Skip to content

Kanak Mani Dixit

  • Home
  • About
  • हिमाल खबरपत्रिका
    • उकालो लाग्दा
  • Nepali Times
    • On the way up
  • Himal Southasian
    • HIMAL
  • Others
    • Articles about Kanak Mani Dixit
    • नागरिक
    • Scroll.in
    • The Kathmandu Post
    • The Rising Nepal
    • Podcasts
  • Books
    • Adventures of a Nepali Frog
  • Petitions
  • Videos
    • Saglo Samaj

‘निस्फिक्री नदी’

November 27, 2019 by admin

हिमाल खबरपत्रिका (८-१४ मंसिर , २०७६) बाट

‘विनाश विना विकास सम्भव छैन’ भन्ने कथनले प्रकृति र जनमानस दुवैको भविष्य खल्बलाउँदैछ।

नेपालको पश्चिमी सीमा महाकाली नदी र यसको उद्गमबारे चर्चा चलिरहेकै वेला पूर्वी सीमातर्फ आँखा लगाऊँ । बीचमा छ उत्तर–दक्षिणको सिंगलीला, अनि सिमानाको दुईतिर हिमाली धार बगिरहेछन्, दार्जीलिङ–सिक्किमपट्टि टिष्टा नदी र नेपालपट्टि तमोर । कञ्चनजंघाको पूर्वी मोहडाबाट झर्दछ टिष्टा भने तमोर उक्त हिमशृंखलाको पश्चिमबाट।

टिष्टालाई त अब नदी भन्न पनि नमिल्ने भइसकेको छ । भारतका ठूल्ठूला जल इन्फ्रास्ट्रक्चर कम्पनी, लगानीकर्ता तथा गान्तोक सरकारको सहकार्यमा यति धेरै ‘क्यास्केड’ (एकपछि अर्को) बाँधले टिष्टालाई बाँधेको छ कि १०० किमी लम्बाइमा १३ किमी नदी मात्र निस्फिक्री बगेको छ ।

बाँध, पेन्स्टक, सुरुङ र नहरहरूले पूरै टिष्टाको परिचय एउटा लामो जलविद्युत् फ्याक्ट्री जस्तो बनाइदिएको छ । यहाँ छन् बडेमानका आयोजना जस्तै २०० मेगावाटको टिष्टा–३, ५२० मेगावाटको टिष्टा–४ र ५१० मेगावाटको टिष्टा–५ ।

सिंगलीला वारि टिष्टाकी भगिनी नदी तमोर छ, जसको १९० किमी मूलधारमा आजसम्म एउटै बाँध बनेको छैन । छ त मात्र तमोरसँग मिसिने पुवा खोलामा — ६.२ मेगावाटको विद्युत् आयोजना ।

खै खोला ? सिक्किमको टिष्टा जलाशयमा बनेका बाँधहरु ।

लोडसेडिङको कष्टकर समय छिचोलेर नेपाल आत्मनिर्भर बन्ने विद्युतीय यात्रामा छ । समृद्धिको कसी जलविद्युत् हो यसमा कुनै शङ्का छैन । गएको साता काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सहभागिता सहितको ‘पावर समिट’ मा उत्पादक, लगानीकर्ता र सरकारको उत्साहित सहभागिताले पनि यो दर्शाउँथ्यो ।

नेपालमा दशकौंदेखि जलविद्युत्लाई ‘सेतो सुन’ (‘ह्वाइट गोल्ड’) भनेर बखान गरिए पनि नागरिक र अर्थतन्त्र दुवैले लोडसेडिङको ठूलो मार घरीघरी खेप्नु परेकै हो । तर पनि तमोरको मूलधारमा एउटै जलविद्युत् आयोजना बनेन । तर, हामीलाई उतापट्टिको टिष्टामा जस्तै ठूलो हस्तक्षेप गरी तमोर ‘नदी’ को चिनारी मास्नु पनि थिएन/छैन ।

मुलुकको ‘समृद्धि यात्रा’ मा कसैले जङ्गल र नदी बचाउने कुरा गरे उसलाई सोझै ‘विकास विरोधी’ भन्दै हिलो छ्याप्ने काम हुने गरेको छ, मानौं संरक्षणवादी ‘अराष्ट्रिय तत्व’ हुन् । वातावरण र जनसमुदायको हित खातिर आवाज उठाउने जुझारूलाई नेपालमा मात्र होइन अन्यत्र पनि यस्तै आरोप लगाइने गरिन्छ ।

नेपालमा पर्याप्त जलविद्युत् उत्पादन हुनैपर्छ, जनतालाई सुख दिन । र, मुलुक जलविद्युत्मा आत्मनिर्भर मात्र होइन, निर्यातको क्षमता पनि राख्नुपर्दछ । तर, नदीहरुमा बन्ने बाँध माथि जसरी संसारभर नै बहस उठ्न थालेको छ त्यसमा कान थाप्न जरुरी छ ।

आज संसारका ७५ लाख माइल बग्ने नदीहरूमध्ये ३७ प्रतिशत ठूला नदीको बहावमा मात्र कुनै संरचनाको रोकतोक छैन । बाँधिनबाट बच्ने नदीहरु विशेषगरी दक्षिण अमेरिकाको एमजन, अफ्रिकाको कङ्गो र आर्कटिक् क्षेत्रमा पर्दछन् । १७०० माइलको चीन–बर्मामा बग्ने साल्विन एक मात्र ठूलो नदी हो जसमा एउटै बाँध छैन ।

बाँध र जलाशयको कारण नदीले समथरलाई उर्वर बनाउने माटो फैलाउन पाउँदैन । धेरै ‘सिल्ट’ बोक्ने कोशी नदीलाई जसरी चतराको दक्षिणमा पूर्व–पश्चिम तटबन्धभित्र बाँधिएको छ यसले जोखिम निम्त्याइरहेको छ, तटबन्ध फुटिहाले मानवीय क्षति अकल्पनीय हुनेछ ।

संसारभर ६० हजार ठूला बाँध बनेका छन्, ३७०० निर्माणाधीन छन् । यसअघि पुग्न गाह्रो ठानिएका ठाउँहरुमा पनि अब धमाधम बाँध र जलाशय बन्दैछन् । एमेजनकाे विशाल जङ्गलबीच ५०० बाँध बन्दैछन् । भारतको अरुणाचल प्रदेशका नदीहरूको हाल टिष्टा जस्तो हुँदैछ । नेपालकै कतिपय नदीको पनि यस्तै हालत हुँदैछ ।

एकातिर बाँध र जलाशय, बिजुली र सिंचाइको उत्साह छ, अर्कोतिर भने फरक अभियान शुरू भएको छ — नदीलाई विना संरचना, बाधा निस्फिक्री अविरल बग्न दिनुपर्छ भन्ने । यो प्रकृतिप्रतिको माया मात्र नभई वैज्ञानिक सोचमा आधारित पनि छ । बाँध, जलाशय र तटबन्ध जस्ता संरचनाले नदीका प्राणी, जलचर र छेउछाउको प्रकृति सबैलाई असर पार्दछ ।

बाँध र जलाशयको कारण नदीले समथरलाई उर्वर बनाउने माटो फैलाउन पाउँदैन । धेरै ‘सिल्ट’ बोक्ने कोशी नदीलाई जसरी चतराको दक्षिणमा पूर्व–पश्चिम तटबन्धभित्र बाँधिएको छ यसले जोखिम निम्त्याइरहेको छ, तटबन्ध फुटिहाले मानवीय क्षति अकल्पनीय हुनेछ ।

हामी जलविद्युत्लाई ‘क्लिन इनर्जी’ भन्न रूचाउँछौं । डिजल, कोइलाबाट उत्पादित बिजुलीको तुलनामा यो पक्कै पनि सफा ऊर्जा हो । तर विज्ञहरु भन्न थालेका छन्, जलविद्युत् क्लिन इनर्जी होला, ‘ग्रीन इनर्जी’ भने होइन, त्यसैले पनि निरपेक्ष बस्न मिल्दैन । कतै त बाँध र तटबन्ध भत्काउने क्रम पनि शुरू भएको छ । अमेरिकामा करीब १५०० बाँधहरू ‘विनिर्माण’ गरिएका छन्, नदी–नालालाई पुरानै बहाव र बाटोमा बग्न दिइएको छ ।

आज नेपालमा बाँध बनाउने ‘मोमेन्टम्’ छ । मेघ आले जस्ता अभियन्ताले मात्र एकोहोरो आवाज उठाइरहेका छन् — कुनै एक नदीलाई त नछोइदेऊ, स्वच्छन्द बग्न देऊ भन्दै । आज उनको अनुनय सुन्ने थोरै छन् । शायद भोलिपर्सि त्यो संख्या बढ्नेछ, जसले भन्नेछन् — विकास चाहिन्छ, विना विनाश ।

प्रतिकृया दिनुहोस

Post navigation

Previous Post:

लौ आयो ‘लोक परिकारमाला’!

Next Post:

‘च्याकुल्झ्याइँ’ विरुद्ध अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Enter the keyword

About


Kanak Mani Dixit, 6, is a writer and journalist as well as a civil rights and democracy activist. He is a campaigner for open urban spaces, and is also active in the conservation of built heritage.

Tweets by KanakManiDixit

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk
Dekheko Muluk

Books by Kanak Mani Dixit

Peace Politics of Nepal
Dekheko Muluk

Blogroll

  • Himal Southasian
  • Madan Puraskar Pustakalaya
  • Spinal Injury Rehabilitation Center
  • हिमाल खबरपत्रिका

Categories

Recent Tweets

Tweets by KanakManiDixit

© 2023 Kanak Mani Dixit | Built using WordPress and SuperbThemes