हड्सन्को खोजी

हिमाल खबरपत्रिका (१६-३२ साउन ,२०६०)बाट

त्रिभुवन विश्वविद्यालयका एक अनुसन्धाता नेपालका लागि एक ब्रिटिश आवासीय दूतका पुराना लिखतहरूमाथि घोत्लिन थालेपछि नेपाली इतिहासका मूल्यवान् तथ्यहरू उद्घाटित हुन थालेका छन् ।

ब्रिटिश लाइब्रेरीमा रहेको ब्रायन हटन् हड्सन्को पोट्र्रेट र अनुसन्धाता रमेश ढुङ्गेल ।

नेपालका लागि तत्कालीन ब्रिटिश आवासीय दूत ब्रायन हटन् हड्सन् (सन् १८००–१८९४) का अभिलेखबाट नेपाली इतिहासका मूल्यवान् तथ्य र खजाना फेला परेका छन् । ‘इण्डिया अफिस कलेक्सन’ का दस्तावेजहरू सङ्गृहीत लण्डनस्थित ब्रिटिश लाइब्रेरीको भव्य भवनको ३९ नम्बरको खोपामा त्रिभुवन विश्वविद्यालयका प्राज्ञ रमेशकुमार ढुङ्गेल अहिले एउटा महŒवपूर्ण काम अर्थात् ब्रायन हटन् हड्सन्का सङ्कलित कागजात केलाउनमा व्यस्त छन् । हड्सन्ले आफ्ना निजी कागजपत्र र बौद्ध दर्शन सम्बन्धी अभिलेख अन्यत्रै राखे पनि आफूले सङ्कलन गरेका नेपाल सम्बन्धी सबै सामग्रीहरू इण्डिया अफिस कलेक्सनलाई सुम्पेका थिए ।

 

हड्सन्ले छोडेका महŒवपूर्ण सामग्रीहरूलाई ढुङ्गेलले तीन वर्षसम्म सूक्ष्म अध्ययन गर्नेछन् । त्यहाँ रहेका अभिलेखहरूलाई व्यवस्थित र सूचीबद्ध गर्ने क्रममा उनले अहिलेसम्म राम्रोसँग अध्ययन गर्न र बुझन बाँकी रहेका थुप्रै सामग्रीहरू पहिलो पटक उपयोग गर्न पाउने छन् । जसबाट नेपाली इतिहास समृद्ध हुने त छँदैछ, कतिपय अवस्थामा यो इतिहासको पुनर्लेखन पनि हुनसक्छ । इष्ट इण्डिया कम्पनीको प्रतिनिधिका रूपमा हड्सन् नेपाल आउँदा काठमाडौँ सङ्कटग्रस्त अवस्थामा थियो । सनकी राजा, राज्यसहायक बनेकी महŒवाकाङ्क्षी रानी र पाण्डे, थापा तथा बाहुन खलकका जालझ्ेल र षडयन्त्रहरूबीच हड्सन्ले काम गर्नु प¥यो । तर, उनी दूतका रूपमा मात्र सीमित रहेनन्, आफूलाई भूगोलविद्, अगुवा जातिविद्, भाषाविद्, हिमाली बौद्ध दर्शनका अध्येता तथा पक्षीविज्ञानमा राम्रो दख्खल राख्ने प्रकृतिविद्का रूपमा स्थापित गरे । उनीसँग विविध प्रतिभा थियो, जसलाई उनले समयानुसार निखार्दै लगे । एक जना लेखकले भनेका छन्, “वैमनस्यता गर्ने फौजी राज्यमा बेलायती कूटनीतिलाई उनले टिकाएनन् मात्रै, एकभन्दा ज्यादा विषयमा आफूलाई दक्ष बनाए र सङ्ग्रहालयलाई समृद्ध बनाए ।”

दुःखजिलो गरेर धानिएको अङ्ग्रेज परिवारमा चेशेयर प्रान्तमा जन्मिएका थिए हड्सन् । उनले बेलायतको उपनिवेशमा खटिने प्रशासकहरूलाई पढाउन खोलिएको हेलीबरी स्कूलमा अध्ययन गरे, जहाँ उनले राजनीतिक अर्थशास्त्रका अग्रज टमस माल्थसको छहारी मात्र पाएनन्, उनको घरमै डेरा पनि लिए । उनी हिन्दुस्तान आएपछि अङ्ग्रेजी भाषामा दिइने शिक्षाको पक्षधर मकाउले र संस्कृतमा दिइने शिक्षा नै सबैथोक ठान्ने ‘ओरिएन्टलिस्ट’ विद्वान्हरूलाई चुनौती दिँदै उनले ‘स्थानीय भाषा’ मा दिइने शिक्षाको विकल्पको वकालत गरे ।

गरीबी र अहम्

 

हड्सन्को हस्तलेख नेपाली र अङ्ग्रेजीमा ।

 

वंशवेत्ता, अभिलेखप्रेमी, बहुमुखी विद्वान् हड्सन्लाई हिमाली भेगमा पठाइनु कालान्तरमा नेपालका लागि फाइदाजनक सावित भयो । मधेशमा ‘औलो’ ले उनको जीउ गलेकोले उनलाई पहाड पठाइएको थियो । गोर्खाली साम्राज्यले कुमाउँमा मच्चाएको विध्वंसलाई थान्को लगाउने प्रयासमा उनको केही समय बित्यो । त्यसपछि सन् १८२० मा हड्सन् पहिलो पटक नेपाल आए । उनी सन् १८२५ देखि ३३ सम्म बेलायती सरकारको सहायक आवासीय दूत रहे र सन् १८३३ देखि ४३ सम्म आवासीय दूत (‘रेसिडेन्ट’) । उनी मारकाटको युगमा नेपाल आएका थिए, अर्थात् कोत संहारको ठीक अघि, शक्तिशाली भीमसेन थापाको शासनकालमा ।

काठमाडौँमा हड्सन्को निजी जीवनबारे भेटिएको थोरबहुत जानकारी अनुसार, उनी एकान्तप्रेमी पढैया थिए, र कहिलेकाहीँ स्थानीय विद्वान्हरूसँग भलाकुसारी गरेर उनको समय बित्थ्यो । रहँदाबस्दा उनले मेहरूस्सिन नामकी मुसलमान युवतीसँग विवाह गरे, जसलाई लण्डन फर्किँदा उनले काठमाडौँमै छाडेको अनुमान छ । अवकाशप्राप्त जीवन पहिले बेलायत र पछि दार्जीलिङ (सन् १८४५–१८५८) मा बिताएका उनले, एक जना अङ्ग्रेज महिलासँग दार्जीलिङमा विवाह गरे ।

हड्सन्कै शब्दमा ‘गरीबी र अहम्’ को राज्यमा खटिएपछि उनले १९ औँ शताब्दीको नेपाली जनजीवनसँगै सम्बद्ध भेटेजति सामग्री सावधानीपूर्वक बटुले– सैनिक जानकारीदेखि बौद्ध चित्रकलासम्म । ती दस्ताबेजसँगै उनका विस्तृत टिपोटहरू कोलकाता, पेरिस, लण्डन र अक्सफोर्डका पुस्तकालयहरूमा राखिएका थिए । यी सबै अभिलेखहरूको राम्रोसँग अनुसन्धान गर्ने र तिनलाई छर्लङ्ग बुझने हो भने राजकीय परम्परा र राष्ट्रिय ‘बहादुरी’ का इतिवृत्तसँग मात्र जोडिएको नेपाली इतिहासले नयाँ र बृहत् आकार भेट्नेछ । “हड्सन्का रुचि र अनुसन्धान दुवै असीमित थिए,” ढुङ्गेल भन्छन्, “उनले कति डोको कति डोको कागजात जम्मा पारे, के भन्नु ? ती कागजातहरू १९ औँ शताब्दीको नेपालका ‘एन्साइक्लोपिडिया’ जस्तै छन् । उनले शिलालेखदेखि वंशावली र धार्मिक पुस्तकहरू जेजति भेटे सबै सङ्कलन गरे । कहिले किने भने कहिले आफ्नै खर्चमा तिनको नक्कल उतारे ।”

काठमाडौँका पण्डित र गुभाजुहरूसँग हड्सन्को मित्रता थियो, विशेष गरी पाटनका नामी विद्वान् अमृतानन्द, जसले उनका लागि महŒवपूर्ण श्रोत जुटाइदिन्थे । संस्कृत र फारसीमा हड्सन्को दखल र पढाइमा समर्पित उनको सादा जीवनशैलीबाट उपत्यकाका विद्वान्हरू प्रभावित थिए । उनले काठमाडौँका शक्तिशाली वर्गलाई आफ्नो पारिवारिक इतिहास र वंशावली खोज्न रुचि जगाएर थुप्रै चौतरिया परिवार एवं राजा राजेन्द्रविक्रमबाट समेत तिनका प्रतिलिपि हात पारे भन्ने ढुङ्गेलको विश्वास छ । हड्सन्ले गरेको कामका दुई महŒवपूर्ण पक्षहरूमध्ये नेपालको न्यायिक तथा वाणिज्य प्रणालीहरूसँग सम्बद्ध थियो । साथै उनले तत्कालीन नेपाली सैन्य शक्तिका बारे पनि अध्ययन गरेका थिए । ब्रिटिश इण्डियन सेनामा गोरखाली सिपाहीको प्रवेश गराउने योजनाकारका रूपमा पनि उनलाई लिइन्छ । लखनऊमा सन् १८५७–५८ मा भएको सिपाही विद्रोह दबाउन सहयोग गर्न इच्छुक जङ्गबहादुरलाई अनुमति दिन अनिच्छुक भाइसरोयलाई मनाउने कामको श्रेय पनि हड्सन्लाई नै जान्छ । त्यतिखेर उनी दार्जीलिङमा सेवा निवृत्त जीवन बिताइरहेका थिए ।

ढुङ्गेल भन्छन्, “नेपालको जातीय विविधता देखेर प्रभावित हुने पहिलो विद्वान् सम्भवतः हड्सन् थिए ।” उनले टाढाटाढा पहाडी गाउँबाट मान्छेहरूलाई लाजिम्पाटस्थित आफ्नो निवासमा बोलाउँथे, कुराकानी गर्थे र अन्तर्वार्ताका क्रममा भाषिक विविधतादेखि अनुहार, जीउडालसम्मका यावत् पक्ष टिप्थे । उनले नेपाल र तिब्बतबाट मानव खप्परहरू बेलायत लगेको प्रमाण ढुङ्गेलले फेला पारेका छन् । जसमा जाति परिचय, स्थान, लिङ्ग र भुक्तान गरिएको रकम उल्लेख छन् । हड्सन्ले एक ठाउँमा लेखेका छन्, “नेपालमा बसोबास गर्नेहरूको विविध जातका उत्पत्ति, स्वभाव र गुणबारे अनुसन्धान गर्नु मेरो बसिवियाँलोका प्रिय काम हुन् ।”

युद्धप्रेमी वर्ग

हड्सन्ले गुप्तचरहरूको एउटा सक्रिय समूह पनि बनाएका थिए, जसबाट यहाँका शक्तिशाली परिवारहरूका बीच हुने गतिविधिबारे सूचना पाउँथे । ती सूचनाहरू कोलकातामा भाइसरोय लर्ड अकल्याण्डकहाँ पुग्थ्यो । सोही आधारमा त्यसबेलाको सरकारलाई काठमाडौँमा निर्देशनहरू आउँथे । कोलकाताबाट आएका चेतावनीहरूमार्फत् हड्सन् काठमाडाँैका ‘युद्धप्रेमी वर्ग’ (वार पार्टी) माथि निगरानी राख्थे । त्यो वर्ग इष्ट इण्डिया कम्पनी अधीनस्थ तराईका भूभागहरू हडप्न चाहन्थ्यो । यसका लागि काठमाडौँमा हड्सन्ले दुश्मनी कमाए, कोलकातामा कृतज्ञता ।

राज्य सञ्चालन सेना (त्यतिखेर सेनामा कुल १९ हजार जवान थिए) ले लिएपछि एवं शक्तिका लागि खलक–खलकबीच वैमनस्यता बढेपछि चिन्तित हड्सन्ले सन् १८३७ जूनमा भाइसरोयलाई लेखेका थिए, “यहाँको गृहयुद्ध जङ्गी तुजुक र शक्तिलाई मत्थर पार्ने नभई त्यसलाई मलजल गर्नेतिर प्रवृत्त छ ।” हड्सन्का १०८ वटा सूचीबद्ध हुन बाँकी ठेलीमध्ये रमेशकुमार ढुङ्गेलले हालसम्ममा ६५ वटा मात्र सर्सर्ती हेर्न भ्याएका छन् । तर, त्यतिमै पनि उनले नेपाली इतिहासका निम्ति निकै महŒवका सामग्री फेला पारिसकेका छन् । उदाहरणका लागि हामीलाई राम शाह र जयस्थिति मल्लका सामाजिक सुधारबारे मात्रै थाहा छ तर, हड्सन्का अभिलेखमा विष्णु मल्ल र सिद्धिनरसिंह मल्लका पालामा भएका सुधारबारे पनि स्पष्ट उल्लेख छ । मकवानपुर, चौदण्डी र विजयपुरलाई गोर्खाली शासकहरू छुट्टै राज्यका रूपमा लिन्थे । तर, हड्सन्का टिपोट पढ्दा चैनपुरले पनि छुट्टै राज्यको सम्मान पाएको भेटिन्छ । ढुङ्गेल भन्छन्, “म आफैँ चैनपुरे भएर होला, पढेर खुशी लाग्यो ।”


हड्सन्का पाण्डुलिपिहरूबाट पत्ता लागेका केही रोचक तथ्य

आङ्ग्लप्रेमः इष्ट इण्डिया कम्पनी र काठमाडौँस्थित त्यसका आवासीय दूतप्रति देखाइएको आक्रामक व्यवहारका लागि माफी माग्दै सन् १८४१ मा राजा राजेन्द्रविक्रमले कोलकातामा रहेका भाइसरायलाई लेखेको पत्रमा भनिएको थियो, “हड्सन् साहेबको सल्लाहअनुसार, हाम्रा दुई महान् सरकारबीच दूरी बढाउन खोज्नेहरूलाई हामीले बर्खास्त गरेका छौँ । र, दुई महान् सरकारबीच मैत्रीपूर्ण सम्बन्ध चाहनेहरूलाई नियुक्त गरेका छौँ ।” पदच्युत र बहाल गरिएका भारदारहरूको नामावली पनि पत्रसँगै उपलब्ध गराइएको थियो ।

लुम्बिनीः लुम्बिनीबारे उपलब्ध जानकारीहरूमध्ये हड्सन्ले गरेको टिप्पणी सबभन्दा पुरानो हुनसक्छ । भारतस्थित बेतियाको पश्चिम–उत्तर–पश्चिम भागमा रहेको तराईको एउटा ठाउँको प्रसङ्ग कोट्याउँदै उनले अशोक स्तम्भको उल्लेख गरेका छन् । भनिएको छ– ‘स्तम्भको टुप्पामा एउटा सिंहको आकृति छ ।’ जुन हराइसकेको धेरै भइसक्यो । जानकारीमा कुनै सूत्रहरूको उल्लेख नगरिएकाले त्यो तथ्य हड्सन्को आफ्नै खोज हुनसक्ने ढुङ्गेलको विश्वास छ ।

दुई वटा धरहराः हड्सन्ले अङ्गे्रजीमा (उनी फारसी र देवनागरीमा पनि लेख्थे) दुई वटा धरहरा भएको उल्लेख गरेका छन् । भीमसेनका नाममा बनाइएको धरहरामा १४२ खुट्किला थिए । र, रानी ललित त्रिपुरासुन्दरीका नाममा समर्पित अर्को धरहरामा १७४ खुड्किला थिए । इतिहासकार बाबुराम आचार्यका अनुसार भीमसेन थापाले ती दुई धरहरा आफ्नो दरबारकै प्रवेशद्वारमा निर्माण गराएका थिए । सन् १८३४ को भुइँचालोबाट दुईमध्ये एउटा धरहरा समूल नष्ट भएको हुनसक्छ । श्री ३ हड्सन्ः त्यसबेलाको अस्थिर अवस्थामा खाँचो टार्न प्रधानमन्त्री बनाइएका रङ्गनाथ पण्डितले एउटा पत्रमा हड्सन्लाई ‘श्री ५ जनाव हड्सन् साहेब’ लेखेका छन् । ढुङ्गेलका अनुसार, जङ्गबहादुर स्वयंले पनि पछि गएर हड्सन्लाई ‘श्री ३’ भनेका छन् । जासुसीः दरबारमा रहेका आफ्ना जासुसहरूमार्फत् हड्सन्ले एउटा यस्तो पत्र फेला पारे, जसमा भारदारहरूको एउटा समूहले अर्को समूहका केही व्यक्तिलाई दशैँको समय पारेर काट्नैपर्छ भन्ने माग निर्धा राजा राजेन्द्रविक्रमसमक्ष राखेका थिए । उनीहरूलाई ब्रिटिस दूतसँग मिलेमतोको अभियोग लगाइएको थियो । चिठीमा हड्सन्लाई निन्दा गर्न प्रयोग गरिएका शब्दहरू सुन्दा त्यतिबेला अर्कालाई होच्याउन चलाइने आश्चर्यजनक शब्दावलीको आभास पाइन्छ । कुनै प्रसङ्गमा हड्सन्को नाम आउनेवित्तिकै उल्लेख गरिन्छः ‘हर्चन्या (हड्सन्) थारू मुसलमान फिरङ्गी’ ।

जङ्गबहादुरः हड्सन् सेवा निवृत्त भएर लण्डनबाट दार्जीलिङ गएपछि काठमाडौँमा कोतपर्वले शहरको सम्भ्रान्त समाजको अवस्थालाई तहसनहस पा¥यो । त्यसबेला ‘पहलमान’ नामका एक जनाले उनलाई अवधी भाषामा एउटा चिठी लेखे । जसमा जङ्गबहादुरले शक्ति हत्याएको लगत्तै काठमाडौँको वातावरणको झ्ल्को आउँछ । चिठीमा भनिएको छ, ‘तपाईँ हुँदा भएको सोह्रै आना सुरक्षित व्यवस्था अहिले चारआना पनि छैन । कोही बोल्न सक्तैन, आरामले हिँड्न पाइँदैन । वास्तविक राजा जङ्गबहादुर भएका छन् । र, आफ्नो मनखुसी गर्छन् । सबै पल्टन उनका भाइहरूका मातहतमा पाटन, भादगाउँ, थापाथली र नारायणहिटीमा राखिएका छन् । तिब्बत हान्ने तयारी भइरहेको छ । राजाको दरबारमा अचेल कुनै चहलपहल छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *