न्यूयोर्क शहरलाई संसारकै राजधानी भनिन्छ, यसको प्रभाव र विविधताको कारण । एक शताब्दी पुरानो एउटा गीतको बोल नै छः
इफ यू क्यान मेक इट हेयर,
यू क्यान मेक इट् एनिह्वेर !
अर्थात्, न्यूयोर्कमा कोही सफल हुन्छ भने उसले संसारको कुनै पनि चुनौती सामना गर्न सक्दछ । यही हुन पुग्यो नेपाली ठिटो प्रबल गुरुङको कथा !
फेशन डिजाइनर प्रबलले यो अत्यन्त प्रतिस्पर्धी अन्तर्राष्ट्रिय फेशन बजारमा हासिल गरेको उचाइको वर्णन गर्न अंग्रेजी शब्द ‘स्ट्रेटोस्फेरिक’ नै प्रयोग गर्नुपर्दछ— वायुमण्डल भन्दा माथि, झ्ण्डै ताराहरू चुम्न सफल । नेपालमा बसेर प्रबल गुरुङले बनाएको संसारलाई बुझन जति हम्मे पर्छ, उनले न्यूयोर्कमा एक दशकमै हासिल गरेको ख्याति ठम्याउन त्यत्तिकै गाह्रो ।
बाराक ओबामा अमेरिकी राष्ट्रपतिको दौडमा रहँदा उनलाई उक्त पदका लागि समर्थन गर्ने फेशन डिजाइनरहरूको पंक्तिमा प्रबलको नाम पर्नुले पनि उनले हासिल गरेको उचाइ प्रष्ट हुन्छ । राम्रो कुरा, प्रबलको बढ्दो ख्यातिको न्यूयोर्कका नेपाली फोटोग्राफर कशिसदास श्रेष्ठले कैद गरेका तस्बीर काठमाडौंका दैनिक पत्रिकामा हेर्न पाइएको छ ।
सन् २००९ देखि ‘प्रबल गुरुङ’ नामको ‘लेबल’ सफल भई मार्केटमा आएको हो, त्यो पनि पश्चिमा जगतमा आर्थिक मन्दीको बेला । आज उनी संंसारको ‘इभ्निङ्ग वेयर’ का उच्चकोटिको डिजाइनरको ‘रेड कार्पेट रोयल्टी’ पंक्तिमा पर्दछन्, र फेशन पत्रकारिताको वाह्वाहीको स्वाद लिंदैछन् । ‘ओत् कोत्यूर’ अर्थात् ‘हाई फेशन’ को दुनियाँमा वर्षमा दुईचोटि बसन्त र हेमन्तमा हुने उनका निजी प्रदर्शनमा पश्चिमा संसारका नामी फेशन समालोचक, सम्पादक तथा फिल्म नायिकाहरूको भीड लाग्छ ।
यो वर्षका केही महŒवपूर्ण अवसरमा प्रबलले डिजाइन गरेका लुगा लगाउनेमध्ये पर्दछन्ः (हालै सिंगापुरमा) बेलायती राजकुमारी केट् मिडल्टन्, पप गायिकाद्वय लेडी गागा र बियोन्स्, नायिका जो साल्डाना र डेमी मूर, टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रे आदि । वाशिङ्टन डीसीको प्रसिद्ध संग्रहालय ‘स्मिथसोनियन’ को ‘हाइ प्रोफाइल’ कार्यक्रममा मिशेल ओबामाले ‘प्रबल गुरुङ’ ड्रेस लगाएकी थिइन्् । हालै ह्वाइट हाउसको एउटा समारोहमा मिशेल र पूर्व राष्ट्रपति जर्ज बुशकी छोरी बार्वरा दुवै प्रबलकै पहिरनमा देखापरेका थिए ।
अमेरिकी अन्तर्राष्ट्रिय पत्रिका टाइम ले १९ सेप्टेम्बरको अंकमा प्रबलको उचाइको उपयुक्त मूल्याङ्कन गरेको छ । कोण्डालिजा राइस्, हेनरी किसिन्जर र मोहम्मद नाशीददेखि हिलारी क्लिन्टन र पर्भेज् मुसर्रफको अन्तर्वार्ता आएको उक्त म्यागजिनको अन्तिम पानाको ‘दश प्रश्न’ स्तम्भमा हाम्रै प्रबल गुरुङको अन्तर्वार्ता छापिएको छ । अमेरिकी एजेण्डा बोक्ने टाइम विश्व इतिहासकै सबैभन्दा ठूलो पत्रिका हो, जसको सर्कुलेशन अहिले २ करोड ५० लाख छ । यसको पछिल्लो पानामा अन्तर्वार्ता छापिनु संसारको ‘कन्सस्नेस’ मा प्रवेश गर्नु हो भन्न मिल्छ ।
हरेक अन्तर्वार्तामा प्रबल आफू हुर्केको नेपाल, आफ्नी आमा र परिवारलाई सम्झ्न्छन् । आमाले बाहिर कतै जानलाग्दा लुगा लगाएको र सिंगारपटार गरेको देख्दादेख्दै आफूलाई फेशन डिजाइनमा चासो बढेको उनी बताउँछन् । आफ्नो सफलताले नेपालमा अरूलाई पनि विश्वमै नाम र मान कमाउने इच्छाशक्ति देओस् भन्ने उनी चाहन्छन् ।
अन्तर्वार्तामा ‘हाई फेशन’ मा गोरा अनुहारहरू बढी देखिने गरेको बारे सोधिंदा उनले टाइम पत्रिकालाई भने, “एशियाली मुलुकहरूले आर्थिक प्रभाव जमाउँदै गएपछि एशियाली मोडलहरू पनि अगाडि आउने छन् । मेरी ६ वर्षीया भान्जी १६ वर्षकी भइसक्दा शायद विश्व बदलिइसकेको हुनेछ ।” रिआलिटी टेलिभिजनमा महिलाहरूलाई होच्याएको देख्दा प्रबलको रगत तातेर आउँछ । “केटी मान्छेले बढ्ता टाइट र छोटा लुगा लगाउनु राम्रो होइन”, उनी भन्छन् । प्रबलले महिलाको ‘फेमिनिटी’ र ‘स्ट्रेन्थ’ दुवै पक्षलाई हेरेर डिजाइन बनाउने गरेको एक समालोचक लेख्छन् ।
किन आफ्नो कृतिमा नेपाली डिजाइनहरू समावेश नगरेको भनी सोधिएको प्रश्नमा उनले एक पटक नेपाली घरेलु कपडा प्रयोग गर्न खोज्दा समयमा सामान नआइपुगेर अप्ठ्यारो परेको बताएका छन् । अन्यत्र उनले आफ्नो प्रयोगबारे लेखेका छन्, “म यस्तो देशबाट आएको छु, जहाँ जताततै रंग नै रंग भेटिन्छ; त्यसैले फेशन शोको रन्वेमा पनि अझ् धेरै रंगको प्रयोग हेर्न चाहन्छु ।”
गत वर्ष प्रबलको ब्राण्डले अमेरिकाबाट जापान फड्को मारयो । अब उनी फेशन वल्र्डका सुपर धनाढ्यबीच मात्र नभई ‘टार्गेट’ नामक पसल चेनमार्फत सस्तो बजारमा पनि उत्रँदै छन् । कसैको विचारमा ठूलो जोखिम मोल्दैछन् प्रबल, किनकि ‘टार्गेट’ द्वारा अमेरिकी ‘हर्टल्याण्ड’ भूभागमा सफल हुँदा न्यूयोर्कको उचाइ गुम्न सक्दछ ।
न्यूयोर्ककै फेशन जगतलाई चुनौती दिने यस्तो छलाङबारे प्रश्न गर्दा यस स्तम्भकारलाई उनले भने, “मेरो इरादा फस्र्ट लेडी र हुनेवाला रानीहरूको लागि मात्र लुगा डिजाइन गर्नु होइन, हर क्षेत्रका रानीका लागि पहिरन बनाउनु हो ।” नेपालबाट फड्को मारेर अमेरिकामा विश्व ख्याति कमाएका प्रबल गुरुङले यतिको जोखिम मोल्नु स्वाभाविक पनि देखिन्छ । यो नेपाली ठिटो !