Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

उध्रेको प्लास्टिक छ है…

July 25, 2021 by admin
हिमाल खबरपत्रिका (१-१५ साउन २०६९) बाट
पहाड, हिमाल र तराई–मधेश सबै क्षेत्रलाई समेट्ने एउटै नेपाली पहिचान छ भने नयाँ मेचको प्लास्टिक नच्यातिकन प्रयोग गर्ने हाम्रो सामूहिक संकल्प नै हो।

चिनियाँ प्रेमियर वेन जिआबाओ गएको जनवरीमा आधादिने भ्रमणमा आउँदा सरकारले अतिथि सत्कारका लागि बैठक सजाउन नयाँ–नयाँ मेच–सोफा अर्डर गर्‍यो। सुनिएअनुसार पसलमा राखेको प्लास्टिकको कभर नउघारिकनै समारोह शुरू र सम्पन्न भयो।

थाहा भएन, प्रम वेनलाई प्लास्टिकसहितको कवचमै विराजमान गराइयो–गराइएन र जताततै प्लास्टिकले नेपाली पक्षलाई अप्ठेरो महसूस गरायो–गराएन। भएन होला, किनकि मेच र सोफा किनेपछि प्लास्टिक च्यात्न जानेकै छैनौं हामीले। त्यो पोलिथिनको च्यादरको आयु सक्दो लम्ब्याएर धुजा–धुजा होउन्जेलसम्म यथावत् राख्ने हाम्रो आदत छ।

एकातिरबाट हेर्दा यो साधारण कुरा हो, तर अर्कोतिर यो सांकेतिक पनि छ। यसले ‘नेपाली चरित्र’ को एउटा पाटो उजागर गर्दछ― कुनै कुराको सार या उद्देश्यतर्फ जाँदै नजाने; आफैंलाई मर्का पर्दा पनि देखावटी, प्रदर्शनमुखी कुरामा मात्र ध्यान दिने। यसको अर्थ हो― नयाँ आधुनिक उपकरण, तौरतरिका अथवा रीतिरिवाज अपनाउँदा त्यो किन, कसरी र कतिसम्म आफूले अपनाउने भन्ने कुरा सोच्दै नसोच्ने। कुनै पनि कुराको गहिराइमा जानै नचाहने।

अब सोफा वा मेचलाई पसलमा किन पोलिथिन फिल्मले मोरिएको हुन्छ भन्नेतर्फ जाउँ।

कुरा सरल छ, तर जताततै उधि्रएको प्लास्टिकको प्रकोप फैलिएपछि भन्नैपर्ने भयो― मेच त मेच हो, यसलाई बस्नको लागि सुविस्ता होस् भनेर ‘एर्गोनोमिक’ हिसाबले डिजाइन गरिएको हुन्छ। अझ् धेरै सुविस्ताको लागि फोमको भित्रीलाई कपडाले मोरेर बनाइन्छ। यस्तो मेचलाई बेच्न शोरुममा राख्दा प्लास्टिकले छोप्ने चलन किन छ भने हाम्रा खुला पसलहरूमा धूलोले राम्ररी आवतजावत गरेको हुन्छ र स्टकमा राखिएका सामान, विशेष गरी कपडाले छोपेका वस्तुहरू, छिट्टै धुलाम्मे र फोहोर हुन्छन्। होलसेलबाट रिटेलमा पुर्‍याउँदा बाटोमा पनि त्यत्तिकै फोहोर होला। त्यसबाहेक ग्राहकहरूको संसर्गबाट पनि जोगाउनु पर्‍यो, कतिले मैला हात र लुगाले छुँदै, उठ्–बस् गर्दै टेस्ट गर्ने हुन्।

यी सबै कारणले प्लास्टिकले मोरिएको हुन्छ कपडाका मेच–सोफाहरूलाई, तर बस्न सुविस्ताका लागि होइन। बरु प्लास्टिक नझ्िकिकन बसिदिंदा मेच–सोफामा कपडा हाल्नुको अर्थ नै अनर्थ भइदिन्छ। कपडाले ‘मोइस्चर’ र पसिनालाई हावामा मिसिने मौका दिन्छ भने प्लास्टिकले यसलाई पूरै रोकिदिन्छ। कपडा राख्नुको पूरा ‘एड्भान्टेज’ बस्ने व्यक्तिलाई प्राप्त हुँदैन।

यो त सबैले बुझेकै कुरा हो, तर पनि किन मेच किनेर ल्याएपछि प्लास्टिकलाई यथावत् राख्ने चलन छ त; महीनौं, धुजाधुजा नपरेसम्म पनि? जुन प्रवृत्ति हरेक वर्ग, क्षेत्र, समुदायमा हामी पाउँछौं। यदि हाम्रो मुलुकको विविध समुदायमाझ् पहाड, हिमाल र तराई–मधेश सबै क्षेत्रलाई समेट्ने एउटै नेपाली पहिचान छ भने त्यो किनेको मेचको प्लास्टिक नच्यातिकन प्रयोग गर्ने हाम्रो सामूहिक संकल्प र अठोट नै हो। यसलाई हाम्रो आफ्नै राष्ट्रिय मौलिकता ठानेर खुशी हुन पनि सकिन्छ। तर यस्तो चलन, जसलाई रीतिरिवाज भन्न पनि मिल्ने भइसक्यो, को कारणको शोध चाहिं गर्नै पर्दछ। किन नाम्चेदेखि तौलिहवासम्म यस्तै हुन्छ?

शायद हामी नेपालीको आफूले किनेको चिजलाई सक्दो लामो समय नयाँ जस्तै पारेर राख्ने मितव्ययी अथवा संरक्षणवादी प्रवृत्ति हो यो। ती सामानबाट पाउने सुविस्ताबाटै आफूलाई वञ्चित गरेर भए पनि त्यसलाई सकेसम्म लामो समय सुरक्षित राख्ने चेष्टा।

तर जब हामी घर, अफिस, रेस्टुरेन्ट, वा शयनकक्षमा मेच, सोफा किन्छौं; त्यो प्रयोग गर्न, बस्नका लागि किनेका हुन्छौं। सादा काठ अथवा प्लास्टिकको मात्र नभई फोम र कपडाद्वारा सुसज्जित मेच किन्नुको अर्थ अलि बढी सुविस्ता खोज्नु हो। र, त्यो सुविस्ता पाउन पोलिथिनको च्यादर उधार्नै पर्छ। मेचको मज्जा किनेदेखि नै लिनुपर्दछ, किन त्यो पोलिथिन च्यातिने वेलासम्म पर्खने? यसो गर्दा बस्दा पाइने सुविस्तासँगै मेच बनाउने कारीगरको उद्देश्य पनि पूरा हुन्छ र मेच मालिकको ‘एस्थेटिक्स’ मा पनि कसैले प्रश्न उठाउँदैन।

यो स्तम्भकारको एउटा ‘जंगली’ भन्न मिल्ने स्वभाव छ― कुनै पनि घर, अफिस, प्रतीक्षालय, गाडी जेमा होस्; सोफा, मेच, सिटमा मोरेको पोलिथिन देख्नै हुँदैन। आफन्तको सामान हो र मिल्ने भए आफैंले च्यातिदिन्छु, नत्र किन उक्त च्यादर तुरुन्तै च्यात्नुपर्छ भनेर सम्बन्धित व्यक्तिसँग वकालत गरिहाल्छु। कुनै साथीको नयाँ गाडीको सिट छोपिएको पोलिथिनमा त झ्न् मेरा नंग्रा पुगिहाल्छन्। र यसो गर्नुको आनन्द कति ठूलो हुन्छ कि म पाठकलाई पनि यसै गर्न निम्त्याउँछु। मुलुकभर अभियान नै चलोस्, ‘सिटको प्लास्टिक हटाउ अभियान’! र कसैले ‘अलि गम्भीर हुनुस्, यस्तो छेउ न टुप्पोको कुराका मसी–कागज खर्च नगर्नुस्’ भन्छन् भने मेरो जवाफ रहन्छ– यो विषयमा अन्तरनिहित सत्य धेरै नै गम्भीर छ।

पोलिथिनलाई मेच, सोफामा किनेको महीनौं (कतै कतै त पत्याउनुस्, वर्षौ) जहाँको तहीं राख्ने हाम्रो बानीले ‘सार’ र ‘रूप’ बीचको भेद छुट्याउन नसक्ने हाम्रो राष्ट्रिय प्रवृत्ति झ्ल्काउँछ। सामाजिक क्रियाकलापमा होस् वा राजनीतिमा यत्रतत्र यस प्रवृत्तिका उदाहरण पाइन्छन्।ती उदाहरणतर्फ अहिले यहाँ नजाउँ।

Post navigation

Previous Post:

कांग्रेसमा विचार शून्यता

Next Post:

Time to mend fences

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes