हिमाल खबरपत्रिका (भदौ ६, २०८१) बाट
बागमती प्रणाली मलमूत्रमय बन्दा शहरवासी किन उदासीन?
इन्जिनीयर र संस्कृतिविद् हुतराम वैद्यले भने झैं नेपालमण्डलको सभ्यतालाई बागमती नदी प्रणालीले सिञ्चित गर्दै बनाएको हो। तर तीन-चार दशकयता निरन्तरको जनसंख्या विस्फोटले यहाँको वातावरण नराम्ररी बिथोलेको छ, जसले रैथाने र आगन्तुक समुदायका सबैलाई सताइरहेको छ। धूवाँ र धूलोले यहाँको हावा प्रदूषित छ, यातायातका साधनको चाप थेगिनसक्नु छ, नदी जति नदी भनेर चिन्नै नसक्ने बनेका छन्।
बागमती र सहायक नदीलाई पर्खाल र सडक ‘करिडोर’ भित्र बाँधेका छौं, २०२१ सालको नापीले निर्धारण गरेको नदीको आफ्नो जग्गा हडपेका छौं। यससँगै समस्या हो, बागमतीमा फ्याँकिने फोहोर (‘सलिड वेस्ट’) र खन्याइने मलमूत्र। शहरी बसोबासको विशाल माग र सामाजिक-आर्थिक भेलसामु बागमतीको संस्कृति र धार्मिक पहिचानको केही लागेन। बागमती प्रणाली मलमूत्रमय भयो।
करीब दुई दशकअघि फोहोर र दुर्गन्धका कारण मानिसहरू बागमती, विष्णुमती तटमा उत्रनै छाडे। नदीछेउ जनसाधारणलाई ल्याउनुपर्यो भनेर केही अभियन्ता र स्थानीय जनप्रतिनिधिले नदीछेउ वा प्राकृतिक र सांस्कृतिक सम्पदा गाँसेर पैदलमार्ग (‘प्रोमेनाद’) बनाउने कुरा गरे। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, एशियाली विकास ब्यांक (एडीबी) इत्यादिले काम थाले। पुराना घाटको जस्तो गरी खुड्किला र ‘भकारी’ राख्नुपर्नेमा दुवैतिर ठाडो पर्खाल बनाइनु संस्कृति र बहाव विज्ञान विपरीत छ, तर पनि धेरै ठाउँमा अब प्रोमेनाद बनेको छ भने अन्यत्र जाने ठाउँ नै नभएपछि अब शहरिया नदी किनारमा देखिन थालेका छन्, व्यायामका लागि होस् या दृश्यावलोकनका लागि। दुर्गन्ध र फोहोर खेप्नुपर्दा अब त जुझारुपन जाग्छ कि, आश गर्ने ठाउँ छ।
आजभोलि बागमती नदी जल महोत्सव चलिरहेछ, कहिल्यै नथाक्ने नदी संरक्षण अभियन्ता मेघ आलेको अगुवाइमा र कुपन्डोलको फ्रेन्ड्स क्लबको साथमा। जलयात्रा, कविता वाचन, ‘डुंगा दौड’, नदीलाई बाजा सुनाउने इत्यादि कार्यक्रम भइरहँदा नदीछेउ जाने मौका फेरि जुर्यो। त्यहाँ पुग्दा देखियो, हालैको बाढीले किनारमाथिका नयाँ पर्खाल र रेलिङलाई पातपतिंगर र प्लास्टिकले ढपक्कै ढाकिदिएको छ। यसले आजभोलिको ‘सलिड वेस्ट’ भनेकै मुख्यत: प्लास्टिक हो भन्ने पुष्टि हुन्छ (हेर्नुहोस् भिडिओमा)।
भेलले अनेक थरीका प्लास्टिक फोहोर (‘आयो नुन’ पुरियादेखि बच्चाको डाइपर, शपिङ ब्याग, कोक बोतल, इत्यादि) बागमती किनारमा केही मात्रामा यसरी अड्काउने हो, बाँकी त तल तराई पुग्छन्, कति गंगाजीमा मिसिएलान्, अनि समुद्रसम्म पुग्लान्। विश्व वातावरणलाई यो ‘एन्थ्रोपोसिन’ युगको अवसरमा नेपालमण्डलको तर्फबाट उपहार!
यतै रहेको प्लास्टिक फोहोर त कुनै दिन उठाऔंला, अझै विकराल समस्या चाहिं प्रशोधन विना बागमती प्रणालीमा मिसाइने ढल नै हो। धन्न ‘सन्तोष’ मान्न सकिने पाटो भनेको उपत्यकामा धेरै उद्योग नभएकाले ढलको ‘पानी’ मा रसायनको मात्रा कम छ। तर ढल अविरल बग्दछ यहाँ।
यो ‘ढलमती’ बाट कसरी पुरानै अवस्थामा फर्काउने चिन्ता र चिन्तनको विषय हो। यसबारे संकथन अगाडि बढ्न सकेको छैन, तर ढिलो-चाँडो यो समस्यासँग आँखा जुधाउनै पर्छ। र सजिलो बनाइदिएको छ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दिएको हालैको नदीको आफ्नो अधिकारबारे निर्णय र आदेश। आजसम्म उपत्यकावासीलाई बागमतीमा आफ्नो मलमूत्र मिसाएकोमा चासो देखिंदैन, प्रशोधन केन्द्र कति छन् वा छैनन्, मलमूत्रलाई व्यवस्थापन कसरी गर्ने, छलफल हुँदैन।
चार दशकअघि विश्व ब्यांक अन्तर्गतको ‘आईडीए’ संस्था मार्फत ढल प्रणाली र पाटनको कोड्कु (बालकुमारी) र चोभारछेउ सुन्दरीघाटमा ढल प्रशोधन केन्द्र निर्माण भए। तर ती ‘मल पोखरी’ प्रयोगमा आएनन्।
पछिल्लो समय एडीबीको लगानीमा ढलका लाइन फेरि बिछ्याइँदै छन्, तर भएका प्रशोधन केन्द्र कहिले चल्नेछन्, थप कति चाहिन्छन्, अत्तोपत्तो छैन। न यसमा आमचासो छ, न त खोज पत्रकारिता नै। एकातर्फ जनचासोको अभाव छ भने बागमतीको मुहानमा ठूल्ठूला संरचना र ताल बनाएर बागमती पखाल्ने अचम्मको योजना बनाउन सम्बन्धितहरू व्यस्त देखिन्छन्। यस्तो ताल बनाउने र ‘बागमती पखाल्ने’ योजना भनेको डाँडाको टुप्पामा भ्यूटावर र गाउँको सिरानमा कंक्रिटको गेट बनाउने देखावटी काम मात्र हो, गर्नुपर्ने काम नगर्ने, जनताको आँखा छल्ने प्रवृत्तिको उपज। यी सबबारे बागमती किनारमै भेटिएका, बागमती सफाइका अभियन्ता पूर्व मुख्यसचिव लीलामणि पौड्याल आक्रोशित छन् (हेर्नुहोस् भिडिओ)।
एक-एक नेपालमण्डलवासीले सोच्न ढिलो भएको दुई-तीन दशक भइसक्यो, मेरो आफ्नो दिसापिसाब कता जान्छ? सेप्टिक ट्यांकमा प्रारम्भिक प्रशोधन सहित ढलमा जान्छ कि कतै गएर प्रशोधन नहुँदै नदीमा पुग्छ? नख्खु होस् या मनहरा, विष्णुमती, टुकुचा, धोबीखोला, हनुमन्ते या बागमतीको मूल धार, हामी सबैको आची-सुसु जाने त्यतै हो। ‘प्रशोधन’ को शुरूआत ‘सोच’ बाट हुन्छ।