Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘जन-दुश्मन’ प्रसंग

February 6, 2012 by admin

सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई
नेपाल सरकार
सिंहदरवार, काठमाडौँ

मिति २०६८ माघ २२ गते

विषय: माओवादी मुखपत्रले हामीलाई ‘जन-दुश्मन‘ घोषणा गरेकोबारे

सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू,

एनेकपा (माओवादी) दलसँग आबद्ध ‘क्रान्तिकारी युवाको आवाज’ द्वारा प्रकाशित ‘लालरक्षक’ मासिक पत्रिकाको वर्ष ४, १५ माघ-१४ फागुनको अङ्कमा हामी तीन जना नागरिकलाई तोकेर ‘यी हुन् जन-दुश्मन’ शीर्षक सहित आवरण तथा आवरण लेख प्रकाशित गरेको गम्भीर र खतरनाक विषयमा मुलुकका प्रधानमन्त्रीका नाताले तपाईँको ध्यान आकर्षण गर्नका लागि हामी यो पत्र लेख्दैछौँ।

‘लालरक्षक’ को आवरण लेख आपत्तिजनक आरोप तथा कपोलकल्पित कुराहरूले भरिएको छ। त्यसका अलावा माओवादी सम्बद्ध पत्रिकाले ‘जन-दुश्मन’ घोषणा गर्दा कस्तो परिणाम निम्त्याउन सक्छ भन्ने कुरा हामीलाईभन्दा राम्रोसित सम्माननीय प्रधानमन्त्रीज्यूलाई थाहा हुनुपर्छ।

सर्वविदित छ, ‘जनयुद्ध’ कालमा नेकपा (माओवादी) को घोषित नीति अनुसार उसको नेतृत्व र कार्यकर्ताले ‘जन-दुश्मन’ ठहर गरेको व्यक्तिले ‘भौतिक कारवाही’ को सन्दर्भमा ‘सफाया’ समेत भोग्नु पर्थ्यो। एनेकपा (माओवादी) खुला राजनीतिमा आएपश्चात बृहत् शान्ति सम्झौतामा सहभागी  भएको र निर्वाचनद्वारा संविधानसभा र व्यवस्थापिका-संसदको सबैभन्दा ठूलो  दल भएको झण्डै छ वर्ष बितिसक्दा पनि उसले हिंसा परित्याग गरेको घोषणा गरेको छैन। न त उसले आफूले ‘जन-दुश्मन’ ठहर गरेका व्यक्तिहरूको हत्या गर्ने नीति नै त्यागेको सार्वजनिक गरेको छ।

उता, आफूले ‘जन-दुश्मन’को ‘सफाया’ गरेको कुरा सगर्व स्वीकार गर्ने माओवादी दलका पदाधिकारी र कार्यकर्ता समाजमा खुलेआम हिंडिरहेका छन। ती पदाधिकारी र कार्यकर्ताहरू अहिले पनि आफ्नो सहभागितामा भएका नागरिकहरूको हत्याका घटनाहरू दलको निर्णय अनुसार गरिएको र जायज भएको बताइ रहेका छन्।

प्रधानमन्त्रीज्यू, तपाईंको सरकारले हालै गरेको ‘जन-सत्ता’ को निर्णयहरूको पालना गराउने निर्णयबाट पनि एनेकपा (माओवादी)ले आफ्नो युद्धकालका संस्था, नीति तथा कार्यविधिहरू नत्यागेको प्रष्ट भएको छ। दलको शीर्षस्थ नेतृत्वले सरकारमा रहँदा पनि ‘विद्रोह’ को निरंतर आह्वान गरेर दलका युवा कार्यकर्ताहरूमा युद्धकालको मानसिकता नियोजित हिसाबले कायम राख्न खोजेको देखिन्छ।

माओवादी दलका शीर्षस्थ नेताहरूले हामी तीन नागरिक माथि सार्वजनिक कार्यक्रम, कार्यकर्ता प्रशिक्षण तथा छापा र विद्युतीय माध्यमद्वारा प्रहार गरिरहेको बेला माओवादी दलद्वारा प्रकाशित ‘लालरक्षक’ ले ‘यी हुन् जन-दुश्मन’ आवरण र लेख हजारौँ कार्यकर्तालाई उत्तेजना तथा विध्वंशतर्फ उक्साउन तथा अप्रिय घटना गराउन प्रेरित गर्न खोजेको हाम्रो बुझाइ छ। यस्ता उक्साहटका कारण हामीमाथि कुनै पनि किसिमको आक्रमण हुन गए एनेकपा (माओवादी) दलका शीर्षस्थ नेताहरू जिम्मेवार हुने, र ‘दल को नीति विपरीत रहेको’ भन्दै पन्छिन नामिल्ने कुरा पनि हामी यहाँ नै स्पष्ट पार्दछौं।

हामी तीन जना नागरिक ‘लालरक्षक’ को गंभीर आरोप तथा हामी विरूद्ध आफ्ना कार्यकर्ता उक्साउने प्रत्यक्ष्य प्रयत्नका बावजूद आफ्नो स्वतंत्र विचार अभिव्यक्त गर्नबाट एक पाइला पनि पछि नहटने कुरा तपाईंको दलको नेतृत्व पङ्‌क्तिले बुझनु जरुरी छ। पत्रिकाको आपत्तिजनक आवरणले मुलुकभरका पत्रकार, अधिकारकर्मी, बौद्धिक लगायतका स्वतंत्र नागरिकहरूलाई त्रसित र मौन बनाउने  चेष्टा गरिएको हो भने हाम्रो बुझाइ छ र त्यस्तो चेष्टा व्यर्थ हुनेछ भन्ने हाम्रो निष्कर्ष छ।

खुला लोकतान्त्रिक समाजमा निर्धक्क बहस द्वारामात्र स्थायित्व र सम्मृद्धि प्राप्त हुन्छ भन्ने कुरामा आम नागरिक प्रष्ट छन् र यसै कारण २०६२-६३ को जनआन्दोलन सफल भएको हो। ‘लालरक्षक’ कै शैलीमा अन्य अखबार, पत्रिका, टेलिभिजन र रेडियोद्वारा कपोलकल्पित प्रस्तुति र जालसाजी पूर्ण ‘खोज’ प्रस्तुत गर्दै मुलुकभर भयको तरंग निर्माण गर्न र ‘बन्द समाज’ निर्माण गर्न खोजिएको हो भने त्यो माओवादी दलकै लागि प्रत्युत्पादक हुनेछ। यस्ता  दुष्प्रयासले आजको संवेदनशील घडीमा शान्ति र संविधानको कार्यलाई सघाउने त कुरै भएन।

प्रधानमन्त्रीज्यू, हामी पत्र लेखकहरू निर्भीक र स्वतंत्र रही विभिन्न क्षेत्रबाट आफ्नो समाजको सेवा गर्न चाहन्छौ। हामी मध्ये कसैको विचारसँग असहमत हुने जोकोहीसँग छलफल र बहस गर्नु हाम्रो दायित्व हो। तर कुरा मिलेन भनेर हिंसाको उकसाहट गर्ने आपराधिक कार्यलाई भने मुलुकलाई अधिनायकवादतर्फ धकेल्ने दुस्प्रयास भन्नु पर्दछ। यस्तो प्रयास सामु कुनै पनि स्वाभिमानी नागरिक दब्न सक्दैनन्।

तपाईं आफ्नो दलको नभई समग्र मुलुक र जनताको प्रधानमन्त्री हुनुहुन्छ,। तपाईंको नेतृत्वको दलको पत्रिकाद्वारा हामीमाथि आपत्तिजनक हिसाबले प्रहार भएको संदर्भमा हामी मागका रूपमा निम्न बूँदा यहाँसमक्ष प्रस्तुत गर्दछौँ।

१) ‘लालरक्षक’को उक्त आवरण र आवरण लेख सम्बन्धी तपाईंको सार्वजनिक प्रतिक्रिया आउनुपर्छ।
२) यस्तो आपत्तिजनक क्रियाकलापमा संलग्न पत्रिका र यसको संपादक माथि उपयुक्त कारवाही हुनुपर्छ।

माथिका दुई बुँदामा तपाईंबाट चालिने कदमको सूचनाको प्रतीक्षामा,
कुलचन्द्र गौतम, महाराजगञ्ज, काठमाडौँ

सुबोधराज प्याकुरेल, बागडोल, ललितपुर

कनकमणि दीक्षित, पाटन ढोका, ललितपुर

‘लालरक्षक’ मासिक पत्रिकाको वर्ष ४, १५ माघ-१४ फागुनको अङ्कमा प्रकाशित  ‘यी हुन् जन-दुश्मन’ शीर्षक सहित आवरण तथा आवरण लेख

 

Post navigation

Previous Post:

शान्तिको प्राकृतिक प्रक्रिया

Next Post:

‘मध्यम मार्ग’को खतरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 67, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes