Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

एक्लो पथप्रदर्शक सत्याग्रही

October 19, 2020 by admin

हिमाल खबरपत्रिका (१६ असोज, २०७७) बाट)

नेपालको जनस्वास्थ्य सुधारको यात्रा लामो हुनेछ, यसमा तपाईं डा. केसी बीच बाटोमै हामीलाई अलपत्र नछोडिदिनुस्। सरकारले तपाईंसँग वार्ता गर्न आओस् नआओस्, त्यो उसको मान्यता र आचरणको कुरा भयो। उसले केही भनोस् नभनोस्, फेरि कुनै अर्को प्रतिबद्धतामा हस्ताक्षर गरोस् नगरोस्, त्यो आफ्नो ठाउँमा छ। तर जनताको लागि सत्याग्रही डा. गोविन्द केसी हाम्राे सामु रहिरहनु आवश्यक छ।

आमरण अनशनको १९औं दिनमा रहेका डा. गोविन्द केसीलाई भेट्‍न १६ असोजमा त्रिवि शिक्षण अस्पताल पुगेका पूर्वराष्ट्रपति डा. रामवरण यादव।

मुलुकका लाखौंलाख बिरामीप्रतिको असिम प्रेमले डा. गोविन्द केसीलाई आमरण अनशनको बाटोमा लगेको हो। तर आजसम्मको आफ्नो अभियानको सफलतालाई बचाउन पनि उनले आफ्नो ज्यान फाल्नुहुँदैन।

डा. गोविन्द केसीको आमरण अनशन बस्ने अठोट र आदतको म विरोधी हुँ। किनकि उनको जीउ–ज्यान र सोच नेपाली जनस्वास्थ्य र बृहत् नागरिक समाजको लागि आवश्यक छ।  निर्दयी राज्यलाई चुनौती दिंदै ज्यान गुमाउनु व्यर्थ छ।

विशेषगरी द्वन्द्वकालपश्चात्को हाम्रो समाजमा मरणको अवमूल्यन हुन गएको छ। एउटै बस दुर्घटनामा हुने दर्जनौंको मृत्यु होस् वा पहिरोले ठूलो परिवारको एउटै चिहान बनाउने घटना —  सामान्य लाग्न थालेका हामीलाई एउटा सत्याग्रहीको मरण बग्दो नदीको पानीको फोका जस्तै हुनसक्छ। चिन्ता यो हो। 

डा. केसी सत्याग्रही हुन्। तर सत्याग्रहको महत्व नै बिर्सेको समाजमाझ छन् उनी। आज २ अक्टोबर शान्तिपूर्ण गैरहिंसक आन्दोलनको प्रतिपादक र प्रतीक मोहनदास करमचन्द गान्धीको जन्मदिन, जसले सामाजिक र राजनीतिक रूपान्तरण शान्तिपूर्ण तरिकाले गर्न सकिन्छ र गर्नुपर्छ भनी ‘सत्याग्रह’ को दर्शन अगाडि सारे।

बीपी र गान्धी

नेपालमा राजनीतिक रूपान्तरणका लागि वा सत्ता परिवर्तनको लागि बन्दूक उठाउनुपर्छ भन्ने स्वीकारोक्तिसहित नेपाली कांग्रेसले छोटो सशस्त्र विद्रोह गरेको हो, जुन निरंकुश राणाशासन विरुद्ध थियो। बन्दूक उठाउने सन्दर्भमा बीपी कोइराला र महात्मा गान्धीबीच मतभेद भएको थियो, बिडला हाउस, नयाँदिल्लीमा। त्यस बहसको केही दिनपछि राणाहरूलाई सिध्याउन ग्रिनेड राखिएको एउटा बोरा हातमा लिएकै बेला कलकत्ता सडकछेउको किराना पसलको रेडियोबाट महात्मा गान्धीको हत्याको खबर सुनेर स्तब्ध भएको बीपीले आत्मवृत्तान्त  मा बताएका छन्।

बीपीलाई सशस्त्र आन्दोलनबाट निरुत्साहित गर्न खोजेका महात्मा गान्धी लोकतान्त्रिक व्यवस्था विरुद्ध बन्दूक उठाउने नेपाली माओवादीको योजना विरुद्ध झनै कडा रूपमा उत्रन्थे होला भनेर अनुमान गर्न सकिन्छ, सँगै माओवादीलाई दमन गर्ने क्रममा राज्यद्वारा भएका ज्यादती विरुद्ध पनि। द्वन्द्वकाल उत्कर्षमा पुग्दा नेपाल र नेपालीले भगवान बुद्धको शान्तिको सन्देश र महात्मा गान्धीको अहिंसाको सन्देशलाई सँगै सम्झनुपर्छ भनेर नै हिमाल खबरपत्रिका ले (१६–३१ जेठ २०६०) एउटा पोस्टर सार्वजनिक गरेको थियो, जसको शीर्षक थियो, ‘कहाँ छन् गान्धी’।

गान्धीको मान्यता थियो मानव मस्तिष्क स्वभावतः निरंकुशताको खिलाफमा रहन्छ, तर कुनै पनि विमति, वा विद्रोहले शान्तिपूर्ण अहिंसक बाटो लिनुपर्छ, अनि मात्र मकसद पूरा हुन्छ। हुन पनि त्यत्रो बेलायती साम्राज्यलाई अन्ततोगत्वा भारतमा पछार्न सफल गान्धीको सत्याग्रह नै थियो।

गान्धीको मान्यता थियो मानव मस्तिष्क स्वभावतः निरंकुशताको खिलाफमा रहन्छ, तर कुनै पनि विमति, वा विद्रोहले शान्तिपूर्ण अहिंसक बाटो लिनुपर्छ, अनि मात्र मकसद पूरा हुन्छ। हुन पनि त्यत्रो बेलायती साम्राज्यलाई अन्ततोगत्वा भारतमा पछार्न सफल गान्धीको सत्याग्रह नै थियो।

नेपालको सन्दर्भमा पनि राज्य सञ्चालकहरूको दशकौंदेखिको निरन्तर भ्रष्ट, लापरबाहीपूर्ण, जनताप्रति अनुत्तरदायी आचरणले गर्दा नागरिक मनमा आक्रोश थियो र छ। माओवादीले त्यो आक्रोशलाई प्रयोग गर्दै युवाको हातमा बन्दूक थमाइदिए भने अर्को ध्रुवमा डा. गोविन्द केसीले जनस्वास्थ्य क्षेत्रमा अकर्मण्य र गैरजिम्मेवार राज्यको आचरण विरुद्ध गैरहिंसक बाटो रोजे। यस क्षेत्रको गहिरो अध्ययन गरिकन डा. केसीले नेपाली जनमानसलाई स्वास्थ्य सेवा दिन तर्कपूर्ण बाटो देखाए, राज्य र बृहत् समाजलाई।

१९औं अनशन

मुख्यतः डा. केसीले चिकित्सा सेवामा बजारीकरण हुँदा स्तरीय उपचार निमुखा जनताको पहुँच भन्दा बाहिर जाने देखे। सह–अनुभूतिले भरिपूर्ण उनको मस्तिष्कलाई यो असह्य भयो किनकि उनले भोका, नाङ्गा, गरीब बिरामीको उपचार गर्दा आफ्नो दशकौंको अभ्यासमा आमजनले पाउने स्वास्थ्य सेवाको वास्तविक अनुहार नजिकबाट देखेका थिए।

जनस्वास्थ्यको स्थिति र जनताको पहुँचको अभाव, यी दुइटा कुराका ज्ञाता डा. केसीले एक–दुई लेख, सेमिनार प्रस्तुति र प्रतिवेदन तयार पारेर चित्त बुझाएनन्। जब वर्षौंको कोशिशद्वारा आफ्नो तर्कपूर्ण कुराको सुनुवाइ भएको पाएनन्, उनले आवाज चर्काे गरे, कराए, टेबुल ठटाए। न व्यवस्थापकले सुने, न नेताले टेरे, न त मिडियामार्फत आम नागरिकमाझ स्वास्थ्य क्षेत्रको संभावनाबारे स्वर र सूचना पुग्यो।

अनि डा. केसीले थाले आफ्नो आन्दोलनको अर्काे चरण, उही गान्धी दर्शनले सुझाएको सत्याग्रह — अरूलाई हानि नगर्ने, आफ्नै शरीरलाई भने मृत्युको सँघारमा पुर्‍याउने। आफ्नो शरीर र मस्तिष्क — र आफ्नो भौतिक अस्तित्व — नै दाउमा राखेर डा. केसीले जनताको स्वास्थ्य सुधारको लागि लडेका हुन्। यस अर्थमा डा. गोविन्द केसी जनताका महान सेवक हुन्।

आफ्नो शरीर र मस्तिष्क — र आफ्नो भौतिक अस्तित्व — नै दाउमा राखेर डा. केसीले जनताको स्वास्थ्य सुधारको लागि लडेका हुन्। यस अर्थमा डा. गोविन्द केसी जनताका महान सेवक हुन्।

कसैले एक्लै लड्न रुचाउँछ, कसैले जमात खडा गर्दछ। यो आफ्नै स्वभाव, प्रवृत्ति, सम्भावना र स्रोत–साधनको कुरा हो। डा. केसी भने एक्लो पथप्रदर्शक हुन्। आफूले जानेको कुरामा उनी दृढ छन् भने आमरण अनशन बाहेक अरू कुनै उपाय छैन भन्ने उनको बुझाइ रह्यो। यसरी डेढ दर्जन बढी पटक आमरण अनशन बसे डा. केसी, हरेक पल्ट आफ्नो ज्यानलाई हत्केलामा लिइकन।

डा. केसीले राखेका मागहरूप्रति अन्ततोगत्वा विभिन्न दलका सरकारहरूले विभिन्न समयमा ध्यान दिनै पर्‍यो, स्वीकार्नै पर्‍यो, र चिकित्सा क्षेत्रले र उच्च शिक्षा क्षेत्रले पनि। यसबीचमा बाध्य भएर सरकारले उनका कतिपय माग पूरा गर्ने वचन दियो, केही पूरा गर्‍यो पनि। तर सरकार अझै पनि आलटाल गर्दैछ भन्दै डा. केसीले जुम्लाबाट शुरू गरेको आफ्नो १९औं अनशनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालकाे एनेक्स–१ भवनको बेड नं ५०१ बाट निरन्तरता दिइरहेका छन्।

सम्झना नन्दप्रसादको 

डा. केसीले पक्कै पनि राज्यलाई चिर निद्राबाट झक्झक्याउने र छिटो परिवर्तन ल्याउने बाटो अरू केही नदेखेर आमरण अनशनको स्वघातक अस्त्र प्रयोग गरेका हुन्। यो उनको उचित स्वास्थ्य सेवाको अभावमा ज्यान खेर गइरहेका, गुमाइरहेका नेपाली बिरामीप्रतिको असिम प्रेमको उपज हो र आफूले देखेको उपायबारे दृढ इच्छाशक्ति र लगाव पनि।

सबैले आफूले देखे–बुझे अनुसार कुरा गर्ने हो, यसैले डा. केसीको गहन अठोट र अमूल्य अभियानको कदर गर्दै, उनलाई अनशन तोड्न आग्रह गर्नु हामी नागरिकको कर्तव्य हो। त्यस्तै अहिलेसम्म वार्ता टोलीसम्म पनि नबनाएर डा.केसीको सत्याग्रहलाई उपेक्षा गरिरहेको सरकारले तत्काल उनीसँग भएका विगतका सम्झौताहरूको ‘चेकलिस्ट’ बोकेर वार्तामा बस्नु आम नागरिकको राय हो भन्दा गल्ती हुने छैन।

सरकारले १९औं आमरण अनशनका क्रममा डा. केसीले राखेका ६ वटा मागहरू बारेमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ। तत्काल पूरा गर्न सकिने/नसकिने के हो भन्नुपर्छ र कहिल्यै नसकिने हो भने के कारणले सम्भव छैन त्यो पनि सरकारले सार्वजनिक रूपमा भन्नुपर्छ। त्रिवि शिक्षण अस्पतालकाे बेड नं. ५०१ लाई यसरी अनदेखा गर्नु उदार राज्यको परिभाषा विपरीत छ।

बृहत्तर नागरिक सरोकार रहेको डा.केसीको आमरण अनशन र उनको मागप्रति राज्यको आजैसम्मको मौनता अचम्मको छ भने सरोकारवाला पूरै चिकित्सा क्षेत्रको मौनता पछाडि के लुकेको हुनसक्छ, यो पनि मननयोग्य छ। तर राज्य, सरकार र चिकित्सा/जनस्वास्थ्य क्षेत्रले मागहरूप्रति क्रूरताका साथ वास्ता नगर्दा पनि डा. केसीलाई दुईहात जोडेर यो अनशन तोडिदिनुस् भन्ने दिन हो यो।

राज्यसँग कडा विमति जनाउँदै ‘डिसेन्ट’ गर्न पाउनु नागरिकको लोकतान्त्रिक अधिकार हो, यसैले नारा जुलूस, पोस्टर पर्चा, लेख, भिडियो, यूट्यूब, सामाजिक सञ्जाल सबैलाई नागरिकले शान्तिपूर्ण तरिकाले आफ्नो ‘डिसेन्ट’ व्यक्त गर्ने बाटा हुन्। डा. केसीले पनि जनस्वास्थ्य र चिकित्सा क्षेत्रमा भएको विकृति तथा जनघातक गैरजिम्मेवार यथास्थितिको विरोधमा ‘डिसेन्ट’ जनाएका हुन्। र, उनको छनोट माध्यम रह्यो आमरण अनशन।

यसअघि पनि धेरैचोटि भनेकै कुरा हो, नेपालको राज्य क्रूर बनेको छ, द्वन्द्वकालका दाग भन्नुस् या जनतासँगका दूरीका कारण। कुनै नागरिकको पीडा, अनशनबाट गुम्ने ज्यानप्रतिको संवेदना हाम्रो शीर्षस्थ राजनीतिक नेतृत्व (सरकार वा प्रतिपक्ष) कसैमा पनि छैन। एउटा अनशनकारीलाई झन्झटिलो घाउ वा फोकाको रूपमा हेरिन्छ जो ढिलोचाँडो बाटो लाग्छ र हाइसञ्चो हुन्छ। यसो गर्दा ‘क्यूमुलेटिभ्’ वा समष्टिगत रूपमा जसरी समाजमा जलनको ज्वालामुखी निर्माण भइरहेछ, त्यो त हाम्रो समयमा फुट्दैन भोलिका नेताले हेर्लान् भन्ने प्रवृत्ति छ। 

नन्दप्रसाद अधिकारी जसले अनशनमै ज्यान गुमाए ।

गंगामाया र नन्दप्रसाद अधिकारीको आमरण अनशन, नन्दप्रसादको अनशनको ३२९औं दिन ६ असोज २०७१ मा मृत्यु हुनु र उनको शव एउटा प्लास्टिकको बोरामा त्रिवि शिक्षण अस्पतालकाे ‘मोर्ग’ कोठामा यत्तिकै आजसम्म रहनुले यही क्रूर राज्यको तथ्य दर्साउँछ। 

गान्धी आमरण अनशन बसे बेलायती शासकलाई धपाएर भारतमा स्वराज स्थापना गर्न, भड्किएको हिन्दू मुस्लिम दंगाको अन्त्य गर्न। राज्यसँग कडा विमति जनाउँदै ‘डिसेन्ट’ गर्न पाउनु नागरिकको लोकतान्त्रिक अधिकार हो, यसैले नारा जुलूस, पोस्टर पर्चा, लेख, भिडियो, यूट्यूब, सामाजिक सञ्जाल सबैलाई नागरिकले शान्तिपूर्ण तरिकाले आफ्नो ‘डिसेन्ट’ व्यक्त गर्ने बाटा हुन्। डा. केसीले पनि जनस्वास्थ्य र चिकित्सा क्षेत्रमा भएको विकृति तथा जनघातक गैरजिम्मेवार यथास्थितिको विरोधमा ‘डिसेन्ट’ जनाएका हुन्। र, उनको छनोट माध्यम रह्यो आमरण अनशन।

जतिकै बौद्धिकता प्रयोग गर्दै डा. केसीको आमरण अनशन पछाडिको बुझाइ र तर्कलाई आत्मसात् गर्दा पनि डा. केसीलाई अनशन अन्त्य गरिदिनुस् भन्नुपर्ने हुन्छ। नेपालको जनस्वास्थ्य सुधारको यात्रा लामो हुनेछ, यसमा तपाइँ डा. केसी बीच बाटोमै हामीलाई अलपत्र नछोडिदिनुस्।

सरकारले तपाईंसँग वार्ता गर्न आओस् नआओस्, त्यो उसको मान्यता र आचरणको कुरा भयो। उसले केही भनोस् नभनोस्, फेरि कुनै अर्को प्रतिबद्धतामा हस्ताक्षर गरोस् नगरोस्, त्यो आफ्नो ठाउँमा छ। तर जनताको लागि सत्याग्रही डा. गोविन्द केसी हाम्राे सामु रहिरहनु आवश्यक छ।

Post navigation

Previous Post:

भेट्दै गरौंला, टेड !

Next Post:

River in disequilibrium: How engineering attempts to ‘tame the Kosi’ have only added to human misery

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes