्थाले ढपक्कै ढाकेर सिध्याएको उदाहरण छन् । जमीनमै पनि फैलिने यो झारले स–साना बुट्यानलाई त सखाप पार्ने नै भयो ।
वनमारा जस्तै वन मास्ने गरी तराईका जङ्गलमा फैलिएको अर्को दक्षिण अमेरिकी झार हो, माइकानिया मिक्रान्था । गत दुई दशकमा विश्वकै नमूना मानिएको चितवन राष्ट्रिय निकुञ्जको जङ्गललाई यसले भसक्कै पारेको छ ।
गत साता चितवन जङ्गलमा पुग्दा देखियो, मिक्रान्थाले अतिक्रमण नगरेको त ठाउँ नै रहेनछ । साना–ठूला सबै रूखलाई यसले चादर जस्तो गरी निसासिने अवस्थामा पुर्याएको ।
चितवन, जगतपुरमा रहेको मध्यवर्ती क्षेत्रमा ‘जङ्गल वाक्’ का क्रममा माडीवासी ‘वाइल्डलाइफ गाइड’ कमल अधिकारीले नयाँ कुरा बताए “गैंडाको मिक्रान्था झारमा स्वाद बसेको छ ।” मलाई भने पत्यार लागेको थिएन ।
एकैछिनमा मेघौली नजिकै बग्दै गरेको राप्ती नदीको अलिवर काँसको फाँटछेउ एउटा गैंडा चर्दै गरेको भेटियो । परबाट हेर्दा मिक्रान्था झारको झ्याङमा जाइलागेको जस्तो थियो । गैंडा अलि अघि बढेपछि नजिकै गएर हेरें । हो रहेछ, गैंडाले मिक्रान्था ज्यूनार गर्नुभएकै रहेछ !
जङ्गलबाट फर्कंदै गर्दा अर्का स्थानीय गंगानगरका रेशम परियारले सुनाए, “गैंडाले खाएको देखेर गाउँका अरुले पनि मिक्रान्था उखेलेर गाईबाख्रालाई दिए । हरियो छँदाको मिक्रान्थाका पात खाँदा रहेछन् ।”
गैंडा (चित्तल र अन्य प्रजातिका हरिण) ले मिक्रान्था खानुको सड्ढेत के हो त ? पहिलो त गैंडाले यो झार खानु नै अप्राकृतिक हो, किनकि यो उसको उत्पत्तिसँग सम्बन्धित आहार होइन । दोस्रो भने बाध्यताको उपज हुनसक्दछ, यही झारले अन्य झार–पात, बोट–बुट्यान सखाप पारेपछि ।
हालै चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैंडाको मृत्यु भएको सन्दर्भमा ‘ह्याबिट्याट’ मासिनुलाई कारण बताइन्छ । गैंडा मारिनुमा यो आगन्तुक झार त कारण होइन भन्ने पनि शंका रहेछ केहीको । मिक्रान्था खाँदा गैंडाको पाचनप्रणालीमा ‘आल्कालोइड’ को मात्रा बढी भएर शरीर त गलाएन ?
अनलाइन खोजीका क्रममा नरेश सुवेदीको विद्यावारिधि अनुसन्धान हात लाग्यो, जसमा मिक्रान्थाको सन् २००० देखिको फैलावटलाई ‘सड्ढट’ को संज्ञा दिइएको रहेछ । सन् २०१२ मा प्रतिवेदन तयार पारेका सुवेदीका अनुसार सुक्खायाममा गैंडाको आहारको ५ प्रतिशतसम्म मिक्रान्थाले ओगट्छ भने बर्खायाममा अन्य धेरै घाँस र झारपात उपलब्ध हुँदा यसको खपत नगण्य हुन्छ । एक दशकयता मिक्रान्थाको भोजन बढेको छ÷छैन बुझ्नुपर्ने हुन्छ ।
समग्रमा मिक्रान्थाको नेपाली वनजङ्गल माथिको हमलालाई सड्ढट ठानिए पनि समाधानमा भने पर्याप्त काम भएको देखिंदैन । चितवन जङ्गलमा अहिले धेरैको आँखा लागेको छ — आश्रम बनाउन इच्छुक बाबाजीदेखि रेलमार्ग, हाइवे कुदाउन तम्सिएका ‘इन्फ्रास्ट्रक्चर भक्त’ हरु ।
माइकानिया मिक्रान्था जोखिमको अर्को कारक बनेको छ, चितवन जङ्गललाई कुरुप र कमसल बनाउँदै । यो आगन्तुक प्रजातिलाई जति छिटो उन्मूलन गर्न सक्यो, चितवनका गैंडा लगायत हामी सबैलाई फाइदा पुग्नेछ ।
प्रतिकृया दिनुहोस