Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

एकल ट्रेकर !

August 5, 2021 by admin

हिमाल खबरपत्रिका (३ कात्तिक २०७० ) बाट

न अध्यात्ममा विश्वास गर्छु म, न ‘रिलिजन’ अर्थ लाग्ने आजभोलिको धर्ममा, जबकि आस्थावान सबैको स्वभावतः कदर गर्छु नै । धेरैले खुशी खोज्दछन् अलौकिक शक्तिको आशा, पहिचान या ‘निकटस्थता’ मा तर ‘नन–बिलिभर’ को लागि त्यो बाटो बन्दछ । ‘¥याशनलिजम्’ ले कतै छहारी दिंदैन, न मन्दिरमा, न ध्यान केन्द्र, प्रवचन वा शक्तिपीठमा । पूर्वजन्म र पुनर्जन्ममा विश्वास नगर्नेले परिवार, साथीभाइ, प्रकृति तथा आफ्नै मनमस्तिष्कमाझ् खुशी खोज्नुपर्ने छ ।

उपल्लो खुम्बु, आमाडब्लाम (बायाँ) र ट्रेकर ।

विभिन्न खुशीको स्रोत छन् यो पंक्तिकारको आफ्नो जिन्दगीमा, तीमध्ये एउटा हो एक्लो हिंडाइ, अथवा एकल ट्रेकिङ ।

खुशीको अनुसन्धानमा लाग्नुअघि ‘ट्रेकिङ’ शब्दको उत्पत्तिमाथि नै चर्चा गरौं । यो शब्दको २०औं शताब्दीयताको प्रयोग नेपालमै शुरू भएको कुरा धेरैलाई थाहा नहोला । यस हिसाबले यो शब्द आधुनिक अंग्रेजीलाई नेपालको सौगात हो । ‘ट्रेक’ शब्द डच भाषा हुँदै दक्षिण अफ्रिकाको बोअर जातिको अफ्रिकान्स् भाषाको अंग भयो । बेलायती उपनिवेश विरुद्धको संग्राममा घोडा, पैदल र गोरुगाडामा लामो बसाइँसराइ गर्नु परेको थियो त्यहाँका अफ्रिकान्स् बासिन्दालाई जुन पछि ‘द ग्रेट ट्रेक’ नामले प्रख्यात भयो । त्यो थियो सन् १८३०–४० को कुरा ।

यता नेपालमा राणाकालको अन्त्य पश्चात् १९६० को दशकमा भूपू ब्रिटिश–गुर्खा अफिसरको अगुवाइमा एउटा नयाँ खालको पर्यटन शुरू भयो । र, यसलाई के नाम दिने भन्ने प्रश्न उठ्यो । किनकि, हिमश्रृंखलामुनिका गोरेटोहरूमा हप्तौं हिंड्ने कार्यलाई ‘वाकिङ’ भन्न मिलेन, न त ‘क्याम्पिङ’ या ‘हाइकिङ’ नै भन्न सकियो । त्यही वेला हो बेलायती ‘साहेब’ हरूले नेपाली डाँडाकाँडामा शुरू भएको यो अनुपम यात्राको तरीकालाई अफ्रिकान्स् भाषाबाट सापट लिएर ‘टे«किङ’ संज्ञा दिएका । यसरी नेपालमा शुरू भएको यो प्रयोग आज संसारभर प्रचलनमा छ, दक्षिण अमेरिकाको एन्डिजमा होस् वा यूरोपको आल्पस्मा वा अलास्का या अष्ट्रेलियाको ‘आउटव्याक्’ मा, पदयात्रीहरू ‘ट्रेकिंग’ गर्छन् ।

मैले पैदल यात्रा शुरू गरेको कक्षा ९ मा पढ्दा हो । त्यस वेला काठमाडौं उपत्यकाको कुनाकाप्चा एक्लै हिंडेर रोमाञ्चक सफर (एड्भेन्चर) को स्वाद लिएँ । सन् १९७१ मा १६ वर्षको उमेरमा स्कूले पढाइ सकेर एक्कासि सोलुखुम्बू पुगें, जहाँ भर्खर ट्रेकिङ पर्यटनको शुरुआत हुँदैथियो । त्यो पदयात्रामा सोलुको दौरा–सुरुवालमा सुसज्जित शेर्पा दाइले सास नियन्त्रण गरेर उकालो लाग्ने र छरितो गरी ओरालो झ्र्ने ‘विज्ञान’ सिकाइदिए, र म पूरै हिमाल–पहाड–तराई चिर्न सफल भएँ । माथि तेङ्गबोचे गुम्बाबाट खुन्दे–खुमजुङ–नाम्चे हुँदै लुक्ला–चौरीखर्क, खार्ताको उकालो÷ओरालो, टाकशिन्दु, सल्लेरी र ओखलढुंगा, टोक्सेलघाट, कटारी हुँदै पुरानो गोदार निस्किएँ म ।

एक्लै पार गरेको त्यो यात्राले मलाई पदयात्री मात्र होइन, ‘एकल ट्रेकर’ नै बनाइदियो । त्यसपछि ठाउँठाउँ पुगियो आफूसँगको यात्रामा, र कहिलेकाहीं साथीभाइसित । डडेल्धुराबाट मंगलसेन छिचोल्दा जंगलमै रात बिताइयो । अनकन्टारका भीरपाखा विना सहयात्री आफ्नो आत्तिएको मनलाई सम्हाल्दै पार गरियो । जतिवेला लोमान्थाङ पुगेथें पहिलो पटक सन् १९७८ मा त्यतिवेला मध्य पहाडकालाई विदेशी नै जस्तो गरी ‘रोंगवा’ भन्थे मुस्ताङ्गे लोमान्थाङ बासिन्दाले । मोटरबाटो पुग्नुअगावै हिमाल–पहाडका धेरै ठाउँ पुगियो ।

पदयात्राले मलाई फोटोग्राफर, पत्रकार बनायो । र, शायद सबभन्दा महŒवपूर्ण कुरा दिमागलाई (मैले जानेसम्म, शायद !) सिर्जनशील बनायो । यो कसरी ?

आफैं भारी बोकेर एक्लो पदयात्रा गर्दा एक त अगाडिको गोरेटो र वरिपरिको दृश्य हेर्ने, हिंड्ने बाहेक अरू कुरामा ध्यान दिन परेन । अन्तरमनको यात्रा शुरू हुन्छ, र दिमाग यसै चलायमान हुन्छ । फेरि भारी बोक्नु र हिंड्नुको कसरतबाट मुटुले ठूलै मात्रामा रगत सञ्चार गरेको हुन्छ । गिदीभित्रका न्यूरन्का तन्तुहरू तेजिला हुन पुग्छन्– विचार, स्मरण र तर्कको रफ्तारले मन आकाशिन्छ । ट्रेकिङको गति धिमा हुन्छ, जसले गर्दा साइकल चढ्दा या जगिङ गर्दा जतिको सतर्क हुनुपर्दैन र दिमागले आफैंसँग मग्न हुने मौका पाउँछ ।

एक्लो हुनु, तीव्र रक्तसञ्चार र बाटोमा धेरै ध्यान दिनु नपर्र्ने अवस्थाले एकल पैदलयात्रा अरू कुनै शारीरिक क्रियाकलापभन्दा मस्तिष्कलाई बढी क्रियाशील र सिर्जनशील बनाउँछ भन्ने ‘हाइपोथेसिस’ हो मेरो । जब दिमाग यसरी दौडन्छ, नयाँ–नयाँ कुरा सोच्दछ । विसंगतिहरूलाई संगतिमा ल्याउन खोज्दछ, खुल्दुली मेटाउने बाटो पहिल्याउँछ, आफन्त तथा नजिककाहरूतर्फको मायालाई तीव्र पार्दछ र सह–अनुभूति (एम्पेथी) ले नकारात्मक प्रतिस्पर्धी भावनाहरूलाई जित्दछ । शहरी कामकाज र दैनिकीको दौरानमा उब्जने दबाबपूर्ण सोच र अरूलाई होच्याउने गिराउने प्रवृत्तिबाट ‘डिटोक्सिफाई’ हुन पनि एक्लो हिंडाइको दिमाग धुलाइ उचित छ । त्यसैले, खुशी खोज्न ‘एकल पैदल’ नै सर्वोत्तम भन्ने मेरो दाबी हो यहाँ ।

हाम्रा प्राग्–ऐतिहासिक (प्रि–हिस्टोरिक) पूर्वजहरूले धेरै पैदल यात्रा गर्नुपथ्र्यो, उपयुक्त मौसम र शिकार, अनाज, सुरक्षा आदिका कारण । यस क्रममा एक्लै यात्रा गर्ने प्रवृत्ति मानव संस्कृति र मानवशास्त्रीय विकासको बाटो भयो । एक्लै हिंड्ने बानीले ‘ब्रेन एक्टिभिटी’ बढाउनुको कारण मानव मस्तिष्क अन्य म्यामल जनावरभन्दा विकसित हुनपुग्यो । यसैकारण पनि वर्तमान युगका मानवलाई एक्लो हिंड्दा आनन्द आउने हो, किनकि यो क्रियाकलाप उसको उत्पत्तिसँग सम्बन्धित छ । र यो पनि धेरै कारणमध्ये एक होला कि नेपाली नागरिक सन्तुष्ट र सौम्य पाइन्छन्, तुलनात्मक रूपमा यहाँ जीवनयापनका लागि धेरै एकल यात्रा गर्नुपर्छ ।

मानव भनेको मस्तिष्क हो । मस्तिष्क जब दगुर्न थाल्छ, सन्तुष्टि, खुशी, रमाइलो जे भन्नुस् त्यहीवेला प्राप्त हुन्छ । कसैले यो सन्तुष्टि संगीतबाट लिन्छन्, कसैले पुस्तक पढेर । कसैले चित्र कोर्दा यस्तो सन्तुष्टि पाउँछन् त कसैले रमणीय दृश्य एकटक भई हेर्दा । यस्ता सब क्रियाकलापबाट म पनि खुशी लिन्छु । तर, सबैभन्दा बढी खुशी लिन्छु– लामो र एक्लो पैदल यात्राबाट ।

या ‘लिने गर्थें’ ! १२ वर्षअघि ‘राउण्ड अन्नपूर्ण’ ट्रेकबाट मनाङ–लमजुङको बाटो झ्र्ने क्रममा म दुर्घटनामा परें । अझ् भनौं मैले दुर्घटना निम्त्याएँ (दुर्घटनालाई के दोष दिनु !) । स्याँगेको झेलुङ्गे पुलबाट मस्र्याङ्दी तरेर भिरालो बाटो बाहुन डाँडातर्फ जाँदैथिएँ । बर्खाको समय, चिप्लो बाटो, हतारे बानी, दिमाग शायद अर्कै ग्रहमा सफर गर्दै थियो— भीरबाट खसिहालियो । तीन रात लिलीभीरमा अड्केर बसें, तर परिवार, आफन्त, शुभचिन्तक, साथीभाइ तथा त्यहीं भारी बोक्दै आइपुगेका लोकबहादुर लामा र अन्यको सहयोगबाट ‘पुनर्जीवन’ पाएँ ।

एक्लो पैदल यात्रा गरेर परिवार र साथीसँगिनीलाई ‘फेरि यो कता गएर लड्ने हो’ भन्ने पीरको भारी बोकाउने कुरै भएन दुर्घटना पश्चात् । तसर्थ एक दशक भयो लामो दूरीको एकल पदयात्रा नगरेको मैले, तर ‘हाइपोथेसिस्’ जहाँको त्यहीं छ । आजै पनि म भन्छु, खुशी खोज्नु छ भने भारी बोक्नुस् र थाल्नुस् हिंड्न । सक्दा त एक्लै राम्रो !

Post navigation

Previous Post:

Watching the watchers

Next Post:

बेयुल भू–स्वर्ग: पर्खाइ र प्राप्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes