हिमाल खबरपत्रिका (१६–३१ असार ,२०६१)बाट
दुई शताब्दीअघि अमेरिकाको स्वतन्त्रता सङ्घर्षका क्रममा त्यहाँ त्यस्ता दार्शनिक–राजनीतिज्ञहरू पैदा भए, जसलाई आज हामी नेपालमा ‘भिजनरी’ भन्न रुचाउँछौँ । युरोपको राजनीतिक इतिहासमा पोख्त ती दूरदर्शी व्यक्तिहरूले स्वतन्त्रताको घोषणापत्र (डेक्लेरेशन अफ् इन्डिपेन्डेन्स्) मात्र तयार पारेनन्, उपनिवेश शक्तिसँग लडाइँ पनि लडे । उनीहरूले स्वतन्त्रता प्राप्तिपछि त्यतिबेलाका १३ वटा ‘राज्य’ बीच समन्वय कायम गरेर संघीय राज्य र उदार एवं उपयोगी संविधानको निर्माण गरे । त्यतिमात्र हैन, तत्कालै संविधान संशोधन गरेर त्यसमा अपुग भएको ‘विल अफ राइट्स’ जस्तो मानवअधिकारको रक्षा गर्ने मूल दस्तावेज पारित गरे । तर ठूलो लक्ष्य प्राप्तिपश्चात् यस्ता उच्चतम् व्यक्तित्वहरूको पनि कस्तो पतन हुँदोरहेछ भन्ने तथ्य हाल अमेरिकामा ‘बेस्टसेलर’ हुन गएको इतिहासकार रन् चेर्नोको ‘अलेक्जान्डर ह्यामिल्टन’ नामक किताबले स्पष्ट पार्दछ । चेर्नेले प्रस्तुत गरेको दुई सय वर्षअघिको अमेरिकाको राजनीतिक अवस्थाको चित्रणले आजका हाम्रा राजनीतिज्ञहरूको अनैतिकता, अनुत्तरदायीपन तथा निजी स्वार्थ, अहङ्कार र महŒवाकांक्षाबारे बुझन राम्ररी सघाउँछ ।
किताब एउटा ६०८ पानाको वायोग्राफी हो, ह्यामिल्टनको । अमेरिकी स्वतन्त्रता सङ्ग्रामका सैनिक कमाण्डर र संयुक्त राज्य अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङ्गटनको सबैभन्दा निकटका ‘एड’ (सहयोगी) ह्यामिल्टन पछि गएर अमेरिकी राज्यसंयन्त्रकै सूत्रधार बन्न पुगे । नयाँ संविधान र तदर्थ नयाँ राज्यको अर्थतन्त्रको जग बसाल्न ह्यामिल्टनको जस्तो योगदान शायद अरूको छैन किनभने अमेरिकी संविधानको व्याख्याकार उनी नै भए, दर्जनौँ लेख रचनाहरूमार्फत् र विशेषगरी ‘फेडरलिष्ट पेपर्स’ भन्ने गहिरो चिन्तनको सँगालोको कारण । ह्यामिल्टनको जीवनी लेख्ने क्रममा अमेरिकाका ‘फाउण्डिङ्ग फादर’ हरू बारे गहन अनुसन्धानबाट उत्खनन् गरिएका भित्री तथ्यहरू प्रकाशमा ल्याएका छन् चेर्नोले । एकातर्फ राज्यको ऐतिहासिक मोडमा ह्यामिल्टन लगायत अरू व्यक्तित्वहरूको निःस्वार्थ उच्च आदर्श सहितको स्वतन्त्रताको लडाइँ तथा संविधान निर्माणमा पु¥याएको योगदान झ्ल्किन्छ भने अर्कोतर्फ स्वतन्त्र राज्य सञ्चालन गर्ने मौका उनीहरूको हात मात्र के परेको थियो, एक घिनलाग्दो राजनीतिक वातावरण सिर्जना भएको देखिन्छ । जुन वातावरणमा जस्तोसुकै खालको गालीगलोज, आरोप–प्रत्यारोप गर्न सबैलाई छुट हुन जान्छ । यस्तो राजनीतिक वातावरणले गर्दा एकातर्फ राज्यकै विखण्डन तथा अर्कोतर्फ बेलायत अथवा फ्रान्सबाट हुनसक्ने हस्तक्षेपको सम्भावना बढ्न गयो र भर्खरै जन्मेको त्यो संयुक्त राज्य अमेरिका एक्कासी नतमस्तक बन्न पुग्यो । राज्यको संयन्त्रले राम्ररी काम गर्न पाएन र अर्थतन्त्र पनि धराशायी बन्दै गयो । स्वार्थी व्यापारीहरूले पनि यस्तो अवस्थाको फाइदा लिए र जनतामा आक्रोश सबै कुराको खिलाफमा फैलियो ।
रन् चेर्नोको प्रस्तुतिमा एउटा गैरमहŒवाकांक्षी जर्ज वाशिङ्गटन मात्र हिलो र फोहोरबाट माथि रहन्छन् । नत्र अमेरिकी इतिहास जान्ने सबैले नाम सुन्दै आएका थमस् जेफर्सन्, जन एडम्स्, जेम्स् मोन्रो, जेम्स् मेडिसन (जो सबै पछि अमेरिकी राष्ट्रपति पनि भए) तथा ह्यामिल्टन लगायत संविधानका निर्माता मानिने अन्य नामुद व्यक्तित्वहरूको पर्दाफास गरिएको छ । यी सबैमा आफ्नो स्वार्थको कुरा पर्न गएमा सिद्धान्त बिर्सन सक्ने क्षमता देखा पर्दछ । एकापसको रिसइवी त्यतिबेलाका चिठ्ठीपत्रहरूमा स्पष्ट देखिन्छ । खुट्टा तान्ने प्रवृत्तिले सीमा नै नाघेको पाइन्छ । त्यही समयको वैचारिक र व्यक्तिगत मतभेदले रिपब्लिकन र फेडरलिस्ट पार्टीको विभाजन शुरु हुन्छ– एकतर्फ जेफर्सन र म्याडिसन र अर्कोतर्फ वाशिङ्गटन र ह्यामिल्टनको नेतृत्वमा । दुवै खेमा एकअर्कोलाई देशद्रोहीको आरोप लगाउँछ बेलायत या फ्रान्सको पिठ्ठू भन्दै । एकअर्कालाई जासूस, निकम्मा, बुद्धिहीन, पाखण्डी, सैनिकीकरणको मनसाय भएको, राजतन्त्र फिर्ता ल्याउन खोज्ने आदि आरोप लगाउन कोही पछिपरेनन् । वेश्या प्रवृत्तिको आरोप लगाइएन कि, दोगलाको हल्ला फिँजाइएन कि, तथ्यहीन भ्रष्टाचारको आरोप लगाएन । केही वर्षअघि सम्मका स्वतन्त्रता सेनानीहरूमाथि बेलायतको हातमा मुलुक सुम्पिन खोजेको भन्ने जस्ता आरोप पनि लाग्यो ।
त्यतिबेलाको अमेरिकामा पत्रपत्रिकाको सङ्ख्या एक्कासी वृद्धि भए पनि तिनको स्तरमा भने प्रश्नचिह्न थियो । उच्चतम व्यक्तिहरूले एकापसलाई गाली गर्दा आफ्नो नाउँ नखुलाउने चलन थियो । कोठाभित्रका फोहोरी सबै कुराहरू आक्रोशित राजनीतिक खेमाहरू आ–आफ्नो दुश्मनको बद्नामी गर्न अखबारमार्फत् बाहिर ल्याउँथे । झ्गडाले सीमा नाघेपछि आफ्नो अपहेलना भयो भनेर ठान्ने पुरुषहरू एकअर्कालाई पिस्तोलको ‘डुएल’ मा आउन हाँक दिन्थे, जसमा धेरैको मृत्यु पनि हुन्थ्यो । यस्तै एउटा ‘डुएल’ मा ह्यामिल्टन स्वयंको पनि मृत्यु हुन पुग्यो ।
रिपब्लिकन र फेडेरलिस्ट तथा ती दलहरूभित्रै विभिन्न व्यक्तित्वहरूबीचको तिक्तता यति बढ्न गयो कि एकातर्फ विदेशीसामु त्यो नयाँ राष्ट्र एकदमै कमजोर बन्यो भने अर्कोतर्फ एकजुट भएका १३ राज्यबीच विखण्डनको सम्भावना बढ्दै गयो, विशेषतः व्यापार र आधुनिक अर्थतन्त्रमा केन्द्रित पूर्वी राज्यहरू र दास प्रथा र सामन्ती ‘प्लान्टेशन’ अर्थतन्त्रको भरमा अडेका दक्षिणी राज्यहरूबीच । तर विखण्डनबाट त्यो नाबालक शिशु राज्य बच्न सफल भयो; जनता र अङ्ग अङ्गबीच त्यत्रो ठूलो खाडल उत्पन्न हुँदा पनि । यो कसरी हुन गयो ? त्यतिबेला सं.रा.अ. मुलुक नफुट्नुको कारण यिनै व्यक्तित्वहरूले तयार पारेको संविधान र यसको विस्तृत व्याख्या थियो, जसको खिलाफमा ठूलै वैमनस्यता र अति तल्लोस्तरको राजनीतिक प्रतिस्पर्धा हुँदा पनि कसैले सफलता पाउन सकेन । त्यो संविधान र यसको व्याख्याको प्रभावले अन्ततोगत्वा देशलाई बचाइदियो राजनीतिज्ञ जतिकै झ्गडालु भए पनि, र देश दिनानुदिन बलियो हुँदै गएर हामीले चिन्ने संयुक्त राज्य अमेरिका बन्न पुग्यो । अहिले नेपाल राज्यको जग बसाल्ने क्रममा पनि हामी छौँ, र राजनीतिज्ञहरूको अकर्मण्यता र अनुत्तरदायीपन त हरेक दिन झ्न् स्पष्ट हुँदै गएको छ । तर दुई शताब्दी अगाडिको उदाहरणले यो देखाउँछ कि राजनीतिज्ञ भन्ने प्राणी नै यस्तै हुन्छन् ।
राजनीतिज्ञले बिगार्न खोज्दा देशलाई बचाउने र बचाउने संविधान र त्यसको व्याख्या हुँदोरहेछ । संसारका राम्रा संविधानहरू समेत नियालेर बनाइएको नेपाल अधिराज्यको संविधान २०४७ राम्रो डक्यूमेन्ट हो, र यसको व्याख्या र परिमार्जनमै देश जनताको भविष्य बाँधिएको छ । तर यही संविधानलाई सबैले हेर्दाहेर्दै खत्तम पारिँदैछ, र यसको पक्षमा कसैले बलपूर्वक वकालत गरेको सुनिँदैन । राजावादी शक्ति र माओवादी शक्तिलाई यो संविधान सिध्याउनै मनपर्दो हो । उता यो संविधानको ठाउँमा अर्को ल्याउन संविधानसभाको वकालत थोरैले सैद्धान्तिक आधारमा गरिरहेका छन् भने बाँकीले राजालाई तर्साउन या माओवादीलाई रिझउन त्यसो गरिरहेछन् । सामु रहेको संविधानकै वकालत चाहिँ थोरैले मात्र गरेको पाइन्छ । सबैलाई नयाँ चीज चाहिएको छ । तर के र कसरी ? शायद त्यो चाहिँ कसैलाई पनि यकिन थाहा छैन ।