कुलचन्द्र गौतम अब्बल उदाहरण

हिमाल खबरपत्रिका (१६-२९ माघ २०६७) बाट

संयुक्त राष्ट्रसंघमा सहायक महासचिवसम्मको उच्च पदमा पुगेर अवकाश पाएका कुलचन्द्र गौतमसाढे तीन दशकको सेवापछि २०६४ सालमा काठमाडौं फर्केर शान्ति प्रक्रियासम्बन्धी विभिन्न काममा जुटे। यसैबीच माधवकुमार नेपालको सरकारले संयुक्त राष्ट्रसंघको ६६ औं महासभा (जेनरल एसेम्बली) को अध्यक्षको लागि उनको नाम अगाडि सारेको छ। संसारकै संसद् मानिने उक्त महासभाको काम वर्षभरि रहन्छ र गौतमलाई मनोनीत गरिएको सन् २०११-२०१२ को अधिवेशनलाई हो।

संयुक्त राष्ट्रसंघका सीमित सदस्य रहने सुरक्षा परिषद्लाई जस्तो अधिकार सबै (१९२) सदस्य रहने महासभालाई नभए पनि यसको मोरल अथरिटी उच्चतम मानिन्छ। मुख्यतः सेप्टेम्बर-डिसेम्बरमा हुने यसको वार्षिक अधिवेशनमा विश्वसामु विद्यमान महत्वपूर्ण राजनीतिकदेखि आर्थिक, सामाजिक, वातावरणीय आदि विषयमा बहस हुन्छ। महासभाको अध्यक्षमा शान्ति-सुरक्षासम्बन्धी तत्कालिक विषयमा धेरै भूमिका नभए पनि चुनिने व्यक्तिको क्षमता तथा अन्तर्राष्ट्रिय ग्राह्यताले ती विषयमा क्रियाशील बन्ने सम्भावना प्रदान गर्दछ। अन्तर्राष्ट्रिय विकास र भूराजनीतिमा कुलचन्द्र गौतमको दक्खल तथा नेपाल जस्तो न्युट्रल सदस्य राष्ट्रको नागरिक हुनुले उनको अध्यक्षता प्रभावकारी हुने सम्भावना छ।

बितेका ५० वर्षमा गौतम जस्तो अन्तर्राष्ट्रिय अनुभव र व्यावसायिक दक्षता भएको उम्मेदवार नेपालको तर्फबाट आउन सक्ने सम्भावना थिएन। झ्ण्डै ३५ वर्षसम्म बालबालिका तथा महिला हित संरक्षणको काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफमा कार्यरत कुलचन्द्र डेपुटी डाइरेक्टरको रूपमा संस्थाको कार्यक्रम तथा योजना प्रमुख रहे। राष्ट्रसंघको एसिस्टेन्ट सेक्रेटरी जेनरल को पद सम्हालेका गौतम अन्तर्राष्ट्रिय सिभिल सर्भिस्को उच्चतम पदमा पुग्ने नेपाली नागरिक हुन्।

महासभाको अध्यक्षमा नेपालको उम्मेदवारीको औचित्य निर्विवाद छ। सन् १९५५ देखि संरासंघको कटिबद्ध सदस्य रहँदै आएको नेपालले करिब ४० क्षेत्रमा शान्ति सेना पठाएर राष्ट्रसंघको काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। अति विपन्न राष्ट्रहरूबाट संरासंघको कुनै संस्था प्रमुख विरलै चुनिने सन्दर्भमा पनि नेपालको उम्मेदवारी उचित छ। यसपालि एसियाको अध्यक्ष चुनिने पालो भएको र यसअघि मलेसिया (१९९६), दक्षिण कोरिया (२००१) र बहराइन (२००६) ले अवसर पाइसकेकाले अब दक्षिणएसियाको हुनुपर्ने नेपालको दाबी छ। सार्क राष्ट्रमध्ये सबैभन्दा लामो समय संरासंघको सदस्य भएको नेपालले अहिलेसम्म यो पदमा आफ्नो नागरिक पठाउन पाएको छैन। भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानले उक्त पदको अनुभव लिइसकेका छन्।

नेपालसँग प्रतिस्पर्धामा एकमात्र राष्ट्र मैदानमा छ― कतार। कतारले न्युयोर्कमै तैनाथ आफ्नो स्थायी प्रतिनिधिलाई उम्मेदवार नियुक्त गरेको छ। लम्पिक्सदेखि अन्तर्राष्ट्रिय विद्युतीय प्रसारणसम्मका विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा कमाउन लागिपरेको कतारको पेट्रोडलरद्वारा अन्तर्राष्ट्रिय कदर हासिल गर्ने चाहना आफैंमा जायज छ भने राष्ट्रसंघीय मामिलामा भूमिका र उम्मेदवारको वजनका कारण नेपालको सम्भावना बढी रहेको मानिन्छ। भारतका प्रधानमन्त्रीले औपचारिक पत्रसहित कुलचन्द्र गौतमको उम्मेदवारीप्रति समर्थन जनाइसकेका छन् भने दक्षिण कोरियाले पनि समर्थन गरेको थाहा भएको छ। जापान, चीन, अमेरिकालगायत पश्चिमा मुलुकहरू पनि सकारात्मक रहेको बुझ्िएको छ।

संयुक्त राष्ट्रसंघका जानकार पत्रकारहरूको अनुमानमा आजको दिन क्लोस्ड व्यालट (गोप्य मत) को आधारमा मतदान हुने हो भने करिब ६०-४० प्रतिशतको आधारमा नेपालको उम्मेदवारले जित्ने सम्भावना छ। तर, गोप्य मत नहुने हो र चुनावी अभियानमा धेरै राशी खर्च गर्न सक्ने कतारलाई समय बढी दिने हो भने प्रतिस्पर्धा अलि तीव्र हुने सम्भावना छ। विशेषगरी इस्लामिक राष्ट्रहरूको संस्था ईसी का सदस्य तथा अफ्रिका र पश्चिम एसियाका केही अरब मुलुक नेपाललाई मत दिन चाहँदाचाहँदै पनि खुला प्रक्रियामा कतारलाई दिनुपर्ने बाध्यतामा हुनेछन्। उता कतारबाट दिइने विकास सहयोगका कारण पनि केही मुलुकले नेपाललाई बिर्सने सम्भावना छ।

नेपालको परिस्थिति बलियो हुनुको अर्को कारण यसअघि २००६ को महासभा अध्यक्ष पनि अरब राष्ट्र (बहराइन) कै हुनु मानिन्छ। नेपालको आफ्नै मौलिक शान्ति प्रक्रिया केही कमजोर देखिए पनि नेपाली अनुभवलाई अन्यत्र राम्रो मूल्याङ्कन गरिएको छ। २००७ देखिको आफ्नो पूरै आधुनिक युग अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्य रहिआएको तर कुनै प्रभावशाली पद नपाएको मुलुकको रूपमा नेपाललाई लिइएको छ।

नेपालभित्रकै कुरा गर्ने हो भने नेपालीले कुनै राम्रो पदको आकाङ्क्षा राख्दा खुट्टा तान्ने प्रवृत्ति पहिलेदेखिकै हो। हवाई दुर्घटनामा महासचिव ड्याग् ह्यामश्लिडको मरणपछि सन् १९५८ मा नेपाली कूटनीतिज्ञ हृषीकेश शाहलाई युएन महासचिव हुने प्रस्ताव आएको थियो तर उतिवेला राजा महेन्द्रलाई रुचिकर लागेन। अन्य ठूला-साना अन्तर्राष्ट्रिय पद नेपालभित्रकै प्रतिस्पर्धीबीचको खिचातानीको कारण तुहिन गएका उदाहरण धेरै छन्।

कुलचन्द्र गौतम अन्तर्राष्ट्रिय विकासक्रमका एक आर्किटेक्ट हुन्, जसको योगदान सहस्राब्दी विकास लक्ष्यको निर्माणमा समेत थियो। दशकौंका लागि अन्तर्राष्ट्रिय नीतिनिर्माणको तहमा रहेका उनी संयुक्त राष्ट्रसंघका विभिन्न अन्तर्राष्ट्रिय क्रियाकलापको जानकार मात्र होइन, तिनलाई परिभाषित गर्नेमा समेत सम्मिलित थिए।

आज आत्महीनताबोधले जरो गाडेको नेपाली राजनीतिकवृत्त, कर्मचारीतन्त्र तथा नागरिक समाजमा कुलचन्द्र गौतमको उम्मेदवारीप्रति पनि धेरै उत्साह छैन। तर यो केही हदसम्म जानकारीको कमीले पनि हो। नेपालको तर्फबाट गौतमको चुनाव अभियान सफल पार्न पहिला उनको उम्मेदवारीको महत्व तथा उनको क्षमताबारे मुलुकभरका विचार निर्माताहरू जानकार हुनुपर्‍यो। त्यसैले नेपाली विचारनिर्माताले यो उम्मेदवारीप्रति चासो दिनु र त्यसबाट सिर्जना हुने जनमतद्वारा नेपालको परराष्ट्र मामला हेर्ने सम्पूर्ण क्षेत्रलाई प्रेरित गर्नुपर्ने अवस्था छ, किनकि नेपालले स्तरीय र अनुभवी उम्मेदवार अघि सारेको छ र उनको सफल हुने सम्भावनालाई नेपाली जनमानसको हार्दिकताले टेवा दिन्छ।

कुलचन्द्र गौतम एक्कासि अन्तर्राष्ट्रिय पदबाट अवकाश पाएर महासभाको अध्यक्ष पदमा उम्मेदवार बनाइएका होइनन्। युनिसेफमा छँदा पनि नेपाली विकास तथा शान्ति प्रक्रियामा चासो राख्ने उनी अवकाशपश्चात् केही समय नेपाल अध्ययनमा लागे र त्यसपछि सबैभन्दा महत्वपूर्ण मुद्दाहरूमा निर्धक्क डुबुल्की मारे, ती थिए- मुख्यतः शान्ति प्रक्रिया तथा हिंसा अन्त्य अभियान। उनी शान्ति प्रक्रियाका विभिन्न पाटोबारे ज्ञाता नै भए भने शान्तिकामी जनताको शान्ति प्रक्रियाप्रतिको धारणा तथा निकासको तरिकाबारे अन्तर्राष्ट्रिय जगतलाई बुझाउने एक मुख्य माध्यम बन्न पुगे। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र आनी छोइङ डोल्मा जस्ता सार्वजनिक व्यक्तित्वसँग मिलेर भौतिक, राजनीतिक हिंसाविरुद्ध मुलुकभर अभियानमा लागे। हालै नेपाल सरकारबाट खडा गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय पुरस्कार छनोट समितिको संयोजक भएका गौतमको नेतृत्वमा गहन छनोट प्रक्रियाद्वारा नागासाकी तथा हिरोसिमाका नगरप्रमुखलाई पुरस्कृत गर्ने निर्णयले नेपाल र उक्त पुरस्कारको गरिमा बढाएको छ।

विश्वव्यापी आर्थिक सुशासन, शान्ति निर्माण, मानवअधिकार, मानवीय सहायता, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसंघका क्रियाकलापमा आधुनिकीकरण जस्ता क्षेत्रमा काम गर्दै तीन दशकको संरासंघीय सेवाको क्रममा १०० भन्दा बढी मुलुकमा पुगेका कुलचन्द्र गौतम एसिया, अफ्रिका, ल्याटिन अमेरिका तथा क्यारिवियन, मध्यएसिया तथा दक्षिणपूर्वी एसियाबारे राम्रो जानकार मात्र होइन; ती क्षेत्रका दर्जनौं शीर्षस्थ नेतृत्वसँग निजी रूपमा परिचितसमेत छन्। अन्तर्राष्ट्रियजगतमा यतिका निजी चिनापर्ची भएको नेपाली नागरिक अरू छैनन्। भाषाको हकमा अङ्ग्रेजी र हिन्दी/उर्दू मात्र होइन, फ्रेन्च, स्पेनिस र इन्डोनेसियन भाषामा पनि उनको राम्रो दक्खल छ।

निराशामा डुबेका नेपाली जनताको हौसला र आत्मबल बढाउनु परेको अवस्था छ आज। संसारका सबै मुलुकको छनोटद्वारा कुलचन्द्र गौतमले संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्षमा चुनाव जित्नु यस्तो एउटा अवसर हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *