हिमाल खबरपत्रिका (१–१५ माघ ,२०६१ )बाट
मुलुकको परिस्थिति बुझ्न काठमाडौँबाट मोटरबाटो भएर ढाका जानुपर्छ । नेपालका बाटाहरू भत्किएका छन्, विशेषगरी मुङलिङ–नारायणघाट खण्ड त मध्ययुगीन हुन पुगेको छ । महेन्द्र राजमार्ग, नारायणघाट–हेटौँडाको मनहरी, खरङ्गामा आजसम्म पनि माओवादी कुकृतिको चिनो स्वरुप उनीहरूले जलाएका १८ वटा ट्रकका भग्नावशेष छँदैछन् । दुइटा भग्न जीप मलेखुमा र एउटा एम्बुलेन्स धादिङमा पनि देखिन्छन् । गत हप्ता काठमाडौँबाट काँकडभिट्टा पुग्दा पाँच वटा बस र ट्रक दुर्घटना भएका देखियो, सबैमा धेरथोरको ज्यान गएको थियो । त्रिशूलीमा खसेको बसको भग्नावशेष तारले तानेर निकालिँदैथियो भने अमलेखगञ्ज नजिक राजमार्गछेवैमा एउटा बस खाडलमा जाकिएर अपत्यारिलो ढङ्गले ठडिएको भेटियो ।
धराप र एम्बुसको डरले आर्मी–पुलिस बाहिर ननिस्कने भएपछि पथलैयाको जङ्गलमा डाँकाको बिगबिगी बढेछ । फेरि को डाँका, को माओवादी भने जस्तो पनि भइसक्यो । यो खण्डमा राति ९ बजेदेखि बिहान ४ बजेसम्म ‘कफ्र्यू’ छ । बिहान झ्सिमिसेमै रात्रिबसको घुइँचो शुरु हुन्छ ।
बाटो अगाडि बढ्दै जाँदा कतै पेट्रोल पाइँदैन, कतै डिजल । कतै चियापसले बसयात्रु घटेकोमा दुःख पोख्छन् । कतै बनाउँदा बनाउँदैका होटलहरू रोकिएका छन् । लहान, इटहरी, दमक कतै पनि पहिलाको चमक छैन । ढल बिग्रिए, फूटपाथ भत्किए, प्रत्याशित विकास भएन । भवनहरूमा रङ्गरोगन छैन, सडक हाँस्दैन । चेकप्वाइन्टहरूमा सशस्त्र प्रहरी र सिपाहीहरू रुखो व्यवहार गर्छन् ।
बिर्तामोड पुग्नु केहीछिनअघि मात्र जीप र मोटरसाइकल प्रयोग गरी ब्याङ्क लुट्न आएका बन्दूकधारी माओवादीको प्रहरी टोलीसँग जम्काभेट भएको रहेछ । घटनामा दुई प्रहरीको मृत्यु भयो, तर एकघण्टापछि हामी बजार पुग्दा सबै कुरा ‘सामान्य’ भइसकेको हुन्छ । आज समाजलाई सानोतिनो भिडन्तले छुन छोडिसक्यो । तीन–चार वर्षअघिसम्म पनि पूर्वमा केही हुँदा या तराईमा कतै कुनै झडप हुँदा त्यो ‘समाचार’ बन्थ्यो ।
काँकडभिट्टा र पानीट्याङ्की छाड्दै, भारतको सिलिगुडी–जलपाइगुडी क्षेत्र छिचोल्दै र फूलबारी–च्याङ्ग्राबान्धा हुँदै दुई घण्टामा हामी बङ्गलादेश प्रवेश ग¥यौँ । बङ्गलादेश छिरेपछि रंगपुर, बोगुरा, शेरपुर र टाङ्गाइल हुँदै १० घण्टाको बाटोमा ढाका पुगिन्छ । अढाइ वर्षअघि मात्र यही बाटो पछ्याउँदै जाँदा नेपाली बाटाहरू राम्रा थिए, संरक्षित थिए र सडकछेउ सुविधा थियो । त्यतिबेला बरु बङ्गलादेशको टाङ्गाइल क्षेत्रको सडक अति नराम्रो पाइएको थियो । तर यसपालि ठीक उल्टो भयो । नेपालमा पो देखियो, जताततै बिग्रेको बाटो, असुरक्षा, दुर्घटना र नियास्रोपन … ।
रंगपुर आफ्नो क्षेत्र भएकोले कुनैबेला हुसेन मोहम्मद एर्शादले उत्तर बङ्गलादेशको लागि राम्रो उत्तर–दक्षिण राजमार्ग बनाइदिएका थिए । पाँच वर्षअघि यो भेगलाई ढाकासँग जोड्न अन्तर्राष्ट्रियस्तरको ब्रह्मपुत्र नदी (यहाँको ‘जमुना’) माथि मोटरबाटो, रेलको लिक, हाइटेन्शनलाइन र न्याचुरल ग्याँसको पाइपलाइन सबै समेटिएको पाँच किलोमिटर लामो पुल बन्यो । यो हो बङ्गाबन्धु सेतु र नेपाली आँखाले हेर्यौँ, रातिको बेला यो पुलका सयौँ स्ट्रिट ल्याम्पमध्ये एउटै पनि नबलेको थिएन ।
काठमाडौँदेखि काँकडभिट्टा जति नै दूरीमा पर्छ च्याङ्ग्राबान्धाबाट ढाका । तर न एउटै चेकप्वाइन्ट भेटिन्छ, न विद्युतीय धरापका खाडल । बङ्गलादेशमा पनि माओवादी या अर्ध–माओवादी समूहहरू छरिएका छन्, तर कतै पनि अन्न बोकेका ट्रकहरू खण्डहर बनाइएका छैनन् । राजमार्गमा बस र ट्रक ठूलो वेगले चल्ने भए पनि पूरै ६०० किमिको बाटोमा एउटा मात्र सानो ट्रक दुर्घटनामा परेको देखियो । पेट्रोल र डिजल पम्पहरू सिँगार्न र उज्यालो पार्न बङ्गलादेशीहरूको विशेष रुचि छ । आजभोलि राजमार्ग छेउ ठूला–ठूला महल जस्ता विश्रामस्थलहरू बनेका छन्, जहाँ बसका यात्रुहरू आफ्नो क्षमता अनुसार खानपिन गर्न सक्छन् ।
बङ्गलादेशका धेरै बस र अन्य गाडीहरू अब आफ्नै देशमा उत्पादित न्याचुरल ग्याँसबाट चल्न थालेका छन् र यसले पनि उनीहरूको फूर्ति बढेको छ । महिनाको १२ हजार टाकाको डिजल खपत हुने जीपमा न्याचुरल ग्याँसको लागि इञ्जिन कन्भर्जन गरेपछि चार हजार टाकाभन्दा कमको ग्याँस भए पुग्ने रहेछ । यो बङ्गलादेशी इन्धन साह्रै सस्तो र सफा भएकोले पूरै अर्थतन्त्रमा यसको सकारात्मक प्रभाव पर्न थालेको छ ।
••
नेपालको तुलनामा आजको बङ्गलादेशमा शान्ति त छ, तर पनि सबै कुरा ठीक छ भन्न मिल्दैन । विशेष गरी ढाका शहरमा धन र कमाइको केन्द्रीकरण भएको छ र सरकारमा घूसखोरी आकाशिएको छ । अवामी लिग र बाङ्लादेश नेश्नलिस्ट पार्टीले कुकुर–बिराला जस्तो झगडा गर्न छाडेका छैनन् । राष्ट्रियस्तरमा व्याप्त राजनीतिको दुर्गन्धले सबैलाई दिक्दार बनाएको छ । तर पार्टीहरूसँग रुष्ट हुँदाहुँदै पनि बुद्धिजीवीहरू बहुलवादलाई त्याग्न तयार छैनन् । एक सक्रिय ‘सोसल एक्टिभिस्ट’ को भनाइ थियो, “सैनिकवाद र अधिनायकवादको गोप्य लुटभन्दा बरू यही ठीक । हामीले जत्तिकै बिग्रेको ठाने पनि लोकतान्त्रिक अभ्यासले गन्ध त सुँघाइदिन्छ । जसोतसो समाज अगाडि त बढ्दैछ । चित्त नबुझेको कुराको लागि सर्वोच्च अदालत झ्क्झ्काउने बानी बसालेका छौँ ।”
आजका नेपाली माओवादीको भविष्य कतातिर लाग्ला भन्ने जिज्ञासा उठेको बेला बङ्गलादेशको ‘शरबोहारा’ नामक तितरवितर पारिएको माओवादी पार्टीको अवस्थाले केही बताउँछ । धेरै ठाउँमा तथाकथित माओवादीहरू ‘मस्तान’ (गुण्डाका नाइके) मा परिणत भएका छन् र स्थानीय तवरमा आतङ्क, विध्वंस र अपहरण जस्ता काममा व्यस्त छन् । कतैकतै यिनीहरूले ठूला दुई दलका लागि गुण्डागर्दीको सेवा पनि पुर्याएका छन् । सिद्धान्त सम्झ्ने धेरै छैनन् । यो प्रवृत्तिलाई खत्तमै गर्ने भनेर सरकारले ‘¥यापिड एक्सन बेटोलियन’ खडा गरेको छ । कालो चस्मा र कालो पोशाक लगाउने यो विशेष फोर्सका एलिट सिपाहीहरूले दिनमा दुई–चार जनालाई ‘एन्काउण्टर’ मा मार्दै आएका छन् । मानवअधिकारवादी बोल्दैनन् ।
बङ्गलादेशमा बाटो राम्रो छ । तर, गरीब र धनीबीचको दूरी बढेको छ । ढाका र गाउँ जिल्लाबीच फाटो बढ्दो छ । यस्तो असन्तुलित विकासक्रम असह्य भएपछि फेरि अर्को एउटा अतिवादी चुनौती आइलाग्न सक्छ । नेपालको आजको जस्तो अवस्था बङ्गलादेशले पार गरिसकेको हो या पार गर्न बाँकी नै छ, भन्न गाह्रो छ ।