Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

अभिशप्त मुकाम

July 26, 2021 by admin

हिमाल खबरपत्रिका (२२ भदौ, २०७१)

पुष्पकमल दाहाललाई समय बित्दै जाँदा ऊर्जा खर्च गरे अनुसार प्रतिफल नआउने ‘द ल अफ् डिमिनिशिङ्ग रिटर्नन्स्’ को फेला परेको महसूस भएको हुनुपर्छ।

सामाजिक क्रान्तिका साथ अघि बढ्छु भन्नेलाई दर्शन, निष्ठा, दिगोपन र पारदर्शिताको खाँचो पर्छ। तर, पुष्पकमल दाहालले सशस्त्र क्रान्तिमा होमिदिए नेपाललाई, मतियार बाबुराम भट्टराईको साथमा। एउटा दलले कानून आफ्नो हातमा लियो, बर्बरता देखायो र सुरक्षा फौजबाट पनि बर्बरता निम्त्यायो। नागरिक मारमा परे, संरचना ध्वस्त भयो, विकास–निर्माण ठप्प भयो। नेपाली जनतामाथि इतिहासमै नभएको भौतिक हिंसा थोपरियो, सामाजिक धु्रवीकरणलाई उक्साइयो र आजसम्म गन्दा १८ वर्ष अर्थतन्त्रलाई बन्दी बनाइयो। यही हो पुष्पकमल दाहालको ‘वीरता’ जसलाई ढोङ्ग, छलकपट, हिंसा र स्टालिनिस्ट एकतन्त्रीय शासन प्रणालीको अजेन्डाले केही समय अगाडि बढायो।

छलकपट त शुरूबाटै भयो, जब जनता सहभागी नभएको लडाईंलाई ‘जनयुद्ध’ भनियो। ‘जनयुद्ध’को तथाकथित दर्शन र निर्दोष जनतामाथिको बज्रपात अमान्य भएकै कारण यस पंक्तिकारले शुरूदेखि नै ‘प्रचण्ड’ नाम प्रयोग गरेन। युद्धको प्रयोगमा उनले चुनेको ‘प्रचण्ड’ असहज मात्र होइन भित्री मनदेखि नै अमान्य लाग्यो।

क्रूरता र छलकपटले पुष्पकमलको यात्रा दर्साउँछ। माओवादी जत्था र राज्यबीचको भिडन्तमा केही नभनौं, त्यसमा युद्धका नियम पालना गरे पुग्यो। तर क्रूरता हरपाइलामा प्रकट भयो― जब गाउँ–गाउँमा भौतिक कारबाहीलाई अगाडि बढाउँदै पीडादायी हत्या, यातना र बेपत्ताको अजेन्डालाई दाहालले ‘थम्स् अप्’ गरे। २०६४ मा बीबीसी नेपाली सेवामा लमजुङबाट फोन गर्ने एक श्रोतालाई उनले जे भने यसले दाहालको चरित्र दर्साउँछ― “हामीले उतिबेला नै निर्देशन दिएका थियौं कि ‘इलिमिनेट’ गर्दा यातना नदिनू।” यस्ता व्यक्ति नेपाली जनतालाई ‘लिड’ गर्ने हुनपुगे, थोरै बेरका लागि।

चारजिब्रे प्रवृत्ति

छलकपटको श्रृंखला शुरूदेखि नै रह्यो जब मार्क्स र माओको नाममा १४–१६ वर्षका बालबालिकालाई बन्दूक भिराइयो। द्वन्द्वकालपश्चात् त सबैलाई प्रष्ट भयो कि शक्ति र नगद–मोह मात्र रहेछ माओवादी शीर्षस्थ मस्तिष्कमा, शून्य समाजशास्त्र, नागरिकप्रति समर्पण, ‘कम्प्यारेटिभ’ राजनीति तथा भूराजनीतिक ज्ञान। मात्र आफ्ना लडाकू र कार्यकर्ताको प्रयोग र जनतामाथि दुस्मनी।

भूमिगत युद्धबाट खुला राजनीतिमा आउनुको कारण जो दिइएको छ, त्यसमा पनि सत्यता छैन। सुरक्षा फौजको कौशल बढ्दै र आफ्नो ‘हिट–एण्ड–रन् ट्याक्टिस’ को प्रभाव घट्दै जाँदा आफ्नो जोहो गर्न माओवादी खुला राजनीतिमा आएका हुन्, आफ्नो जीत भयो वा नेपाली जनताले धेरै दुःख पाए भनेर युद्ध अन्त्य गरेका होइनन्। जनआन्दोलन २०६२/६३ मा भनेको माओवादीको जीत पक्कै थिएन। जनआन्दोलनमा भने ‘जन’ उपयुक्त थियो, र नागरिकले निरङ्कुश राजतन्त्र र माओवादीको सशस्त्र ‘जनयुद्व’ लाई हराएका थिए।

आफ्ना क्याडरलाई निरन्तर असत्य पेश गरेको माओवादी शीर्षस्थले एकातर्फ भारतसँगको दुस्मनीको डंका पिट्दै सुरुङ युद्ध गर्न ट्रेन्च खन्न लगायो। उति नै बेला भारतीय प्रधानमन्त्री र गुप्तचर संस्था ‘रअ’ तथा ‘आइबी’ लाई बिन्तीपत्र चढायो। दाहाल र भट्टराईको त्यो बिन्तीपत्र राष्ट्रियता विरुद्धको कृत्य थियोभनेर कुनै बेला नेपाली बौद्धिक र नागरिक अगुवाले कुरा उठाउलान्, आज मौन रहे पनि।

छलकपटको प्रमाण कतै चाहियो भने दाहालले ‘शक्तिखोर भिडियो’ जुटाइदिएका छन्। कसरी संयुक्त राष्ट्रसंघलाई झुक्याइयो, कसरी राज्यलाई ठगियो भनेर बताउँदा बताउँदै दाहालले ताली पिट्दै गलल्ल हाँस्ने आफ्नै क्याडरहरूलाई ठगेका छन्। दाहाल स्क्यान्डनेभियनहरूका सामु ‘सोसल डेमोक्र्याट’ हुन्थे। अनि त्यहीबेला नयाँदिल्लीमा गएर उनी ‘पूँजीवाद’ का हिमायती भए। एउटा प्रशिक्षण कार्यक्रमको दौरानमा सीएन्एन् टेलिभिजनका संवाददातासँग उनले शान्ति प्रक्रियाप्रति पूर्ण वफादारी जनाए। सीएन्एन् संवाददाता जान नपाउँदै घुम्ने मेचमा फनक्क फर्केर महिला कार्यकर्ताहरूलाई जनयुद्ध यथावत् छ, खुला राजनीतिमा आउनु त एउटा कार्यविधि मात्र भएको बताए।

पुष्पकमलको निजी अजेन्डाबाट मुलुक मुश्किलले जोगियो। प्रधानमन्त्रीको निर्वाचनमा सभासद् खरीद गर्न विदेशीबाट ६० लाख डलर हत्याउन खोजे, कृष्णबहादुर महरा मार्फत। उनले हुँदै नभएको ३० करोड डलरको ललिपप देखाएर एउटा चिनियाँ ‘पेपर संस्था’ को भरमा लुम्बिनी कब्जा गर्न खोजे। हजारौं मृत्युहरूका लागि रत्तिभर पश्चात्तापै नगरी लुम्बिनीमा वान की मूनको छेउमा उभिएर आफूमाथि अन्तर्राष्ट्रिय स्वीकृतिको भान दिलाउन खोजे। द्वन्द्वकालको कुहिरीमण्डलमा बन्दूक, सन्त्रास, धम्की र कारबाहीको भरमा ‘सफल’ भएका दाहाल २०६४ को निर्वाचनमा पनि त्यसैगरी ‘सफल’ भए। जसले पहिलो संविधानसभालाई अविश्वसनीय र कर्मकाण्डी बनाइदियो। त्यसपछि शुरू भएको ‘डिमिनिशिङ्ग रिटर्नन्स्’ सामु उनको ‘डेमागगी’ को केही लागेन।

निर्वाचित प्रधानमन्त्री भएर राजकाजको शिखरसम्म पुगेकै हुन्, पुष्पकमल। मानवता भएको भए उनले ‘जनयुद्ध’ गर्नु गलत थियो भन्ने थिए, जनताले पनि माफी दिन्थे होलान् र उनको उच्चतम तहको राजनीतिले निरन्तरता पाउने थियो। तर शान्तिकालमा कानूनी राज अन्तर्गत चल्न उनको आँट पुगेन। बरु ढाँटे संयुक्त राष्ट्रसंघलाई ७ हजार होइन ३२ हजार लडाकू छन् भनेर, अनि शक्तिखोर भिडियोमा सबको मजाक उडाए। यसरी नियत र निष्ठा दुवैमा कमजोर पुष्पकमलले रुकमाङ्गद कटवाललाई सेनाप्रमुखबाट हटाउन खोज्दा कसैको साथ–सहानुभूति पाएनन्। त्यसपछि १८ वैशाख २०६७ बाट अनिश्चितकालीन बन्द घोषणा गरेका माओवादी जत्थालाई लघार्ने र दबाउने क्षमता जनतामा देखियो।

मंसीर २०७० को निर्वाचन जित्न जस्तोसुकै हतकण्डा अपनाउन भनेर आदेश दिए एनेकपा (माओवादी) अध्यक्षले। त्यसमा पनि केही लागेन। निर्वाचनमा धाँधली भयो भनेर रोइकराइ गरे, कसैले सुनेन।

व्यक्तिगत नियति

‘हाउ द माइटी ह्याभ फलन्’ भन्ने कथन छ। राजकाजको शिखरमा पुगेर झ्रे पुष्पकमल, मुख्यतः उनको व्यवहार आम जनताको मापदण्डसँग मेल नखानाले। यही हो उनले भोग्नुपर्ने नितान्त व्यक्तिगत नियति― मुलुकलाई युद्ध, समाजलाई ध्रुवीकरण, अर्थतन्त्रलाई बर्बादी, विकासलाई शून्यतातर्फ धकेलेका कारण। उनी फेरि सिंहदरबारमा रजाइँ गर्ने सम्भावना अत्यन्त न्यून छ, अब।

पुष्पकमलले संकलित धनराशीको निर्धक्क उपयोग गर्न सक्ने सम्भावना पनि छैन। ‘फ्रेमर अफ् द कन्स्टिट्युशन’ को पगरी पनि बाबुराम भट्टराईले हत्याउन लागिसके। कतिसम्म झ्र्‍यो त पुष्पकमल र माओवादी― एकताका अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादलाई गाली गरेर आफ्नो जत्था एकीकृत गर्दथे, नेपाली कांग्रेस र एमालेलाई सराप्ने गर्थे। साढे चार महीना अगाडि पुष्पकमल र उनको दल संसद्को रोस्ट्रम प्रयोग गर्दै यस पंक्तिकारमाथि खनिन पुगे। शत्रु किटान गरी आफ्नो जत्थालाई एकीकृत गर्ने माओवादी कहाँ थियो, कहाँ पुगेछ!

अन्य हिंस्रक ‘क्रान्तिकारी’ जत्था जस्तै दाहाल नेतृत्वको माओवादीमा पनि पारदर्शिताको नामोनिसान नहुने र कार्यकर्तामा अन्यत्रको भय जगाई आफू नेतृत्वमा टिकिरहने प्रवृत्ति देखियो। खुला समाजमा यो प्रवृत्ति छरपस्ट भएपछि मनमुटाव सल्कन बेर लागेन। र पनि, गुमराहमा रम्ने प्रवृत्ति आजैसम्म कायमै छ।

मानवअधिकारकर्मीले कतिचोटि दाहाललाई सम्झाइसके कि अन्तर्राष्ट्रिय फौजदारी अदालत अन्तर्गत एउटै माओवादी नेता हेग जाने सम्भावना छैन, किनकि नेपालले ‘रोम विधान’ मा सही गरेको छैन। भविष्यमा गरे पनि यस सन्धिको क्रियाशीलता भूतप्रभावी हुँदैन। र पनि ‘हामीलाई हेग लैजाने प्रपञ्च रचिंदैछ’ भन्ने भनाइ दाहालको मुखबाट निरन्तर निस्कन्छ। दाउ छ― क्याडरहरूलाई ठूलो संसारको डर देखाई आफू खुम्चँदो पार्टीको शिरमा बसिरहने।

पुष्पकमल दाहालले अबको दिनमा गर्ने भनेको― चिन्तन हो। २०५२ मा भूमिगत युद्ध गर्नु ठीक थियो, थिएन– चिन्तन गर्ने। नागरिकलाई नागरिक मार्न लगाउनुले कहाँ पुग्नुपर्ने मुलुकलाई कहाँ पुर्‍यायो– चिन्तन गर्ने। प्रायश्चितले पुग्ने छैन, ज्यादतीको लागि कानूनी कारबाही नै चाहिन्छ भन्न सक्नुपर्दछ जनतासँग आँखामा आँखा जुधाएर। त्यस्तो गर्ने व्यक्तिलाई मात्र ‘प्रचण्ड’ नामले बोलाउँदा सुहाउला।

Post navigation

Previous Post:

One month after the mountain fell

Next Post:

Satyagraha, 324 x 2 days

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes