Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

चक्रपथमा ट्वीटे चरो

July 28, 2021 by admin

हिमाल खबरपत्रिका (२८ माघ-५ फाल्गुण, २०७४) बाट

द काठमाण्डू पोष्ट

चिनियाँ अनुदान सहयोगमा कलंकी–कोटेश्वर चक्रपथ विस्तारमा महालक्ष्मीस्थानदेखि बालकुमारीसम्म निर्माण सम्पन्न भएको चौडा सडकमा गाडी हुँइकिन थालेपछि कुरा शुरु भयो । शहरमाझको त्यत्रो चौडा सडकमा स्थानीय पैदल यात्रीलाई बाटो काट्न खतरा हुन पुग्यो ।

सामाजिक सञ्जाल र विशेषगरी ट्वीटरमा चिन्ता पोख्ने क्रम शुरु भयो, यसले अनलाइन र अन्य मिडियालाई तान्यो, राम्रै बहस भयो । चाइनिज डिजाइन र ठेकेदारले बनाइदिएकोमा सुधार हुनै नसक्ने आधिकारिक कुरा आएपछि चासो र चिन्ता चुलियो । कसरी ट्वीटमार्फत जनसरोकारको सामाजिक विषय उठान हुन्छ, को कति पानीमा छ, देख्ने मौका मिल्यो ।

अधिकांश दर्शक/पाठक यो ट्वीटर–मार्गछेउ बसेर हेरिरहे, कतिपयले बहसमा डुबुल्की मारे । सामाजिक सुरक्षाको महत्वपूर्ण विषयलाई उजागर गर्न सक्ने सामाजिक सञ्जालको क्षमता पनि दर्शायो । अलिकति मनोरञ्जन पनि भयो भनौं ।

ट्वीटर छलफल शुरु भएको थियो, शहरी वातावरणका विशेषज्ञ भूषण तुलाधरको पोस्टबाट– “विस्तारित चक्रपथमा दुर्घटनाहरू हुन थालिसकेका छन् । ५० किमी प्रतिघण्टा डिजाइन स्पिड भएको यो ८ लेनको सडकको बीचमा मिडियन छैन, सडक काट्ने ठाउँ पनि छैन । भोलि यो नेपालकै सबैभन्दा खतरनाक सडक हुने देखिन्छ ।”

त्यसपछि विभिन्न अनलाइनले यो विषयलाई टिपे । सेतोपाटी पोर्टलका सुदीप श्रेष्ठ र चेतना गुरागाईंले ‘रिङरोड शृंखला’ नै पेश गरे । अब पालो आयो चिन्ता र चासो राख्नेहरूमाथि बग्रेल्ती टिप्पणी, ट्वीटरका केही ‘मूर्धन्य’ हरूबाटै ।

‘ओपनिङ शट्’ पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यबाट भयो । उनले लेखे– “बाटो डिजाइन मिलेन भन्ने सरो‘कार’ वालाहरूले चार वर्ष लगाएर बनाउन्जेल चाल पाएनछन् ? बनेन किच्किच्, बन्यो किच्किच् !”

उनको ट्वीटमा आपत्ति जनाउनेहरूलाई आचार्यले भने– “लागेको कुरा भनियो, गलफत्ती गर्ने बानी छैन ! आगे यहाँहरुको मर्जी ! !”

डिजाइन राम्रो भएन भन्नेहरूको खिलाफ मुख्य चार बुँदामा ट्वीटे टिप्पणी केन्द्रित भयो–

१. यत्तिका दिन के हेरेर बसेका ?

२. तिमीहरू सब विकास विरोधी ।

३. डोनर फन्डिङमा यस्तो भन्दैछौ र

४. यसो गर्नु चीनको विरोध हो ।

अन्तर्राष्ट्रिय मामलाविज्ञ निश्चलनाथ पाण्डेले ‘विकास विरोधी’ आशयसहित लेखे– “१९७० मै बनिसकेको चक्रपथको पनि अहिले नै विरोध गरिहालून् । त्यो नबनेको भए काठमाडौं यस्तो शान्त हुन्थ्यो… ।”

उनले अर्को पोस्टमा थपे– “…ज्यान जोगाउनु गाडी हाँक्नेको मात्र (अभिभारा) होइन, पैदल यात्रुको पनि कर्तव्य हो जस्तो लाग्छ । नत्र गाडीहरू सबै हटाएर, घोडा र बग्गी चलाए बेस हुन्छ ।”

यी सब विकास विरोधी हुन् भन्ने खेमाबाट यस्तैले हुन् रानीपोखरी पुनःनिर्माणमा अवरोध गरेका, र बूढीगण्डकी आयोजना पनि बन्न नदेलान् है खबरदार भन्ने आयो ।

ट्वीटे जितेन्द्र जीसीले लेखे– “कुन चाहिं ठेकेदार र कमिशनखोरको कहाँ स्वार्थ जोडियो । बनाउने भन्दा भत्काउनेको बिगबिगी छ ।”

पूर्व सचिव भीम आचार्यले भूराजनीतिक सन्दर्भ पनि कोट्याएः “कलंकी–कोटेश्वर चक्रपथलाई ८ लेन बनाउने काम सकिन लाग्दा बुद्धि पलाएका बुद्धिजीवीहरू अहिले पोस्टमोर्टम् गर्नमा लागिरहेका देखिन्छन् । विगत तीन वर्षदेखि काम चालू थियो र त्यसको एक वर्षअघि डिजाइन पूरा भएको हो । कुम्भकर्णहरू जागे । चीनको आलोचना गर्ने रोजगारी धर्म पूरा गरेका हुन् कि !”

आलोचकहरूमाथि टिप्पणी पनि ओइरिए । घोडा र बग्गी चलाउनुपर्छ भन्नेलाई सम्पादक अमित ढकालको जवाफ थियोः “… यति चाँडै बग्गीमा नचढौं । बालकुमारी गएर बाटो काटेर पारि गाडीमा पुग्न खोज । बग्गीका तर्कबाट ओर्लिने छौ । आम मानिस सडकमै हिंड्छन्, सडक धेरै उनीहरूकै हो । उनीहरूको पक्षमा सुधार सम्भव छ । विकास त त्यही हो ।”

रिङ्गरोड विस्तारमा भाँजो हाल्नेहरूले लुट्न खोज्दैछन् सबै कुरा असरल्ल छोडेर भन्ने अर्को आरोप लेखक केदार शर्मालाई अति भएछ, र प्रतिक्रिया दिए यसरीः “यत्रो सार्वजनिक महत्वको विषयमा छलफल गर्नु भाँजो हाल्नु हो ? अनि कसले, के, कसरी लुट्न खोज्यो ? काम असरल्ल पार्ने निकाय र प्रश्न उठाउने नागरिक एकै हुन् ?”

जत्तिकै बहस उजागर गर्ने क्षमता सामाजिक सञ्जालले राखे पनि आखिर यसको फल–प्राप्तिको लागि आमनेसामने भेटघाट र छलफल नै हुनुपर्छ । यसै सन्दर्भमा ‘विरोध कार्यक्रम’ होइन, छलफल कार्यक्रम चल्यो नेपाल टुरिजम बोर्डको हलमा बिहीबारसाँझ ।

त्यो बहसको निष्कर्ष कार्टुनिष्ट राजेश केसी (फलानो) ले ट्वीटैमार्फत बहसको प्रारम्भ गर्ने मधुरमण आचार्यलाई प्रत्युत्तर यसरी दिए: ”सर, आज टुरिजम बोर्डमा नागरिक, साइकल र पैदल यात्री, सरो–कार वाला, पत्रकार, वकिल, चाइनिज ठेकेदार, सडक सुरक्षा इन्जिनियर, यातायात विभाग आदि भेला भए । चक्रपथ विस्तारका निर्देशकले त्रुटि स्वीकारेर सकेसम्म सच्याउने र बाँकी १७ किमीमा नयाँ डिजाइन गर्ने वचन गरेर ‘गलफत्ती’ नै गरे भन्या !”

Post navigation

Previous Post:

खतरामा स्थानीय सरकार!

Next Post:

मार्गदर्शक आस्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes