Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

चोरिएका देउता फिर्ता चाहियो

June 29, 2021 by admin

हिमाल खबरपत्रिका (१६–३० भदाै २०५६) बाट

धुलिखेलको वोटोलमा ९०० वर्ष अघिदेखि एक दशक अगाडिसम्म उमा–महेश्वरको एउटा मूर्ति रहेको थियो । आज यी अलौकिक दम्पतीको मूर्तिका अगाडि न फूल चढ्छ न अछेता, किनभने यो मूर्ति त अहिले बर्लिनको कुन्स्ट म्युजियम मा रहेको छ ।

पाटन पट्को टोलमा रहेको ११ औँ शताब्दीको अर्धनारीश्वरको मूर्ति पनि गायब भइसक्यो । न्यूयोर्कस्थित कलाकृतिको लिलामगृह सोथबी नामक संस्थाले त्यस मूर्तिलाई ३० देखि ४० हजार डलर मोल राखेर उहिले बेचिसकेको बुझिएको छ ।

भक्तपुरको वडा नं. १३ मा पर्ने नासमना टोलमा एउटा हिटीको धारामाथि आठ सय वर्षसम्म अर्का उमा–महेश्वर दम्पती विराजमान थिए । २३ मे १९८४ को रात चोरिएको उक्त मूर्तिलाई आज पेरिसको सङ्ग्रहालय म्यूसी दे गिमे ले आफ्नो गौरवशाली सङ्कलनको एउटा नमूनाको रूपमा पेश गरिरहेको छ ।

सन् १९६० को दशकदेखि नै काठमाडौँ उपत्यकाका गाउँ र शहरहरूबाट मूर्ति चोरी हुने क्रम बढेको हो, र ’७० र ’८० को दशकमा त बर्षेनी सयौँ नेपाली देवी–देवताहरू समुद्रपार रवाना भए । सङ्ग्रहालय या निजी ‘कलेक्शन्’ हरूमा, न फूलमाला, न अछेता, न टीका, न जल, भक्तजनको साटो कलाप्रेमीको दर्शनको वस्तु बन्न पुगे ।

ब्रुस ओएन्स

नेपालबाट लोप भएका धेरैजसो मूर्तिहरू कहाँ छन्, कुन अवस्थामा छन् पत्ता लगाउन गाह्रो छ । तर वोटोल र नासमना टोलका उमा–महेश्वर र पट्को टोलको अर्धनारीश्वरका बारेमा भने धेरै कुरा थाहा भइसकेको छ । प्रख्यात कलाकार एवं नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति लैनसिंह बाङ्देल तथा जर्मन कलाप्रेमी युर्गेन शीकको प्रयासबाट यी मूर्तिहरू चोरी हुनुअघिका तस्बिरहरू हामीसँग उपलब्ध छन् । अझ्, तीनवटै मूर्ति र एउटा अर्को, पाटन गाहिटीको उमा–महेश्वर जो अमेरिकाको डेन्भर म्युजियममा छन्, कहाँ छन् भन्ने पनि बाङदेलजीको प्रयासबाट थाहा हुनपुगेको छ ।

लैनसिंह बाङ्देल
धुलिखेल वोटोलका उमा–महेश्वर अहिले बर्लिन कुन्स्ट म्युजियममा छन् भने मूर्तिको ठाउँमा एउटा सानो ढुंगो स्थापना गरिएको छ (माथि) ।

अब रह्यो, चोरी भएको वस्तु फिर्ता लेराउने । अरू देशहरूले चोरी भएका ऐतिहासिक कलाकृति फिर्ता लेराउन खोज्दा भोग्नु परेको कठिनाइको कुरा सुनेरै कति नेपालीहरू त्यसको प्रयाससम्म पनि गर्न हिच्किचाउँछन् । तर, अरू देशले चोरीको मूर्ति फिर्ता माग्नु र नेपालले त्यसो गर्नुमा केही फरक छ ।

ग्रीसको प्रख्यात एर्लगन मार्बल (पात्र्थेनन् मन्दिरका मूर्तिहरू, जो एक शताब्दीअगाडि बेलायत लगिएका थिए र हाल ब्रिटिश म्युजियममा छन्), इजिप्टको फेरो हरूका मूर्ति, पेरुका इन्का सभ्यताका वस्तुहरू, या छिमेकी अफगानिस्तानकै गान्धार शैलीका बुद्ध मूर्ति फिर्ता माग्नु र काठमाडौँका मूर्तिहरू बारे त्यसो गर्नु बिल्कूल बेग्लै कुरा हो । अन्तबाट चोरिएका मूर्तिहरू पुरातात्िवक हिसाबले महत्व राख्दछन् भने नेपाली देव–देवीका मूर्तिहरू भने कलात्मक साथसाथै यहाँका जनताका साँस्कृतिक सम्पत्ति पनि हुन् । किनभने चोरी हुने बेलासम्मै ती मूर्तिहरूको पूजाआजा चलिरहेकै थियो ।

ब्रुस ओएन्स
टोलकी बृद्धा नानीमाया उमा–महेश्वरको तस्बिर पुस्तकमा औंल्याउँदै ।

चोरिएका साँस्कृतिक वस्तुहरू फर्काउने अन्तर्राष्ट्रिय सम्झैता नभएका हैनन् । तर, कानूनी भन्दा पनि नैतिक दबाब दिएर नै शुरुमा मूर्तिहरू फिर्ता गर्ने जमर्को गर्न सकिने देखिन्छ । साउन मसान्तमा संयुक्त राज्य अमेरिकाबाट पहिलोपल्ट स्वेच्छिक हिसाबले नेपाल फिर्ता गरिएका चारवटा सग्ला मूर्ति र एउटा मूर्तिको टुक्राबाट पनि यस कुराको पुष्टि हुन्छ ।

एक दशक अगाडि बाङदेलले द स्टोलन् इमेजस् अफ नेपाल (नेपालका चोरिएका मूर्तिहरू) किताब छाप्नुभएको थियो, जसमा “चोरिनुअघि” र “चोरीपश्चात्” रित्तो ठाउँको तस्बिर समेत राखेर १३० वटा हराएका मूर्तिहरूको विवरण दिइएको थियो । अमेरिका बस्ने प्रसिद्ध कला विशेषज्ञ भारतका प्रतापादित्य पालले एकजना अमेरिकी शौखिन ‘कलेक्टर’ को निजी सङ्ग्रहालयमा रहेका चारवटा मूर्तिहरू बाङदेलको किताबमा चित्रित भएको पाए । पालले ती कलेक्टरलाई किताब देखाउँदा तिनी उक्त मूर्तिहरू फिर्ता गर्न तुरुन्तै राजी भए र भदौ महिनाको शुरुमा सबै मूर्ति हवाई मार्ग हुँदै काठमाडौँ आए (हेर्नु २२ पानाको बक्स्) ।

एकजना सङ्ग्रहकर्ता यसो गर्न तयार हुनुले चोरी भएको प्रष्ट पार्न सकेमा नैतिकताका आधारमा पनि मूर्तिहरू फर्कन सक्दारहेछन् भन्ने देखाउँछ ।

नैतिकता र कानून

राणाकालपछि पश्चिमा कला पारखी र पर्यटक दुबैको लागि ढोका खुल्न गएको नेपालबाट ऐतिहासिक, धार्मिक र कलात्मक वस्तुहरू बाहिरिन थालेको चार दशक भइसक्यो । पहिला त सजिलै उठाउन सकिने वस्तुहरू लोप भए, जस्तै ढलोटका मूर्ति, पौवा, थाङ्का र अनेकौँ धार्मिक यन्त्र र चीजबिजहरू । सन् १९७० को दशकतिर अन्तर्राष्ट्रिय कला बजारको आँखा उपत्यकाका बहाल, मन्दिर, जङ्गल वा चौर जताततै छरिएर रहेका ढुङ्गाका मूर्तिहरूमा पुग्यो । त्यसपछि शुरु भयो अर्को लूट, जो दुई दशकसम्म निरन्तर चलिरह्यो । उठाउन गाह्रो परेको मूर्तिको टाउको काटेर लगियो, केही लग्न नसके रिसको झेँकमा हथौडाले मूर्तिको मुख, हात, खुट्टा फोरियो । मूर्तिचोरीको व्यापारको प्रकृति नै यस्तो छ कि यही नै ‘चोर’ हो भनेर समात्न पनि अति गाह्रो । काठमाडौँका बहाल या देवलमा डकैती गर्ने रैथाने डाँकाहरूदेखि लिएर बीचका दलाल हुँदै विदेशका ‘आर्ट डिलर’ र ‘एन्टिक शप’ हरू कहाँ पुग्दछन् । त्यहाँबाट धेरै डलर तिरेर शौखिन र ‘सभ्य’ भनाउँदा कलाप्रेमीहरूले ती मूर्ति आफ्नो निजी सङ्ग्रहालयका लागि खरीद गर्छन्, या त ठूलाठूला म्युजियमहरूले आफ्नो दक्षिण एसियाली या हिमाली कला खण्डमा समावेश गर्छन् ।

युर्गेन शीक
फर्पिङ, कमलपोखरीकी वीणाधारिणी सरस्वती ८ मे १९८४ मा सद्दे थिइन् भने १० डिसेम्बर १९८४ मा उनको शिर लोप भइसकेको थियो । अहिले त्यही शिर अमेरिकाबाट फर्किएर राष्ट्रिय सङ्ग्रहालयमा आइपुगेको छ ।

जनमत सङ्ग्रहपश्चातको पञ्चायतकालीन नेपालमा मूर्तिचोरीको कुकृत्य पराकाष्ठामा पुग्यो, सन् १९८० देखि १९८५ सम्म, जुनबेला सत्ता नजिक रहेकाहरूको छाडापन र अनुत्तरदायित्वपनले सीमा नाघेको थियो । मूर्तिचोरी गर्ने गिरोहहरूको दुस्साहस कति डरलाग्दो थियो भने तिनले क्रेनको सहयोगमा भक्तपुर दरबारको भूपतीन्द्र मल्लको पूर्ण कदको आफ्नो स्तम्भबाट मूर्ति उखेल्ने समेत चेष्टा गरे ।

तर, नेपाली डाँकाहरू यो चोरीको पिरामिडको तल्लो तहका कामदार मात्र हुन् । खास चोर त अन्तिममा मूर्ति खरिद गर्नेहरू हुन्, जसलाई एकजना नेपाली समाजशास्त्रीले “कल्चरल क्यानिबल” अर्थात सँस्कृति मानवभक्षीको संज्ञा दिएका छन् । “ती लोभीपापीहरू हुन्, जो आफ्नो वैयक्तिक सोखका कारण गरीब मुलुकका जनताको ज्यूँदो आस्थाका प्रतीकहरूलाई समेत लुटेर लैजान हिच्किचाउँदैनन्,” उनी भन्छन् ।

युर्गेन शीक

विदेश पुगेका नेपाली मूर्तिका ‘मालिक’ हरूले बुझनुपर्ने कुरा के छ भने झण्डै सबै नै ढुङ्गाका मूर्तिहरू उनीहरूको हातमा चोरिएरै पुगेका हुन् । युर्गेन शीक भन्नुहुन्छ, “गत ३५ वर्षमा विदेश पुगेका सबै नै मूर्ति चोरी भएका हुन् । आज पश्चिमका ठूला २५ वटा म्युजियममा काठमाडौँ उपत्यकालाई नङ्ग्याएर लगिएका हजारौँ नेपाली मूर्तिहरू पाइन्छन् ।” पश्चिममा रहेका सबैजसो नेपाली मूर्तिहरू चोरीका नै भएको कुरासँग लैनसिंह बाङदेल र पुरातत्व विभागका निर्देशक ऋद्धिबाबा प्रधान दुवै सहमत हुनुहुन्छ । बाङदेल भन्नुहुन्छ, “आफूले किनेर राखेको मूर्ति चोरीको हो भन्ने कुनै कलेक्टरलाई थाहा नभएको हुनसक्छ । तर जब चोरी नै भएको भन्ने कुरा साबित हुन्छ – र शङ्कै छैन, ती सबै चोरी भएकै हुन् – त्यतिबेला त उसलाई मूर्ति राखिराख्ने कुनै अधिकार नै हुँदैन ।”

पुरातत्व भिवाग

प्रतापादित्य पालको भनाइमा विदेशिएका सबै मूर्तिलाई चोरी नै भएको भन्न मिल्दैन, कुनै कुनै वस्तु अधिकार हुनेले आफूखुशी दिएको पनि हुनसक्छ । तर उहाँ पनि के कुरामा चाहिँ सहमत हुनुहुन्छ भने चोरी गरिएको नभए पनि त्यस्ता अधिकांश (१०० वर्ष पुरानो) पुरातात्विक वस्तुहरूलाई निर्यात गर्न नपाइने नेपाली कानूनलाई छली बाहिरिएका हुन् ।

विदेश पलायन भएका देवताहरूलाई फर्काउने कुरामा अन्तर्राष्ट्रिय मान्यता पूर्ण रूपले नेपालको पक्षमा छ, र सम्बन्धित अन्तर्राष्ट्रिय सन्धिहरूमा पनि यही कुरा छ । साँस्कृतिक पक्षमा ध्यान राख्ने संयुक्त राष्ट्र संघको पेरिसस्थित संस्था युनेस्कोले सन् १९७० मा “साँस्कृतिक वस्तुको फिर्ता” सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सन्धि अगाडि सारेको थियो, जसमा नेपालले सन् १९७६ मा हस्ताक्षर गर्योत । हुन त चोरीको मूर्ति भित्याउने धेरैजसो पश्चिमा मुलुकहरूले यस सन्धिको अनुमोदन गरेका छैनन्, तापनि चोरीको माल फिर्ता गर्नुपर्ने सिद्धान्तलाई यस सन्धिले राम्रै टेवा दिएको छ । उक्त सन्धिलाई अझै बलियो बनाउन भनेर रोमस्थित युनिड्रोइट नामक अन्तर्राष्ट्रिय संस्थाले सन् १९९५ मा एउटा अर्को सन्धि अगाडि सार्यो, जसले चोरी भएका र गैरकानूनी तरीकाले निर्यात भएका वस्तुहरूलाई राष्ट्रिय न्यायालयहरूमार्फत फिर्ता गर्न सजिलो पार्दछ ।

युनेस्कोको साँस्कृतिक सम्पदा विभागका एक उच्च पदाधिकारी लिन्डेल भी. प्रट ले हिमाललाई लेखेअनुसार, “नेपालका प्राचीन तथा धार्मिक कलाकृतिको चोरीबारे युनेस्कोमा हामीलाई चिन्ता छ र यी वस्तुहरू फिर्ता लेराउन गर्नुपर्ने विभिन्न क्रियाकलापमा सघाउन हामी तयार छौँ ।” प्रट भन्छन् सन् १९९५ को सन्धिका अनुसार, “मूर्ति हातमा हुने व्यक्ति या संस्थाले चोरीको बारेमा जान्नु आवश्यक छैन, बाध्य भई फर्काउनुपर्ने हुन्छ ।” फेरि, चोरी भएको शङ्कासम्म हुने स्थिति थियो भने फिर्ता गर्दा कुनै क्षतिपूर्तिसम्म त्यो व्यक्ति वा संस्थालाई तिर्नु पर्दैन ।

दुइटा अन्तर्राष्ट्रिय सन्धि र युनेस्को जस्तो संस्थाको पूर्ण सहानुभूति भए पनि मूर्तिहरू नेपाल फर्काउने सबैभन्दा प्रभावकारी प्रक्रिया भने नियम कानून भन्दा पनि नैतिक दबाब नै हुनेछ । यो कुराको पुष्टि हालै नेपाल फर्केका मूर्तिहरूले पनि गर्छन् । नाम खोल्न नचाहने उक्त अमेरिकी कलेक्टरको हातमा बाङदेलको किताबमा उल्लेख गरिएका १३० वटा चोरिएका मूर्तिहरूमध्ये चार–चारवटा उनकै निजी सङ्ग्रहमा रहेछन् । यी र्मूिर्तहरू फिर्ता गर्न उनी किन राजी भए भने चोरी हुनु अगाडिको र चोरी गरिएपश्चातको बीभत्स दृश्यको तस्बिरहरू प्रत्यक्ष प्रमाणका रूपमा पुस्तकमा चित्रित थियो ।

के गर्ने ?

बाँकी रह्यो चोरी भएका र विदेशिएका सबै मूर्तिहरूका बारेमा नेपाली समाजले के धारणा बनाउने र साथै कस्तो कस्तो पहल गर्ने । यस सन्दर्भमा नेपालले यस्तो अवधारणा राख्नु जरुरी देखिन्छः देशबाट लोप भएका सबैजसो ढुङ्गाका मूर्तिहरू चोरिएका र गैरकानूनी तरीकाले निर्यात भएकाले ती विश्वको जुन कुनामा भए पनि नेपाल राष्ट्र र यहाँका जनताका सम्पत्ति हुन् । जबसम्म नेपाल र यहाँका जनताले सुरक्षा प्रदान गरी यी मूर्तिहरूलाई फिर्ता ल्याउन सक्दैनन् त्यतिबेलासम्म यी मूर्तिहरूलाई हालका सङ्ग्रहकर्ता वा ‘स्वामी’हरूले नासोका रूपमा राखेको मानिनेछ । अपवादको अवस्थामा बाहेक अन्तर्राष्ट्रिय मान्यता र नैतिकताको आधारमा, नेपालबाट लगिएका पुरातात्वीक महत्वका कुनै पनि मूर्तिहरूलाई नेपाल र नेपालीबाहेक अरू कसैको सम्पत्ति मानिनेछैन ।

स्रोत–साधनको कमीको कारणले हराएका हजारौँ मूर्तिहरूको खोजी गर्न र ती फिर्ता भएको खण्डमा कुन मूर्ति कुन मन्दिर या बहालको हो भन्ने कुरा निक्र्यौल गर्न गाह्रो छ, तर कुनै बेला यो गरिनु पर्छनै । फेरि यता नेपालको सामाजिक, आर्थिक र राजनीतिक अस्थिरताको सन्दर्भमा फिर्ता आएको मूर्ति फेरि चोरी हुने खतरा पनि छँदैछ । यसो हुँदा, हालको लागि, पश्चिमा मुलुकमा रहेका नेपाली ढुङ्गाका मूर्तिहरूलाई नेपालको हो भन्ने दाबी गरेर त्यसलाई प्रमाणित गर्न विशेष जोड दिने तर तत्कालै सबैलाई फिर्ता ल्याइहाल्न चाहिँ त्यति जोड नगर्ने नीति लिनु व्यवहारसम्मत देखिन्छ ।

चोरी भएका मूर्तिहरूलाई क्रमशः फिर्ता लेराउने क्रममा काम पहिले कता शुरु गर्नेभन्दा सबभन्दा पहिला त लैनसिंह बाङदेलले पत्ता लगाउनुभएका विदेशी सङ्ग्रहालयमा अवस्थित तीनवटा मूर्तिहरू फिर्ता ल्याउनु पर्योे, जुन मूर्तिहरू चोरी हुनुअघिका फोटोग्राफिक प्रमाण हामीसँग छन् । यसैगरी, न्यूयोर्कको लिलामगृह सोथबी ले सन् १९९० मा बिक्री गरेको पाटनको अर्धनारीश्वरको मूर्ति किन्ने व्यक्ति या संस्था पत्ता लगाई त्यसलाई फिर्ता ल्याउन पनि पहल हुनु जरुरी छ । यी सब कार्यका लागि पुरातत्व विभाग, सम्बन्धित टोलबासी र संस्कृतिमा ध्यान पुर्‍याउने बुद्धिजीवी वर्गबाट तीब्र दबाब उत्पन्न हुनुपर्छ ।

लैनसिंह बाङ्देल
पाटन पट्को टोलमा रहेको अर्धनारीश्वरको यो मूर्ति सन् १९८४ मा चोरी भएको थियो भने न्युयोर्कस्थित सोथवी लिलामगृहको सन् १९९० को क्याटलगमा सफा गरी चिल्लो पारिएको (माथि) रूपमा प्रकट भयो । मूर्तिको लिलामगृहले न्यूनतम ३० देखि ४० हजार डलर तोकेको थियो ।

दोस्रो गर्नुपर्ने कार्य भनेको बाङ्देल र शीकका किताब दुवैमा गरेर उल्लिखित करीब १४० विदेशिएका मूर्तिहरूको व्यापक खोजी थालिनुपर्छ । इन्टरनेटलगायत हरेक माध्यमको प्रयोग गर्दै हराएका ती मूर्तिहरूको बारेमा सर्वत्र प्रचार गर्नुपर्छ । संसारभरिका म्युजियम, नेपाली कलाका पारखीहरू, पूर्वीय कलाका पत्रिकाहरू र सम्बन्धित डिलर, विशेषज्ञहरू र युनेस्को, इन्टरपोललगायत सबै अन्तर्राष्ट्रिय संस्था र कलाको क्षेत्रमा क्रियाशील व्यक्तिसम्म यी फोटोग्राफिक प्रमाणसहित जोडदार ढङ्गले पुर्या उनुपर्छ । यसो गर्दा भदौको शुरुमा नेपाल फर्केका मूर्तिहरू जस्तै चोरीको सामान राख्न नचाहने व्यक्ति वा संस्थाहरूले अरू पनि थुप्रै मूर्तिहरू स्वेच्छाले फिर्ता गर्ने सम्भावना हुन्छ । तर अधिकांशले भने पक्कै यसो गर्नेछैनन् र यसकारण क्रियाशील भइकन नेपाली निकायहरूले सक्रियताकासाथ यी मूर्तिहरूको पीछा गर्नुपर्ने हुन्छ ।

चेतना

“केही वर्षयता मूर्तिचोरी कम भएको कुरा हामी सुन्ने गर्छौँ, तर चोर्न सकिने जति सबै मूर्ति वेपत्ता भइसकेपछि अरू के होस् त ?” युर्गेन शीक भन्नुहुन्छ । तैपनि केही मूर्ति त उपत्यका र छेउछाउका इलाकामा चोर्न सकिने अवस्थामा अझै बाँकी नै छन् । नेपाली समाजले तिनको सुरक्षा गर्दागर्दै भोलिको पुस्तालाई पहिलेको अवस्थाको नेपाल हस्तान्तरण गर्न पनि चोरीको मूर्ति फिर्ता ल्याउने क्रमको थालनी गर्नु आवश्यक छ ।

पुरातत्व भिवाग

सबैभन्दा पहिले त आफ्नो धार्मिक र साँस्कृतिक सम्पदाको बारेमा बुद्धिजीवीलगायत आम जनता सबै सम्वेदनशील हुनुपर्नेछ, किनकि त्यो सम्वेदनशीलताकै अभावमा मूर्तिहरूको यस्तो ह्रास हुन गएको हो । मूर्ति चोरीको क्रम एक दशकयता केही हदसम्म घटेको भए पनि, ठप पक्कै भएको छैन, र पाटन शहरमा हालै बढ्न गएको मूर्तिचोरीका घटनाहरूले पनि यो कुरा देखाउँछ । फेरि पनौती, फर्पिङ, च्यासलहिटी पाटन र भिन्छे बहाल पाटनबाट हालै फिर्ता भएका मूर्तिबारे यो लेख छपाइमा जाउन्जेलसम्म सम्बन्धित समुदायहरूबाट राष्ट्रिय सङ्ग्रहालयमा एउटा सोधनी नआएकोले अझै चेतनाको साह्रो कमी रहेको पनि सङ्केत दिन्छ ।

लैनसिह बाङदेल
भक्तपुर नासमना टोलको उमा–महेश्वर (माथि) चोरी भएको हिटीछेउ स्थानीय जनाता उक्त मूर्तिको तस्बिर हेर्दै । मूर्ति रहेको स्थल संकेत गरिएको छ, तर देउता भने पेरिसको म्युसी दे गिमेमै प्रदर्शित छन् ।

यस्तो अवस्थामा फिर्ता ल्याइएका या ल्याइने सबै देवीदेवता पुरानै स्थानमा फर्कनुपर्छ भन्ने छैन, र जबसम्म सुरक्षाको प्रश्न रहन्छ, राष्ट्रिय सङ्ग्रहालयमै राख्न सकिन्छ । तर जो सक्रिय छन् र चेतनशील छन्, उनीहरू आफैँ हराएको देवतालाई खोजी टोलमा फिर्ता लेराइ सुरक्षासहित पुरानै ठाउँमा राख्न तैयार हुनेछन् । यस्तो अभियानमा मूर्ति फिर्ता गर्न चाहने समुदाय र सम्बन्धित नगरपालिकाको भूमिका विशेष महत्वपूर्ण हुनेछ । धुलिखेलको वोटोलका वासिन्दाहरू तथा भक्तपुरको नासमना टोलका अगुवाहरू यस्तो काम गर्न जागरुक र उत्सुक देखिन्छन् ।

लैनसिंह बाङदेल
भिन्छे वहाल पाटनको नवौँ शताब्दीको बुद्ध मूर्ति सन् १९८२ मा चोरी भयो । फिर्ता पठाउने सौखिन संग्रहकर्ताले फुटेको भागलाई हुबहु बनाइसकेका रहेछन् ।

“यही त हो नि हाम्रो महादेव,” नासमना टोलका रामभगत त्वयाना भन्छन्, बाङदेलको किताबमा रहेको तस्बिरलाई देखाउँदै । “त्यहीँबाट चोरी भएको हो र १५ वर्ष भयो हामीले पानी चढाउन नपाएको,” हिटीमाथि उमा–महेश्वरको रित्तो स्थानलाई देखाउँदै उनी बताउँछन् । वडा सदस्य रहेका कृष्णगोपाल हाडा भन्छन्, “फिर्ता लेराउनु पर्छ, हाम्रो महादेवलाई बर्लिनको म्युजियमबाट । हामी एयरपोर्ट जान्छौँ र बाजागाजा गरेर लेराउँछौँ ।”

पुरातत्व विभाग

धुलिखेलका क्रियाशील नगरप्रमुख बेलप्रसाद श्रेष्ठ बाङदेलको किताबको अर्को तस्बिर औँल्याउँदै भन्नुहुन्छ, “यो उमा–महेश्वर त हाम्रो टोलको आस्थाको केन्द्र थियो, सबै चाडपर्वमा पूजा हुन्थ्यो । नौ सय वर्ष अगाडिदेखि हामीकहाँ रहेको महादेव–पार्वती बर्लिनको म्युजियममा बस्नु त अनर्थ हो । हामी लेराउँछौँ, सुरक्षा गर्छौँ ।”

नगरप्रमुखकै टोलबासी ७५ वर्षीया नानीमाया चोरी भएको उमा–महेश्वरको तस्बिरलाई चिनेर छक्क पर्छिन्् र दुखित हुँदै नेवार भाषामा भन्छिन्, “हजुर, जसरी भए पनि हाम्रो महादेवलाई फिर्ता ल्याउनुपर्योु । ल्याउनेलाई नै पूजा गर्छौँ ।”

ह्यूमत टोलको दशौँ शताब्दीको गरुडाशन विष्णु त अमेरिकाबाट फर्के, तर गाहिटी पाटको सन् १९६५ तिर चोरिएका उमा–महेश्वर भने अहिले कोलोराडो राज्यको डेन्भर म्युजियममा फर्कने अवसर कुरेर बसिरहेका छन् ।

नानीमाया लेखकलाई तानेर सानो खुला देवलतिर लग्छिन् र पहिले मूर्ति रहेको ठाउँ देखाउँछिन् । त्यहाँ दुई मूर्ति छँदैछन्, तर शिव–पार्वती भएको ठाउँमा भने रित्तो भित्ता छ, र अलौकिक दम्पतीको प्रतिनिधित्व गर्न एउटा गोलो ढुङ्गा राखिएको छ, जसमा अबिर अछेता छरिएको छ ।

लैनसिंह बाङदेल

ढुङ्गाले प्रतिनिधित्व गर्न खोजेका महादेव र पार्वती भने पेरिसमै छन् । उहाँहरूको फिर्ती सवारीको प्रतीक्षामा महादेवको वाहन साँढे भने आफ्नो साविक ठाउँमै पहरा दिइरहेछन् ।


‘देवताहरू विदेशिँदैछन्’

कला इतिहासकार लैनसिंह वाङदे

नेपालमा मूर्तिचोरीको क्रम तीव्र हुँदै जाँदा न त उपत्यकाको सामाजिक अगुवाई लिनेहरू न देशको प्रशासनिक र राजनीतिक नेतृत्व नै यसबारे संवेदनशील भए । बरू जोखिम भए पनि चोरिएका मूर्तिहरूको ‘डकुमेन्टेशन’ गरी अरू चोरी हुन नदिने अभियानमा, त्यो पनि पंचायतकालमै, एकचित्त भएर लाग्ने दुईजना निक्लिए; प्रसिद्ध कलाकार लैनसिंह बाङदेल र पहिलो पटक सन् १९७३ मा पर्यटक भएर नेपाल आएका जर्मन कलाप्रेमी युर्गेन शीक । रोचक संयोग त के भने, सन् १९७० र ८० को दुई दशकमा, मूर्तिचोरीको बजार फस्टाएको बेला, यस्तो अभियानमा लाग्दा बाङदेल र शीकको एक–आपसमा चिनाजानी पनि थिएन ।

दार्जीलिङमा सन् १९२४ मा जन्मनुभएका बाङदेलले बेलायत र फ्रान्समा कलाको पढाइ सकी १९५० को अन्ततिर नेपाल आएपछि लिच्छविकालभन्दा अघिदेखि नै फैलिएको नेपाली कलाको गौरवमय परम्पराको बारेमा पहिलोपल्ट जान्नुभयो । नेपाली कलाको इतिहासबारे अनुसन्धान गर्ने क्रममा मूर्तिहरू लोप हुँदैगएको आफ्नै आँखाले देखेपछि उहाँ संवेदनशील बन्नुभयो र सन् १९८९ मा स्टोलन इमेजेस् अफ नेपाल प्रकाशित गर्नुभयो ।

उता, युर्गेन शीकले नेपाली श्रीमतीका साथमा सन् १९८० देखि नेपाललाई आफ्नो घर बनाउनुभयो । शीकले पहिले त उपत्यकाको अपार पुरातात्विक कला भण्डारको तस्बिर खिची किताब छाप्ने योजना बनाउनुभएको थियो, तर काम गर्दागर्दै बाङदेलले जस्तै उहाँले पनि मूर्तिहरू बिलाउन थालेको महसूस गर्नुभयो । अनि शीकको योजना पनि मूर्तिचोरी विरुद्धको निजी अभियानमा परिणत भयो ।

बाङदेल प्रज्ञा–प्रतिष्ठानको उपकुलपति हुँदा “मेरो यो काममा संवेदनशीलता देखाउने एउटै नेपाली उहाँलाई भेट्टाएँ” भनेर शीक बताउँछन् । बाङदेलको किताब निक्लिएकै बेला शीकले पनि चोरी भएका मूर्ति, चोरीको स्थल र जोखिममा रहेका मूर्तिहरूको तस्बिर राखेर जर्मन भाषामा किताब छापे । यो किताब हालै अङ्ग्रेजीमा उपलब्ध भएको छ, द गड्स आर लीभिङ्ग द कन्ट्री (देवताहरू विदेशिँदैछन्) नाम अन्तर्गत ।

सबै देवता चोरी भइसकेको पाटनको एक तोरणमुनि युर्गेन शीक ।

बाङदेल र शीक दुवैले मूर्तिचोरीको प्रचार गर्न खोज्दा डर र धम्की खेप्नुपर्योभ । बाङदेललाई “ज्यानको माया छैन ?” भनेर अज्ञात व्यक्तिले बारम्बार फोनबाट धम्क्याउँथे भने शीकले भीसाको नवीकरणमा खिचलो खेप्नु पर्यो र एकचोटि त परिवार लिएर पूरा एक वर्ष नेपाल बाहिर रहनुपर्योक ।

ती किताब छाप्नुका पछाडि बाङदेल र शीक दुबैको उद्देश्य थियोः १) जोखिममा परेका मूर्तिको सुरक्षा २) चोरी हुनुभन्दा अघि र पछिको तस्बिर पेश गरेर चोरीको प्रमाण दिनु र नैतिक आधारमा पनि मूर्ति फिर्ता गर्न सकिने अवस्था तैयार पार्नु ३) चोरी भएका र नभएका मूर्तिहरूका बारेमा प्रचार गरेर अन्तर्राष्ट्रिय कला बजारमा त्यसरी लगिने मूर्तिहरूको बजार भाउ गिराउनु । बाङदेलको किताब निक्लिएको पूरै एक दशकपछि बडो नाटकीय प्रकारले सो किताबमा रहेको प्रमाणको भरमा चार वटा मूर्ति फिर्ता भए । यसबाट उहाँ र शीक दुवै गद्गद् हुनुहुन्छ । बाङदेलका कथा पनि अनेक छन् । नेपालका प्रसिद्ध कलाकार र कला इतिहासकार भएको नाताले उहाँलाई विदेश गएको बेला कैयौँ म्युजियमहरूले आफ्नो हिमाली सङ्ग्रह हेर्न बोलाएका हुन्छन् । त्यसरी हेर्न जाँदा नेपालबाट चोरिएका मूर्तिहरूलाई ती विदेशी सङ्ग्रहमा देखेर उहाँ पटकपटक तीनछक पर्नुभएको छ । जस्तै, तीन वर्षअघि पेरिसको म्युजियम दे गिमेका डाइरेक्टरले उहाँलाई आफ्नो नेपाली सङ्ग्रह गर्वका साथ देखाउँदै थिए । बाङदेल सम्झ्ँदै भन्नुहुन्छ, “म त तीनछक परेँ । मैले नै भक्तपुरको नासमना टोलमा तस्बिर पनि खिचेको उमा–महेश्वरको मूर्ति त्यहाँ देखेँ । त्यत्रो सद्भावका साथ मलाई उसले त्यो देखाइरहेछ । मलाई त के भनूँ के भनूँ भयो ।”

सँगैको लेखमा उल्लिखित पश्चिमका म्युजियम (पेरिस लगायत डेन्भर र बर्लिन) मा रहेका मूर्तिका बारेमा सूचना लैनसिंह बाङदेलबाटै मिलेको हो । र, सोथवी लिलामगृहको सन् १९९० को क्याटलगमा देखाइएको अर्धनारीश्वरको मूर्तिको बारेमा जानकारी शीकले दिनुभएको हो ।

कअगाडि नेपाल आउनै पर्ने रहेछ । ८० को दशकसम्ममा त कति देव–देवीहरू लापत्ता भइसकेका थिए । शीकले सन् १९८४ को मे महिनामा फर्पिङ कमलपोखरीमा अति सुन्दर वीणा धारिणी सरस्वती मूर्तिको तस्बिर खिचे । सोही वर्षको डिसेम्बरमा उनी त्यहाँ पुग्दा त डाँकाहरूले धेरै वजनको त्यो मूर्ति उचाल्न नसकेर टाउको फुटाई लगिसकेका रहेछन् । उनले त्यसको पनि तस्बिर खिचे । गत हप्ता छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा अरू तीन मूर्तिहरूसहित फिर्ता गरिएको त्यो अति राम्रो कलायुक्त सरस्वतीको शिर फेरि हेर्न पाउँदा यी मधुरभाषी जर्मन नागरिकको गला अवरुद्ध भएको थियो ।


फिर्ता रवाना

पुरातत्व विभागको प्रशंसनीय अग्रसरतामा अमेरिकी निजी कलेक्टरले फिर्ता दिएका मूर्तिहरू एक भदौका दिन काठमाडौँ उत्रिए । करीब १० वर्षको क्यालिफोर्निया प्रवासपछि फर्केर आएका मूर्तिहरू हुन्ः

  • ८ भिन्छे वहालको ९ औँ शताब्दीतिरको बुद्धको मूर्ति ।
  • ८ ह्यूमत टोलको १० औँ शताब्दीतिरको गरुडाशन विष्णु मूर्ति ।
  • ८ फर्पिङ्ग कमलपोखरीको १२ औँ शताब्दीतिरको सरस्वती मूर्तिको शिर ।
  • ८ पनौती त्रिवेणी घाटको १४ औँ शताब्दीतिरको सूर्य मूर्ति ।

यसअघि २०५३ वैशाखमा लण्डनको हिथरो विमानस्थलमा कागतालीले फेला परेर नेपाल लेराएका १६ मूर्तिजस्तै अमेरिकाबाट फिर्ता आएका यी स्वेच्छाले फिर्ता गरिएको चार मूर्तिहरूलाई राष्ट्रिय सङ्ग्रहालय छाउनीमा हिफाजतका लागि राखिएका छन् । विशेष प्रदर्शनमा राखिएका यी चार मूर्तिहरू हाम्रो इतिहास, संस्कृति र धर्ममा चासो राख्ने सबैले हेर्न आउलान् भन्ने आशा सङ्ग्रहालयका प्रमुख रेहना बानु राख्नुहुन्छ ।

Post navigation

Previous Post:

‘यूसेज’को कुरा

Next Post:

Gods in Exile

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes