Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

किन नजाने बङ्गलादेश घुम्न ?

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१६–३१ साउन ,२०५९  )बाट

छिमेकी राष्ट्र बङ्गलादेश नेपालको दक्षिणपूर्वी कुनाबाट ३० किलोमिटर मात्र टाढा छ । धेरै वर्षको प्रयासपछि पाँच वर्ष पहिले भारतीय भू–भाग भएर काकडभिट्टाबाट फुलवारी हुँदै बङ्गलादेशको बङ्गलाबन्धसम्म सामान ढुवानी गर्न पाउने अनुमति पनि नेपाललाई प्राप्त भइसकेको छ । तर पनि नेपाल र बङ्गलादेशबीच निजी गाडी चल्दैनन् । मानिसका विचारमा “बाटो खराब छ”, “भारतले अनुमति दिँदैन”, “बङ्गलादेशमा बाढी आउँछ” र यस्तै अरू केही अनुमानहरू ।

सेमिनार र सभाका निम्ति काठमाडौँ–ढाका आउने–जानेहरू प्रायः हवाईजहाज नै चढ्ने गर्छन् । बङ्गलादेशमा पढ्न जाने हजारौँ नेपालीमध्ये केहीचाहिँ ठाउँ ठाउँमा बस र ट्याक्सी चढ्दै यही भूमार्ग नै प्रयोग गर्छन् । हामी ‘बिटल’ कारमा जान आट्यौँ । यो अनौठो आकारको कारको पहिलो मोडल सन् १९३० को दशकमा एडल्फ हिट्लर स्वयंले ‘भोक्सवागन’ (जनताको गाडी) नामाकरण गरेर उद्घाटन गरेका हुन् । मुसाको आकार परेको यो कार नेपाली बाटोघाटोमा चाहिँ ‘भ्यागुते गाडी’ भनेर चिनिन्छ ।

धेरै अगाडिदेखि यो लेखकको आफ्नो “पुरातात्विक” चाहिँ भन्न नमिलिहाल्ने भक्स्वागन “बिटल” कार काठमाडौँदेखि ढाका हाँक्ने रहर थियो । अघिल्लो महिना जोरपाटीमा रहेको स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र सञ्चालनको निम्ति रकमको आवश्यकता पर्यो । त्यो आवश्यकता पूरा गर्न ‘बिटल’ को ढाका–काठमाडौँ यात्रालाई “फण्ड रेजिङ्ग ड्राइभ” को रूपमा अगाडि बढाउने निर्णय गरेँ । काठमाडौँ–ढाकाबीचको १२०० किमिको दूरीलाई साथीभाइ र अन्य हितैषीबाट प्रति किमि रु.१००० को दरमा पैसा उठाई जोरपाटी केन्द्रलाई अरू तीन–चार महिना चलाउन सक्ने लक्ष्य बनाइयो ।कुरिनटार नपुग्दै हाम्रो भ्यागुते गाडी ।भारतको छोटो दूरी पार गर्न लैनचौरस्थित भारतीय दूतावासबाट कागजात पास गराउन केही कष्ट भएन । बङ्गलादेशमा भने नेपाली कार जाँदै नजाने गरेकोले महाराजगञ्जको दूतावासमा अलिकति भनसुन गर्नुपर्यो, जब कि अरूले जाने चेष्टा गरे भने यो पनि सजिलो हुने देखियो । भारतबाट बङ्गलादेश छिर्ने अनुमति बङ्गलादेश दूतावासबाट प्राप्त हुनासाथ त हामी बाटो लाग्न तैयार भइहाल्यौँ । २८ असारमा छोरी हिमाली, भतिजो मिकु र म स्पाइनल इन्जरी केन्द्र जोरपाटीबाट फूलमालासहित विदा भयौँ । थोरै नै भए पनि साहस चाहिने बाटोमा सबै राम्रो गराइदिनका लागि मित्र र ‘नववाद्य’ कलाकार सलिल सुवेदीले अष्ट्रेलियायी आदिवासीको आफ्नो वाद्ययन्त्र ‘डिजरीडू’ फुक्दै तीनचोटि बिटलको परिक्रमा गरे ।

रिङ्गरोड काठमाडौँ उपत्यका छाड्न धेरै समय लाग्यो, फोहोर, खचाखच । कताबाट हो किन हो, एउटा पूरै गोबर भरिएको बडेमानको ट्रकले हाम्रो अगाडि बाटै नछोडी चाबहिलदेखि कलङ्कीसम्मै साथ दियो । गोबर भने फ्ल्यात फ्ल्यात गर्दै हाम्रो बाटो सुगन्धित पार्दै झ्र्दै गर्यो त्यो ट्रकबाट ।

ठीक छ, गोबरै त हो, साइत नै पर्यो भन्दै थानकोटको बाटो लाग्यौँ । सदा झैँ, गत २५ वर्षमा करोडौँ अरू नेपाली यात्रुले झैँ पूर्व (काकडभिट्टा) जान पहिले हामी पश्चिम (नारायणगढ) लाग्यौँ । अक्सर रात्रिबसमा हिँडेको यो बाटोमा दिउँसो हिँड्दा चितवनको भित्रिमधेशदेखि पूर्वी नेपालको तराईसम्म बाटोको छेउमा मात्रै भए पनि सालको जङ्गल अझ्ै रहेको देख्ता आनन्द लाग्यो ।

अमलेखगञ्ज नजिक बाटोमा तगारो हाल्ने सिपाहीले निहुरिँदै सोधेः “कता जान लाग्नु भा’को ?” “बङ्गलादेश ।” “ए बङ्गलादेश ? जानुस् ।”हाम्रो बाङ्ला ‘एस्कर्ट’ सँग बेलुकीपख बोगुरा शहरतर्फ लाग्दै ।ती प्रहरीको व्यवहार यति सहज लाग्यो; मानौँ दिनदिनै वीरगञ्ज र विराटनगर जाने जस्तै यो बाटोबाट गाडीहरू ढाका पनि जाँदा हुन् । हुनुपर्ने त त्यस्तै हो । तर बङ्गलादेश भनेको गरीबीको अखाडा भन्ने विदेशी दातृ संस्थाले पारिदिएको छापले हाम्रो मन भरिदिएको छ । त्यसैले त्यो छिमेक देश ‘घुम्न जाने’ विचार नै हाम्रो मनमा पलाउँदैन । यसको असर त हामी नेपालीलाई नै पर्दछ, किनभने न बङ्गाली उच्च संस्कृतिसँग हामी परिचित हुन्छौँ, न त बङ्गला देशले गरेको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बारेमा नै हामी जान्ने गर्छौँ । गरीब त हामी भयौँ यसो गर्दा ।

बङ्गलादेशको कुरा गरे पनि हामी अझै नेपालमै थियौँ । मनसुनी याममा बडेमान भएका खोलाहरू नाघ्दै पूर्व लागियो, पहिला सप्तगण्डकी मिसिएको नारायणी अनि रापती, बागमती, कमला र कोशी पार गर्दै गएका नदीहरूलाई मनमनै भनियो, “बङ्गलादेशमा भेटिहालिन्छ नि !”

रात पर्दा इटहरी, जहाँ एउटा बबुरो ‘चोर’ लाई दुई पुलिस जवानले लत्याउँदै ल्याए । हाम्रो बिटल कारको पछाडिको ‘बुट’ खोल्दै गर्दा फेला परेको रे । राति कफ्र्यू लागेको बेला पुलिस र सिपाही जताततै हिँड्ने बेलामा पनि बिटलको ‘बूट’ खोल्न हिम्मत गर्ने त्यो ‘चोर’ आँटिलो रहेछ जस्तो लाग्यो, तर यो बिटलको ‘डिकी’ अगाडि हुन्छ, पछाडि त रेडिएटर नभई चल्ने ‘एयरकूल’ इन्जिन हुन्छ भन्ने कसैले बताइदिएनछ । उनलाई नाजायज उत्पीडन नहोस्, भन्ने विचार गर्दै भोलिपल्ट हामी बिहानै काकडभिट्टातर्फ लाग्यौँ । भन्सारको हाकिमले त कान्तिपुर पढ्दै रहेछन्, “भर्खर तपाईंको यात्राबारे पढ्दैथिएँ, तपाईं त आइपुगिसक्नुभएछ ।” मेची पार गर्दै, जङ्गे स्तम्भलाई सलाम ठोक्दै भारत पसियो, तर पुग्नुथियो नजिकैको बङ्गलादेश । भारत सिमानामा, कस्टम र इमिग्रेशन दुवैमा नेपाली भाषी अफिसर सा’वहरू “बङ्गलादेश जाने” भनेपछि अलि अक्मकिए, तर हाम्रो उचित कागजात छँदैथियो, सजिलै बाटो लाग्यौँ ।

सिमानादेखि दक्षिण एसियाको माओवादी उद्गमस्थल नक्सलवारीसम्म बाटो बिग्रन दिइएको जस्तो लाग्यो, नत्र राम्रो हाइवेमा हाम्रो बिटलले जोशिन पायो । सिलिगुडी, मैनागुडी पार गर्दै, फुलवारी पुग्यौँ । यो नेपालबाट नजिक पनि पर्छ, तर बङ्गलादेश सरकारले अलिपरको नाका खोलेको छ, च्याङ्ग्राबन्धामा । च्याङ्ग्रा त कतै देखिएन, तर नेपालको तराई र भारतको ‘चिकन्स् नेक’ (नेपाल–बङ्गलादेशले साँघुरो पारेको क्षेत्र) देखि ढाकासम्म नै बाटोमा बाख्रा नै बाख्रा देखिए । सिजन नै रहेछ कि क्या हो; ठूला बाख्रा, साना बाख्रा र पाठा, र सबैको ध्याउन्न एउटै– आफ्नो गर्धनलाई बाटोको रोडामा सुत्दै कन्याउने !

च्याङ्ग्राबन्धामा पनि भन्सार र अध्यागमन कार्यालयमा नेपाली भाषी कर्मचारी नै थिए । उहीहरू र बोर्डर सेक्युरिटी फोर्सका जवानलाई पनि कागजात देखाई हामी बङ्गलादेश र भारतबीचको ‘दश गजा’ छिर्यौँ, जो झ्ण्डै आधा किमिको थियो । पारिपट्टि बङ्गलादेशको बुडीमारीमा हाम्रो जस्तै चारवटा बिटल हामीलाई कुरिरहेको देख्यौँ, र हामीलाई स्वागत गर्न अगाडि बढे बङ्गलादेश भक्स्वागन क्लबका अध्यक्ष र सदस्यहरू, जुबेर, राजु, जायद र मुर्ताजा । यी ‘ऐतिहासिककाल’का बिटल हाँक्ने सबैमा एक किसिमको समवेदनशीलता हुन्छ, जसले गर्दा तुरुन्तै मित्रता गाँसिइहाल्छ । हामीबीच पनि त्यस्तै भयो ।

बुडीमारीको एउटा ढाबामा रमाउँदै हामीले दिउँसोको खाना खायौँ– एउटा कुनामा नेटीभीको शनिबारको हिन्दी सिनेमा आइरहेको थियो । अनि चार रंगीविरंगी बिटल– एउटा नेपाली र दुई वटा बाङ्ला–उत्तर बङ्गलाका हरिया खेतबीच कुदाउँदै हामी दक्षिण लाग्यौँ । एकताकाका सशक्त जनरल मोहमद हुसैन अर्साद यही उत्तरी रंगपुर इलाकाको भएकोले यहाँको बाटो खुब राम्रो बनाएका थिए र आज पनि बिग्रेको छैन । जताततै हाम्रो बाटोमा रातो–सेतो नम्बर प्लेट र ढोकामा लेखिएको “स्पाइनल इन्जरी संघ नेपाल”ले बङ्गलादेशीलाई तान्यो । रोकेको बेलामा हाम्रो वरिपरि हुल जम्मा भइहाल्थ्यो ।

इटहरीबाट हिँडेको रात बोगुरा भन्ने उत्तर बङ्गालको कृषि क्षेत्रको माझ्मा रहेको शहरमा ढाका बिटलवाला मित्रहरूसँग हामीले बितायौँ । बेलुकी नेपालमा भएको भए बियर र रक्सीको सेवनसहित स्वागत भोज हुन्थ्यो भने ती भलाद्मी बङ्गालीहरूलाई रमाइलो गर्न केही चाहिँदो रहेनछ । मीठो माछाको तरकारी र भात भए पुग्यो । पहिला त मलाई मेरो बिटलबारे उनीहरूले केरकार गरे– तिम्रो टायरको हावा कति पि.एस.आई, रियरभ्यू मिरर त ‘अरिजिनल हैन नि’, कुन स्पार्क प्लग चलाउँछौ ? धेरै कुराको जवाफ मसित थिएन । उनीहरू भने बिटल कारहरूको बखान गर्दै र यसको सानोतिनो कुरामा लामो छलफल गर्दै घण्टौँ बिताउन सक्ने ! बियर पिउनै नपर्ने ।

भोलिपल्ट फेरि राजु भाइको १६०० सीसीको ‘सुपर बिटल’ को पछि रेस गर्दै फेरि हामी ढाकातर्फ कुद्यौँ । हाइवे त झ्न् राम्रो हुँदै गयो, करीब युरोपेली स्तरको भन्न सकिने, अनि हामी बङ्गलादेशीहरूले गर्व गर्ने बङ्गबन्धु–सेतुमा आइपुग्यौँ । ५ किलोमिटर लामो यो पुलले समुद्रजस्तो चौडा देखिने ब्रह्मपुत्र नदीलाई नाघ्दछ । यसलाई ‘जमुना ब्रिज’ पनि भन्दछन् किनभने यहाँ ब्रह्मपुत्रलाई जमुना भन्दछन्, गङ्गालाई पद्मा (पोद्धा) र दुईको सङ्गम पछिको भयङ्कर नदीको नाम हो मेघना । यो पुललाई बनाउन त पहाडको रासको ढुङ्गा चाहिने, तर बङ्गलादेशमा खाली माटो मात्र भएकोले सबै ढुङ्गा राँची नजिक बिहारबाट रेलमा लेराएको रे ।

जमुना पार गरेपछि ढाका नजिकै आइपुगियो । त्यहाँ राजधानीबाट तीन वटा अरू बिटल हामीलाई भेट्न आइपुगे । त्यसपछि ६ वटा भ्यागुते गाडीले हामीलाई ‘एस्कर्ट’ गर्दै ढाकाको स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पुर्याए । त्यहाँको एउटा सभागृहमा २०० दर्शक कुरिरहेका रहेछन्, जसमध्ये आधा त ह्वीलचेयर र ह्वील स्टे«चरमा रहेका प्यारालाइज भएका विरामीहरू । हाम्रो गाडीलाई स्टेजमै पुर्याउने निर्देशन आयो र हाम्रो निलो बिटल सबै अगाडि पुग्यो र अभिवादन पायो । पछाडि भित्तामा “फिनिश लाईन” भनेर हाम्रो काठमाडौँदेखिको यात्राको सङ्केत थियो । स्वागत भाषण भयो र मेरो पनि त्यो बाङ्गला जमात सामु बोल्ने पालो आयो ।

मैले हामी काठमाडौँदेखि ढाकामा स्पाइनल इन्जरी ट्रिटमेन्ट सम्बन्धी सिक्न आएको कुरा बताएँ र दुई वर्षअघि पदयात्रा गर्दाखेरिको आफ्नो दुर्घटना तथा उपचार र पुनस्र्थापनाको कथा सुनाएँ । अनि दुई देशबीचको स्पाइनल इन्जरी सम्बन्धी फरक सन्दर्भ बताएँः “बङ्गलादेशमा भीरबाट खसेर ढाड भाँच्न सकिँदैन; किनभने यहाँ भीर पहाड नै छैन । कतै खसियो भने पनि माटैमा भासिने हो, तर हामीकहाँ त चट्टानसँग जुध्नुपर्छ । नेपालमा कतै भीरपाखामा लड्न पुगियो भने कसैले फेलै नपार्ने डर पनि छ भने यस्तो जनघनत्व भएको यो देशमा त त्यसको पीर नै भएन ।” हामीकहाँ त ठूल्ठूलो हेलिकप्टर र जहाज हराउँदा पनि फेला पर्दैनन्, तर मैले त्यो त्यहाँ भनिनँ ।

यसैगरी हाम्रो काठमाडौँ–ढाका यात्रा टुङ्गियो । यो यात्राले मलाई दिएको मौन सन्देश चाहिँ; दुई देशबीचको बाटो राम्रो छ, ढाकाको सांस्कृतिक रहनसहन उत्कृष्ट छ, बङ्गलादेशीहरूले आधुनिकीकरणसँग जसरी मुकाविला गरेका छन्, त्यसबाट हामी सिक्न सक्छौँ, बैंकक र सिङ्गापुर ताक्ने नेपालीले ढाका पनि हेर्न गए हुन्छ भन्ने हो । कम खर्चिलो देश, उच्च आदर्श र संस्कृतिले प्रेरित समाज तथा नेपाली भनेपछि हुरुक्कै हुने बाङ्लादेशीहरू । उसो भए बसमा गुडेरै भए पनि किन नजाने ढाका आउँदो हेमन्त या हिउँदमा ? कक्सेस बजारको संसारको सबैभन्दा लामो ‘बिच’, अनि सुन्दरवनमा दुई–तीन दिनको नाउको सयर । अनि ढाकामा उत्कृष्ट किनमेल, खानपिन र सुमधुर बङ्गाली सङ्गीत । हामी त गयौँ भ्यागुते गाडीमा अर्कै काम लिएर । तर उही भूमार्गको बाटो भएर फर्किएपछि पनि हाम्रो सन्देश भने यही छ– बङ्गलादेश घुम्न किन नजाने ?

Post navigation

Previous Post:

Bugging Bangladesh

Next Post:

Upper Mustang in Kathmandu

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes