Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

तमिलनाडुका नायक

September 14, 2018 by admin

हिमाल खबरपत्रिका (२४ – ३० भाद्र, २०७५) बाट

विरोधाभासलाई छिचोल्दै करुणानिधिले दक्षिण भारत मात्र होइन दक्षिणएशियामै आफ्नो छाप छोडेर गए ।

भारतको राष्ट्रिय राजनीतिलाई उत्तरी भेक र विशेषगरी उत्तरप्रदेशले तान्ने गरेकोले नेपाली बौद्धिक वृत्तको चासो पनि त्यतै केन्द्रित हुने गर्छ । त्यसैले दक्षिण भारतका राजनीतिक ‘कोलसस्’ मुथुवेल कलाईनार करुणानिधिको निधनले यहाँ सानो छाल पनि उछालेन ।

करुणानिधिको ९४ वर्षको उमेरमा २२ साउनमा निधन भयो । उनको राजनीतिक जीवन दक्षिणएशियाकै राजनेतामध्येको लामो र उत्कृष्ट थियो ।

धेरै नेताले देख्न र गर्न नपाएका कुरा उनले देखे र गरे । नेपालको नयाँ संविधानले कोरेको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक यात्राको लागि करुणानिधिको परिश्रम र अनुभव उपयोगी हुन सक्छ । मैले उनको जीवनी बारेमा ‘ब्रश अप’ गर्न चेन्नईबाट प्रकाशित ‘फ्रन्टलाइन’ पत्रिकाको ३१ अगस्टको विशेषांकको सहयोग लिएको छु (तस्वीर) ।

करुणानिधिको राजनीतिक यात्रा आठ दशक लामो थियो । उनी पाँच चोटि तमिलनाडुका मुख्यमन्त्री भए, ५० वर्ष पार्टी अध्यक्ष रहेर विधानसभामा निरन्तर ६० वर्ष निर्वाचित सांसद रहे । आधुनिक भारतका प्रायः सबै प्रधानमन्त्रीसँग उनले काम गरे ।

नयाँदिल्लीको राष्ट्रिय सरकारको उथलपुथल तथा आधुनिक भारतको राजनीतिक स्थायित्वको सवालमा करुणानिधि सधैं उल्लेख्य पात्र रहे । तर, प्रान्तको राजनीति त्यागेर नयाँदिल्लीको राष्ट्रिय खेलमैदानमा पात्र बन्न उनले कहिल्यै चासो देखाएनन् ।

करुणानिधिको चेतना जगाउने काम द्रविड आन्दोलनका शीर्षस्थ नेता इ. भि. रामस्वामी पेरियारले गरेका थिए । मुख्यतः उत्तर भारतीय सांस्कृतिक तथा आर्थिक पञ्जाबाट तमिलनाडु सहित पूरै दक्षिण भारत मुक्त हुनुपर्छ भन्ने राजनीतिक सोच राख्थे पेरियार ।

उनको सामाजिक सोच भने तमिल समाजलाई उच्च जात र विशेषगरी ब्राह्मणको पञ्जाबाट मुक्त गरेर राज्यद्वारा न्यायको अनुभूति दिलाउनु थियो । यसरी भारतको राष्ट्रिय सन्दर्भमा तमिल स्वाभिमान र तमिलनाडुभित्रको सन्दर्भमा अपहेलित समुदाय (दलित, ओबीसी, मुस्लिम इत्यादि) को आत्मसम्मान जोगाउनु नै पेरियारका शिष्य करुणानिधिको एजेण्डा बन्न पुग्यो ।

महात्मा गान्धी जस्तै पेरियारले पार्टीगत राजनीति गरेनन् । तर, करुणानिधि र उनका अग्रज नेता अन्नादुराई भने द्रविड मुन्नेत्र कडगम् (डीएमके) पार्टी स्थापना गरेर राजनीतिमा लागे ।

पहिलो मुख्यमन्त्री बनेको केही वर्षमै अन्नादुराईको सन् १९६९ मा निधन भयो र डीएमके पार्टीको नेतृत्व करुणानिधिको काँधमा आयो । उनी आफ्नो क्षमताले भ्याएसम्म सामाजिक न्याय र आत्मसम्मानमा आधारित ‘द्रविड आइडियोलोजी’ कार्यान्वयनमा जुटे ।

करुणानिधिको शुरुको पृष्ठभूमि पत्रकारिता, तत्पश्चात् रंगमञ्च र सिनेमा थियो । यी सब विधालाई उनले आफ्नो राजनीतिक सफलताका लागि प्रयोग गरे । एक त सफल पटकथा लेखक भएको कारण उनी आफैं कमाउने भए, त्यही कारण राजनीतिमा निर्धक्क लाग्न सके ।

नयाँदिल्लीसँगको टकराव र प्रान्तभित्रको ‘मिस्क्याल्कूलेशन्’ का कारण करुणानिधि धेरै वर्ष राजनीतिक वनवासमा पनि बस्नुपर्‍यो, तर आफ्नो जनसम्पर्कका कारण दलभित्र उनी कहिल्यै कमजोर भएनन् ।

उनको बोलाउने नाम नै ‘कलाईनार’ अर्थात् ‘कलाकार’ हुनपुग्यो । अर्कातिर, भाषणकलामा पनि निपुण उनले पार्टीको लागि वक्ता हुँदै जनमानसमा राम्रो पकड जमाए । एकपटक उनलाई कसैले ‘तेस्रो दर्जा’ भनी आरोप लगाउँदा उनले फ्याट्टै जवाफ दिए, “तेस्रो होइन महाशय, म त चौथो दर्जाको शूद्र पो परें, र यसैमा मलाई गर्व छ !”

पार्टीको ‘मुरासोली’ मुखपत्रमा करुणानिधि नियमित स्तम्भ लेख्थे, जसबाट आम कार्यकर्तासँग उनको संचार निरन्तर हुन्थ्यो । फिल्मको स्क्रिप्ट लेख्दा उनी दक्षिण भारतका मिथकलाई राजनीतिक रङ दिएर पेश गर्थे, यसरी डीएमके पार्टीको सन्देश सिनेमा हल मार्फत सर्वत्र पुग्थ्यो ।

फिल्म जगतलाई प्रयोग गर्ने क्रममा करुणानिधिले शिवाजी गणेशन् र एम.जी. रामचन्द्रन् दुवैलाई ‘स्टार’ र राजनीतिज्ञ बनाइदिए, आफ्नै खिलाफमा किन नहोस् ।

फिल्म, रंगमञ्च र पत्रकारिता त करुणानिधिका साधन थिए, उनको राजनीतिको सहयोगी यन्त्र । दशकौंसम्म तमिलनाडुको राजनीतिक नेतृत्वमा रहँदा उनले राज्यको ब्राह्मणप्रधान समाजमाझ बहिष्कृत समुदायलाई ठाउँ दिन प्रयास गरे । त्यस क्रममा खासगरी शिक्षा र सरकारी जागिरमा आरक्षणको व्यवस्था मिलाए, र बहिष्कृतभित्रका पनि बहिष्कृतलाई विशेष सहुलियत दिलाए ।

मुख्यमन्त्री छँदा करुणानिधिले सम्पत्तिमा छोरीको अधिकार सुनिश्चित गरे, कडाइका साथ भूमिसुधार लागू गरे, दलितलाई स्कूल र कलेज शिक्षामा सहुलियत दिलाए । राजनीतिक अधिकारतर्फ उनले विधानसभामा साधारण नागरिकले पनि जित्न सक्ने अवस्था निर्माण गरे, जसले गर्दा चियापसले, साइकल मेकानिक, हजाम र अन्य पेशाकर्मीहरू ‘एमएलए’ बने । आम जनतालाई पहुँच हुने गरी स्वास्थ्य बीमा उपलब्ध गराए, हातले तान्ने रिक्सालाई निषेध गरे, आदि ।

प्रान्तको राजनीति त्यागेर नयाँदिल्लीको राष्ट्रिय खेलमैदानमा पात्र बन्न उनले कहिल्यै चासो देखाएनन् ।

विश्लेषकहरूका अनुसार राजनीति गर्ने क्रममा करुणानिधिले धेरै गल्ती गरे पनि, तर उनमा आफूलाई तुरुन्तै सच्याउन सक्ने क्षमता थियो । उनको लोकरिझ्याइँप्रेरित राजनीति त्यतिबेला चुलियो, जब नवआगन्तुक नेता फिल्म नायिका जयललितासँग राजनीतिक संघर्ष गर्नुपर्‍यो । दुईबीचको वैमनस्यले सीमा नाघेपछि तमिल राजनीतिमा सौहार्दताको खडेरी देखियो ।

नयाँदिल्लीसँगको टकराव र प्रान्तभित्रको ‘मिस्क्याल्कूलेशन्’ का कारण करुणानिधि धेरै वर्ष राजनीतिक वनवासमा पनि बस्नुपर्‍यो, तर आफ्नो जनसम्पर्कका कारण दलभित्र उनी कहिल्यै कमजोर भएनन् ।

राष्ट्रिय राजनीतिक मैदानमा करुणानिधिले नैतिकता कम देखाए, आफ्नो प्रान्त तमिलनाडुको हित गर्ने नाममा । नयाँदिल्लीमा अग्रस्थानमा रहेका दक्षिणपन्थी होस् वा वामपन्थी, हिन्दूवादी होस् वा ‘सेक्यूलर’ जुनसुकै राजनीतिक शक्तिसँग पनि गठबन्धन सरकारमा बसेर केन्द्रीय मन्त्रिमण्डलमा आफ्ना मान्छे खटाउन तत्पर रहे । यसरी डीएमके दल इन्दिरा गान्धी, अटलविहारी वाजपेयी, राजीव गान्धी, वीपी सिंह र मनमोहन सिंह एक–एकको सरकारमा सामेल भयो ।

यति हुँदाहुँदै पनि इन्दिरा गान्धीले सन् १९७५ मा लगाएको ‘इमर्जेन्सी’ को विरुद्ध उभिंदै करुणानिधिले भारतको लोकतान्त्रिक राजनीतिमा सबैले सम्झने भूमिका निर्वाह गरे ।

फर्केर हेर्दा करुणानिधिको राजनीतिमा विभिन्न विरोधाभासमाझ पनि चमक नहराउनुको मूल कारण थियो, ‘र्‍याशनलिजम्’ मा आधारित उनको लोकतान्त्रिक अडान र सामाजिक न्यायप्रतिको वफादारी । यसै कारण दक्षिणएशियाका धेरै राजनीतिज्ञको नाम लोप भइसक्दा पनि मुथुवेल कलाईनार करुणानिधिको भने चम्किइरहनेछ ।

Post navigation

Previous Post:

पुरुषै पुरुष सम्पादक महोदय!

Next Post:

गोमालाई बिजुली ट्रली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes