हतियारका कुरा

हिमाल खबरपत्रिका (१६–३२ असार २०६३ ) बाट
पुष्पकमलज्यू, मेरो विचारमा तपाईँका केही नेता, केही लडाकु तथा केही कार्यकर्ताको विचार अलग होला, नत्र बाँकी सम्पूर्ण नेपालका २.६ कोटि नागरिक जमातले तपाईँको हातको त्यो औचित्यहीन बन्दुक बिसाइयोस् भन्ने आश र कामना राखेको छ ।

प्रिय पुष्पकमल दाहालजी,

बन्दुकको त्रासबाट नेपाली नागरिकले छुट्कारा पाउने क्रममा तपाईँले आफ्नोे पार्टी तथा लडाकु जत्थालाई खुला प्रतिस्पर्धाको बाटोमा डोर्याउन ठूलै मात्रामा साहस जुटाउनु परेको देखिन्छ । यस्तै, एकपक्षीय युद्धविराम गर्दा होस् वा ‘जनयुद्ध’को लक्ष्यलाई थाती राखेर भूराजनीतिक र सामरिक यथार्थको सही मूल्याङ्कन गर्दै खुला समाजमा उत्रिएर नेकपा (माओवादी) को राजनीतिक चरित्रलाई पुनः उजागर गरिदिँदा जनताले आश गर्ने ठाउँ मिलेको छ । लडाकुहरूलाई हतियार व्यवस्थापनतर्फ डोर्याउन खोज्दा तपाईँको भनाइ र गराइमा फरक पर्ने, दुनियाँलाई देखाउने र कार्यकर्तालाई सुनाउने कुरा भिन्न हुन जानेलगायतका ‘कन्ट्राडिक्शन’ लाई केही हदसम्म स्वाभाविक मान्नुपर्ने हुन्छ ।

तपाईँहरूको सिद्धान्त र बाध्यतालाई अरूले लचिलो भएर मूल्याङ्कन गर्दा तपाईँले पनि अरूलाई सौहार्दता देखाइदिए राम्रो हुन्थ्यो । जस्तै, जनआन्दोलनको उपलब्धिकै व्याख्याको कुरा गरौँ । यो लेखकको अनुमानमा जनता ज्ञानेन्द्र राजाको खिलाफमा उर्लिएका थिए, जसको माने तपाईँको समर्थनमा लाखौँको सङ्ख्यामा नागरिकहरू पक्कै आएका होइनन् । तपाईँबाट रचिएको ११ वर्षको हिंसा तथा नेकपा (माओवादी) को गैर लोकतान्त्रिक छवि विरुद्ध, र यसका साथै तपाईँहरू शान्तिको बाटोमा आउने आशले पनि नागरिकहरू सडक र गोरेटोमा उत्रिएका हुन् । तपाईँले छूट दिएर आएका तथा तपाईँको उर्दी मानेर आन्दोलनमा सरिक नागरिकहरू पनि अन्ततोगत्वा तपाईँले मच्चाएको र ‘शाही सेना’ ले साथ दिएको विध्वंसको विरोधमा उत्रिएका हुन् ।

हरेक माओवादी नेता, कार्यकर्ता भन्ने गर्छन् कि तपाईँको समूहले चाहेको कुरा “जनताले चाहेको” भनेर । जबसम्म निष्पक्ष, स्वतन्त्र चुनावद्वारा तपाईँको उपस्थिति प्रस्ट हुँदैन– यो कुरा कसरी मान्ने कि तपाईँ जनताको चाहना बोल्दै हुनुहुन्छ ? त्यसैले त्यसो नहुञ्जेल आजसम्म शस्त्र प्रदर्शन गर्दै आएको दलको विचारलाई “जनताको विचार” भन्न छाडिदिनु उचित हुन्छ । त्यसो होला पनि, तर प्रमाणदेखेपछि मात्र यो कुरा मान्न जनता तयार हुन्छ । आज त ऊ चूप बसेको छ, किनकि तपाईँको हातमा बन्दुक छ । र, यो बन्दुक आज विशुद्ध कोरा शक्तिको प्रतीक हो, किनकि अब ‘जनयुद्ध’ नरहँदा यसको के औचित्य ? नेपाली नागरिकको विवेक बौद्धिकतालाई यदि कदर गर्नुहुन्छ भने अब मात्र विचार तथा बहसको आधारमा तपाईँहरू जनताको सहयोग लिने कोशिश गर्नुस् । हातमा बन्दुक लिएर जनताका लागि बोल्छु भन्न त मिलेन नि, पुष्पकमलजी ।

आज तपाईँहरू कतिपय पत्रकार तथा नागरिक समाजका प्रतिनिधिबीच ‘हनिमुन पिरियड’ मा हुनुहुन्छ र तपाईंको शान्तिपूर्ण परिवर्तन बिथोलिएला कि भनेर पनि अन्तर्वार्ता तथा नागरिक समाजका अगुवाहरूका अभिव्यक्तिहरूमा तपाईँहरूलाई केरकार गरेको पाइँदैन । यो पनि हो कि नागरिक समाजका कतिपय व्यक्तिहरू त असफल राजनीतिज्ञ हुन्, जसलाई नेपालको शान्तिपूर्ण परिवर्तनमा विश्वास राख्ने दल तथा उनीहरूले बहाली गरेको संसदप्रति गहिरो वितृष्णा छ । स्वाभाविक हिसाबले तपाईँहरूलाई उहाँहरूले अलि बढी नै निर्धक्क भई स्वागत गर्नुभएको छ, जबकि त्यस्तो अडानमा राजनीतिशास्त्र तथा मानवीयताको मात्रा अलि कम पाइन्छ ।

तर यो हनिमुन बितिसक्दा, तपाईँहरूको बोली र व्यवहारबारे प्रश्न उठ्न थाल्नेछन् । आज त तपाईँहरूमाथि प्रश्न गर्नेहरूलाई स्वतः ‘राजावादी’ र ‘प्रतिगामी’ को आरोप लाग्ने स्थिति छ । तर यस्तो आरोप धेरै टिक्ने छैन र त्यसको आड नलिनु नै नेकपा (माओवादी) को रुपान्तरणको लागि सहयोगी हुनेछ ।

राजावादी त राजावादी भइहाले ! ज्ञानेन्द्र राजासहित उनीहरू सबैलाई अब कहिल्यै शिर उठाउन नदिनु अरू सबैको कर्तव्य हो । तर, मध्यममार्गमा रहेर जनआन्दोलनको आदेशको कदर गर्दै विवेकशील बहसका साथ संविधानसभाद्वारा देशलाई राजनीतिक स्थायित्व, सामाजिक उत्थान तथा आर्थिक उन्नतितर्फ समाजशास्त्र र अध्ययनको आडमा डोर्याउन चाहनेहरूलाई तपाईँहरूले ‘लेबल’ लगाउँदै जनताको दुश्मनमा परिणत गर्न थाल्नुभए तपाईँले पानी धेरै धमिलो पार्नुहुनेछ ।

‘प्रतिगामी’ र ‘राजावादी’ को आरोप आउला भन्ने डरले पनि धेरै बुद्धिजीवीहरू अहिले मौनव्रतमा छन् । मुखमा पट्टी लगाएर बस्नुको कारण तपाईँहरू ‘जङ्गल’ फेरि फर्केर गएको खण्डमा या त तपाईँकै मुखबाट घोषित ‘अक्टोबर क्रान्ति’ हुन गए उनीहरू बाँच्न चाहन्छन् । तर यस्ता ‘काँतर’ बाहेक बाँकी समाज तपार्इँहरू संयमका साथ अगाडि बढ्नुभएन भने चूप रहने छैन । हाम्रो आश छ, तपाईँको ‘सफाया’ गर्ने अभियान अब अपवादका रूपमा पनि कार्यान्वयन हुनेछैन । जबकि, युद्धविरामयता ९ जनाको हत्या भयो, यो पनि हामीलाई थाहा छ ।

मध्यममार्गको वकालत

मध्यममार्गले जनताको भलो गर्दछ, जहाँ मानिस मारिँदैनन्, जनआन्दोलन पनि शान्तिपूर्ण हुन्छ । मध्यममार्गमा हिजो र आज पनि राजनीतिक दलहरू छन् नेकपा (माओवादी) पनि यही मध्यममार्गतर्फ उन्मुख छ । तर, नेपालका दलहरूलाई घृणा गर्नेहरूमा नागरिक समाजको एक ‘पपुलिस्ट’ हिस्सा, तपाईँको माओवादी समूह, काठमाडौँ उपत्यकाको ‘सुपरएलिट क्लास’ तथा राजावादीहरू– तपाईँहरू सबै एक हुनुहुन्छ । कस्तो विडम्बना ! आखिर मध्यममार्ग भनेको के हो ? त्यो जसले बन्दुकको भरमा परिवर्तनको बाटो त्याग्दछ र मान्छे मार्दैन । जसले क्रूर राज्यको सामु सामाजिक क्रान्तिको अलि कठिन तर अन्ततोगत्वा सफल युद्ध गर्न तयार हुन्छ । जसले बालसैन्य राख्दैन, जसले देशभर जवर्जस्ती रकम असुल गर्दै ‘जनताले आफूखुसी दिएको चन्दा’ भनी दाबी गर्दैन, जसले सार्वजनिक सडकमा बारुदी सुरुङ बिछ्याएर दैनिक दशौँ हजार यात्रुलाई भयको भुमरीमा डुबाउँदैन ।

आजभोलि तपाईँहरू सार्वजनिक हुनुभएको अवस्थामा दुईतर्फी बहस हुन नपाए पनि, एकतर्फी अन्तर्वार्ता सुन्न मात्र पाए पनि, यो ठूलो उपलब्धि हो नेपाली राष्ट्रको लागि र सार्वजनिक हुनुभएकोमा तपाईँप्रति पनि सद्भाव व्यक्त गर्न चाहन्छु । अहिलेसम्म तपाईँहरूको नौलोपनले गर्दा सबैले तपाईँहरूको एकतर्फी कुरा नकाट्न नै ठीक ठानेका छन्, शिष्टताका कारण र स्थिति नभड्कियोस् भनेर । तर तपाईँहरूको स्वागत उपहारस्वरुपको यो अतिशिष्टतालाई तपाईँहरूले आफ्नो प्रभाव तथा आर्जन गरेको विश्वसनीयता भन्ठान्नु चाहिँ शायद गल्ती ठहरिनेछ ।

तपाईँ गाउँठाउँमा राजनीतिक प्रशिक्षण गर्दै हिँड्नुभएको छ भन्ने सुनिन्छ । आश गरौँ तपाईँको प्रवचन– खुला प्रतिस्पर्धामा आउँदा परिवर्तित स्थितिमा कस्तो आचरण, कस्तो बोली गर्ने भन्ने अभ्यासमा केन्द्रित छ । आफ्नो प्रशिक्षणमा आफ्ना कार्यकर्तालाई साधारण नागरिकको कदर गर्न सिकाइदिनुहोला जसको आफ्नै विवेक छापामारलाई दिइने आक्रामक, कठोर र एकपक्षीय भाषणको भन्दा विपरीत नभई तर्कको आदानप्रदान गर्ने क्षमता राख्नुपर्छ । प्रश्नको उत्तर दिन सिक्नुपर्ने हुन्छ । न कि सबै कठिन प्रश्नहरूलाई एकोहोरो जवाफ, जस्तै, “हामीले बाध्य भएर बन्दुक उठाएका हौँ । ठूलो युद्धमा केही नोक्सानी त हुन्छ नै” आदि, इत्यादि । नेपाली नागरिकहरूको विवेक र चेतनालाई नजरअन्दाज गर्ने हो भने भोलिको प्रतिस्पर्धात्मक राजनीतिमा अप्ठेरो पनि पर्न सक्छ । अनि आफूलाई वैचारिक चुनौती दिने जति सबै ‘प्रतिगामी’ विचार राख्ने भन्दै आक्षेप लाउने प्रवृत्ति त्याग्नु नै वेश ।

जनताको चाहना

नेपाली जनता के भन्छन् भन्नेबारे म पनि आफ्नो धारणा तपाईँसामु राखुँ । उनीहरू चाहन्छन्, शान्ति, बहुलवाद र लोकतन्त्र देशभरि छाओस् र विद्रोही पक्षको ४० बुँदे मागका ३९ बुँदा (हिंसाको हरफ बाहेक) को लागि ऊ शान्तिपूर्ण आन्दोलनमा भिडोस् । र आफ्ना कार्यकर्ता र लडाकुलाई शान्तिको बाटोमा डोर्याउने पुष्पकमलजीका साथै सम्पूर्ण नेतृत्वपंक्तिको महान् योजना सफल होस् ।

पुष्पकमलज्यू, मेरो विचारमा तपाईँका केही नेता, केही लडाकु तथा केही कार्यकर्ताको विचार अलग होला, नत्र बाँकी सम्पूर्ण नेपालका २.६ कोटि नागरिक जमातले तपाईँको हातको त्यो औचित्यहीन बन्दुक बिसाइयोस् भन्ने आश र कामना राखेको छ । त्यसरी बन्दुक बिसाउँदा तपाईंका सहयात्रीहरूलाई चोट नलागोस् भन्ने पनि जनताको चाहना छ र बन्दुक बिसाउने पनि प्रक्रिया र संवेदनशीलता हुन्छन् भन्ने कुरा पनि जनताले बुझेका छन् ।

संवेदनशील घडी

पुष्पकमलजी, कुरा फेरि तपाईँका हातमा रहेका बन्दुक, पेस्तोल र ती हतियार समाउने युवा लडाकुहरूको मनस्थिति र आडम्बरकै उठ्दछ । आउँदा दिनमा अन्तरिम सरकारमार्फत् संविधानसभातर्फ जानका लागि बालुवाटारमा प्रेस भेलामा तपाईँको स्वस्फूर्त भाषण जतिकै प्रभावशाली भए तापनि त्यसपछिका दिनमा राजनीतिक धरातलमा प्रश्नहरू च्याउ जस्तै उम्रे, विशेषगरी राजनीतिक दलका पंक्तिहरूमा । आज १२ बुँदे समझ्दारीबाट पछाडि सर्नु देश र जनताको हितमा छैन भन्ने कुरामा हामी सबै सतर्क छौँ । त्यसो भए, तपाईँको अभिव्यक्ति तथा तपाईँको सात दलको सरकारसँगको वार्तामा अडान यस्तो हुनुभएन कि आफ्ना लडाकु र कार्यकर्तालाई फकाउने धूनमा तपाईँका अडानले सात दलभित्र खल्बली र शङ्का उत्पन्न होस्, किनकि त्यो बाटोले त सीधै युद्धतर्फ मुलुकलाई फर्काइदिन्छ । तपाईँको दलभित्रका व्यावहारिक कठिनाईहरू बुझदाबुझदै पनि राजनीतिक दलहरूले भन्दा तपाईँको तर्फबाट अलि बढी संयमको आवश्यकता पर्दैन र ? किनकि हतियारको आडमा आजसम्म बोल्ने त तपाईँ हुनुहुन्छ ।

सेनालाई संसदमार्फत् नागरिक निगरानीमा राख्ने र संविधानसभामार्फत् राजाको स्थान निर्णय गर्नेमा फर्केर जाने ठाउँ छैन । यस्तो अवस्थामा राजालाई घुँडा टेकाइएको बेलामा आजको मूल मुद्दा भनेको ‘लोकतन्त्र’ कि ‘गणतन्त्र’ नभई तपाईँहरूको हातको बन्दुकको ‘व्यवस्थापन’ हो । मुलुक अगाडि बढ्ने या नबढ्ने यसैमा निर्भर छ, र ‘जनधारणा’ यसमा अडिग छ, तपाईँले पत्याए हुन्छ । राजा फर्कने डरको आधारमा आफ्नो बन्दुक नबिसाउने तर्क विश्वसनीय हुने छैन, किनभने जनता सतर्क छन् र राजालाई नागरिकले खित्रिक्क पनि गर्न दिने छैनन् ।

हतियार व्यवस्थापन कसरी र कहिले गर्ने ? तपाईँ आफैँलाई पनि लागेको होला, एकातर्फ हिंसा र हतियार नत्यागेको माओवादी सरकारमा जाँदा नेपाली जनताले के सोच्दा हुन् । अन्तर्राष्ट्रिय जगतले के प्रतिक्रिया देला ? संसारलाई मनाउने काम हामी नेपालीहरूको हो, तसर्थ नेकपा (माओवादी) को बोली र आचरणले सङ्केत दिनुपर्यो शान्ति चाहनाको ।

नत्र, खुला राजनीतिमा आउन चाहने तपार्इँले बुझनुपर्ने एउटा कुरा, तपाईँ सरकारमा बन्दुकसहित आइदिनाले विदेशी सहायता सुक्यो भने आजसम्म तपाईँको समूहले आर्जेको त्यत्रो प्रभाव व्यर्थै होला कि ? हिजोसम्म जनता के भन्लान् भन्ने तपाईँलाई धेरै पीर थिएन, तर सच्चा राजनीतिमा अब त यस्तो कुराको विचार गर्न थाल्नुपर्यो ।

पक्कै पनि तपाईँको जनसेनाले एकैचोटि हतियार बिसाउने प्रस्ताव व्यावहारिक छैन, तर अरू देशमा जस्तो निरस्त्रीकरणको प्रक्रियाका लागि नेपालमा दशकौँ कुर्न नपर्ला र यसको कारण हो माओवादीको राजनीतिक चरित्रको निरन्तरता, हिंसाको वकालतका बाबजूद । आज देश अन्तरिम सरकार तथा संविधानसभाको चुनावमा जान आतुर छ । यो पंक्तिकारको विचारमा अन्तरिम सरकारमा जानुअघि माओवादीले हिंसा त्यागेको घोषणा सार्वजनिक गर्नुपर्ने हुन्छ, ताकि सरकारमा आउँदा पनि नेपाली जनतालाई आवश्यक अन्तर्राष्ट्रिय सहयोगको राहत सुक्न नजाओस्, र जसको अपजस नेकपा (माओवादी) लाई पनि नजाओस् ।

आउँदो संविधानसभाको चुनाव निष्पक्ष बनाएर जनताको स्वच्छ र वास्तविक भावना बुझने सबैको मनसाय हो र पक्कै तपाईँको पनि, पुष्पकमलजी । अब यो कुरा सोच्नुस्, जनतालाई तपाईँको लडाकुको हातको बन्दुकले भयभीत बनाउँदैन होला ? बन्दुक व्यवस्थापन भनेको, आजभोलि तपाईँका सहयोगीले भन्ने गरे जस्तो ‘ब्यारेकमा बन्दुकसहित राख्ने र अन्तर्राष्ट्रिय टोलीले अनुगमन मात्र गर्ने’– के यस्तो प्रक्रियाले जनतालाई भयरहित पार्ला ? मेरो विचारमा पार्दैन ? हतियार व्यवस्थापनको विश्वसनीयता मात्र संयुक्त राष्ट्रसंघसँगको निगरानी राख्ने टोलीले तोकेका ठाउँमा बन्दुक डिपोजिट गर्नाले हुन्छ । यतिले मात्र पूर्णतः भयरहित चुनाव त हुँदैन, किनकि धम्की र पूर्ववत् त्रास दिलाउन सक्ने क्षमता त कति क्षेत्रमा तपाईँका कार्यकर्तामा हुन्छ नै । तर सबैथोक मिलेको त कहाँ हुन्छ र तसर्थ संयुक्त राष्ट्रसंघको निगरानीमा बन्दुक सङ्कलित र नियन्त्रित हुँदा संविधानसभातर्फ जानसक्ने सम्भावना देखिन्छ । आजभोलि तपाईँहरू ज्यादै हतार गरिरहनुभएको छ पुष्पकमलजी, नत्र अरू सृजनशील व्यवस्थापनको उपाय पनि खोज्न सकिन्छ । जस्तै, नेपाल सेना र ‘जनसेना’ का बटालियनहरूलाई देशको एक भागबाट अर्को भागमा स्थानान्तरण गर्ने, अनि गहकिलो विकास निर्माणमा संलग्न गराउने । तर यस्तो विचार पलाउन आज नेकपा (माओवादी) को हडबडे व्यवहारले दिइरहेको छैन ।

