Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

घर फर्किंदै समुद्रपार पुर्‍याइएका देउत

August 18, 2021 by admin

हिमाल खबरपत्रिका (२ वैशाख, २०७८) बाट

चोरिएका देवदेवीका मूर्तिहरूको स्वदेश फिर्ती सवारी हुन थालेसँगै यसलाई प्रभावकारी र व्यवस्थित ढंगबाट सञ्चालन गर्न नागरिकको सहभागितामा ‘अन्तर्राष्ट्रिय मूर्ति फिर्ता अभियान’ थाल्नुपरेको छ। सँगै यी देवदेवीलाई पुरानै थलोमा पुनःस्थापना गर्ने पहलकदमी समेत अत्यावश्यक छ।

बिहीबार पाटन संग्रहालयमा सार्वजनिक गरिएको लक्ष्मीनारायणको मूर्ति । यो मूर्ति सन् १९८४ मा नेपालबाट चोरी भएर अमेरिका पुगेको थियो । तस्वीरहरूः कनकमणि दीक्षित

स्वःनिग अर्थात् नेपाल मण्डल भनिने नेपाल खाल्डोमा लिच्छविकालदेखि मूर्ति बन्दै र पदस्थापन हुँदै गए। यहाँका कारीगरहरूले उपत्यकाको सभ्यता दर्शाउने गरी मसिनोसँग ढलोट, ढुंगा र काठका मूर्ति कुँदे। २००७ सालपछि नेपाल संसारका लागि खुला भएपछि शताब्दीऔं अघि यहाँका कारीगरहरूले बनाएका देवदेवीका मूर्ति विश्वकै राम्रा कलाकृतिमध्येका रहेछन् भन्ने कुरा सर्वत्र थाहा भयो।

समुद्रपारका कला संग्रहकर्ता र संग्रहालयहरूले यो तथ्य पत्तो पाएको त ठीकै थियो। तर, बेठीक के भइदियो भने, हाम्रा कलात्मक मूर्तिहरूमाथि उनीहरूको आँखा लाग्यो। अनि मूर्ति चोरीको शृंखला शुरू भइहाल्यो।

उतातिरका ठूल्ठूला, नामुद कला संग्रहकर्ता, संग्रहालय र यहाँका स्थानीय ठूला-साना चोरहरूबीचमा सम्बन्ध बन्न गयो। युगौंदेखि एक ठाउँमा रहेका मूर्ति बाहिरिन थाले। सदियौंदेखि भक्तजनबाट अक्षता, अबीर, फूलमाला, पानी ग्रहण गर्ने नेपालका भगवान्, देवदेवीहरू अनेक तरिकाले चोरी भएर समुद्रपारका संग्रहालय, कला संग्रहकर्ताहरूका घर, बैठक कोठा र स्पटलाइटमुनि चिरिच्याट्ट परेर बस्ने कलात्मक वस्तुमा परिणत भए। 

तस्वीर : एफबीआई

अहिले हामीले पश्चिमा मुलुकमा पुगेका ती मूर्तिहरू कहाँ छन्, तिनको अवस्था के छ, पत्ता लगाउनुपरेको छ। फिर्ता ल्याउन पत्राचार गर्नुपरेको छ र देश फर्काएर सुरक्षित हिसाबले सकेसम्म पुरानै थलो (मन्दिर, वहाः, मैदान या खोपा)मा पुनःस्थापना गर्नुपरेको छ। 

तुसाहिटीको धारो

पाटन संग्रहालयको सुन्दरी चोक। यो पाटनका मल्ल राजाहरूले पूजाआजा गर्ने चोक हो। यही वरिपरि शाही वासस्थान थियो। यो चोकमा संसारकै मौलिक हिटी अर्थात् ढुंगेधारा छ, तुसाहिटी। पूजाआजाका लागि पानी लिन राजाहरू यही ढुंगेधारामा झर्दथे। झन्डै ४०० वर्षअघि पाटनका मल्ल राजा सिद्धिनरसिंह मल्लले निर्माण गरेको सुनको लेप लगाइएको कलात्मक तुसाहिटीको यो धारो सन् २०१० मा चोरी भयो। हाहाकार मच्चियो। सौभाग्यवश एक वर्ष नपुग्दै प्रहरीले त्यो धारा फेला पार्‍यो। त्यतिन्जेलसम्ममा कारीगरले दुरुस्त धारा बनाइसकेका थिए र अहिले तुसाहिटीमा त्यही नयाँ धारा राखिएको छ। पहिलेको धारा सुरक्षाका लागि भनेर छाउनीस्थित राष्ट्रिय संग्रहालयमा छ। 

सुन्दरी चोकको यो कथा सुखद छ, किनभने चोरी भएको वस्तु फेला पर्‍यो। तर, नेपालबाट चोरिएका हजारौं मूर्ति जापानदेखि अस्ट्रेलिया, जर्मनी, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकाका २ हजार ५०० जति संग्रहालय र ‘कलेक्सन’मा प्रदर्शनीमा राखिएका छन् या त तिनका गोदाममा थन्किएका छन्। 

सुन्दरी चोक नजिक पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा लक्ष्मीनारायण (वासुदेव कमलाजा)को मूर्ति चोरी भयो। करीब ८०० देखि १ हजार वर्षअघि स्थापना गरिएको मूर्तिको दाहिनेतिरको आधा भागमा नारायणको आकृति छ भने, देब्रेतिरको आधा भागमा लक्ष्मीको। दाहिने खुट्टामुनि नारायणको वाहन गरुड छ भने, देब्रे खुट्टामा लक्ष्मीको वाहन कछुवा।

पटको टोलका श्यामकृष्ण श्रेष्ठ प्रायः दिनरात मूर्ति वरिपरि नै हुन्थे। “बिहान देउताको दर्शन गर्न आउँदा लक्ष्मीनारायणको मूर्ति थिएन। कसले लग्यो, कसले लग्यो ? थाहा छैन,” त्यसबेलाको घटना सुनाउँदै श्रेष्ठ भन्छन्।

अलिपछि यो मूर्ति अमेरिकामा देखियो। मूल्यवान् मूर्ति र कलाकृति लिलाम गर्ने अन्तर्राष्ट्रिय संस्था सदबिजले सन् १९९० मा आफ्नो ‘क्याटलग’मा लक्ष्मीनारायणको मूर्ति बेचबिखनका लागि तयार भएको जानकारी छाप्यो। मोल ३०-४० हजार अमेरिकी डलर तोक्यो। मूर्ति बिक्री भयो। त्यसपछि मूर्ति कहाँ पुग्यो, अत्तोपत्तो भएन।

पटको टोलकै दिलेन्द्र श्रेष्ठ सन् २०१० मा ‘डालस म्यूजियम अफ आर्ट’मा पुगेका थिए। त्यहाँ ग्यालरीमा भएकामध्ये दुई-तीनवटा मूर्ति कतै नेपालकै त होइनन् भन्ने उनलाई लाग्यो। पछि, अनुसन्धानकर्ता एरिन थम्प्सनको लेख पढ्दा पो थाहा भयो, डालस म्यूजियममा देखेकामध्ये एउटा मूर्ति त आफ्नै टोलको लक्ष्मीनारायण रहेछन्। 

“हाम्रा पुर्खाहरूले त्यस्तो मिहिनेत गरेर बनाएका, अहिले विदेश पुगेका मूर्ति हामीले फिर्ता ल्याउनसके पक्कै पनि राम्रो हुन्छ भन्ने लागेको थियो। यहाँका स्थानीय जनताको पनि त्यस्तै चाहना छ। नेपाल फर्किएको मूर्तिलाई छाउनीको संग्रहालयमा नभएर पटको टोलमै ल्याउन सक्यौं भने, एउटा उदाहरण बन्छ,” श्रेष्ठ भन्छन्।

सन् १९८४ मा चाेरी भएकाे १२औं शताब्दीकाे लक्ष्मीनारायणकाे मूर्ति। तस्वीर : लैनसिंह बाङ्देल। १९९० मा सदबिजले क्याटलगमा र २०१४ मा डालस म्यूजियममा राखिएकाे मूर्ति। तस्वीर : इरिन एन. थाेमसन। १९९३ मा प्रतिमा बनाएर राखिएकाे मूर्ति। तस्वीर : अलिशा सिजापति।

लक्ष्मीनारायणलाई पटको टोलमै सुरक्षा दिएर राख्नसकिने उनी बताउँछन्। श्रेष्ठ भन्छन्, “कतै-कतै मूर्तिलाई तारबारभित्र राख्ने गरिएको छ। त्यो राम्रो नियतले गरिएको नराम्रो काम हो। हामी त्यसो नगरी तर पूर्ण सुरक्षा दिएर मूर्ति यहीँ राख्न चाहन्छौं।” 

लक्ष्मीनारायणको मूर्ति स्वतन्त्र अध्येता, अमेरिकी गुप्तचर संस्था ‘एफबीआई’ तथा नेपाल सरकारको पहलमा गएको ३० चैतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ। 

अभियन्ता र जुझारु

नेपालका मूर्ति नचोरियून् र चोरी भइहालेमा पनि ती नेपाली समाज र संस्कृतिकै स्वामित्वमा हुनुपर्छ भनेर धेरै मानिसले धेरै अघिदेखि काम गरेका थिए। त्यस्तो अडान राख्नेमध्ये थिए, मानवशास्त्री टेड रिकार्डी। सन् १९६०-७० को दशकमा काठमाडौं उपत्यकामा बसेका बेला उनले मूर्ति चोरीको शृंखला देखेका थिए। र, मूर्ति चोरीको यो शृंखला उदांगो पार्न अरू तरिका नदेखेर आख्यान लेखे। 

रमेश ढुंगेल नेपालका प्रबुद्ध इतिहासकार हुन्, न्ययोर्कको मेट्रोपोलिटन अफ आर्टमा रहेको नेपाली मूर्तिको भण्डार नियाल्ने दुर्लभ अवसर पाए। र, पछि उनले आफूले फेला पारेका चोरीका देउताबारे किताब नै निकाले- ‘लस्ट हेरिटेज अफ हिन्दू एन्ड बुद्धिस्ट आर्ट इन दी मेट्रोपोलिटन म्यूजियम इन न्यू योर्क सिटी’। 

रवीन्द्र पुरी नेपालका चर्चित वास्तुविद् हुन्, जसले चोरिएका मूर्तिको ‘कपी’ बनाएर संग्रहालय नै स्थापना गरेका छन्। जनसाधारणमा मूर्तिचोरीबारे संवेदनशीलता जगाउन तारागाउँ म्यूजियमका निर्देशक रोशन मिश्रले ‘ग्लोबल नेपाली म्यूजियम’ वेबसाइटमार्फत चोरी भएका र यथास्थानमा रहेका मूर्तिको विवरण सूचीकृत गरेर राखेका छन्।

मूर्ति चोरी हुनै नदिन, भइहाले चोरलाई तत्काल पक्राउ गरेर मूर्ति फिर्ता ल्याउनुपर्छ भनेर धेरै देशी-विदेशी नागरिक जागेका छन्।

सन् १९९३ मा डालस म्यूजियममा प्रदर्शनीमा राखिएकाे लक्ष्मीनारायणकाे मूर्ति (दायाँ)। तस्वीर :  डालस म्यूजियम


नेपाली मूर्ति चोरीको शृंखला सन् १९६० को दशकमै शुरू भएको हो, देश संसारका सामु खुला भएको केही समयपछि। तर, यो कुकर्म सन् १९८० देखि १९८४ सम्म धेरै भयो भन्ने बुझिन्छ। युर्गेन शीक र लैनसिंह बाङ्देलले खतराको त्यही घडीमै ढुंगाको मूर्तिको तस्वीर खिचेर राखे, र त धन्य छन्।  

जर्मन नागरिक शीक र नेपाली कलाविद्, कलाकार र संस्कृतिविद् बाङ्देलले सन् १९७० को अन्त्यतिर नेपालमा मूर्ति चोरीको शृंखला तीव्र गतिमा अघि बढेका बेला मूर्तिहरूको तस्वीर खिचेर अभिलेखीकरण गरे। चोरी भइहाल्यो भने, त्यसले प्रमाणका रूपमा काम गर्छ भनेर। पछि चोरिएका मूर्तिकोे तस्वीर र जहाँबाट चोरिएका हुन्, त्यस थलोको पनि तस्वीर राखेर बाङ्देल र शीकले बेग्लाबेग्लै किताब निकाले- बाङ्देलले ‘स्टोलन इमेजेज अफ नेपाल’ र शीकले ‘द गड्स आर लिभिङ द कन्ट्री’।

संसारका कुनै पनि संग्रहालयमा यस्ता ढुंगाको मूर्ति देख्यौं भने, हामी निस्सन्देह यी चोरी भएका मूर्ति हुन् भन्न सक्छौं। सार्वजनिक थलोबाट टिपेर लगिएका मूर्ति स्वभावतः चोरी भएका हुन्छन्।
नेपाली मूर्ति चोरीको शृंखला सन् १९६० को दशकमै शुरू भएको हो, देश संसारका सामु खुला भएको केही समयपछि। तर, यो कुकर्म सन् १९८० देखि १९८४ सम्म धेरै भयो भन्ने बुझिन्छ। युर्गेन शीक र लैनसिंह बाङ्देलले खतराको त्यही घडीमै ढुंगाको मूर्तिको तस्वीर खिचेर राखे, र त धन्य छन्। 

अफसोसका साथ भन्नुपर्छ, जोसँग मिलेर चोरिएका मूर्ति फिर्ता ल्याउने अभियान चालू गर्नुपर्थ्याे, उनीहरूमध्ये केहीको देहावसान भइसक्यो। मुख्यतः बाङ्देल। साथै, उनकी छोरी डिना बाङ्देल। अन्तर्राष्ट्रिय ख्याति कमाएकी आर्ट क्युरेटर डिनाको सन् २०१७ मा अल्पायुमै देहान्त भयो। त्यही वर्ष नै मूर्ति फिर्ता ल्याउने अभियानको थालनी गर्नुपर्छ भन्ने प्रख्यात पुरातत्त्व विज्ञ शुक्रसागर श्रेष्ठ पनि बिते, जसको प्राविधिक विश्वसनीयताले अभियानलाई फाइदा गर्दथ्यो।  

अकल्पनीय सांस्कृतिक क्षति

नेपालबाट धेरै खालका मूर्ति चोरी भएका छन्। अहिले ढुंगामा कुँदिएका मूर्तिहरूको मात्र कुरा गरौं। यस्ता मूर्ति ठूला र सार्वजनिक ठाउँमा राखिएका हुन्छन्- वहाः, चौर, सडकछेउ, चौबाटोमा। यी मूर्तिमा कुनै व्यक्तिको स्वामित्व हुँदैन, कसैले सौगात दिन या बेचबिखन गर्न सक्दैनन्। त्यसैले संसारका कुनै पनि संग्रहालयमा यस्ता ढुंगाको मूर्ति देख्यौं भने, हामी निस्सन्देह यी चोरी भएका मूर्ति हुन् भन्न सक्छौं। सार्वजनिक थलोबाट टिपेर लगिएका मूर्ति स्वभावतः चोरी भएका हुन्छन्।

जतिबेला भगवान्‌का मूर्तिमा प्राणप्रतिष्ठा गरेर मन्दिरको गर्भगृह या खोपामा राखियो, त्यतिबेला यी देवदेवी चोरिएलान् भन्ने कसैको मनमा शंका उठ्ने कुरै भएन। त्यसैले तिनलाई चोरी गर्न अप्ठ्यारो हुनेगरी जगसँग जोडेर राख्ने विचार शताब्दीऔं अघि कसले गरोस्! पछि आएर हाम्रा पुर्खाले विचारै नगरेको कुरा गरे चोरहरूले। मूर्ति रहेका ठाउँमा थपक्क गयो, मूर्ति सजिलै टिप्यो, बोकेर हिँड्यो। बेलुकासम्म मन्दिरमा भगवान् अवस्थित हुन्छन्, बिहान पूजाआजा गर्न आउने भक्तजनको सामु एउटा खाली ठाउँ हुन्छ। त्यतिबेला संस्कृतिमा पुगेको क्षतिको अन्दाज पनि गर्न सकिँदैन।

चाेरिएका मूर्तिकाे खाेजबिनमा लागेकी चित्रकार जाेई लिन डेभिसकाे ‘पटकाेकाे लक्ष्मीनारायण’।

वो टोलमा रहेको उमामहेश्वरको १२औँ शताब्दीको मूर्ति सन् १९८२ मा चोरी भएदेखि धुलिखेलकी ज्वारमाया बिजू चिन्तित मात्रै होइन, आक्रोशित पनि छिन्। बिजू भन्छिन्, “अर्काको ठाउँको देवता कसरी चोरेर लग्न सकेको!”

वो टोलबाट चोरी भएको उमामहेश्वरको मूर्ति जर्मनी पुगेको थियो। समुद्रपारबाट फर्किने थोरै देवीदेवतामध्ये त्यो पनि हो। तर, वो टोलमा त्यो मूर्ति पुनःस्थापना भएको छैन। बिजूले आफ्नो टोलबाट चोरिएको उमामहेश्वरको मूर्ति पाटन संग्रहालयमा राखिएको छ भन्ने सुनेकी छिन्। यो मूर्ति बर्लिनको कुन्स्ट म्यूजियममा प्रदर्शनीमा राखिएको रहेछ। पाटन संग्रहालयले पहल गरेपछि लिलामबाट किनेर मूर्ति नेपाल आइपुगेको हो। “यस्ता मूर्ति सुरक्षासहित धुलिखेलमै पुनःस्थापना गर्न सके राम्रो हुन्छ,” पाटन संग्रहालयकी पूर्वकार्यकारी निर्देशक सरस्वती सिंह भन्छिन्। 

मूर्त र अमूर्त सम्पदा

नेपाली संस्कृतिलाई कमजोर बनाउने विभिन्न कारण छन्। आधुनिकीकरण, शहरीकरण, परम्पराको क्षयीकरण आदि र यसका साथसाथै मूर्ति चोरी पनि। मूर्ति हराएपछि यससँग सम्बन्धित धेरै कुरा मासिन्छन्- पूजा सकिन्छ, जात्रा सकिन्छ, मूर्तिप्रतिको आस्था सकिन्छ। यसर्थ जब मूर्ति चोरिन्छ, साथमा अरू धेरै अमूर्त सम्पदाको पनि चोरी हुन्छ।

“जति नै असल नियतले मूर्ति खरिद गरे पनि आफूसँग भएका वस्तु चोरीको भएको थाहा भयो भने, संग्रहालय वा कला संग्रहकर्ताले फिर्ता गर्नैपर्छ।”


अहिले ती सबै गुमेका भावना, लगाव, रीतिरिवाज फिर्ता ल्याउन नसकौंला, समाज पनि केही हदसम्म बदलिसक्यो। तर, पनि समुद्रपार पुगेका मूर्ति फिर्ता ल्याएर थातथलोमा पुनःस्थापना गर्दा ऐतिहासिकताको पुनर्जन्म हुन्छ, संस्कृति फेरि सल्बलाउँछ। 

आफूले राखेका मूर्ति चोरी भएका परेछन् भनेर कुनै कला संग्रहकर्ता या संग्रहालयले थाहा पाए सबैभन्दा पहिले उनीहरू ती भगवान् लुकाउन खोज्छन्। चोरी भएको हुनाले तिनलाई देखाएर राख्ने हिम्मत उनीहरूसँग हुँदैन। 

अन्तर्राष्ट्रिय मान्यता फेरिइसकेको छ र चोरीको मूर्ति फिर्ता गर्नुपर्छ भन्ने राम्रै मान्यताले जग बसाउन थालेको छ। युनेस्कोका एक पदाधिकारी भन्छन्, “जति नै असल नियतले मूर्ति खरिद गरे पनि आफूसँग भएका वस्तु चोरीको भएको थाहा भयो भने, संग्रहालय वा कला संग्रहकर्ताले फिर्ता गर्नैपर्छ।” र, सुखद कुरा यो छ, अधिकांश पश्चिमा म्यूजियमले जब थाहा पाउँछन् कि, नेपालबाट चोरी भएका मूर्ति एक जिउँदो संस्कृतिका प्रतीक हुन्, त उनीहरू मूर्ति फिर्ता गर्न अग्रसर हुने गर्छन्।
कोही कोही त नमाग्दा पनि फिर्ता दिन तयार हुँदा रहेछन्। अहिले विदेशबाट फर्काएर छाउनीको राष्ट्रिय संग्रहालयमा राखिएका धेरै देवदेवीका मूर्ति यसका उदाहरण हुन्। जस्तै, २०५६ सालमा अमेरिकाको क्यालिफोर्नियाको एक धनाढ्य संग्रहकर्ताले केही मूर्ति फिर्ता पठाए। १२औँ शताब्दीमा बनेको सरस्वतीको शिर, उभिएका शाक्यमुनि, सूर्य भगवान्, विष्णु। फिर्ता आइसकेपछि यी चारै मूर्ति राष्ट्रिय संग्रहालयमा राखिएको संग्रहालय प्रमुख जयराम श्रेष्ठ बताउँछन्। 

मूर्ति फिर्ता आएपछि सबैभन्दा पहिले पुरातत्त्व विभाग अन्तर्गतको राष्ट्रिय संग्रहालयमा राख्ने चलन छ। पश्चिमा मुलुकका संग्रहालयभन्दा नेपालकै संग्रहालयमा रहनु उचित त हुन्छ। तर, जुन थलोबाट भगवान् चोरी भएका हुन्, त्यही ठाउँ, मन्दिर, चोकमा मूर्ति पुनःस्थापना गर्नु सबैभन्दा उत्तम हुनेछ।

चोरिएका मूर्ति ठाउँठाउँबाट फिर्ता लिएर आउन र तिनलाई पुरानै ठाउँमा, पुरानै थलोमा राख्न सफल भयौं भने हाम्रो संस्कृतिको पुनर्जागरणको एउटा राम्रो काम हुनेछ।


स्थानीय बासिन्दालाई फेरि चोरी होला कि भन्ने डर लागेकाले कतिपय मूर्ति पुरानै ठाउँमा पुनःस्थापना गर्न अनिच्छुक पनि हुने गर्छन्। हाल राष्ट्रिय संग्रहालयमा राखिएको वो टोलको उमामहेश्वर मूर्तिको सन्दर्भमा धुलिखेलका सुनप्रसाद श्रेष्ठ भन्छन्, “धुलिखेल ल्याएर मूर्ति फेरि पनि चोरी भए के गर्ने? कसले लग्यो भन्ने? त्यसैले यहाँ व्यवस्थित नभएसम्म ल्याउनु हुँदैन।”

धुलिखेलकै अर्का स्थानीय दिलकृष्ण देउजाको विचार भने अलि फरक छ। “त्यो बेला चोरको बिगबिगी थियो। अहिले छैन। तर पनि, सुरक्षा व्यवस्था त गर्नैपर्छ,” देउजा भन्छन्। 

राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठ नियम पुर्‍याइए र स्थानीय समुदायले सुरक्षाको प्रत्याभूति दिनसके संग्रहालयमा राखिएका मूर्ति आफ्नै ऐतिहासिक थानमा फर्काउन मिल्ने बताउँछन्।  

चोरिएका मूर्ति ठाउँठाउँबाट फिर्ता लिएर आउन र तिनलाई पुरानै ठाउँमा, पुरानै थलोमा राख्न सफल भयौं भने हाम्रो संस्कृतिको पुनर्जागरणको एउटा राम्रो काम हुनेछ। आशा गरौं, पटको टोलको लक्ष्मीनारायण डालस म्यूजियमबाट नेपाल अवतरण गरिसकेकोमा अन्ततोगत्वा पटको टोलको नारायण मन्दिरमै आउनेछन्। र, यो उदाहरणका आधारमा चोरी भएका अन्य कैयन् देवीदेवतालाई आफ्नै थलोमा फिर्ता ल्याउन सकौं। 

चोरिएका देवदेवीका मूर्तिहरू नेपाल फर्कने क्रममा पुरानै भए पनि अब यो फिर्ती सवारीले रफ्तार लिने देखिन्छ। त्यसैले सरकार र नागरिक मिलेर एउटा व्यवस्थित ‘अन्तर्राष्ट्रिय मूर्ति फिर्ता अभियान’ थाल्नुपरेको छ।

(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल १३०)बाट हरेक हप्ता सोमबार राति ८ः३० बजे प्रसारण भइरहेको भिडिओ म्यागजिन ‘सग्लो समाज’को १२ माघ, २०७७ मा प्रसारण भएको पाँचौं अंक ‘चोरिएका देवदेवी’मा आधारित सामग्री।)

 

 

Post navigation

Previous Post:

समृद्धिको यात्रामा सुदूरपश्चिम

Next Post:

कसरी चिन्ने लुम्बिनीलाई?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes