हिमाल खबरपत्रिका ( कात्तिक १६, २०८१)बाट
त्रिशूलीको भेलमा हराएका बस होऊन् वा रारा दहमा विलीन हेलिकोप्टर, यति सजिलै हामीले किन बिर्सेका?
तिहार, नेपाल संवत् नयाँ वर्ष, छठ- एकपछि अर्को हर्षोल्लासको घडीका माझ हामी छौं। पर्व र उत्सवको यो रामरमाइलोमा बिर्सन सकिंदैन विपद्का घटना।
कसरी नसम्झनु साढे तीन महीनाअघि मात्रै नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा लेदो-पहिरोले दुई यात्रुबस त्रिशूलीमा धकेलेकोे!
अतिवृष्टिले राजमार्ग र अन्यत्र थप विपद् थुपार्दै बर्खा याम सकियो। नारायणी नदीको सतह पनि घटेको छ, तर असार २८ गते सिमलतालमा खसेका ती दुई बस नदीकै गर्भमा छन्। हुन सक्छ, बाढीमा धकेलिंदै ती बस धेरै किलोमिटर तल पुगिसके। र, पानीमुनि पल्टनबाजी गर्दै धकेल्दा खुम्चिए होलान्, यसै कारण पानी घट्दा पनि कतै देखिएनन्।
सिमलताल दुर्घटनाबारे छानबिन गर्न सरकारले खटाएको कार्यदलले अनुसन्धान गरेर प्रतिवेदन दियो। तर उक्त दुर्घटना हुनुमा प्रशासक, कर्मचारी, इन्जिनीयर वा कुनै पनि हिसाबले सम्बन्धित व्यक्तिलाई जवाफदेह बनाएन। समाज अघि बढिसक्यो, हामीले पनि त्यत्रो ठूलो विपद् बिर्सिसक्यौं।
बिर्सन नै सबैलाई सजिलो लाग्छ। बिर्सने बानीले सजिलो पारिदिंदो रहेछ- अभिभारा, जवाफदेही, न्याय र दोष खोज्नै परेन। हुन सक्छ, कुनै दिन ती दुई बसका अवशेष सतहमा कतै देखिएलान्। त्यो दृश्यले हामीलाई एकै क्षणका लागि मर्माहत बनाउनेछ र हामी फेरि स्वभाव अनुसार आफ्नो काममा लाग्नेछौं।
यसै पनि विपद्को जोखिममा रहेको हाम्रो देश, र खतरा पनि मोलेर बस्न बाध्य हाम्रा जनता। राजनीतिक अस्थिरता र हर क्षेत्रका बेथितिले गर्दा यहाँ जीवनपद्धति सरह बनेको छ, भाग्यवाद। ‘यस्तै त हो यहाँ, हिउँ पहिरो नभए सुक्खा पहिरो, नभए बाढी या हिमताल विस्फोट, नभए भूकम्प, खडेरी, आगलागी…।’
‘यहाँ यस्तै हो’ भनेर सहजै स्विकारेर बस्ने भाग्यवादलाई चिर्न जरूरी छ। यसका लागि धेरै आयाममा सुधार चाहिएकै छ, स्कूले पढाइदेखि राजनीति र राजकाजमा। तर सबै कुरा स्मृतिबाट शुरू हुन्छ– भोगेको, देखेको, सुनेको, पढेको कुरा सम्झिने शक्ति। जवाफदेही पनि स्मृतिबाटै शुरू हुन्छ, सबैले बिर्सन्छन् भने कसैले कुनै कुराको जिम्मा नै लिनु परेन। सिमलतालले बगाएका दुई बसको सम्झना नै हाम्रो धूमिल भइसक्यो भने त्यसअघिपछिका कैयौं दुर्घटनाबारे के भन्ने?
जलदुर्घटनाकै कुरा गर्दा सम्झनुपर्ने प्रसंग कतिपय अरू पनि छन्। पूर्व मुख्यसचिव तथा पूर्व गृहमन्त्री माधव घिमिरे २०७३ असोज ९ मा मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्कंदै थिए। साथमा थिए आमा, दुई भाइ, एक आफन्त, एक अंगरक्षक र चालक। उनीहरू सवार जीप पृथ्वी राजमार्ग अन्तर्गत चितवन, दारेचोकबाट त्रिशूली नदीमा खस्यो।
घटनामा घिमिरेका आमा, आफन्त र अंगरक्षक मृत फेला परे, दुई भाइ सहित घिमिरे आजसम्म नदीकै कोखमा छन्। घटनाको ६ दिनसम्म पनि उनीहरू नभेटिएपछि घिमिरे र दुई भाइको कुशको शव बनाएर आमाको शवसँगै आर्यघाटमा अन्त्येष्टि गरियो।
मुलुककै उच्च पदमा पुगेका व्यक्ति यसरी हराउँदा पनि उक्त घटनाबाट पाठ सिकेर सडक सुरक्षामा ध्यान दिइएन। जबकि ठूला-साना सडक दुर्घटनाको निरन्तरता छँदै छ। त्रिशूली लगायत नदीनाला र खोल्सामा गाडी खस्ने क्रम जारी छ। घटनाक्रमसँगै हामी बिर्संदै पनि जान्छौं।
मन दुखेर पनि बिर्सने काम हुन्छ। पीडामा मल्हम कसैले लगाइदिंदैन भने विस्मृतिकै आड चाहियो। राजनीतिक झुकाव वा पक्षधरता, राज्यको निष्क्रियता, समयको चक्र, आफूले केही गर्न नसकेको हीनताबोध सबैले बिर्सने बनाउँछन् हामीलाई।
जलदुर्घटनाको कुरा गर्दा प्रायः सबैले बिर्सिसकेको एउटा त्रासदी याद आउँछ। मुगुको रारा दहको तस्वीर नियाल्दा, नियात्रा पढ्दा, तालको किनारमा पुग्दा पनि त्यहाँ भएको भयावह हवाई दुर्घटना हामीमध्ये कमैले सम्झन्छौं। २०५८ कात्तिक २७ को बिहान एउटा हेलिकोप्टर राराको बीचमा खस्यो।
क्याप्टेन रविन कडरियाले उडाएको हेलिकोप्टरमा अधिराजकुमारी प्रेक्षा शाह, सेनाका लेफ्टिनेन्ट कर्णेल डा. ऋषि खत्री, शारदा सिंह, दानबहादुर शाही र ईश्वर बस्नेत थिए। खत्री र सिंह जीवितै भेटिए। प्रेक्षाको शव भेटियो भने तीन जना तालको गहिराइमै लोप भए। त्यो टोली डोल्पा घुमेर रारा दह हेर्न गएको थियो, त्यहाँबाट काठमाडौं फर्कन लाग्दा हेलिकोप्टर दहमा खसेको थियो।
त्यो दुर्घटनाबारे छानबिन गर्न आयोग पनि बन्यो। आयोगले पाइलटको लापरवाहीलाई दुर्घटनाको प्रमुख कारण देखायो। तर दरबार हत्याकाण्डको पाँच महीनापछि भएको त्यो घटनालाई सोही काण्डको शृंखलाका रूपमा हेर्नेहरू पनि उत्तिकै भए।
हेलिकोप्टरको इन्जिन सहितको मूल भाग रारा दहभित्रै छ। अझै पनि गोताखोरलाई अनुसन्धान र भग्नावशेष खोजीका लागि त्यहाँ पठाउन सकिन्छ। तर कतै चासो छैन। रारा जाने हजारौं पर्यटक र यात्रु रमणीय ताल हेर्छन्, तर त्यो रोमाञ्चक तालको गर्भमा यो त्रासदी लुकेको छ।
भाग्यवाद र विस्मृतिले हामीलाई गलाइसकेको छ। सम्झनुमा पीडा छ, बिर्सेकै बेस।