यति भनेर पनि पुग्दैन । बन्दुक बिसाउने प्रक्रिया अगाडि बढ्न जाँदा कतै कतै बन्दुक नचलाउने अठोट गरेका माओवादी कार्यकर्तामाथि गाउँघरका समूह या व्यक्ति जाइलाग्ने सम्भावना हुन्छ । बदलाको भावनालाई स्वस्फूर्त भिजिलान्ते क्रियाकलापमा परिणत हुन नदिन नेपाल सरकार, संयुक्त राष्ट्रसंघ तथा पूरै बृहत् नागरिक समाज लाग्नुपर्ने हुन्छ । आफ्नै सुरक्षामा घात आउने काम कसैले गर्दैन ।

पुष्पकमलजी, तपाईँलाई देशको निर्माण तथा जनताको भलो होस् भन्ने छ । यस कुरामा तपाईँ र माधवकुमार नेपाल या अमिक शेरचन या परी थापा, या महन्त ठाकुर या विष्णुबहादुर मानन्धरबीच केही फरक छैन । मात्र उहाँहरू सबै शान्तिपूर्ण आन्दोलनमा आस्था राख्नुहुन्छ तर तपाईँले आजसम्म फरक मत राख्नुभएको छ, कि हिंसा जायज छ राजनीतिक रुपान्तरणका लागि । यसको नाङ्गो अर्थ हो, राजनीतिक लक्ष्यका लागि मान्छे मार्न पाइन्छ । तर खुला प्रतिस्पर्धात्मक राजनीतिमा आउने निर्णय गरेको तपाईँको पार्टी हिंसा त्याग्नेतर्फ पनि उन्मुख छ भन्ने कुरा पनि प्रस्ट भइसकेको छ र यही कठिन र शायद जोखिमपूर्ण कसरतमा तपाईँ लाग्नुभएको पनि छ । आखिर आजसम्म बटुल्नुभएको त्यत्रो राजनीतिक ऊर्जा न तपाईँलाई न तपाईँका कार्यकर्तालाई खेर फाल्नुछ ।

तर मुलुकको निर्माण तथा जनताको सर्वाङ्गीण विकासमा माओवादी पक्ष कसरी सहभागी होला जस्तो मलाई लाग्छ, जबसम्म उसले हिंसा त्यागेर ‘विद्रोही’ बाट ऊ एक सच्चा राजनीतिक दलमा परिणत हुँदैन । यही ‘विद्रोही’ बाट ‘राजनीतिक पात्र’ को परिवर्तनको आशमा व्यग्र भएर सारा नेपाली संसार आज कुरिरहेछन् । आउँदा दिनमा तपाईँको नेतृत्वमा हतियार ‘व्यवस्थापन’ गरिएको नेकपा (माओवादी)ले संविधानसभामा भाग लियोस् तथा मुलुक बिगार्ने नभई सपार्ने अभियानमा सामेल होस् । जनआन्दोलनमा सरिक नेकपा (माओवादी) ले उक्लने स्वाभाविक खुड्किलो यही हो जस्तो लाग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *