Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘थाती राखिएको देश’

July 1, 2021 by admin

हिमाल खबरपत्रिका (१६–२९ मङ्सिर, २०५९ )बाट

४ मङ्सिरका दिन; पाटन पुल्चोकको एक सभाकक्षमा राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले एउटा गोष्ठी गरेको थियो । विषय चाहिँ अपाङ्गहरूलाई सार्वजनिक ठाउँमा हिँड्न र काम गर्न आवश्यक संरचनाको व्यवस्थाबारे थियो । जस्तै, फूटपाथमा ह्वीलचेयर चलाउने सुविधा, सार्वजनिक बाथरुममा विशेष उपकरणको जडान । त्यहाँ बस्दाबस्दै मलाई लाग्यो; यस्ता सम्वेदनशील विषयतर्फ समाजको ध्यान जानुपर्ने बेला थियो यो । तर, देशमा माओवादीको हाहाकार र राजनीतिक अन्यौलको घडीमा यस्ता कुरा साँच्चिकै कसले सुनिरहेको होला ? भविष्य र जनताको विकासका सबै विषयलाई अहिले थाती राखिएको छ यहाँ । दैनिक जीवन र उपभोग सम्बन्धी क्रियाकलाप बाहेक धेरै केही चलेको छैन आज नेपालमा ।

प्रजातन्त्र राम्रैगरी लीकमा लागेको र प्रजातन्त्रमार्फत् उब्जेका उत्तरदायी राष्ट्रिय संरचनाहरू सक्रिय भएर अनगिन्ती क्षेत्रमा ठूला र साना कामबाट नेपालीहरूको जीवन सजिलो बनाइदिने अवस्था अहिले हुनुपर्दथ्यो । र, सरकार एवं विभिन्न संस्थाहरूको आडमा निजी क्षेत्र र व्यक्ति व्यक्तिमा पनि जाँगर र सृजनशीलता फुर्नुपर्ने अवस्था थियो, पञ्चायतकाल अन्त्य भएर प्रजातन्त्र आएको एक दर्जन वर्ष भइसकेको यो क्षण । कानून, अर्थतन्त्र, सामाजिक सुरक्षा, शहरी सुविधा र अन्य क्षेत्रमा अघि बढ्ने बेला थियो अहिले । तर, आज हामी एकातर्फ हिंसामा विश्वास गर्दै सत्ता उल्टाउन खोज्ने जमातको पञ्जामा छौँ भने अर्कोतर्फ दक्षिणपन्थी शक्तिहरू अन्यौलको स्थितिको फाइदा उठाएर जनताको स्वर नसुन्ने व्यवस्था लाद्न तत्पर देखिन्छन् । यस्तो अवस्थामा कोसँग फुर्सद छ र ह्वीलचेयरका लागि सार्वजनिकस्थलमा सुविधाको विचार गर्ने !

साधारण नागरिकको सुविस्ताको विषय अहिलेलाई छाडिदिउँ, निर्दोष जनता मारिँदा उठ्नुपर्ने जति आवाज पनि किन नउठेको होला हाम्रो देशमा ! एउटा त सञ्चारमाध्यमको कमी–कमजोरी होला, त्यो हामी स्वीकारौँ । तर, पार्टीहरूले किन यसरी हातखुट्टा छाडिदिएका ? अहिलेको अर्ध–प्रजातान्त्रिक अवस्थामा पनि त पार्टीका संरचना ठाउँमै छन्– किन माओवादी र सरकारी पक्षबाट निर्दोषहरू मारिएकाबारे तिनीहरू सुनिने गरी आवाज उठाउँदैनन् ? बाल सेना राखेका छैनौँ र निर्दोष जनतालाई मारेका छैनौँ भनेर दाबी गर्ने माओवादी (का. महरा) को भनाइलाई एकातिर सम्झ्ँदै सोचौँ, सेनाले ‘इन्टिलिजेन्स्’ को अभावमा ‘सर्च एण्ड डिस्ट्रई’ गर्दा निर्दोष मारिने अवस्था सिर्जिन्छ भन्ने कुरा किन बिर्सिएको ? किन सरकारमा रहेका माथिल्लो दर्जाका अफिसरहरू जनताप्रतिको जिम्मेवारीतर्फ सचेत नभएका ? “माओवादीले गरेको विध्वंस चाहिँ नहेर्ने, हामीलाई मात्र खोट लगाउने” भन्ने कथन किन जहिले पनि सेना र सरकारका उच्चपदस्थ व्यक्तिहरूबाट सुनिइरहन्छ ? के, सेना र सरकारबाट जनताले माओवादी भन्दा बढी समझ्दारी, जिम्मेवारी र संवेदनशीलताको आश गर्न नपाउने ? माओवादी र अरूहरूबाट समेत जनताको जीउधनको रक्षा गर्नु त सरकार र सेनाको कर्तव्य र अधिकार दुवै हैन र ? आजको नाजुक अवस्थामा राजनीतिक दलहरूबाट शक्ति राजदरबारमा एकीकृत भएको छ ।

यो अवस्थामा दरबारले त जनताको मरणबारे चिन्ता र सरोकार राखेको होला भन्ने आश गर्ने कि नगर्ने ? कि पार्टीहरू आ–आफ्नो आन्तरिक र अन्तरपार्टीको होडबाजीमा मग्न भएजस्तै नारायणहिटी नयाँ शक्ति सन्तुलनमा आफ्नो अवस्था सुदृढ गर्नमा नै व्यस्त रहेर र दिनहुँ, माओवादीले नागरिक मार्दा र सेनाले “माओवादी” मार्दा चूप बस्ने अवस्थामा छ ? अनि राजा, सरकार र पार्टीले बोल्नुपर्ने विषय हो यो (अर्थात् निर्दोषको मरण) भनेर हाम्रा प्राध्यापक, ‘कन्सल्ट्याण्ट’, अधिवक्ता, सम्पादक, व्यापारी, ‘मानव अधिकारवादी’, विकासे विशेषज्ञ, सबैले आवाज नउठाउने ?

नेपाली नागरिक राज्यबाट मारिँदा या त हामी अन्तै आँखा पुर्याउँछौँ, या त गर्नै परे तथ्याङ्क सङ्कलन गर्नमा तल्लीन हुन्छौँ । त्यो तथ्याङ्कले के बुझउँछ भन्ने तर्फ जाँदै जाँदैनौँ– याने गैर कानूनी हत्या राज्यले गरेको छ र यसको सङ्ख्या ठूलो छ, यसले देश–जनताको भविष्य अन्धकार पार्ने छ । तैपनि काठमाडौँ उपत्यकाको न्यानोमा हामीलाई मुटुमा चिसो लाग्ने बाहिरको त्यो अवस्थाले छुँदैन । समाजको अनुहार नै बदलिइरहेको बेला आफू चूपचाप बसेको जुन आरोप भोलि आउँछ नै, त्यसमा हामीलाई केही पर्वाह छैन । नेपालीको ज्यानको मूल्य हाम्रै लागि पनि कम रहेछ । अरू देशमा नागरिक गैर कानूनी हिसाबले राज्य संयन्त्रबाट मारिँदा, बेपत्ता पारिँदा कत्रो विलाप उम्रन्छ र त्यसपछि आक्रोश र आन्दोलन ! हाम्रो देश र समाजको संरचनामा भने त्यसो भइरहेको छैन ।

गएको एक महिनामा कति मानिस मारिए, कति नागरिक माओवादीले मारे, कति “माओवादी” सेनाले मार्यो ? तपाईँ हामी चाहिँ खाली “नेपालीले नेपाली मार्दा नेपालीको मुटु दुःख्छ” भनेर भट्याउँदै आफ्नो कर्तव्य पूरा भयो भनी ठान्ने ? हद भए रिले अनशन गर्ने ? अरू केही नभए इतिहासले हाम्रो मौनताबारे के भन्ला, र त्यस्तो इतिहास लेखिँदा आफू चूप बसेको कुरा आफैँ सम्झैँला । निर्दोष नेपालीको मरणबारेमा आफूले नकराएको, नचिच्याएकोमा कति डर, भय र आत्मसंरक्षणको गन्ध छ होला हाम्रो आ–आफ्नो मस्तिष्कमा ?

माओवादीले मान्छे मारे, केही भन्नु छ ? अझ्, अर्कै मापदण्ड अपनाउनुपर्ने सेनाले धेरै निर्दोषलाई माओवादी भन्दै या ठान्दै मार्यो । केही भन्नु छ ? भन्नु छैन भने देशप्रति हामी कोही पनि जिम्मेवार छैनौं !!

Post navigation

Previous Post:

अवस्था र आस

Next Post:

प्रेरणादायी प्रतिनिधित्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About


Kanak Mani Dixit, 66, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk
© 2022 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes