Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘क्यारे’ र ‘ब्यारे’

July 26, 2021 by admin

हिमाल खबरपत्रिका (१-७ फागुन २०७३) बाट

हिमाली क्षेत्रका नामूद मानवशास्त्री, बीपी कोइरालाका प्रशंसक तथा अमेरिकामा बेवारिस बनेको बीपीको सालिकका संरक्षक प्रोफेसर टेड रिकार्डी नेपाली भाषाबाट रोमाञ्चित छन्। दुई वर्षअघि पाटनढोकाको एउटा भेलालाई सम्बोधन गर्दै उनले भने, “मलाई सबैभन्दा चकित पारेको ‘ब्यारे’ र ‘क्यारे’ प्रयोगले हो। ल भन्नुस् त ‘होइन क्यारे’ र ‘होइन ब्यारे’ कसरी छुट्याउनुहुन्छ!”

टेड रिकार्डी।

हुन पनि, हालै दिवंगत मेरा पिताजी कमल दीक्षित, प्रोफेसर रिकार्डी तथा स्वीट्जरल्याण्डको बर्न् विश्वविद्यालयका भाषाविद् जर्ज भ्यान ड्रिम्लाई नेपाली भाषाको वैज्ञानिक प्रेमले बाँधेको छ। तीनै जनाले नेपालीको विशेषताको अध्ययन गरे, किन यो भाषाले माया पायो, फैलियो।

‘क्यारे’ र ‘ब्यारे’ ले सूक्ष्म फरक अर्थ जनाउँछन्। ‘क्यारे’ मा वक्ताले आफ्नो मनको खुल्दुली या अनिश्चय दर्शाउँछ भने ‘ब्यारे’ ले सम्बोधित व्यक्तिलाई खुल्दुली या अनिश्चयबाट मुक्त गराउन खोज्दछ। (म भाषाविद् नभएको कारण यो परिभाषा गलत पनि हुन सक्दछ!)

बुवा कमल दीक्षितको त जीवन नै नेपाली भाषाको अध्ययनमा समर्पित थियो, उहाँको जस्तो सुसंस्कृत विद्वत्ता मसँग छैन। नेपाली भाषाको मिठास तथा यसको ‘डाइनामिजम्’ को आकार भने मैले बुवाबाट केही बुझे। उहाँ नेपाली व्याकरणका बुझाइबारे शिक्षक मासिक पत्रिकामा स्तम्भ लेख्न भर्खरै थाल्नुभएको थियो पनि। नेपाली भाषाको गुणमध्ये एउटा यसको अनुकरणात्मक खजाना हो, उहाँको भनाइमा। यसको प्रयोग उहाँले २००१ सालमा १४ वर्षको उमेरमा उदय पत्रिकामा प्रकाशित ‘पुतली’ शीर्षकको पहिलो कवितामै गर्नुभएको रहेछ–

‘फुर फुर फुर फुर गरदै उडने

कहिले त यता अनि फेरि उता…।’

जर्ज भ्यान ड्रिम्।
प्रोफेसर जर्ज भ्यान ड्रिम्को भनाइमा, नेपाली भाषा यत्तिको फैलनुको अध्ययन पर्याप्त भएको छैन, तर पनि उनका केही अनुमान छन्। नेपालीलाई केही जुझारुले ‘औपनिवेशिक’ भाषा नभनेका होइनन्, र होला पनि, तर भ्यान ड्रिम् लेख्छन्– “नेपाली भाषाको प्रवर्द्धन राजनीतिक निर्णयभन्दा योसँग सम्बन्धित भाषा समुदायको ‘भाइब्रेन्सी’ का कारण हो, यसको ‘लिङ्ग्विस्टिक टोपोग्राफी’।” उनी अगाडि लेख्छन्– “नयाँ भौगोलिक क्षेत्रहरूमा हिन्दीभन्दा नेपाली सजिलो गरी फैलिएको छ।”

भ्यान ड्रिम्का अनुसार, नेपालीमा नयाँ शब्दावली सहजै भित्रन्छन्, जस्तो– गुरुत्व आकर्षण, बहुदलीय प्रणाली, प्राकृतिक उपग्रह, इत्यादि। हिन्दीमा भने अंग्रेजी शब्द नै सजिलो गरी चलाइन्छन्, जस्तै– विश्वविद्यालय को सट्टा युनिभर्सिटी, संग्रहालय को सट्टा म्युजियम। संख्यामा हिन्दी भाषी नेपाली भन्दा धेरै छन्, तर नेपालीको ‘लिङ्ग्विस्टिक टोपोग्राफी’ हिन्दीको भन्दा धेरै गुणा बढी स्वस्थ छ।

कुनै पनि भाषामा जोश र जाँगर हुनुमा, भ्यान ड्रिम्का अनुसार, भाषिक तथा गैर–भाषिक कारण हुन्छन्। उनको बुझ्ााइमा, भाषाको हिसाबले नेपाली सिक्न या बोल्न सजिलो पक्कै होइन, यसको व्याकरण अत्यन्तै जटिल छ, तर मोहक पनि। भ्यान ड्रिम् भूटानको जोङ्खा भाषाका पनि विज्ञ हुन्। “जोङ्खा भाषाको पढाइ र प्रयोग दुवैलाई अप्ठेरो बनाइएको छ”, उनी भन्छन्, “यसकारण भूटानमा आफ्नो भाषा प्रयोग नगरेर अंग्रेजी शब्दको भरपर्ने प्रवृत्ति छन्।”

कमल दीक्षित।

डेढ महीना पनि गुज्रेको छैन, अस्पतालमा उपचारमा रहँदा बुवासँग मदन पुरस्कार पुस्तकालयको टीमले योजना बुनेका थियौं, नेपाली भाषाको सन्दर्भमा एउटा बहुआयामिक अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन गर्ने, यसको विशेषता, प्रभाव र फैलावटको विषय छलफल हुने गरी। नेपाली भाषी अब बर्मा, भाग्सु, पूर्वोत्तर भारतभन्दा धेरै फराकिलो भई संसारभर फैलिएकाले पनि यस्तो सम्मेलनको आवश्यकता छ, बुवाको बुझाइमा। कमल दीक्षितको भनाइ थियो, भाषाले भाषीहरूको सामाजिक–आर्थिक भलो गर्नुपर्छ र ‘लिङ्कल्याङ्ग्वेज’ को काम गर्न नेपालीलाई आधुनिक युगमा डिजिटलाइजेशनसहित चुस्त राखिराख्नुपर्छ।

आयातीत प्रयोगबारे उहाँ कट्टर हुनुहुन्थेन, तर अस्वाभाविक या अनर्थ लाग्ने आयातको निरन्तर विरोध गर्नुहुन्थ्यो, जसले नेपालीको मिठास र प्रयोग दुवैलाई ठेस पुर्‍याउँथ्यो। कार्यक्रमहरूमा उद्घोषकहरूले ‘अब हामी यसो या उसो गर्न गइरहेछौं’ भनेको उहाँ पटक्कै मन पराउनुहुन्नथ्यो। हिन्दीको ‘अब हम … कर्ने जा रहे है’ नेपालीमा चाहिंदैन। ‘गर्न गइरहेछौं’ को साटो ‘गर्दैछौं’ मा नै सन्देश र मर्म छ, उहाँ भन्नुहुन्थ्यो।

Post navigation

Previous Post:

KTM to Thiruvananthapuram

Next Post:

चियाः स्वाद र सम्पर्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes