हिमाल खबरपत्रिका (४ साउन, २०८२)बाट
वार-पार पूरै उपत्यकाको शहरीकरण भइसक्दा यसलाई सम्बोधन गर्न मिल्ने ‘काठमाडौं’ भन्दा उचित रैथाने नाम हो ‘स्वनिगः’।
एक शताब्दी जति मात्र चलनचल्तीमा रहेको ‘काठमाडौं उपत्यका’ सम्बोधनमा ऐतिहासिकता छैन। आमप्रयोगमा आइसक्दा पनि ‘काठमाडौं उपत्यका’ मा प्रस्ट्याइँ र आत्मीयता झल्किंदैन, किनकि पूरै यो खाल्डोलाई ‘काठमाडौं’ ले समेट्न परेको छ र पर्नेछ।
शास्त्रीय सम्बोधन ‘नेपालमण्डल’ मा ऐतिहासिकता छ, तर पृथ्वीनारायणको राज्य विस्तारपछिको ‘गोर्खा राज’ लाई ‘नेपाल राज्य’ ले विस्थापित गरेपछि ‘नेपाल’ ले उपत्यका खाल्डो जनाउने क्रम घट्दै गयो, र अहिले प्रायः लोप भएको छ। गोर्खालीले उपत्यका कब्जा मात्र गरेनन्, यहाँको नाम पूरै राष्ट्र-राज्यका लागि प्रयोगमा ल्याए। खुशीको कुरा, तर विडम्बना पनि।
सर्वव्यापी शहरीकरणले यस राजधानी उपत्यकाको प्रायजसो समथर, सिमसार, जंगल, टार/खेतबारी क्षेत्र ढाकिसकेको छ भने यसलाई अब तीन ठूला शहर लगायतका १८ नगरपालिकालाई ढिलो-चाँडो एउटै नामले पुकार्नुपर्ने हुन्छ, एउटै ‘मेगालोपोलिस’ का रूपमा। अहिलेको ‘ट्रेन्ड’ हेर्दा त्यति वेला पूरै उपत्यकालाई काठमाडौं नगर वा काठमाडौं सिटी भन्नुपर्ने हुन्छ, जो सबै उपत्यकावासीलाई पाच्य नहुन सक्छ। किनकि इतिहासले यो ‘काठमाडौं’ वा ‘कान्तिपुर’ लाई विष्णुमती र टुकुचाबीचको भागमा सीमित गर्दछ। र, पाटन, भक्तपुर र अन्य बस्तीवासीलाई आफ्नो थलोको नाममाथि ‘काठमाडौं’ थोपरेको चित्त नबुझ्न सक्छ।
पूरै उपत्यका एउटा शहर बनिसक्दा एकल नाम जरूरी हुन जान्छः चिनारी र मानसिक अपनत्वका लागि भन्दा पनि शहरी व्यवस्थापनका लागि। ‘काठमाडौं’ ले पूरै उपत्यकालाई नसमेट्ने हो भने या त नयाँ नाम आविष्कार गर्नुपर्यो, या स्थानीय लवजमा प्रचलित नाम स्विकार्नुपर्यो। संयोगवश, पूरै उपत्यका जनाउने नेपालमण्डल बाहेक अर्को एउटा नाम छँदै छ, जबकि धेरै गैरनेवाः यसबारे अनभिज्ञ छन्। त्यो हो ‘स्वनिगः’ अर्थात् नेवाः भाषामा ‘तीन शहर’।
नेपाल दून
२,५०० किमी लामो हिमालय शृंखलाको एक मात्र उत्कृष्ट कचौरा आकारको भूभाग बन्न पुग्यो यो ठाउँ, लाखौं वर्षको भौगर्भिक उत्पत्तिपश्चात्। काश्मीर घाटी र पोखरा जस्ता अन्य उपत्यका ठूला नदी चिरेर बन्न गएका हुन् भने भौगर्भिक कालको लाखौं वर्षअघि दक्षिणी भाग उठ्न गई राजधानी उपत्यकाको खाल्डो बन्न पुगेको हो।
खाल्डोमा पानी भरिएर एउटा विशाल ताल बन्यो भने समयक्रममा चार-पाँच वटा साना ताल जसकाे पानी अन्ततोगत्वा कटुवाल दह, चोभार, गोकर्ण, कोड्कु र अन्य खोचबाट निस्किएर उपत्यका पूरै सुक्खा भयो। यहाँ जंगल फैलियो, अनि प्रागैतिहासिक मानव आए, पछि यहाँको मलिलो माटामा कृषि शुरू भयो, सभ्यता र संस्कृति मौलायो।

परापूर्वकालदेखि उपत्यकाका बासिन्दाका लागि ‘नेवा’, ‘नेपा’ वा ‘नेपाल’ नै काफी थियो, जो तीन ठूला शहर अनि खोकना, साँखु, बुङ्गमती जस्ता बस्ती र काँठका गाउँ मिलेर बनेको थियो। बाहिरका खसभाषी र अन्य समुदायले ‘नेपाल खाल्डो’ भन्न थाले, स्थानीय लवजको यस ‘नेपाः गाः’ लाई।
उपत्यकाको ‘कचौरा’ (अथवा ‘कहतारो’) भित्र भने धान खेतबीच बलौटे टारमा बस्ती बस्न पुगे। जसमध्ये मुख्य तीन ‘सिटी स्टेट’ (शहर-राज्य) थिए। बागमतीको पूर्व-पश्चिम बगावको उत्तरपट्टि अवस्थित थियो यें दे, अर्थात् कान्तिपुर/काठमाडौं। दक्षिणको ढिस्कोमा रह्यो यल दे (पाटन, ललितपुर), यस्तै हनुमन्ते उत्तरको ढिस्कोमा अवस्थित रह्यो ख्वपः दे (भादगाउँ, भक्तपुर)।
यिनै तीन शहर, यहाँको कारिगरी, वास्तुकला, जात्रा, रहनसहन, मठमन्दिर र दरबारले लालायित पार्दथ्यो पहाड, हिमाल, मधेशवासीलाई। गोर्खाबाट राज्य विस्तार गर्न हिंडेका पृथ्वीनारायणलाई पनि लाग्यो, तीन शहरलाई आफ्नो नपारी साम्राज्य विस्तारले उचाइ लिन सक्दैन। अनि नाकाबन्दी, युद्धकौशल, नातागोता, चातुर्य र हिंसा सबै प्रयोग गर्दै ‘नेपाल’ आफ्नो पारे।
‘दून’ शब्दले महाभारत मध्यपहाड र चुरे शृंखलाले घेरेको समथर जनाउँछ, जस्तै देहरादून या सुर्खेत, दाङ-देउखुरी र हेटौंडा दून। राजधानी उपत्यकालाई पूरै महाभारत मध्यपहाडले घेरे पनि अन्य ‘दून’ सँगको भौगोलिक अवस्थिति मिल्दोजुल्दो भएकाले ‘दून’ कहलिएको हुनुपर्छ।
स्थानीयले भन्ने गरेको ‘नेपाः’ मा विसर्गको ठाउँमा ‘ल’ पनि राख्ने गरिन्छ (झ्याःलाई झ्याल, बहाःलाई बहाल, पसःलाई पसल भने जस्तै)। पाँचै दशकअघिसम्म पनि अन्यत्रकाले चारभन्ज्याङभित्र रहेको ठाउँ/शहर जाँदा ‘नेपाल जाने’ भन्थे। संख्यामा चार भने पनि भन्ज्याङ धेरै थिए, जस्तै- साँगा, बाड, चन्द्रागिरि, पाँचमाने र पाटी भन्ज्याङ।
‘नेपाल’ अथवा नेपालमण्डलले मूलतः उपत्यका, र थप, भोटेकोशीदेखि त्रिशूली नदीसम्म फैलिएको मानिन्थ्यो जबकि ‘स्वनिगः’ ले चारभन्ज्याङभित्रको उपत्यका। संस्कृतिविद् काशीनाथ टमोट लेख्छन्- ‘नेपालमण्डल भन्नाले सिन्धुपाल्चोकदेखि मकवानपुर, नुवाकोट र धादिङसम्मलाई भन्न मिल्छ।’
पृथ्वीनारायणले आफ्नो राजधानी काठमाडौं शहरको वसन्तपुर दरबारबाट सञ्चालन गर्न थालेपछि काठमाडौंले भक्तपुर र ललितपुरलाई उछिन्यो र ‘काठमाडौं उपत्यका’ शब्दावली बढी प्रचलनमा आयो।
जब पश्चिमाहरू र विशेषगरी बेलायतीको आगमन बाक्लिन थाल्यो, आउने बाटो चन्द्रागिरि भन्ज्याङबाट हेर्दा पहाडबीचको चौडा फाँटबाट लालायित भए र पृथ्वीनारायणको छनोटको राजधानीको नाममा ‘भ्याली’ थपेर ‘काठमाडौं भ्याली’ भन्न रुचाए। यो नै अन्तर्राष्ट्रिय चलनचल्तीमा आयो, जबकि शुरूआतमा त पश्चिमा आगन्तुकले पनि ‘नेपाल भ्याली’ नै भन्ने गर्थे।
सन् १७९२ को अन्त्यतिर काठमाडौं आएका बेलायती टोलीका नेता विलियम कर्कप्याट्रिक आफ्नो रिपोर्टमा नेपाल (‘नेपौल’)लाई उपत्यका र राजधानीको रूपमा लिन्छन् भने विस्तारित राज्यलाई संकेत गर्दा गोर्खाली ‘डोमिनियन्स्’ (प्रभुत्व क्षेत्र)को संज्ञा दिन्छन्।
काठमाडौं उपत्यकाको ‘उपत्यका’ पछि आयातित भन्न मिल्छ, यो स्थानीय चलनचल्तीमा पक्कै थिएन। ऐतिहासिक महेशराज पन्तको विचारमा यो बाङ्ला भाषाबाट नेपालीमा छिरेको हो। अर्का ऐतिहासिक स्व. ज्ञानमणि नेपालले जहिल्यै ‘दून’ भने, लेखे र केही ऐतिहासिक दस्तावेजमा ‘नेपाल दून’ प्रयोग भेटिन्छ।
नेपाल खाल्डोका तीन शहरबीच कहिले एउटा त कहिले अर्को शक्तिशाली बन्दै गए। ऐतिहासिक रमेश ढुंगेलका अनुसार कुनै ताका आजको भक्तपुर नै उपत्यकाको प्रभावशाली शहर-राज्य थियो, जसको नाम त्रिपुर रहेको थियो। यसले पनि उपत्यकालाई तीन शहर (या ‘पुर’) सँग जोड्ने गरिन्थ्यो भन्ने कुरा स्पष्ट हुन्छ।
नेपाली भाषाका अलि पुराना लोकगीतमा घरीघरी ‘नेपाल’ र ‘तीनै शहर’ प्रयोग पाइन्छ, जस्तै उस्ताद साहिंला (उर्फ उस्ताद कालोठेकी, विसं १८५१-१८९४)को कलकत्तामा रेकर्ड भएको गीतको बोल छ: तीनै शहर नारान नेपालमा, रक्सी बेच्ने सुँडी…। अर्को लोकगीतको बोल यस्तो छ:
यो तीनै शहर नेपाल देशमा दहीको कहतारो
पर्खन ए दिदी म पनि आउँछु केको हतारो।
मास्टर मित्रसेन थापा ‘मलाई खुत्रुक्कै पार्यो जेठान’ गीतमा गाउँछन्: एउटा घर त नेपालैमा, एउटा घर त सिम्ले। र, नेपालखाल्डो र गाउँबीचको दूरी झल्काउँछन्। सन् १९६६ को पथप्रदर्शक फिल्म माइतीघरमा पनि लोकगीतको प्रयोग छ, बोल: तीनै शहर नेपालमा बिजुली बत्ती झलमल्ल (गायकहरू: अरुणा लामा, गीता दत्त र सीपी लोहनी)।
अध्येताको विचार
कतिपय नेवाःभाषीले आजै पनि आफूबीचको बातचितमा ‘स्वनिगः’ प्रयोग गर्छन् भने तिनै व्यक्तिले नेपालीमा बोेल्दा ‘काठमाडौं उपत्यका’ भन्ने गर्छन्। यदि भूमिपुत्रको सम्बोधन ‘स्वनिगः’ हो भने बाँकी नेपाल र विश्वले यसलाई किन अपनाउन सक्दैन? ‘स्वनिगः’ मा सांस्कृतिक स्थानीयता र आत्मीयता दुवै पाइन्छ भने आउँदा दिनमा उपत्यकाव्यापी एकीकृत शहरका लागि सहज र तर्कपूर्ण नाम पनि यो हुन सक्छ।
‘स्वनिगः’ कतै कतै वर्तमान प्रयोगमा हुँदाहुँदै यसको ऐतिहासिकता केही विवादित देखिन्छ। नेवाः संस्कृतिका अध्येता रहेका केही पश्चिमा मानवशास्त्रका विद्यार्थीले दशकौंको अध्ययनको दौरानमा पनि ‘स्वनिगः’ शब्द आफूले कहींकतै नसुनेको जिकिर गर्छन्। केही संस्कृतिविद्ले ‘स्वनिगः’ शब्द हालसालै मात्र बोलीचालीमा आएको विचार राख्छन् भने ऐतिहासिक महेशराज पन्तको भनाइमा पछिल्लो मल्लकालमा ‘स्वनिगः’ को प्रयोग पाइन्छ, “राजकीय दस्तावेजमा नभई टिपोटहरूमा”। अभियन्ता मल्ल के सुन्दर भन्छन्, “स्वनिगःको प्रयोग गोर्खालीको उपत्यका विजयपछि काठमाडौं बढी प्रयोगमा आएको हो, पूरै उपत्यकालाई चिनाउने गरी।”
नेवाः सभ्यताका विज्ञ, भाषाविद् कमलप्रकाश मल्लको ‘डिक्शनरी अफ क्लासिकल नेवारी’ शब्दकोशमा ‘स्वनिगः’ परेको छैन भने ‘स्वदेश’ भने पाइन्छ, तीन शहर जनाउने गरी। उल्रिक क्लोभर तथा ईश्वरानन्द श्रेष्ठाचार्यको ‘ए डिक्शनरी अफ कन्टेम्पोररी नेवार (नेवार-इंग्लिश)’ सन् १९९४ मा ‘स्वनिगः’ को अर्थ पाइन्छ। यस्तै निल्स गुत्चो, बर्नार्ड क्लोभर र ईश्वरानन्द श्रेष्ठाचार्यको ‘नेवार टाउन्स एन्ड बिल्डिङ्स्: एन इलस्ट्रेटड डिक्शनरी’ (सन् १९८७) मा पनि ‘स्वनिगः’ भेटिन्छ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:को विचारमा ‘स्वनिगः’ को ‘निग’ ले ‘निगम’ जनाउँछ। अर्थात् बस्ती वा शहर। अन्य संस्कृतिविद् यस व्याख्यासँग सहमत देखिंदैनन्। संस्कृतिविद् गौतमवज्र वज्राचार्य भन्छन्, “स्वनिगः स्वनगरबाट उत्पत्ति भएको हुनुपर्छ। मध्यकालीन लिखतमा स्वनगर प्रयोग भएको पाइन्छ।” सरदर सन् १९७५ पूर्व आफू नेपालमा रहँदा नेवाः बोली वा लेखनमा ‘स्वनिगः’ फेला नपरेको वज्राचार्य बताउँछन्। गत ५० वर्षयता नेवाः बौद्धिकहरू भने नेपाली र संस्कृतभन्दा अलग पहिचानको खोजीको क्रममा ‘स्वनिगः’ लाई पेश गरेको हुन सक्ने उनको राय छ। “स्वनिगः शब्दको प्रयोग प्राचीन नभई नयाँ हो, तर कहिले भन्न सकिने अवस्था छैन,” वज्राचार्य भन्छन्।
वज्राचार्यको कुरासँग ज्ञाता प्रकाश सायमीको राय मिल्छ। सायमी भन्छन्, “यदि ‘स्वनिगः’ पुरानो नाम हो भने पुराना लोकगीतमा पाइनुपर्ने हो, तर ‘राजमती’ मा पनि शहर शहरको प्रसंग रहँदा ‘स्वनिगः’ कतै पाइँदैन।” उनको विचारमा विसं २०२०-२२ को नेवाः भाषा आन्दोलनको दौरान हितकरवीर सिंह कंसाकार, जुजुकाजी रञ्जित लगायतले ‘स्वनिगः’ प्रचलनमा ल्याएका हुन्।
यता लेखक बसन्त महर्जन भने आफ्नै परिवारको बोलीचालीको आडमा ‘स्वनिगः’ स्थानीय जनजिब्रोमै रहेको जिकिर गर्छन्: “मैले मेरी आमा तथा नेवार समाजबाट ‘स्वनिगः’ नाम सुनेको हुँ भने यो त नेवाः भाषामा प्रचलित नै मान्नुपर्यो। यो स्वनिगः नाम पछि अभियन्ताहरूबाट आविष्कार भएको कृत्रिम नाम कसरी भन्न मिल्ला?”
नेपाल खाल्डो = ‘स्वनिगः’
वर्तमान समयमा ‘स्वनिगः’ नाम प्रयोगमै नआएको भने होइन, व्यापकता नपाएको मात्र हो। एक बखत नेवाः भाषाका ५-६ वटा पत्रिकाको नाम नै ‘स्वनिगः’ मा आधारित थियो। आजभोलि केही व्यवसायीले यो नाम प्रयोग गरेको देखिन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय हवाईअड्डाको आन्तरिक उडानतर्फको विश्राम ‘लाउन्ज’ को नाम ‘स्वनिगः’ छ। व्यवसायीद्वय शेष घले र अमृत शाक्यले भक्तपुरकाे गुन्डुमा सात-आठ अर्बको लगानीमा ‘स्वनिगः रिसोर्ट’ निर्माणको घोषणा यही वैशाखमा गरेका थिए।
विश्लेषक आहुतिले २०७७ असोज ३ को कान्तिपुरमा पूरै लेखमा ‘काठमाडौं उपत्यका’ कतै नलेखी शुरू गर्छन्: ‘नेवार भाषामा बागमती उपत्यकाको नाम हो- स्वनिगः।’ २०७७ सालमा भक्तपुर नगरपालिकाले ‘ख्वपः पहिचान’ शीर्षक अन्तर्गत कक्षा-८ (आधारभूत तह)का लागि स्थानीय पाठ्यक्रम प्रकाशन गर्यो, जसमा काठमाडौं उपत्यकालाई स्वनिग: भनी सम्बोधन भएको पाइन्छ। यता ‘लायन्स क्लब अफ भक्तपुर स्वनिगः’ छ भने ‘स्वनिगः बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ पनि छँदै छ।
‘स्वनिगः’ लाई प्रयोगमा ल्याउन खोज्ने अनुसन्धातामध्ये संवेग बिजुक्छे पनि छन्, जसले ‘स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास’ शीर्षक अन्तर्गत विस्तृत ब्लग प्रकाशन गरेका छन्। संयुक्त राष्ट्रसंघको सांस्कृतिक अंग युनेस्कोको भने एउटै प्रकाशनमा मात्र ‘स्वनिगः विश्व सम्पदा क्षेत्र, नेपाः’ लेखिएको दस्तावेज पाइन्छ, अनलाइन।
भाषिक उत्पत्ति नियाल्दा यो खाल्डोको नामको हकमा ‘काठमाडौं उपत्यका’ या ‘काठमाडौं भ्याली’ नै जम्दै जाने देखिन्छ, औपचारिक र अनौपचारिक दुवै हिसाबले। मात्रै, ‘नेपाल’ ले पूरै देश चिनाउँदा, अहिलेसम्म ‘काठमाडौं उपत्यका’ प्रयोगकै जित देखिन्छ, ‘स्वनिगः’ चाहिं पछाडि परेको प्रतिस्पर्धी जस्तो। तर ‘स्वनिगः’ को वकालत वर्जित त छैन।
भविष्यतर्फ नियालेर हेर्दा पूरै उपत्यकाको योजना विनाको भद्रगोल शहरीकरण माझ एकल नामको आवश्यकता टड्कारो देखिंदा या त यस खाल्डोलाई ‘काठमाडौं’ को औपचारिकता दिनुपर्यो या त अर्को नाम सुझावका रूपमा राख्नुपर्यो। र, सुझाव यस्तो छ: ‘काठमाडौं’ ले पूरै उपत्यका थेग्न सक्दैन। कुनै नामले नयाँ आयाम र नयाँ आकांक्षालाई समेट्नुपर्दछ, अन्योल र द्विविधा चिर्दै।
‘नेपाल’ सम्बोधन सबैभन्दा सहज हो यस खाल्डोका लागि, तर यसलाई त पूरै देशले अंगीकार गरिसक्यो र यो विश्वव्यापी भई पनि सक्यो, तसर्थ शास्त्रीय अध्ययनमा ‘नेपालमण्डल’ भने पनि वर्तमान चलनचल्तीमा यो प्रयोग सम्भव भएन।
भाषाको उत्पत्ति जनचासो र जनजिब्रोबाट आफैं बग्दै अघि बढ्छ। ‘सोसल इन्जिनीयरिङ’ गर्दै यही वा त्यही प्रयोग गर्नुपर्छ भन्ने कुरा होइन। तर एउटा सम्बोधनलाई नयाँले जितेका उदाहरण धेरै छन्। एक दिन ‘गौचर अन्तर्राष्ट्रिय विमानस्थल’ एक्कासि ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ भनी घोषणा भयो पञ्चायतकालमा, र त्यही कायम भयो।
ऐतिहासिक भारतवर्ष हिन्दूस्तान वा उपमहाद्वीपलाई आज आएर ‘दक्षिणएशिया’ अथवा ‘साउथएशिया’ भन्न थालिएको छ, चलनचल्तीको नाम नभई नयाँ भूराजनीति र राष्ट्रिय सिमानालाई प्रतिबिम्बित गर्ने यो भूगोलमा आधारित एउटा आविष्कार नै हो। दक्षिणएशिया त एउटा नयाँ सम्बोधन नै रचेको भयो, जो जनजिब्रोमा छिर्दै गएको छ भने राजधानी उपत्यकाको हकमा त लोकभाकाको ‘स्वनिगः’ हामीसँग छँदै छ। भाषिक आत्मीयता र स्थानीयता यसले बोकेकोे छ, मात्र रह्यो बृहत् समाजमा यो सम्बोधनको चिनारी।
नाम र काम
कुनै फर्मान जारी गरी गरी ‘अबदेखि स्वनिगः प्रयोग गर्नू’ भनी गजेटमा छाप्ने भन्ने होइन, एउटा सुझाव दिनेसम्म हो, कि ‘स्वनिगः’ लाई सक्रिय बनाऔं, यसले फाइदा नै गर्ला। नाम सही भयो भने कामलाई पनि सघाउला नै। पूरै उपत्यकाको नयाँ नामकरणलाई अहिलेका लागि थाती राखी यो शब्दलाई उपत्यकाव्यापी नयाँ क्रियाकलापलाई जनाउने गरी अगाडि बढाउन सकिन्छ। नयाँ र उर्लंदो शहरीकरण माझ नयाँ क्रियाकलापका लागि पुरानो शब्द ‘स्वनिगः’ चलाइन सक्छ।
उदाहरण, व्यवस्थित शहरी सार्वजनिक यातायात नभएर उपत्यकावासीको नीदहराम छ, एकीकृत सेवा चाहिएको छ। व्यवस्थित परिवहनको खाका निर्माण, परिचालन र नियमन गर्न यातायात प्राधिकरणको तर्जुमा गरिएको छ, तर संघीय, प्रान्तीय र स्थानीय सरकारबीच समन्वय र समझदारीको अभावमा प्रभावकारी हुन सकेको छैन। नाम नै अधकल्टो छः ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ ले ‘शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ सञ्चालनको जिम्मा पाएको छ। उपलब्धि भने न्यून।
संस्था चलायमान गर्ने कार्यलाई नामबाटै शुरू गरौं! पूरै उपत्यकालाई सेवा पुर्याउने, नियमन गर्ने यस संस्थालाई ‘स्वनिगः परिवहन प्राधिकरण’ किन नभन्ने? ‘काठमाडौं’ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को ठाउँमा सीधै ‘स्वनिगः खानेपानी’ किन नभन्ने? अहिले उपत्यकाका निर्वाचित नगरपालिका प्रमुखहरूको ‘मेयर्स फोरम’ भन्ने सञ्जाल छ। यसलाई ‘स्वनिगः मेयर्स फोरम’ भने कसो होला? वायु प्रदूषण विरुद्ध उपत्यकाव्यापी युवालाई जागरूक बनाउने अभियान, चारभन्ज्याङभित्रका जंगल, सिमसार र स्कूल क्षेत्र संरक्षण गर्ने कार्य नै किन नहोस्, ‘स्वनिगः’ ले समेट्न सक्तछ। राजधानी उपत्यकालाई थपक्कन ‘स्वनिगः राष्ट्रिय राजधानी क्षेत्र’ पनि भन्न सकिन्छ।
यसरी केही कार्यमा ‘स्वनिगः’ प्रयोगमा आएमा र यल, ख्वपः, यें, अन्य शहर काँठ र नयाँ बस्तीमा जनता/नागरिकले रुचाए र अंगीकार गरे यो स्वस्फूर्त वारपार पूरै जनमानसको लवजमा स्थापित हुनेछ। यदि ‘स्वनिगः’ ले जनजिब्रो समेट्न सकेन भने हामी अहिले जस्तै रहिरहने नै छौं, ‘काठमाडौं उपत्यकावासी’।
अन्त्यमाः जसलाई हामी ‘काठमाडौं उपत्यका’ भन्छौं, यो ठाउँको नाउँको उत्पत्ति न सरल छ न पूरै खाल्डो समेट्ने गरी ऐतिहासिक। काठमाडौं शहर र राजधानी उपत्यका फरक हुन्। ‘काठमाडौं’ ले यो २०x१५ मिलको ‘नेपाल खाल्डो’ लाई प्रतिनिधित्व गर्ने कुरै छैन, ‘स्वनिगः’ ले भने गर्ला कि?