Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

अनिवार्य ताली मूर्दावाद!

May 17, 2023 by admin

हिमाल खबरपत्रिका (३ जेठ, २०८०) बाट 

कार्यक्रममा सहभागी हुँदा मन लागेमा ताली पिटौं। तर, कसैको निर्देशन लुसुलुसु नमानौं।

ताली बजाउनु आफूखुशी कुनै कुरा या कसैको क्रियालाई स्वागत गर्नु हो। यसमा ‘आफूखुशी’ भन्नुको अर्थ छ, ताली स्वस्फूर्त हुनुपर्छ, करकापको उपज होइन। तर, हामीकहाँ राजनीतिक होस्, सामाजिक वा सांस्कृतिक कार्यक्रममा उद्घोषकले माइकबाट निर्धक्क आह्वान गर्छन्, ‘अब फलाना फलानालाई करतलध्वनिका साथ मञ्चमा स्वागत गरौं !’

साङ्गीतिक कार्यक्रम होस् वा कुनै दलको भेला, तालीद्वारा स्वागत गर्ने/नगर्ने उपस्थित एक-एक सहभागीको स्वनिर्णयको कुरा हुनुपर्ने हो। मनबाटै आएको तालीको वजन हुन्छ र उपस्थित सबै या धेरैले यसो गरे भेलाको सामूहिक धारणा बोल्छ। जतिसुकै मीठो स्वरमा उद्घोषकले ‘तालीका साथ स्वागत गरौं’ वा ‘जोडदार ताली बजाऔं’ भने पनि त्यो कजाइँ नै हो। सानोतिनो अधिनायकवाद हो।

मानव मस्तिष्क स्वतन्त्र हो, र स्वतन्त्र रहन दिनुपर्छ। मन परेको मान्छे रोस्ट्रममा उभिँदा स्वेच्छाले थपडी बजाएर स्वागत गर्नु पो साँचो अर्थमा स्वागत हो। जब तालीको निर्देशन दिइन्छ, शङ्कै छैन- सहभागीहरूले मन नभई नभई या अप्ठ्यारो मानी मानी त्यसो गर्ने गर्छन्। यसरी मानिसको स्वतन्त्रतालाई उपेक्षा गर्नु सामन्ती संस्कारको पाटो हो।

सुझाव छ, कार्यक्रममा मनले चाहे अनुसार ताली पिटौं। कसैले अह्राउँदैमा लुसुलुसु नमानौं। मान्छे मन पर्ला, उसले मञ्चमा उक्लँदै गर्दा स्वागत गरौंला, भाषणका क्रममा कति ठाउँमा चित्त बुझ्ला, गीतको प्रस्तुतिबाट मोहित होऔंला, मीठो लाग्ला, अनि वाह !

वाह! भनौंला। तर, कसैको निर्देशनमा होइन, स्वतस्फूर्त।

रोस्ट्रम पुग्दाका अरू विसङ्गति पनि छन्। माइक चलेको छ/छैन जाँच्न ‘फू…फू’ गर्ने चलन छ। लेखक पनि पहिले यस्तै गथ्र्यो, तब एक चिरपरिचित गायकले सम्झाए, “औंलाले ‘ट्याप’ गर्नु एक-दुई चोटि। तर, ‘चेक्…चेक्’ चाहिं नगर्नू, दर्शकले ‘साउन्ड टेक्निशियन’ ठान्लान्।”

‘डाएस’ कि ‘पोडियम’

‘रोस्ट्रम’ भन्ने कि ‘डाएस’ कि ‘पोडियम’। मलाई पनि द्विविधा थियो। अलि खोजी गरिहेर्दा यी पर्यायवाची नै रहेछन्, वक्ता बस्ने स्टेज या मञ्च जनाउने। धेरै नचलेको भने ‘लेक्टर्न’ हो, जसले माइक रहेको ढल्केको उच्च टेबल सहितको संरचना जनाउँछ।

तपाईंलाई पहिला डाएसमा स्वागत गरियो, विराजमान हुनुभयो। बोल्ने पालो आएपछि ‘दुई शब्द’ राखिदिन उद्घोषकले बोलाउँछन्। लेक्टर्नमा पुग्नुभयो, पहिला त स्पीकरको काइँकुइँ सामना गर्नुपर्‍यो। दर्शक तपाईंलाई एकटक हेरिरहेछन्, सारगर्भित कुरा सुन्न।

शुरू गर्नुहुन्छ, डाएसमा रहेका एक-एकलाई सम्बोधन गर्दै- सभाका अध्यक्ष, वक्ताहरू, कार्यक्रम संयोजक, आयोजक संस्थाका पदाधिकारी- सबैको नाम लिइसक्दा पाँच-सात मिनेट बितिहाल्छ, अनि झल्याँस्स हुन्छ- कार्यक्रमको विषय बिर्सिएछ! अनि त लेक्टर्नमा दुई हात समातेर, गर्धन घुमाएर पछाडि/माथिपट्टि राखिएको तुलमा विषय पढ्नुपर्‍यो। अक्सर तुल हुन्छ नै, पहिला पहिला पेन्टरले रातो कपडामा सेतो अक्षर कोरेको, आजभोलि टिलिक्क फ्लेक्स।

यस्तो लाग्न थालेको छ, शायद कुनै कार्यक्रम हुँदैन जहाँ वक्तालाई कार्यक्रमको विषय थाहा होस्, ताकि अर्धकद नै बटारेर तुल पढ्न नपरोस्। ‘आजको यस कार्यक्रममा … जसको विषय रहेको छ… अति नै महत्त्वपूर्ण … विकास कार्यक्रममा स्टेकहोल्डरको सबलीकरण र पृष्ठपोषण …।’

अधिकांश कार्यक्रम कर्मकाण्डी नै हुन्छन्, रीत पुर्‍याउन गरिन्छ। सहभागीहरू पनि ‘ऐचोपैंचो’को परम्परा धान्न जानैपर्ने भएर सहभागी हुन्छन्, उसले बोलाएकोमा आफू गइएन भने आफूले बोलाउँदा ऊ पनि आउँदैन।

फेरि डायसमा भएका सबैले बोल्नैपर्छ। वक्ताको ताँती हुँदा सबैभन्दा बिरक्तिएका हुन्छन् प्रमुख अतिथि, जसको मानका खातिर माइकमा पालो अन्त्यमा राखिएको हुन्छ। तर, जति बिरक्तिए पनि आफ्नो समय आएपछि प्रमुख अतिथि पोडिएमबाट लेक्टर्नतर्फ लाग्छन् नै। लबेदा मिलाउँछन्, माइकको थुँगा आफूतिर तान्छन्, फर्केर तुल हेर्दै विषय भट्याउँछन्, र भाषण शुरू गर्छन्।

भाषण सकिन्छ पनि। उनले तालीको अपेक्षा गरेकै हुन्छन्, तसर्थ पाठकसँग म आग्रह गर्दछुः ‘मुख्य अतिथिज्यूको मुखारविन्दबाट आएको अत्यन्तै सारगर्भित विचारलाई करतलध्वनिका साथ स्वागत गरौं!’

Post navigation

Previous Post:

‘India in Nepal’ Series: The Wire (Consolidated)

Next Post:

विचारभारतीय हस्तक्षेप: जवाहरलालदेखि नरेन्द्र दामोदर दाससम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes