२४ मंसिर २०८१, काठमाडौँ
सङ्क्रमणकालीन न्यायका दुई आयोगको पदाधिकारीको नाम सिफारिश गर्न गठित पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको आयोगले प्रकाशित गरेको सम्भावित अध्यक्ष र सदस्यहरूको श्रेष्ठसूची प्रति हाम्रो आपत्ति छ।
मानव अधिकार समुदायले सिफारिश समितिलाई बारम्बार र सार्वजनिक हिसाबले आयोगका पदाधिकारी चयन गर्दा सङ्क्रमणकालीन न्यायका विषयबारे परिचित, विगतमा विवादमा नपरेका, तथा द्वन्द्वपीडित समुदायले विश्वास गर्ने व्यक्तिको नाम छनौट गर्न सुझाव दिँदै आएको हो।
प्रकाशित श्रेष्ठसूचीमा आयोगको नेतृत्वमा रहने अध्यक्ष पदमा सम्भावित नामहरूको विषयमा सबैजसो द्वन्द्वपीडितका सङ्गठनहरूले 6 December 2024 (२१ मंसिर २०८१) आपत्ति जनाइसकेपछि अहिलेका सम्भावित उम्मेदवार कसैको नेतृत्वमा पनि गठन गरिने आयोगहरू विश्वसनीय हुने छैनन्। शीर्ष राजनैतिक नेतृत्वले दुई आयोगका अध्यक्षका लागि चाहेको बुझिएका दुई व्यक्ति विशेषको नियुक्तिमा पनि विश्वस्नीयताको प्रश्न उठ्ने नै छ। यसरी चयन भएको आयोगहरूलाई मानव अधिकार र द्वन्द्वपीडित समुदायको सहयोग हुने छैन, हाम्रो बुझाईमा।
हामी सङ्क्रमणकालीन न्याय संयन्त्रहरूमा पदाधिकारीको छनौट प्रक्रिया पुनः शुरु गरि नयाँ श्रेष्ठसूची प्रकाशन गर्न सिफारिश समिति समक्ष माग गर्दछौँ। हामी राष्ट्रिय क्षमतामा शान्तिप्रक्रिया टुङ्ग्याउने पक्षमा रहँदै आएका छौ तर बलजफ्ती अविश्वसनीय प्रक्रिया जारी रहेमा अन्तरराष्ट्रिय समुदायको चासो र सक्रियता स्वत: बढ्नेछ भन्ने हाम्रो बुझाइ हो।
हस्ताक्षरकर्ता: सुशील प्याकुरेल, मोहना अन्सारी, कनकमणि दीक्षित