Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

तत्क्षणको सोच र साहस

July 26, 2021 by admin

हिमाल खबरपत्रिका (४-१० चैत्र, २०७४) बाट

तस्वीरले दर्दनाक क्षण देखाउँछ– हूलले कसैलाई आक्रमण गरिरहेको अवस्था र उत्तिनै बेला एउटा नागरिकले गरेको अर्कोको बचाउ ।

खतरनाक लोकरिझ्याइँको प्रभाव विरुद्ध लेख्नु तुलनात्मक रुपमा सजिलो हुन्छ, किनकि प्रतिक्रियामा भौतिक हमलाको खतरा अलि कम हुन्छ । तर, ‘मब् फ्युरी’ को विरुद्ध तत्कालै निर्णय लिंदै आक्रमणकारीहरुकै सामु पीडितको बचाउमा अघि सर्ने साहस अतुलनीय हुन्छ ।

यस्ता ‘इन्स्टिङ्कटिभ् साहस’ देखाउने व्यक्तिहरू ‘मैले यस्तो गरें, उस्तो गरें’ भन्दै बढाइचढाइ गर्दै हिंड्ने खालका हुँदैनन् । तत्क्षणको माग अनुसार जे गर्नु थियो त्यो गरिसकेपछि स्वभावतः पर्दा पछाडि जान्छन् । साहसको क्षणलाई भजाउने कोशिश गर्दैनन् ।

२०६२/६३ को आन्दोलनमा डीएसपी शरद चन्दलाई जोगाउँदै गजेन्द्र लौडारी ।

ज्ञानेन्द्रको ‘कु’ को खिलाफमा जनउभार आएको थियो । कतै, कतै आन्दोलनकारी हिंस्रक पनि भएका थिए । २२ चैत २०६२ मा त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर हातामा प्रहरी र विद्यार्थीबीच झडप हुँदा प्रहरी अफिसर शरद चन्द एक्लो पर्न गए । कञ्चटमा ढुंगा लागेका उनी घाइते थिए । उत्तेजित भीडबीच एक्लिन पुगेका डीएसपीको बचाउको लागि अचानक कोही अगाडि आयो । उनी थिए– त्यस बेला त्रिचन्द्र कलेजमा अर्थशास्त्रमा एमए गर्दै गरेका गजेन्द्र लौडारी ।

गजेन्द्रको सोच र साहसबारे तस्वीरले जति बताउँछ, त्यही पर्याप्त छ । यो तस्वीर खिचेका हुन्, फोटोपत्रकार सुन्दर श्रेष्ठले ।

तनहुँको भानु नगरपालिका, लामस्वाँराका गजेन्द्र लौडारी जनआन्दोलनपछि गाउँ फर्केर शिक्षक बनेछन् । आजै पनि उनी भानु नपा–१० रामपुरटारको माध्यमिक विद्यालयमा पढाउँछन् । शरद चन्द प्रदेश–७ का डीआईजी छन् ।

सहानुभूति तथा तात्कालिक साहस भएका अर्का व्यक्तित्व हुन् गोरखा मिरकोट गाउँका लोकबहादुर लामा । यो मेरो निजी अनुभवमा आधारित निक्र्योल हो । एकल पदयात्राको क्रममा म ३ भदौ २०५७ मा लमजुङको लिलीभीरमा खसेको थिएँ । घटनाको तेस्रो दिन मलाई फेला पारेको उद्धार टोलीले जब मद्दत मागे, लोकबहादुरजीले बोकिराखेको भारी तत्कालै गोरेटो छेउ बिसाएर डोरीको भरमा तल झरेर, मलाई बुई चढाएर भीरबाट माथि निकाले । अनि आफ्नो भारी बोकेर मनाङतर्फको बाटो लागे ।

भूकम्पको कम्पनले टुँडिखेलको गेट ढल्दै गर्दा हीरामाया नेपाली ट्राफिक जवान करणसिंह भण्डारीको हात तान्दै (रातो घेरामा) ।
अलिपरको धारोमा जीउमा लतपतिएको रगत–पिप पुछपाछ गर्दै गर्दा कसैले सोधेछन्, “किन त्यत्तिकै गरेको त्यस्तो खतरा काम ? ठेक्कामा पो गर्नुपथ्र्यो ।”

लोकबहादुरले जवाफ दिएछन्, “काम होइन, मानव धर्म गरेको ।” म अस्पतालमा रहँदा मेरा साथीहरूलाई तीन महीना लागेको थियो लोकबहादुरजीलाई मनाङको पदमार्गमा फेला पार्न ।

१२ वैशाख २०७२ को भुईंचालोको बेला अर्को बेजोडको साहसिक कार्य टुँडिखेलको महाँकाल स्थान नजिकको गेट ढल्दाको सीसीटीभी भिडियोमा कैद छ ।

हीरामाया नेपाली बीच बाटोमा ट्राफिक सञ्चालन गर्दै गरेका प्रहरी जवान करणसिंह भण्डारीतर्फ जाँदैछिन् । मैले सम्झेअनुसार हीरामाया आफूले हाँकेको सफा टेम्पो छेउमै रोकेर ट्राफिक जवान भण्डारीतर्फ अघि बढ्दै थिइन्, के भन्न हो । ट्राफिक प्रहरीले पश्चिमतर्फ हेर्दै गर्दा कम्पन आयो र पूर्वतिरबाट टुँडिखेलको गेट सडकतिर बजारियो । यो देख्ने हीरामायाले ‘इन्स्टिङ्कटिभ्ली’ हात समाएर ट्राफिक प्रहरीलाई छेउतिर तान्छिन् र दुर्घटनाको मुखबाट बचाउँछिन् ।

लोकबहादुर लामा ।
मलाई थाहा छैन, गजेन्द्र लौडारी र शरद चन्दको भेट, भलाकुसारी भएको छ छैन । यस्तै हीरामाया नेपाली र ट्राफिक प्रहरी करणसिंह भण्डारीको पनि । मैले भने लोकबहादुर लामासँग भेट्न र मित्रता गाँस्ने मौका पाएको छु ।

Post navigation

Previous Post:

20 by 02

Next Post:

टेकू दोभान विलाप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes