अध्यक्ष प्रचण्डः ‘जनता दुब्ला भया’

हिमाल खबरपत्रिका (१–१५ फागुन २०६२) बाट

क.प्रचण्डलाई चिठी

प्रिय पुष्पकमल दाहालजी,

ई–कान्तिपुर

तपाईँको ‘कान्तिपुर’ दैनिक तथा भारतको ‘द हिन्दू’ पत्रिकामा प्रकाशित अन्तर्वार्ता पढ्ने मौका मिल्यो । तपाईंहरू अब बहुदलीय प्रतिस्पर्धाअन्तर्गत लोकतान्त्रिक शासनपद्धति मान्न तयार हुनुभएको जान्न पाउँदा हर्षको सीमा रहेन । रोल्पाको प्लेनम्को निर्णयले हिंसामा विश्वास नगर्ने संसदीय दलहरूलाई तपाईंसँग सहकार्य गर्न सम्भव बनाइदियो । उनीहरूले यस्तो उदारता देखाउन तपाईंको बहुदलीय प्रणालीप्रतिको आस्थाको प्रमाण चाहिएको थियो, त्यो प्लेनम्ले दियो ।

दाहालजी, नेकपा (माओवादी) का धेरै राम्रा पक्ष नभएका होइनन् । एक त यो पूरै स्वदेशी शक्तिद्वारा सञ्चालित आन्दोलन देखिएको छ । अर्को, यसले वर्गीय सङ्घर्षको अभियान चलायो, न कि जातीय सङ्घर्षको । दुवै कारणले गर्दा यो द्वन्द्व अन्यत्रभन्दा समाधान गर्न अलि सजिलो भएको अनुमान गरेकै बेला सार्वजनिक तपाईंका पछिल्ला अभिव्यक्तिले त झ्न् त्यो हो कि जस्तो पनि लाग्न थालेको छ ।

तर पनि पुरानै कुरा नदोहोर्याई रहन सक्तिनँ । सामाजिक क्रान्ति गर्ने चुनौतीपूर्ण र जरुरी अभियानमा नलागेर तपाईंहरू सशस्त्र क्रान्तिमा लाग्नुभयो । पहिलो बाटो अपनाएको भए लोकतन्त्रको क्रमशः सुदृढीकरण हुनेथियो, यतिका नेपालीको ज्यान जाने थिएन । समाज निकै अगाडि बढ्थ्यो । आजको नेपालको दुई प्रतिशतभन्दा कम आर्थिक वृद्धिदर भारत, पाकिस्तान र बङ्गलादेशको ६ देखि ८ प्रतिशतको हाराहारीमा पुग्नेथियो । राजा दरबारमै बन्दी रहनेथिए, सेनाको आकार बढ्ने थिएन र गैरमहत्वाकांक्षी फौजका रूपमा सेना व्यारेकमै रहने थियो । नेपालको मामिलामा विदेशीहरूको यत्रो बोलवाला पनि हुने थिएन ।

अझै पनि आमजनता तपाईंहरूको पक्षमा छन् भन्ने प्रमाण छैन, किनभने गाउँगाउँमा तपाईंहरूको प्रभाव त स्वतन्त्र र निर्भिक जनसमर्थनबाट नभई बन्दूकको आडमा भएको हो । पश्चिमा अवधारणामा ढालिएको धर्म विरुद्धको तपाईंहरूको अभियानले मुलुकको धर्म संस्कृतिमा आघात पुगेको छ, कैयन् मेला र पर्व बन्द भएका छन्, ग्रामीण भेकमा । समाजको जग हल्लाउने गरी तपाईँले विद्रोह नगरेको भएपनि विकृतिहरू हट्ने नै थिए । हालैका तपाईंका दुई अन्तर्वार्तामा नआएको कुरा के छ भने ‘जनयुद्ध’ त २०४६ सालको लोकतन्त्र बहालीको ६ वर्ष नपुग्दै थाल्नुभएको हो । लोकतन्त्रले वामे सर्दै गर्दा शुरु गर्नुभएको अभियान थियो त्यो ‘सशस्त्र विद्रोह’ । कुनैबेला जनजाति संसारको संवेदनशीलताको फाइदा लिन स्वायत्त प्रदेशको कुरा गर्दै हिँड्नुभयो, जुन कुरा नेपाललाई चाहिने सहज ‘फेडेरलिज्म’ अन्तर्गत पर्दैन । तपाईंहरूले राष्ट्रियस्तरका एउटै तस्कर वा फटाहालाई ‘कार्वाही’ गर्नुभएन तर गाउँगाउँका कैयौँ शिक्षक, राजनीतिक कार्यकर्ता र श्रमिकको हत्या गराउनुभयो । बाल सैन्यको भर्ती गर्नुभएको छ, विद्यार्थी अपहरण गर्दै विद्यालय रित्याउनुभएको छ । सफाया, चन्दा असुली आतङ्क, नाकाबन्दी, बन्द र थरीथरीका जनकार्वाहीले शहरिया हुनेखाने भन्दा गाउँगाउँका गरीबलाई आतङ्कित पार्यो । ‘जनयुद्ध’को भयले गाउँगाउँ रित्यायो र आज भारत, खाडी र मलेसियामा बजारभाउ भन्दा थोरैमा काम गर्न लाखौँ नेपाली युवा–युवतीहरू बाध्य भएका छन् ।

समय बित्दै जाँदा आफ्ना सैन्य क्रियाकलाप एम्बुस र धरापमा केन्द्रित गर्न बाध्य हुनुभयो । पुल, रिपिटर टावर, स्वास्थ्यचौकीजस्ता राष्ट्रिय संरचनाहरू पड्काउँदा क्रान्ति गरेको अनुभव भयो तपाईंलाई र सदरमुकामहरूमा सरकारी भवन र कार्यालयहरू ध्वस्त पार्दा सफलताको महसूस भयो ।

दाहालजी, तपाईं समक्ष यो गुनासो गर्दा वर्तमान मन्त्रिपरिषदका अध्यक्ष तथा अहिलेको सत्ताको पक्षमा बोलेको नठान्नुहोला । राजा ज्ञानेन्द्रको गैरसंवैधानिक र निरङ्कुश एजेण्डा नाङ्गिइसकेको छ । त्यस्तै, शाही नेपाली सेनाको सामरिक हेलिकप्टरबाट मोर्टार र बम झर्नेदेखि, मानवअधिकारको हनन् गरी लोकतन्त्र दमन गर्ने कदमको समर्थन गर्न खोजिएको पनि होइन । यो पत्रमा तपाईंले हिंसाको आडमा वामेसर्दै गरेको लोकतन्त्र मास्दै जनताको वर्तमान र भविष्यसँग खेलवाड गरेको आरोप लगाउन खोजेको हुँ ।

तर एकदशको ‘जनयुद्ध’पछि भने तपाईंको चेत खुले जस्तो छ । सेनाले आक्रमण गर्न नसके पनि आफ्नो प्रतिरक्षा गर्न विभिन्न मिनिमी बन्दूक, माइन् र काँडेतारको भरमा सफल भएपछि तपाईंहरू सदरमुकाम ध्वस्त गर्ने क्रममा लाग्नुभयो । तर जिल्ला सदरमुकामहरूमा रातभर आक्रमण गरेपनि तपाईंहरूले एउटै जिल्लालाई पनि वास्तविक आधारक्षेत्र, ‘कम्प्याक्ट जोन’ बनाउन सक्नुभएन । आफ्ना लडाकुलाई ‘मोटिभेट’ गर्न पनि गाह्रो पर्दै गयो होला, किनकि बन्दूकको आडमा राज्यसत्ता हत्याउन सक्ने सम्भावना नजिक आउँदै आएन । सरकारलाई राज्य सञ्चालन गर्न साह्रै अप्ठेरो पर्दा पनि राज्य आफ्नो बनाउने र राजधानीमा रजाइँ गर्ने तपाईंको आकाङ्क्षा पूरा नहुने तपाईंकै केन्द्रीय समितिका सहयोगीहरूले बुझनुभयो । उता अन्तर्राष्ट्रिय दबाब र दक्षिण एसियाली भू–राजनीतिक अवस्थाले पनि हिंसा नत्यागेका माओवादीलाई सत्तामा आउन दिने सम्भावना देखिएन । फेरि जुन दिनदेखि नयाँदिल्लीले नेपालको द्वन्द्वलाई आफ्नो आन्तरिक सुरक्षासँग सीधै गाँसेर हेर्न थाल्यो र तपाईंहरूको चलखेलविरुद्ध कम्मर कस्न थाल्यो अनि बल्ल तपाईंहरूको वैचारिक धरातलमा १८० डिग्रीको मोड आयो ।

अन्तर्वार्ताहरूमा व्यक्त गरेजस्तै उच्च सोच र अग्रगामी विश्लेषणको आधारमा मात्र तपार्इंहरूले आफूलाई परिवर्तन गर्नुभएको होला भनेर पत्याउन कठिन छ । तर तपाईंहरूले क्षेत्रीय भू–राजनीतिक र राष्ट्रिय वास्तविकताका कारण आफ्नो १० वर्षे सशस्त्र यात्रालाई दिनुभएको यो मोड रोज्नुभएको होला भनी विश्वास गर्न सकिन्छ । यही मोडले माओवादीलाई आज बहुदलीय शासनप्रणालीको वकालत गर्ने संस्था बनाइदिएको छ । देशभित्र मात्र होइन, विश्वमै यसलाई कम्युनिष्ट आन्दोलनको नयाँ प्रयोग गरिएको दाबी गरिँदैछ । अझ्, भारतका माओवादीहरूलाई पनि बहुदलीय बाटोतर्फ अग्रसर हुन सहयोग पुग्ने तपाईंको चाहना देखियो । यो अति उत्तम सोच हो । र, यो सैद्धान्तिक र वैचारिक विचलनलाई ‘छलाङ’ भन्न पनि म तयार छु, यदि यसले मुलुकमा शान्ति र लोकतन्त्रको एकसाथ पुनर्वहाली गर्दछ भने । यस अर्थमा पनि चिन्तित तर समर्पित नेपाली खुशी छन् कि खमेररुजको बर्बरताबाट तपाईंहरू बच्नुभएको छ, जबकि माडीको जस्तो काण्डले नेकपा (माओवादी) लाई त्यो दिशातर्फ घिसार्न खोजेको थियो ।

वास्तवमा रगतमाथि जति नै खेल गरेपनि तपाईंको सङ्गठनको राजनीतिक मुटु भने बलियो नै रहेछ, ताकि रगत र पीडाको खोलो बगाएर राज्यशक्ति आफ्नो हुने नदेखेपछि तपाईंहरूले रोल्पा प्लेनम्मार्फत् बहुदलीय प्रतिस्पर्धाको बाटोमा आउने निधो गर्नुभयो । दलहरू कमजोर भएर तपाईंहरूसँग १२ बुँदे सम्झैता गरेका होइनन् कि तपाईंहरूले हिंसाको आडम्बर त्यागेर शान्तिपूर्ण प्रतिस्पर्धामा आउने मनसाय दर्शाएपछि उनीहरूले ठाउँ दिएका हुन् ।

आज तपाईं र सहयोगीका कलम र जिब्राबाट शान्तिप्रेमी वक्तव्य आउँदा झ्ण्डै १५,००० ज्यान द्वन्द्वमा गुमाइसकेको मुलुक बँच्न सक्छ कि भन्ने आश जागेको छ । त्यसकारण तपाईंहरूले गल्ती गरेको कुरा दोहोर्याइराख्न मन लाग्दैन, बरु कसरी तपाईंका सहकर्मी र ‘क्याडर’लाई सुरक्षित अवतरण दिने भन्नेतर्फ ध्यान दिनु जरुरी छ– उत्तरदायित्वबोध भएको जो–कोही नागरिकले । तपाईंहरूको हिंसा र विध्वंस मच्चाउन सक्ने क्षमताले आखिर तपाईंको शक्ति र प्रभाव दर्शाउँदैन, यो त यस प्रकारको छापामार युद्धको विशेषता नै हो । तसर्थ, ग्रामीण वर्गले होस् वा तपाईंले भन्नुभएको शहरिया मध्यमवर्ग, सबैले माओवादीको प्रेषित नयाँ अनुहार र एजेण्डालाई ठाउँ दिनुपर्दछ– तपाईंहरूका आजसम्मको गल्तीलाई बिर्सिएर होइन कि भोलिका दिनमा देश, समाज र अर्थतन्त्रलाई राहत दिन ।

ग्रामीण र शहरिया वर्गले बिर्सने छैनन् कि आखिर तपार्ईंको र राज्यपक्षको बन्दूकले तारो बनाएका शान्तिपूर्ण परिवर्तनमा विश्वास गर्ने आन्दोलनरत् निरस्त्र संसदीय दलहरू नै मुलुकलाई अगाडि लाने शक्ति हुन् । यही बाटोतर्फ लाग्न तपाइँहरूले पनि निर्णय लिएको देखिन्छ । तपाईंहरूको त्यो निर्णयलाई मान्दा त्यसबाट दुई अर्थ निस्कन्छन्ः पहिलो, माओवादीले जनयुद्धको मार्ग त्यागेकाले शान्तिको बाटोमा मुलुक लागिसकेको । दोस्रो, अब माओवादीको हातमा रहेको बन्दूकको सैद्धान्तिक औचित्य छैन, त्यो बन्दूक राजनीतिक नभई मात्र शक्तिप्रदर्शन र हिंस्रक दबाबको यन्त्र बनेको छ । जबसम्म यो बन्दूक बिसाइँदैन तबसम्म तपाईंको विचार र क्रियाबीचको विरोधाभास जनताबाट लुक्ने छैन ।

हुन पनि ‘स्टेट्सम्यान’ को रूपमा तपाईंको वक्तव्य आइरहेकै बेला ऐतिहासिक जिल्ला सदरमुकामहरू जलिरहेछन्, शहर–बजारमा बम र बारुदको विगविगी छ । तपाईंको सामरिक शक्तिलाई ‘छिटफुट आपराधिक गतिविधि’ जस्ता शब्दले पन्छाउन नसक्ने भएको हुँदा यो विरोधाभास हटाउन तुरुन्त तपाईँको पार्टीले युद्धविराम घोषणा गर्नु जरुरी छ । हुन त शाही सत्ताले पहिला तीन र थपिएको एक गरी चारमहिने युद्धविरामलाई लम्ब्याउने वातावरण तयार गरेन, तरपनि माओवादीको विलिन हुँदै गएको राजनीतिक छविलाई यसले फेरि उजागर गरेको थियो । त्यसपछि पुनः शुरु गरिएको हिंसा र आगजनीले प्राप्त राजनीतिक छविलाई धमिल्याइदिएको छ ।

हो, हामीलाई थाहा छ माओवादीका उत्तेजित लडाकु र ‘क्याडर’लाई लोकतान्त्रिक मार्गमा डोर्याउन पनि संवैधानिक शक्ति र नागरिक समाजको सहयोगको आवश्यकता पर्दछ । एक त सिद्धान्ततः यत्रो घमासान भइसकेपछि सीधै बहुदलीय प्रतिस्पर्धामा जाने कुरा मनाउन गाह्रो पर्दछ । अर्को, बन्दूकको भरमा शक्ति सञ्चालन गरिरहेका जिल्ला र ग्रामीण भेकका बन्दूकधारी कमिसार, कार्यकर्ता र लडाकुले बन्दूक त्यागे आफ्नो जीउज्यान खतरामा पर्ला भन्ने पीर पक्कै हुन्छ । यसकारण पनि तपाईंहरूलाई सम्मानजनक र सुरक्षित अवतरण चाहिएको छ । तर आजको शाही सत्ता त्यस्तो सुरक्षित अवतरणको मौका दिने पक्षमा देखिँदैन । बरु तपाईंहरूले धेरै दुःखकष्ट दिएका राजनीतिक दलहरू नै जनताको बृहत् भलाइ र समाज रुपान्तरणको अभियानलाई कदर गर्दै विद्रोहलाई सुरक्षित अवतरण दिने पक्षमा छन् । यसलाई तपाईंहरूले दलहरूको कमजोरी ठान्नु भूल हुनेछ ।

दाहालजी, आजको दिनमा जति तपाईं द्वन्द्व चर्काउनुहुन्छ, उति शाही सत्ताको हात बलियो हुनेछ । तपाईंहरूले पाल्पा ध्वस्त पार्नु भो, धनकुटा ध्वस्त पार्नुभयो, ठाउँठाउँमा प्रहरी र सेनाका जवानलाई पराजित गर्नुभो, कैयाँैलाई मार्नुभयो । तपाईंको विध्वंस मच्चाउन सक्ने शक्तिको प्रमाण पर्याप्त भइसक्यो, अब अरू चाहिएन । तपाईंका लडाकुलाई यही रगत र ध्वंसको धूवाँमा ‘मोटिभेट’ गर्नुथियो भने त्यो पनि लक्ष्य शायद पूरा भइसक्यो । तसर्थ, रोल्पा प्लेनम्बाट पारित प्रस्ताव, दलहरूसँगको बाह्रबुँदे सम्झैता र तपाईंका कान्तिपुर दैनिक र भारतको हिन्दू दैनिकका अन्तर्वार्ताको शब्द र मर्म अन्तर्गत हिंसा अविलम्ब बन्द गर्नु नै राम्रो ।

युद्धविरामको घोषणा चाहिएको छ, तपाईंहरूबाट, ताकि राजाको शक्तिमा ह्रास होस्, जबकि तपाईंको निरन्तर आक्रमणले शाही सत्तालाई बल मात्र प्रदान गर्दछ । उता तपाईंको युद्धविरामले दलहरूको शान्तिपूर्ण आन्दोलनले ऊर्जा प्रदान गर्नेछ । शान्तिपूर्ण जनआन्दोलनले राजाको आकांक्षालाई पराजित गर्दा संविधानसभाको योजनाले पनि ऊर्जा पाउनेछ । तर संविधानसभाको आह्वान त्यतिबेलासम्म विश्वसनीय हुने छैन जतिबेलासम्म तपाईंहरू निरन्तर युद्धविरामतर्फ उन्मुख हुनुहुँदैन । उता तपाईंले आफ्ना कार्यकर्ता र लडाकुलाई नव शान्तिपथमा उन्मुख गराउन चाहिएको ‘चारा’ संविधानसभा हो भने यसको लागि पनि युद्धविराम जरुरी छ । युद्धविराम, बन्दूक बिसाउने प्रक्रिया, अनि शान्ति, शान्ति, शान्ति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *