हिमाल खबरपत्रिका (१-१५ असार ,२०५८ )बाट
देश, समाज, अर्थतन्त्र, शहरबजारदेखि आ–आफ्नो गाउँ चौतारी हुँदै घर आँगन बिग्रने छ यदि राजदरबार हत्याकाण्डको कारण “षडयन्त्र” हो भने । सुनियोजित हत्याबाट गद्दी र श्रीपेच हस्तान्तरण भएको हो भने यो भन्दा ठूलो खतरा अरू केही हुन सक्तैन नेपाल अधिराज्यलाई, किनभने त्यतिबेला कसैको कोही माथि पनि विश्वास रहँदैन । हैन, पारिवारिक झ्ैझ्गडाको कारणले भएको काण्ड हो यो भने सिङ्गो राष्ट्रको मानसिकतालाई बचाउन सकिएला समय बित्दै जाँदा । त्यसैले पनि शुरुमै ‘षडयन्त्रवादी’ नभई; सामु आएको सूचनालाई तर्क र विवेकको आधारमा केलाएर मात्र राजपरिवारलाई कसले र किन सखाप पारेको हो भन्ने निक्र्यौलमा पुग्नु बेस हुन्छ । हुनत हामी सत्य बाहेक केही चाहिँदैन भन्छौँ, तर हामीमा हल्ला र षडयन्त्रको लागि अपार तलतल रहेछ । यस्तो तलतलको निरन्तर शिकार भएका छौँ, विशेषगरी काठमाडौँ उपत्यकाको पढालेखा वर्ग, १९ जेठको कालरात्रिदेखि । समाजमा नेतृत्व दिनुपर्ने हरेक व्यक्ति र संस्था पहिलो केही दिनका लागि स्तब्ध÷निष्क्रिय नै भए । प्रकोपको त्यत्रो दायरा बुझन नसकेर कैयौँ अखबारहरूले कालो धर्सोले हत्याको समाचारलाई घेर्न बिर्से, र कुनै साधारण घटनाजस्तो गरी हेडलाइन हाले । राजारानीको त्यस्तो अशोभनीय शवयात्रा सञ्चालन गर्ने दरवार र शाही नेपाली सेनाको बेहाल देखियो । यता, धेरै नेताहरूलाई यो देश, प्रजातन्त्र र आजको भूराजनीतिबारे कति थोरै आस्था रहेछ कि दरबारिया शक्ति परिचालित हुन लाग्यो भनेर भागाभाग ! यो सबै कुराले हामीलाई के देखाइदियो भने हाम्रा अगुवाहरु तैयार रहेनछन् देशको सामाजिक नेतृत्व लिन । आत्मविश्वास नै रहेनछ त्यहाँ । मिडिया, राजनीति, एकेडेमिया र गैरसरकारी उद्योगमा लागेकाहरूमध्ये अझ्ै समाजमा आफ्नो ठाउँ र देखाउने गरेको रवाफ अनुसारको उत्तरदायित्व बहन गर्न सकेका रहेनछन् भन्ने कुरा प्रस्ट हुन गयो ।
तर एउटा अर्को कुरा देखियो ः नेपाल राष्ट्रको जग भने बलियो रहेछ । यहाँ व्यक्ति व्यक्ति निर्बल र द्विविधाग्रस्त देखिए पनि राजनीतिक, प्रशासनिक र न्यायिक संरचनाहरू सोचिएभन्दा दह्रा रहेछन् । शाही संहारको त्यत्रो लम्बिएको अन्यौलपूर्ण दुर्घटना, जसमा नेपाली प्रजातान्त्रिक प्रणालीको एक मूल व्यक्तित्वकै हत्या भयो, त्यस्तो प्रकोपको कुहिरो हट्दै जाँदा हामीले के पायौँ ? हाम्रो राज्य प्रणालीका सबै मूल संस्थाहरू आ–आफ्नो ठाउँमै उभिएका । दुई दिनको बीचमा दुई–दुई जना राजा फेरिँदा पनि राजसंस्था संवैधानिक नै, संसद आफ्नै ठाउँमा, सरकार र प्रधानमन्त्री निर्धारित कार्यमा व्यस्त र सेना तथा प्रहरी पनि निर्धारित ठाउँमै । दक्षिण एसियामै सबैभन्दा पुरानो राज्य नेपालको राष्ट्रिय जग र राजा वीरेन्द्रले बलियो पारेर गएको संसदीय प्रणालीको कारणले गर्दा नेपाल संसार सामु उभिइनै रहेछ । यसमा गर्व किन नगर्ने ? तर पनि नारायणहिटी हत्याकाण्डले नेपाली मानसिकतालाई अपार चोट त पु¥यायो नै, जुन चोट धेरै वर्षको लागि दाग भएर रहनेछ । हाम्रो इतिहासै अब कसरी लेख्ने, जब अन्तिम घडीको विवरणमा त वीरेन्द्र, ऐश्वर्य, श्रुति, निराजन, दीपेन्द्र इत्यादिको मरणले नै स्थान ओगट्ने छ ? यो मानसिक घाउलाई कसरी नियन्त्रण गर्ने, त्यतातिर आज झ्ण्डै दुई हप्ता पुगिसक्दासम्म पनि निष्क्रिय देखिएका ‘नागरिक समाज’ का साथीहरूले निरन्तर र बहुआयामिक कार्यक्रम गर्नुपर्ने देखिन्छ । भनिन्छ, सं.रा. अमेरिकामा जन एफ् केनेडी र मार्टिन लुथर किङ्गको दशकौँ अगाडिको हत्याले अझ्ै त्यहाँको समाजलाई असर पारिरहेको छ । यही आधारमा हेर्दा नेपालीलाई पनि त्यस्तो चोट मनमा रहिरहने नै छ । तर पनि, खुला वातावरणमा छलफल र विचार अगाडि बढाएर यो हत्या बुझने बुझउने क्रम शुरु गर्नुपर्छ, नत्र राष्ट्रिय शक्तिकै ह्रास हुन जानेछ ।
यो हत्याकाण्डले के पनि देखायो भने राजदरबार र शाही सेनाको उच्च तह– आम जनता, राजनीतिज्ञ र पत्रकार आदिबाट कति दूरीमा रहेछ । सूचना र खबर यसरी त्यो अङ्ग्रेजी भाषी तहमा तालाबन्द गरे झ्ैँ रहन गयो कि, यो कारणले पनि जनतालाई आफूसामु बल्लतल्ल आएको सूचना पत्याउन गाह्रो भयो । एकताका नेपालका पूर्व शासक वर्ग जति नै शक्तिशाली भए पनि कुनै न कुनै तरिकाले गाउँघर र जनतासँग उनीहरूको पहुँच थियो । गत दुई दशकको परिवर्तनशील सामाजिक प्रणाली र बजारीकरणको कारणले भने ‘एलिट’ र ‘मास’ बीचको बढ्दै गएको दूरीको सङ्केत यो पनि हो कि नेपालको ठूलो नवशक्तिशाली ‘कमनर’ जमातले आफूलाई यत्ति बाहिर सम्झ्यिो कि दरबार र दरबारियाबाट आएको सूचना पत्याउन राजी नै भएन ।
यो कारणले पनि राजा ज्ञानेन्द्रको राज्यकाल अन्यौलको वातावरणमा शुरु भयो । अरू कुनै पनि नयाँ राजाले पाउने प्रारम्भिक सहानुभूति उनले पाइराखेका छैनन् । तर राजा ज्ञानेन्द्रमाथि शङ्काकै आँखाले हेर्नेहरुले पनि सोच पु¥याउनुपर्ने कुरा दुइटा छन् । पहिलो, राजाको सिंहासनमा ज्ञानेन्द्र मान्य नहुने भए अब नेपाललाई साँच्चिकै गणतन्त्र बनाउनेतिर लाग्ने हो त ? त्यसो गर्न चाहने जमात पनि देशमा तैयार नभएको होइन । अर्को, राजा सिंहासनमा चढिसकेको सन्दर्भमा उनले अधिनायकवादी प्रवृत्ति देखाउने छन् भन्ने अठोट अहिल्यै जाहेर गरिहाल्ने र ? कि अहिलेको लागि ‘बेनिफिट अफ डाउट’ दिने ? र, राजा वीरेन्द्रले एघार वर्ष लगाएर स्थापना गरेको संवैधानिक राजतन्त्रको जग बलियो छ र यसकै नजिर अन्तर्गत नयाँ राजा चल्नेछन् भनेर पर्खने ? फेरि राजा ज्ञानेन्द्रको राज्यशैली संवैधानिक नहोला भनी पीरमा चुर्लुम्म डुब्ने कि राजालाई संवैधानिक लिकमै राख्न नागरिक समाजले गर्नुपर्ने पहल गर्ने ? श्री ५ वीरेन्द्रको मरण हुँदा, परम्परागत आस्थाको केन्द्र बितेको कारण शहर गाउँमा लाखौँ लाख नेपालीले मुण्डन गरे । अर्कोतर्फ, कपाल खौरने अर्को एउटा जमात यसपालि देखियो, जसले चिण्डे हुँदै ढुङ्गामुढा गर्ने तर्फ आफ्नो रुचि देखायो । मैले पनि कपाल खौरेँ तर शायद यी दुई ‘केटेगोरि’ मा म पर्दिनँ । दश वर्षअघि भएको भए मैले राजाको मरणमा मुण्डन गर्दिनँ थिएँ । तर राजा वीरेन्द्र त संवैधानिक राजाको रूपमा बिते । संवैधानिक राजतन्त्र आज संसदीय प्रजातन्त्रको खम्बा भएर उभिएको छ । यही प्रणाली नमान्ने भनेर हिँड्ने कोही छन् भने यसलाई भित्रैबाट भाँड्न अनेकौँ दल र नेताहरू पनि लागेका छन् । संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र मजबुत पार्न योगदान पु¥याउने राजा वीरेन्द्रप्रति सम्मान प्रकट गर्न र यो व्यवस्था भाँड्न चाहनेहरूलाई सन्देश दिनको निम्ति मैले कपाल खौरेँ । धेरै अरुले पनि यसै गरे होलान् जस्तो मलाई लाग्छ ।